अनि...

रञ्जु रेग्मि

अनि... कथासंग्रह इल्या भट्टराईको तेस्रो कृति हो। लेखिकाका यसअघि दुई कृतिहरू मन मनै त हो (कथासङ्‍ग्रह) र लफबराको वरिवरि (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्। यस कथा सङ्‍ग्रहमा १७ वटा कथाहरू सङ्‍ग्रहित छन् जसले मानवजीवनका भिन्न(भिन्न पक्षलाई उजागर गरेका छन्। अनि... कथा सङ्‍ग्रह मूलत: मनोविश्लेषणात्मक कथाहरूको सङ्‍ग्रह हो जसमा लेखिकाको भुकाव पारिवारिक जीवनका विविध स्वरूप, सम्बन्धतर्फ रहेको भान हुन्छ। यस कृतिमा सङ्‍ग्रहित अधिकाङ्‍श कथाहरू पारिवारिक जीवनकै सेरोफेरोमा रचिएका छन्।

भनिन्छ, यो समग्र सृष्टि नै माया प्रेममा अडेको छ। सृष्टिक्रमलाई निरन्तरता दिन माया नै एउटा आधारको रूपमा रहेको छ जुन समय, परिस्थिति अनि व्यक्तिअनुसार बेग्लाबेग्लै रूपमा प्रस्फुटित हुन्छ। चाहे त्यो पारिवारिक होस्, प्रणयसूत्रको अर्थमा होस्, चाहे हार्दिकता वा मित्रताको सम्बन्ध नै किन नहोस्, हरेक क्षणमा र हरेक सम्बन्धमा मायाको अहम् भूमिका हुन्छ । सृष्टिचक्रको यिनै नियमबाट रचिएका झैं लाग्छन् कथाकार भट्टराईका कथाहरू। यस सङ्‍ग्रहको भूमिकामा लेखिकाले भनेकी छिन् "यस सङ्‍ग्रहमा समेटिएका कथाहरूले अहिलेको नेपालको सामाजिक परिवेशलाई दर्शाउने प्रयास गरेको छ । मूलत: मनहरूबीचको आपसी सम्बन्धलाई यसमा सङ्‍ग्रहित कथाहरूले केलाउने प्रयत्न गरेको छ।"

लेखिका आफ्नो प्रयासमा धेरै हदसम्म सफल लाग्छिन्। उनको आफ्नै बुझाइजस्तै यस सङ्‍ग्रहका कथाहरूले मानिसका मनस्थिति, अन्तरसम्बन्ध नै केलाउन खोजेको देखिन्छ जुन बेग्लाबेग्लै रूपमा प्रस्तुत छन्। कहिले धन कमाउन आफ्नो परिवार छाडेर विदेशिएकी नारीको पर-पुरुषसँगको बाध्यात्मक यौनसम्बन्धबाट उब्जिएको मनस्थितिको रूपमा त कहिले आफ्नो बुवालाई भन्दा बढी महत्व दिएर आदर्शको रूपमा लिएको मान्छेद्वारा उस्की छोरीको सुसारेको रूपमा राखेपछि उत्पन्न बालमानसिकताको रूपमा।

सङ्‍ख्यात्मक रूपमा कथा धेरै छैनन् तर गुणात्मक हिसाबले हेर्ने हो भने सबै कथा उत्तिकै महत्वपूर्ण लाग्छन्। देशभित्रका मानिसबीचको सम्बन्ध, परिवारिक प्रेम मात्र नभएर प्रवासी नेपालीहरूको मनस्थिति साथै विदेशीहरूको जीवन अनि पारिवारिक सम्बन्धका विविध आयामहरूतर्फ समेत भट्टराईका नेपाली आँखा परेझैं लाग्छ । एउटा चाखलाग्दो कुरा, यस सङ्‍ग्रहभित्रका कथाहरूमा पुरुष मनस्थिति भावना पनि प्रकट भएका छन्। पुरुष दृष्टिकोणबाट पनि प्रेम, पश्चाताप अनि लज्जाबोध गरिएका भाव व्यक्त भएका छन्। जस्ले पुरुषहरू पनि संवेदनशील, भावुक हुन्छन् भन्ने सन्देश दिएझैं लाग्छ ।

११६ पृष्ठमा सङ्‍ग्रहित कथाहरूले समग्रमा नेपाली समाजका जीवनका विविध स्वरूप, प्रवासी नेपालीको भिन्न-भिन्न परिवेशको जीवन भोगाइको मानसिकता साथै गैर-नेपालीको मनस्थिति उजागर गरेको छ । मानवीय अन्तरसम्बन्धका विविध पक्षहरू बुझ्न, भिन्न परिवेश माझ जकडिएको मानव मस्तिष्क, संवेदनाको अध्ययन र विश्लेषण गर्न यो पुस्तक उपयुक्त। यसको मूल्य रू. १००/- रहेको छ ।

2 :: प्रतिक्रिया:

Basanta said...

कथा-संग्रहको बारेमा लेखिदिनुभएकोमा धन्यबाद! निकै राम्रो होला जस्तो छ।

Netra Prasad Sharma said...

YOU ARE THE GOOD BLOGER PLS VISIT https://nabanetra.blogspot.com also

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes