Showing posts with label यात्रा संस्मरण. Show all posts
Showing posts with label यात्रा संस्मरण. Show all posts

रेल चढ्ने रहर

॥ रमेश सफर निरौला ॥  
रातको ३ बजे कलंकी पुगेर ५ घण्टाको उभ्याइपछि बल्लतल्ल बसको टिकट पाउँदा फुरुङ्ग पर्नुका पछाडि मधेसको गर्मी खाने मात्र चाहना अवश्य थिएन । बरु थियो वर्षदिनको चाड दशैं मनाउँदै मधेसका केही जीवनको एकसरो ठम्याइको रहर । मधेस, अझ घर जानकै लागि मैले आफू कार्यरत संस्था मार्टिन चौतारीमा तीन दिनको बिदा लिएको थिएँ । 

यसपल्ट मधेस पुग्दा-नपुग्दै गर्मीले फर्किहालूँ जस्तो भइसकेको थियो । बहाना गर्मी छल्नु थियो भने चाहना पहाड मधेस चढ्नु र ओर्लनु । यसै मेसोमा मैले भान्जा उमेशसँग मिलेर एक रात भेडेटारदेखि भारतको बिहारसम्मको यात्रा गर्ने योजना बनाएँ । घरमा ब्याउन लागेको गाईको दुर्लभ रूपमा भेटिने बिगौती माया मारेर उमेश र मेरो 'टोली' लाग्यो रमणीय दृश्यदेखि रेल चढ्ने 'भाग्य' सम्मको यात्रामा । हामीले हाम्रो दुई सदस्यलाई 'टोली' र नेपाली भएर रेल चढ्न पाउनुलाई 'भाग्य' न्वारान गरिसकेका थियौं । भेडेटार पुग्न ७० किलोमिटरको दूरी पार गर्न प्रतिव्यक्ति रु. ५०  मा यात्रा गराउने मितेरी यातायातसँग कुनै मित्रता थिएन, बरु यो संयोग मात्रै थियो । 

बिहानको साढे सात बज्दा भेडेटारको दृश्यावलोकन गर्ने घर घामले टल्किरहेको थियो । २० रूपैयाँको टिकट लिएर त्यस घरको माथिल्लो तल्लामा पुग्दा भान्जा धरान बजारतर्फ औंल्याँउदै थिए । पहाड घनाजंगलको छातीबाटै धागो तानेजस्तो कालो घुमाउरो बाटो हुँदै धनकुटाका सुन्तला, तरकारीजस्ता कृषि उत्पादन मधेस झर्थ्यो । कुशल लेखक हुँदो हो त त्यहाँको सौन्दर्य वर्णनमा शब्दकोषका कति उरुङ आफ्नो डायरीमा खन्याउँथ्यो होला !

निधारमा हात राखेर आँखामा चर्को घामको किरण छल्दै भान्जा भन्दै थिए- ऊ त्यताको सेतो ठाउँ कोशी नदी । भनिनसक्दै कुहिरोले ढपक्कै ढाकिसकेको थियो कोशीको लमतन्न ज्यानलाई । अचम्मको मौसम एकैक्षण अगाडि हाम्रा आँखामा अत्यासलाग्दो किरण छर्ने सूर्य पनि निरीह भएर हामीसँग उज्यालोको आशा गरिरहे झैं लाग्थ्यो । दिनरात हेरिरहूँ लाग्ने दृश्यको चाङलाई छोडेर टावरको तल आइपुग्दा निर्मल पानीको धारो बगिरहेको भेटियो । छेवैमा बसेर नरिवल बिस्कुट खाएर त्यही धाराको चिसो पानीले आँत मेटाइयो । मधेसमा फलेको नरिवल धनकुटा लगेर बनाइएको बिस्कुट स्वादिष्ट थियो । त्यही भयो हाम्रो बिहानी ब्रेकफास्ट र सकियो पहाडको यात्रा पनि ।

धरान ओर्लिएर खाएको भातमा पकाउने भन्दा बेच्ने ध्यान बढी गएको प्रष्ट थियो । सब कुरामा पैसा सोहोर्ने ध्याउन्न मात्र ! व्यवसायमा त सेवाग्राहीलाई सेवा दिएर सन्तुष्टि दिने कुरा पनि हुन्छ कि ! नेपालमा बसेर बेलायती चमत्कार हेर्न हाम्रो 'टोली' लाग्यो बिहारतिर । विराटनगर पुग्दा मध्याह्नको १२ बजिसकेको थियो, गर्मीले आफ्नो पारो बढाउँदै थियो । २६ रूपैयाँ तिरेर स्थानीय बसमा चढ्नुअघि नै भान्जाले मलाई बिहार शब्द उच्चारण नगर्न सचेत गराइसकेका थिए । बसका सँगै यात्रारत भारतीयहरूलाई हामीले रेलबारे सोध्यौं, यसैबाट उनीहरूले हामी अपरिचित यात्री भनेर चिनिसकेका थिए । नेपालमा व्यापार गर्दै आएका र 'दशैं मनाउन' भारत फर्किरहेका एक भारतीयले हामीलाई बिहारको यात्राबारे बढी सचेत गराए ।  उनी भन्दै थिए, "तपाईंको मोबाइल खै ? पर्स छाम्नूस् त !" जब मैले मेरा सामान छोएँ, उनले त्यहीँबाट शुरू गरे । रेलमा यसै भनिनेछ र तपाईं त्यसै गर्नुहुनेछ, अनि पकेटमारले थाहा पाउँछ कहाँ राखिएको छ सामान र अर्को स्टेशन पुग्दासम्म तपाईंका गोजी रित्तिसक्नेछन् । सावधानीसूचक जानकारी सुनेर म आतंकित भइसकेको थिएँ । यसैबीचमा भान्जाले रेलको टिकट किन्न स्थानीय बसका कन्डक्टरसँग भारतीय रूपैयाँ साटिसकेका थिए ।

दिउँसो १ बजे मेरो मनको भाषामा बिहार र स्थानीय भाषामा जोगवनी पुग्दा १७ डिब्बे रेल निर्जीव रूपमा सुतिरहेको थियो । त्यो रेल अबको ७ घण्टापछि रातको ८ बजे मात्र दिल्ली प्रस्थान गर्ने समय रहेछ । अब त्यतिका समय कुरेर त्यति राति रेल चढ्ने रहर 'हावा महल'मा परिणत हुँदै थियो । यसअघि हाम्रो 'भाग्य' अर्थात् अर्को रेल करिब ३० मिनटअघि नै साढे १२ बजे छुटिसकेछ भारतको कुनै सहरका लागि । नेपाली भएर रेल चढ्ने रहर मूर्खतापूर्ण भएको निष्कर्षमा उमेश पुगिसकेका थिए । म भने रेल स्टेशनको पसलमा मूल्यसूची र पसलको सञ्चालन अनुमति अवधि पढ्दै थिएँ । निराश आँखा लिएर १५ वटा डिब्बाका सिट र शौचालय चहार्दै २ घण्टा बिहारमा बिताइयो । अरू ५ घण्टा कुरे पनि दिल्ली जाने एक्सप्रेस रेलले एक स्टेशन परको कटिहार पुर्‍याएर हामीलाई ओरालिदिने सम्भावना थिएन । भारतीय डेढ रूपैयाँ कपको चिया पिएर पिलन्धरे अनुहार लगाउँदै हामी फर्कियौं आफ्नै 'महान्' मातृभूमि, जसले सधैं स्वतन्त्र रहेका, कसैको दास नभएका नागरिकलाई परचक्रीले बनाएको रेल चढ्न अझै रोकिरहेछ तर त्यसको आफ्नै मुलुकभित्र मात्रै । यो देशको बहादुरी रानी भन्सार जस्ता थुप्रै भन्सारको वारिपट्टि मात्र रहेछ भन्ने कुरा बिहारको बजारमा सामान किन्ने अधिकांश नेपालीको अनुहार पढेर बुझियो । रेल चढ्ने रहर अपूरो हुनुसँगै भारतलाई 'मक्का-मदिना' देख्ने नेपाली शासकले आफ्नो देशमा भने 'स्वर्ग जाने' बाटो बनाउन पनि कन्ज्यूस्याँइ देखाएकोप्रति म त दंग परें । तर भान्जालाई भने आफ्नै देशमा आएर आइसक्रिम नखाएसम्म रेलको तातोले रापिलो पारिरहृयो । 

रारासँग मेरो प्रेम

अनिता शिवाकोटी

"चोखो छ है, यो मेरो माया
राराको सङ्गलो पानी जस्तै,
चोखो छ है... ।"

किनारमा बसेर राराको पानी छुँदै छालसँगै मन्त्रमुग्ध हुँदै स्वस्फूर्त रूपमा हामीले पनि धेरैपटक यही गीत गुन्‍गुनायौँ । हावामा फैलिँदै गएका हाम्रा ती सामूहिक स्वरहरू खै कहाँ एक्कैछिनमा हराउँथे, अनि फेरि हामी टुक्रा-टाक्री जोड्‍दै अर्को गीत गुन्गुनाईहाल्थ्यौँ । आकाशमा झल्किएको जून, गोलबद्ध भएका हामी, अनि एकसुरले सङ्गीत निकालिरहेको राराको छाल । स्वर्गीय आनन्दलाई शव्दमा व्यक्त गर्ने सामर्थ्य हराउँदै गएपछि हामी सबैजना चुपलागेर रारामा टोलायौं । लामो समयसम्म एकोहोरिएर राराको सङ्गीत सुनिरह्‍यौँ । रारा ताललाई जिस्काउँदै बेला-बेलामा देखापरिरहेको जून, अनि किनारामा बसेर जूनको प्रतिक्षा गरिरहेका हामी । साँच्चै नै जूनले रारासँग हैन हामीसँग लुकामारी खेलिरहेको थियो । हुन त काठमाडौँमा पनि जून नदेखेको हैन, तरपनि तालमा चम्किएको जूनले बेग्दै आनन्द दिईरहेको थियो ।

नेपालगञ्जको विमानस्थलबाट चील झैँ उडेको यती एयरलाईन्सको विमानबाट कहीँ उजाड डाँडा अनि कहीँ मनै लोभ्याउने पहाडसँग लुकामारी खेल्दै हामीले त्यो रमाइलो यात्राको सुरूवात गरेका थियौँ । हुन त हाम्रो यात्राको लक्ष्य रारा ताल हेर्नु नभएर मुगुको सदरमुकाम गमगढीमा 'डोको रेडियो' सञ्चालन गर्ने थियो । तरपनि यात्राको अन्तिम दिन हामीले राराको लागि छुट्‍याएका थियौँ । शिक्षा स्वास्थ्य, यातायात, बिजुली जस्ता विकासका हरेक कुराबाट बञ्चित मुगालीको लागि आँगनमा रेडियो स्टेसन पुग्नु अनि आफैँले गाएका गीत, बोलेका आवाज रेडियोमा सुन्न पाउनु कम खुसिको कुरा थिएन । त्यस बेला गमगढी बजारमा ठूलै मेला लागेको थियो । मानिसहरूको चहलपहल बजारमा थामिनसक्नु थियो । सबैलाई खुसि देख्दा हामी पनि खुसि भयौँ ।

डोको रेडियो सञ्चालनको अवधि सकिएपछि हामी रारा ताल जान तालचा एयरपोर्टमा सामान राख्न गयौँ । यातायातको अभावले गर्दा खच्चरहरू हाम्रो सामान लिएर एयरपोर्ट तिर लागे । हामी पनि सबैसँग बिदावारी हुँदै खच्चरको पछि-पछि लाग्यौँ । गाडी गुड्‍ने बाटो नभएका कारण खच्चरलाई सामान बोकाउन विवश छन‍ मुगालीहरू । हामी तीन-चार दिन बस्नेहरूका लागि त यति गाह्रो भयो भने, उनीहरू आफ्नो सारा जीवन कसरी कसरी बिताइरहेका होलान्? मनमा कुरा खेलिरहे ।

बाटोमा कुनै पसल थिएन, लगेको खानेकुरा सबै सकिएपछि भोकले लखतरान हुँदै हामी तालचा एयरपोर्ट पुग्यौँ । बल्ल-बल्ल भेटिएको सानो होटल हाम्रा लागि सबैथोक भयो । होटलमा चाउचाउ पकाएर खायौँ अनि केही बोकेर सुरू गर्‍यौँ- नेपालकै सबैभन्दा ठूलो ताल, रारा हेर्ने यात्रा ।

बाटोमा भेटिएका हरिया चौर, विभिन्न आकारका धुपी बोटहरू, अनि साउती मारिरहेका सल्लासँग हामी पनि साउती मार्दै हिँड्‍यौँ । बाटो छेउछाउमा सेता पहेँला र रङ्गीबिरङ्गी बुकी फूलहरू फुलिरहेका थिए । छ जनाको हाम्रो समूहिक यात्रामा हाम्रा दुई साथीले बाटोभरि गजलका सेरहरू गाउँदै यात्राको रौनकता बढाईरहेका थिए । बाँकी हामी पनि बेलाबेलामा सुरमा सुर थप्दै उनीहरूलाई साथ दिइरहेका थियौँ । हुन त हरेक यात्रा अविष्मरणीय नै हुन्छन्, तर राराको रमाइलो यात्रा गर्ने सैभाग्य पाउने थोरै नेपालीमा म पनि परेँ भन्ने पनि सँगै सम्झिने कुरा भए मेरा लागि । बिहानैदेखि उकालो लाग्दा थाकेका खुट्टा अनि भोको पेट बिर्सन त्यो उत्साहले हामीलाई क्याटलिस्टको काम गरिरहेको थियो । के भोक के प्यास सबै कुरालाई मेट्‍ने एउटै अभिलाषा थियो हामीसँग रारा तालको सौन्दर्यतालाई चुम्ने । तालचा एयरपोर्टबाट झण्डै दुई घण्टा लामो उकालो आरालो बाटो पार गरेपछि हामीले रारालाई पहिलो पटक देख्यौँ ।

झण्डै दिउँसोको तीन बजेको हुनुपर्छ, हामीले रारालाई पहिलो पटक देख्दा । बीचबाट सोरिँदै आएको त्यो छाल किनारमा ठोक्किँदा लाग्छ, कुनै ठूलै चिज वेगले पहाडमा ठोक्कियो । त्यो छत्ल्याङ्ग आवाज बारम्बार हाम्रो कानमा बजिरहन्छ । तालमा उत्पन्न भएका तरङ्ग हाम्रो मन सम्म पुग्छ अनि स्वत: स्फूर्त रूपमा निस्कन थाल्छ-
"मनको माया हजुरको कहिले पाउने हो ?
डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो?... ।"

तराईका साना-साना ताल र काठमाण्डौँको रानीपोखरी, बाहेक मैले देखेको ठूलो ताल भनेको पोखराको फेवाताल मात्र थियो । सोचेको थिए फेवाताल भन्दा केही ठूलो त होला । तर मेरो आँकलन मिलेन । जङ्गलको बीचमा आँखाले भ्याएसम्म फैलिएको राराताल टेलिभिजनको पर्दामा देखिएका समुद्रको मोहक दृश्य झैँ लागिरहेको थियो । अपरान्हपछि तालमा छाल आउने भएकाले हामी तालको बीचसम्म जान सकेनौँ । रारालाई किनारमा उभिएर धेरैबेर सम्म हेर्‍यौं । राराको छालले हाम्रो सबै थकान मेटिईसकेको थियो । काठमाण्डौँको प्रदुषित वातावरणमा बस्ने हामीलाई यति स्वच्छ ठाउँमा आउन पाउनु भाग्यकै कुरा हो । रारालाई हेरिरहँदा मेरो मनमा एउटै मात्र कुरा खेलिरहेको थियो, यति मनमोहक र विशाल ताल किन छायाँमा पर्‍यो? हुन त राम्रो कुरा पाउनका लागि धेरै दु:ख गर्नुपर्छ भन्छन् । त्यै भएर होला रारासम्म बाटो नपुगेको, अनि विश्वको आँखा पुग्नुपर्ने ठाँउमा नेपालीका समेत आँखा पुग्न नसकेका । बाटोको सुबिधा भएमा कत्ति पर्यटक आउने थिए होलान् यहाँ? अनि पर्यटकीय स्थलको रूपमा मुगुलाई विकास गर्न सकिन्थ्यो । त्यसबाट मुगालीको पनि विभिन्न किसिमले सहयोग हुनसक्थ्यो । हाम्रो मनमा उठेका यस्तै छालहरु सँगाल्दै, हामी उर्लिरहेको राराको छाललाई त्यहीँ छोडेर राती १०:३० तिर आफ्नो बासस्थानतिर लाग्यौं ।

बिहान उठ्‍दा, ६ बजिसकेछ । राती रिसाएको रारालाई हेर्न हतार हतार बाहिर निस्किएँ । तर रारालाई मैले सोचेको जस्तो पाईन । उ त मौन थियो । मानौँ आफ्नो मनका सबै वेदना आँसुसँगै पोखिएर सकिएछ । बिहान त शान्त रारामा घामका किरण पर्दा पानीका फोका मोती झैँ टल्केका थिए । मोतीदाना तालभरि छरिएर चम्केकाथे । आखाँले भ्याएसम्म फैलिएको रारालाई किनारमा बसेर फेरि एकपटक हेरेँ, हाम्रो मौन वार्ता भैरहेको थियो । राराको त्यो रूप देखेर म भित्र भित्रै मोहित भैरहेको थिएँ । नेपालकै यती रमणीय राराताललाई धेरैले देख्न पाएका छैनन् । मैले रारालाई देख्न पाएँ, छुन पाएँ, उसलाई आफूमा समाहित गर्न पाएँ । मलाई आफूले जीवनकै कुनै महत्वपूर्ण कुरा गुमाइरहेको रहेछु जस्तो लाग्यो त्यस बेला । झन् उसले मलाई हेरेर मुस्कुराई दिँदा म भुतुक्कै भएकोथेँ । उसको त्यही मुस्कानले त मलाई बिहानीको त्यो चिसोसँग पनि पौँठेजोरी खेल्दै चम्किएका मोती दानालाई पटक पटक आँखा भरी कैद गर्ने साहस दिएको थियो ।

बिहान देखापरेको शान्त राराको त्यो मनमोहक रूप पनि मलाई निक्कै मन पर्‍यो । चाहना त लामो समय रारासँगै बिताउने थियो तर समयका विरूद्ध को नै पो जान सकेको छ र? अरू साथीसँगै मलाई पनि त्यहाँबाट फर्किनु नै थियो । मन बुझाउनै पर्‍यो । जे भएपनि नेपालमा पुग्नैपर्ने ठाउँहरूमध्ये एक रारा तालको किनारामा रात बिताउन पाउनु कम खुसीको कुरा हैन । बिहानै रारासँग जिस्कदै हामी फेरि राराको किनारै किनार फर्कियौँ । झण्डै एक घण्टा भन्दा लामो राराको किनारै किनार यात्रा गरेपछि, अन्तिम पटक रारालाई हेरेर हामी उकालियौँ । आँखामा रारा ताल नाचिरह्यो । त्यो जोसमा कत्ति चाँडो बाटो काटिएछ थाहै भएन । जाँदाखेरी झण्डै छ घण्टा लागेको बाटो हामीले दुई घण्टामै पार गरेछौँ । सायद अब फेरि रारासँग मेरो भेट नहुन पनि सक्छ, म यस्तै यस्तै सोचिरहेको थिएँ । त्यो निस्ठूरी रारा मेरो मनको कुरा, के बुझी होला र? तर तालचा एयरपोर्टमा आएर फेरि चील झैँ आकाशमा पुगेका हामीलाई राराको अर्को रूपको दर्शन मिल्यो । ठूलो थालमा भरिएको पानी झैँ उ हाम्रो बिदाईका लागि अर्को रूप लिएर आएकी थिई र हामीलाई बिदाईको हात हल्लाईरहेकी थिई । मैले क्यामरामा कैद गरेका केही दृश्य, अनि मेरो मस्तिस्कले कैद गरेका केही क्षणहरु नै राराको चिनो भएका छन् मेरा लागि ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes