Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

गीत

बिकास तिवारी

पछौरीको कुना समाई तिमी छेउ बस
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिमी हिड्दा सधैं लाग्छ स्वर्गकी परी
तिम्रो माया राख्छु सँधै मेरो मुटुभरि
आकाश जस्तो मन तिम्रो चन्द्रमाको बास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिम्रो स्वागतमा देख्छु फूल फुलेका
तिम्रो माया पाउन संसारभरि डुलेका
तिम्रोलगि जहिले पनि बन्न सक्छु दास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

गीत

सङ्गीता पाण्डे

तिम्रो आँखा किन-किन हेरुँ- हेरुँ लाग्छ
प्रश्न गर्छु उत्तर छैन दिल बहकिँदै जान्छ

चन्द्रमा झैँ आकाशमा मुस्कुराउँछौ तिमी
बादलमुनि लुक्दै मलाई जिस्काउँछौ तिमी
कहिलेकाहीँ यस्तो लाग्छ मेरो कल्पनामा
तिमी बाहेक कोही छैन मेरो जिन्दगीमा

ल्याउनेछु नवप्रभात तिमीले साथ दिए
बस्नेछ अमर माया तिमीले प्रीत दिए
आँखाबाट आँसु झर्छ तिमी छुटि दिँदा
माया मैले लाएको हुँ तिमीसँगै सदा

गीत

टीका चाम्लिङ

शहर किन नबसेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन कस्न आफ्नै छातीलाई

गाउँबाटै शुरु भयो, मेरो आवाज गीत-सङ्‍गीत
पूर्णिमाको रातसरि मेरो समाज मेरो अतीत
रहर किन नफेरेको भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन साट्‍न आफ्नै छातीलाई

पानी पिउनै गाह्रो त्यहाँ, फेर्दा सास धुमिल धुवाँ
कहाँ पाउनु रमितेको चिसो बतास सिमको कुवा
कहर किन नखेपेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन ढाट्‍न आफ्नै छातीलाई

खोटाङ, नुनथला
हालः काठमाडौँ

गीत


* उमेश राई 'अकिञ्चन'

सबैभन्दा ठूलो भन्नु आमा तिम्रो माया रै'छ
संसारमा भाग्य भन्नु आमा तिम्रो छाया रै'छ

शक्ति भन्नु, साहस भन्नु आमा तिम्रो साथ थियो
आशिष् भन्नु, आफ्नो भन्नु आमा तिम्रो हात थियो
मन भयो शून्य-शून्य, आँखा बन्यो खाली-खाली
सपना नै डढ्यो सबै के पो खोजूँ आँसु बाली

धेरै कुरा भन्नु थियो तर छैनौ तिमी आमा
सबै कुरा छ तर मात्र छैन तिम्रो माया
आमा तिम्रो आशिष्‌बिना हिँडेको छु चिसो बिहान
मुटुभरि तिम्रो श्रद्घा, सबैभन्दा तिमी महान् ।

- कोशी प्रोजेक्ट, विराटनगर ।

गीत

प्रभाकर गौतम, सुबिधानगर, काठमाडौँ

एउटा मन थियो त्यो पनि तिम्रो भयो
आफूसँग आफ्नो भन्ने बाँकी नै के रह्‍यो ।

मन मात्र कहाँ थियो त्यो
जीवन नै थियो मेरो
एकान्त र कोलाहलको
साथी थियो मेरो
चोरेर लग्यो मीठो हाँसोले
मसँग जे थियो ।

सुनेथे साट्‍न मिल्छ
मनसँग मनलाई
युगौं पुरानो यो किस्सा मनको
सम्झाउँ कसरी उनलाई
यो मनले यसै हार्ने हो कि
भन्ने पो डर भयो ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes