अनिता शिवाकोटी
"चोखो छ है, यो मेरो माया
राराको सङ्गलो पानी जस्तै,
चोखो छ है... ।"
किनारमा बसेर राराको पानी छुँदै छालसँगै मन्त्रमुग्ध हुँदै स्वस्फूर्त रूपमा हामीले पनि धेरैपटक यही गीत गुन्गुनायौँ । हावामा फैलिँदै गएका हाम्रा ती सामूहिक स्वरहरू खै कहाँ एक्कैछिनमा हराउँथे, अनि फेरि हामी टुक्रा-टाक्री जोड्दै अर्को गीत गुन्गुनाईहाल्थ्यौँ । आकाशमा झल्किएको जून, गोलबद्ध भएका हामी, अनि एकसुरले सङ्गीत निकालिरहेको राराको छाल । स्वर्गीय आनन्दलाई शव्दमा व्यक्त गर्ने सामर्थ्य हराउँदै गएपछि हामी सबैजना चुपलागेर रारामा टोलायौं । लामो समयसम्म एकोहोरिएर राराको सङ्गीत सुनिरह्यौँ । रारा ताललाई जिस्काउँदै बेला-बेलामा देखापरिरहेको जून, अनि किनारामा बसेर जूनको प्रतिक्षा गरिरहेका हामी । साँच्चै नै जूनले रारासँग हैन हामीसँग लुकामारी खेलिरहेको थियो । हुन त काठमाडौँमा पनि जून नदेखेको हैन, तरपनि तालमा चम्किएको जूनले बेग्दै आनन्द दिईरहेको थियो ।
नेपालगञ्जको विमानस्थलबाट चील झैँ उडेको यती एयरलाईन्सको विमानबाट कहीँ उजाड डाँडा अनि कहीँ मनै लोभ्याउने पहाडसँग लुकामारी खेल्दै हामीले त्यो रमाइलो यात्राको सुरूवात गरेका थियौँ । हुन त हाम्रो यात्राको लक्ष्य रारा ताल हेर्नु नभएर मुगुको सदरमुकाम गमगढीमा 'डोको रेडियो' सञ्चालन गर्ने थियो । तरपनि यात्राको अन्तिम दिन हामीले राराको लागि छुट्याएका थियौँ । शिक्षा स्वास्थ्य, यातायात, बिजुली जस्ता विकासका हरेक कुराबाट बञ्चित मुगालीको लागि आँगनमा रेडियो स्टेसन पुग्नु अनि आफैँले गाएका गीत, बोलेका आवाज रेडियोमा सुन्न पाउनु कम खुसिको कुरा थिएन । त्यस बेला गमगढी बजारमा ठूलै मेला लागेको थियो । मानिसहरूको चहलपहल बजारमा थामिनसक्नु थियो । सबैलाई खुसि देख्दा हामी पनि खुसि भयौँ ।
डोको रेडियो सञ्चालनको अवधि सकिएपछि हामी रारा ताल जान तालचा एयरपोर्टमा सामान राख्न गयौँ । यातायातको अभावले गर्दा खच्चरहरू हाम्रो सामान लिएर एयरपोर्ट तिर लागे । हामी पनि सबैसँग बिदावारी हुँदै खच्चरको पछि-पछि लाग्यौँ । गाडी गुड्ने बाटो नभएका कारण खच्चरलाई सामान बोकाउन विवश छन मुगालीहरू । हामी तीन-चार दिन बस्नेहरूका लागि त यति गाह्रो भयो भने, उनीहरू आफ्नो सारा जीवन कसरी कसरी बिताइरहेका होलान्? मनमा कुरा खेलिरहे ।
बाटोमा कुनै पसल थिएन, लगेको खानेकुरा सबै सकिएपछि भोकले लखतरान हुँदै हामी तालचा एयरपोर्ट पुग्यौँ । बल्ल-बल्ल भेटिएको सानो होटल हाम्रा लागि सबैथोक भयो । होटलमा चाउचाउ पकाएर खायौँ अनि केही बोकेर सुरू गर्यौँ- नेपालकै सबैभन्दा ठूलो ताल, रारा हेर्ने यात्रा ।
बाटोमा भेटिएका हरिया चौर, विभिन्न आकारका धुपी बोटहरू, अनि साउती मारिरहेका सल्लासँग हामी पनि साउती मार्दै हिँड्यौँ । बाटो छेउछाउमा सेता पहेँला र रङ्गीबिरङ्गी बुकी फूलहरू फुलिरहेका थिए । छ जनाको हाम्रो समूहिक यात्रामा हाम्रा दुई साथीले बाटोभरि गजलका सेरहरू गाउँदै यात्राको रौनकता बढाईरहेका थिए । बाँकी हामी पनि बेलाबेलामा सुरमा सुर थप्दै उनीहरूलाई साथ दिइरहेका थियौँ । हुन त हरेक यात्रा अविष्मरणीय नै हुन्छन्, तर राराको रमाइलो यात्रा गर्ने सैभाग्य पाउने थोरै नेपालीमा म पनि परेँ भन्ने पनि सँगै सम्झिने कुरा भए मेरा लागि । बिहानैदेखि उकालो लाग्दा थाकेका खुट्टा अनि भोको पेट बिर्सन त्यो उत्साहले हामीलाई क्याटलिस्टको काम गरिरहेको थियो । के भोक के प्यास सबै कुरालाई मेट्ने एउटै अभिलाषा थियो हामीसँग रारा तालको सौन्दर्यतालाई चुम्ने । तालचा एयरपोर्टबाट झण्डै दुई घण्टा लामो उकालो आरालो बाटो पार गरेपछि हामीले रारालाई पहिलो पटक देख्यौँ ।
झण्डै दिउँसोको तीन बजेको हुनुपर्छ, हामीले रारालाई पहिलो पटक देख्दा । बीचबाट सोरिँदै आएको त्यो छाल किनारमा ठोक्किँदा लाग्छ, कुनै ठूलै चिज वेगले पहाडमा ठोक्कियो । त्यो छत्ल्याङ्ग आवाज बारम्बार हाम्रो कानमा बजिरहन्छ । तालमा उत्पन्न भएका तरङ्ग हाम्रो मन सम्म पुग्छ अनि स्वत: स्फूर्त रूपमा निस्कन थाल्छ-
"मनको माया हजुरको कहिले पाउने हो ?
डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो?... ।"
तराईका साना-साना ताल र काठमाण्डौँको रानीपोखरी, बाहेक मैले देखेको ठूलो ताल भनेको पोखराको फेवाताल मात्र थियो । सोचेको थिए फेवाताल भन्दा केही ठूलो त होला । तर मेरो आँकलन मिलेन । जङ्गलको बीचमा आँखाले भ्याएसम्म फैलिएको राराताल टेलिभिजनको पर्दामा देखिएका समुद्रको मोहक दृश्य झैँ लागिरहेको थियो । अपरान्हपछि तालमा छाल आउने भएकाले हामी तालको बीचसम्म जान सकेनौँ । रारालाई किनारमा उभिएर धेरैबेर सम्म हेर्यौं । राराको छालले हाम्रो सबै थकान मेटिईसकेको थियो । काठमाण्डौँको प्रदुषित वातावरणमा बस्ने हामीलाई यति स्वच्छ ठाउँमा आउन पाउनु भाग्यकै कुरा हो । रारालाई हेरिरहँदा मेरो मनमा एउटै मात्र कुरा खेलिरहेको थियो, यति मनमोहक र विशाल ताल किन छायाँमा पर्यो? हुन त राम्रो कुरा पाउनका लागि धेरै दु:ख गर्नुपर्छ भन्छन् । त्यै भएर होला रारासम्म बाटो नपुगेको, अनि विश्वको आँखा पुग्नुपर्ने ठाँउमा नेपालीका समेत आँखा पुग्न नसकेका । बाटोको सुबिधा भएमा कत्ति पर्यटक आउने थिए होलान् यहाँ? अनि पर्यटकीय स्थलको रूपमा मुगुलाई विकास गर्न सकिन्थ्यो । त्यसबाट मुगालीको पनि विभिन्न किसिमले सहयोग हुनसक्थ्यो । हाम्रो मनमा उठेका यस्तै छालहरु सँगाल्दै, हामी उर्लिरहेको राराको छाललाई त्यहीँ छोडेर राती १०:३० तिर आफ्नो बासस्थानतिर लाग्यौं ।
बिहान उठ्दा, ६ बजिसकेछ । राती रिसाएको रारालाई हेर्न हतार हतार बाहिर निस्किएँ । तर रारालाई मैले सोचेको जस्तो पाईन । उ त मौन थियो । मानौँ आफ्नो मनका सबै वेदना आँसुसँगै पोखिएर सकिएछ । बिहान त शान्त रारामा घामका किरण पर्दा पानीका फोका मोती झैँ टल्केका थिए । मोतीदाना तालभरि छरिएर चम्केकाथे । आखाँले भ्याएसम्म फैलिएको रारालाई किनारमा बसेर फेरि एकपटक हेरेँ, हाम्रो मौन वार्ता भैरहेको थियो । राराको त्यो रूप देखेर म भित्र भित्रै मोहित भैरहेको थिएँ । नेपालकै यती रमणीय राराताललाई धेरैले देख्न पाएका छैनन् । मैले रारालाई देख्न पाएँ, छुन पाएँ, उसलाई आफूमा समाहित गर्न पाएँ । मलाई आफूले जीवनकै कुनै महत्वपूर्ण कुरा गुमाइरहेको रहेछु जस्तो लाग्यो त्यस बेला । झन् उसले मलाई हेरेर मुस्कुराई दिँदा म भुतुक्कै भएकोथेँ । उसको त्यही मुस्कानले त मलाई बिहानीको त्यो चिसोसँग पनि पौँठेजोरी खेल्दै चम्किएका मोती दानालाई पटक पटक आँखा भरी कैद गर्ने साहस दिएको थियो ।
बिहान देखापरेको शान्त राराको त्यो मनमोहक रूप पनि मलाई निक्कै मन पर्यो । चाहना त लामो समय रारासँगै बिताउने थियो तर समयका विरूद्ध को नै पो जान सकेको छ र? अरू साथीसँगै मलाई पनि त्यहाँबाट फर्किनु नै थियो । मन बुझाउनै पर्यो । जे भएपनि नेपालमा पुग्नैपर्ने ठाउँहरूमध्ये एक रारा तालको किनारामा रात बिताउन पाउनु कम खुसीको कुरा हैन । बिहानै रारासँग जिस्कदै हामी फेरि राराको किनारै किनार फर्कियौँ । झण्डै एक घण्टा भन्दा लामो राराको किनारै किनार यात्रा गरेपछि, अन्तिम पटक रारालाई हेरेर हामी उकालियौँ । आँखामा रारा ताल नाचिरह्यो । त्यो जोसमा कत्ति चाँडो बाटो काटिएछ थाहै भएन । जाँदाखेरी झण्डै छ घण्टा लागेको बाटो हामीले दुई घण्टामै पार गरेछौँ । सायद अब फेरि रारासँग मेरो भेट नहुन पनि सक्छ, म यस्तै यस्तै सोचिरहेको थिएँ । त्यो निस्ठूरी रारा मेरो मनको कुरा, के बुझी होला र? तर तालचा एयरपोर्टमा आएर फेरि चील झैँ आकाशमा पुगेका हामीलाई राराको अर्को रूपको दर्शन मिल्यो । ठूलो थालमा भरिएको पानी झैँ उ हाम्रो बिदाईका लागि अर्को रूप लिएर आएकी थिई र हामीलाई बिदाईको हात हल्लाईरहेकी थिई । मैले क्यामरामा कैद गरेका केही दृश्य, अनि मेरो मस्तिस्कले कैद गरेका केही क्षणहरु नै राराको चिनो भएका छन् मेरा लागि ।
गजल : बाँकीले एक थान चिहान बनाउँछन्
5 years ago
4 :: प्रतिक्रिया:
Great narration!
Nepal is really beautiful.
Thank you for sharing your travelogue.
I like your artical very much It is very nice, I appreciate your writing style.
Thankyou.
Sangita
Anita Jee,Nice expression of the feeling. Every word visualizes the beauty of the Rara! I found a good sight inside you. I may be wrong, but I felt some loop holes on setting of the paragraph."Sarara Padhda kahi kahi adkeko feel hunchha". Hope you will improve on this aspects in next writing.
-Bhabasagar Ghimire
जीवन जती महगो छ जुन एक पटक मरे पनि सिद्धिन्छ; जिउनका लागि यि सबै हाम्रा अंग-प्रतिअंगहरु महत्वपूर्ण छन । त्यसै गरी, नेपाल कती सुन्दर छ, यि यस्तै प्राकृतिक र मनमोहक बातावरण युक्त स्थलहरुले भरीपूर्ण आफ्नो पहिचान बोकेको छ । जसमा अनिता जी को लेखन वा व्याख्यात्मक शैली पनि उत्तिकै प्रशंसनिय छ । जे होस्, त्यो आँखाले भ्याए सम्मको बिशाल तालमा चम्किरहेका मोतिका दाना झै छालहरु संग रमाउन पुग्न म पनि पछी पारीरहेको रहेछु, महशुस भयो । धन्यवाद अनिता जी, तपाईको यात्रानुभब र सुन्दरताको यथार्थ सेयर गर्नु भएकोमा !
Post a Comment