इन्टरनेट खोज्ने कसरी ?


- दिनेश वाग्ले

बितेका वर्षमा बोलीचालीमा सबैभन्दा बढी प्रयोग गरिएकामध्ये एउटा वाक्यलाई फेरि एकपटक उल्लेख गरौं- 'यो सूचनाको युग हो ।' इन्टरनेट सूचनाको खानी हो । त्यो खानीबाट आफूलाई चाहिएको कुरा कसरी निकाल्ने ? यहीँनेर आउँछन् गुगल जस्ता सर्च इन्जिन सहयोगीका रूपमा । विश्‍वका करोडौँ इन्टरनेट प्रयोगकर्ताले इन्जिनहरूलाई इन्टरनेटको सूचना सञ्जालमा छिर्ने ढोकाका रूपमा प्रयोग गर्छन् । सबैभन्दा लोकपि्रय गुगल हो जसले सातापिच्छे आफ्नो सर्च बाकसमा सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गर्छ । नेपालसँग सम्बन्धित विषय त्यो सूचीमा विरलै पर्छन् । गत अपि्रलको एउटा साता त्यस्तै दुर्लभ मौका थियो जति बेला उक्त सूचीमा नेपाल टप टेनमा थियो । त्यति बेला ऐतिहासिक जनआन्दोलन चलिरहँदा नेपाल विश्व समाचार शीर्षकहरूमा थियो, धेरैले यसबारे जान्न चाहेका थिए । गुगलमा सोमबार साँझ नेपाल खोज्दा ९ करोड ८८ लाख नतिजा देखिए ।
जान्न चाहने कुरा धेरै हुन्छन् । भोट हाल्ने दिन आउन महिनौं बाँकी छ तर अमेरिकामा राष्ट्रपति चुनावका गर्मी सुरु भइसकेको छ । मुख्य दुई पार्टी रिपब्लिकन र डेमोक्रेटिकका केही प्रतिष्ठित सदस्यले आआफ्नो सङ्गठनबाट राष्ट्रपति उम्मेदवारी पाउने उद्देश्यसाथ आफूलाई सार्वजनिक गरिसकेका छन् । मेरो ध्यान डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारीको आशा गरिरहेका अश्‍वेत सिनेटर बाराक ओबामातिर छ र मैले उनीबारे केही जान्न खोजेँ । त्यसैले मैले सर्च बाकसमा गएर अङ्ग्रेजीमा बाराक ओबामा टाइप गरेँ। लौ, एउटा आर बढी भएछ, सही हिज्जेको बाराक आबामालाई देखाउँदै गुगलले सोधिहाल्यो- के तपाईंले यो खोज्न चाहनुभएको हो ? वाह, उनको आफ्नै वेब साइट रहेछ, बाराक ओबामा डट कम जसमा उनले अमेरिकाका लागि बाराक ओबामा भन्दै आफ्नो राष्ट्रपति-चाहनाबारे थुप्रै कुरा र ताजा सूचना राखेका रहेछन् ।
अचेल सगरमाथा आरोहणका कथा खुबै आइरहेका बेला मलाई पहिलो आरोहण अभियानबारे जान्ने चाहना भयो । त्यसैले एभरेस्ट टाइप गरें । तीन करोड नतिजा आए तर म निराश भएँ । पहिलो पेजका सुरुका १० नतिजामध्ये कुनैमा पनि मैले चाहेको कुरा पाइनँ । इन्टरनेटमा त्यसबारे सूचना नभएको होइन, बरु त्यसलाई खोज्ने मेरो तरिका गलत थियो । त्यस्तै गलत तरिका अपनाउँदा धेरै जना 'ह्‍या, यो इन्टरनेटमा पनि केही रहेनछ !' भन्दै निराश हुन्छन् । निश्चयै, सबै कुराको सम्पूर्ण सूचना इन्टरनेटमा पक्कै हुँदैन तर तरिका पुर्‍याएर खोजे धेरै पाउन सकिन्छ । आखिर मैले चाहेको कुरा पाइछाडेँ । कसरी पाएँ, त्यो बताउनुअघि खोज्ने कलाबारे केही साझेदारी गरिहालौँ।
- दिमाग लगाउने । ठ्याक्कै आफूले खोज्न चाहेको के हो, त्यो सर्च बाकसमा टाइप गर्ने । तर प्रश्‍न नगर्ने । गुगल या याहु जस्ता सर्च इन्जिनले वेब साइटमा लेखिएका कुरा नतिजाका रूपमा तपाईंसामु राखिदिने हो, आफैँ जान्ने भएर उत्तर दिने होइन । (अपवाद हुन्छन्, जस्तै- अन्नपूर्ण तीनको उचाइ कति भनेर गुगलमा प्रश्‍न गर्नुभयो भने ८ हजार ९१ मिटर भनेर फुत्त देखाइदिन्छ । नेपालको जनसङ्ख्या कति भन्दै टाइप गरे ० दशमलव १४ सेकेन्डभित्रै अमेरिकी जासुसी संस्था सीआईएले जुलाई २००७ को अनुमान भनी उल्लेख गरेको २ करोड ८९ लाख १ हजार ७ सय ९० संख्या देखाइदिन्छ ।) वेब साइटहरू यो लेखजस्तै सरर बगेको भाषामा लेखिएका हुन्छन् र सर्च इन्जिनहरूलाई त्यो बुझ्ने गरी बनाइएका हुन्छन् । तपाईं कुनै मान्छेलाई नेपालमा कतिखाले चरा पाइन्छन् भनेर सोध्नुहुन्छ भने सर्च इन्जिनमा नेपाल बर्ड टाइप गर्नुस् ।
- दुर्लभ शब्दहरू प्रयोग गर्नुस् । जति प्रचलित शब्द प्रयोग गर्‍यो, नतिजा त्यति धेरै निस्कन्छन् र टाउकोदुखाइ बढ्छ । तपाईं हिलारी क्लिन्टनको किताबबारे जान्न चाहनुहुन्छ भने र किताबको नाम थाहा छ भने सधैं लिभिङ हिस्ट्री टाइप गर्नुस्, बायोग्राफी अफ हिलारी क्लिन्टन भनेर होइन ।
- उद्धरण चिह्‍नको प्रयोग । सर्च बाकसमा लिभिङ हिस्ट्री भनेर खोज्दा गुगलले तीन खाले नतिजा देखाउँछ जसमा ती दुवै शब्द या दुईमध्ये एक भएका हुन सक्छन् जसले तपाईंलाई चाहेको किताबबारेको पेजमा नपुर्‍याउन सक्छ । त्यसैले ती दुई शब्दलाई दोहोरो उद्धरणमा राख्‍नुस् । जस्तो- "लिभिङ हिस्ट्री" ।
- जोड चिह्‍नको प्रयोग । लिभिङ हिस्ट्री भन्ने कुनै संग्रहालयको नाम पनि हुन सक्छ या अर्कै लेखकको पुस्तक । तर तपाईंलाई चाहिएको छ, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्‍नि तथा अमेरिकी सिनेटर हिलारी क्लिन्टनको किताब । त्यसैले "लिभिङ हिस्ट्री" लगत्तै जोड चिह्‍न दिनुस् र हिलारी क्लिन्टन टाइप गर्नुस् । अब आउने नतिजामा ठ्याक्कै ती प्रभावशाली महिलाकै किताबबारेका नतिजा आउँछन् ।
- घटाउ चिह्‍नको प्रयोग । तपाईं विराटनगरका एक जना कुनै कोइरालाबारे जान्न चाहिरहनुभएको छ तर प्रत्येक खोज-नतिजामा गिरिजाप्रसाद कोइरालाका विवरण देख्दा वाक्क हुनुभएको छ भने यसरी टाइप गर्नुस्- "कोइराला अफ विराटनगर" (घटाउ चिह्‍न) गिरिजा ।
- शुद्ध हिज्जे । इन्टरनेटमा सबैभन्दा प्रयोग गरिने सर्च इन्जिन गुगलले हिज्जे नमिले सच्याएर प्रश्‍न गर्छ (बाराक ओबामाबारेको मेरो खोजी एउटा उदाहरण हो) तर राम्रो चाहिँ सुरुमै सही हिज्जे प्रयोग गर्नु हो ।
- नचाहिने शब्द नराख्‍ने। इन्टरनेट सर्च इन्जिनले अफ, एन्ड, वेब जस्ता शब्दलाई खोजीमा समावेश गर्दैनन् । त्यसैले कोइराला अफ विराटनगरको साटो कोइराला विराटनगर मात्रै गर्दा हुन्छ ।अब मेरो पहिलो सगरमाथा आरोहण अभियानबारेको खोजीतिर लागौँ। मैले ठ्याक्कै त्यही कुरा टाइप गरेँ- "फस्ट माउन्ड एभरेस्ट एक्सपिडिसन" । केही आशावादी भएँ किनकि त्यहाँ डाक्टर अलेक्जेन्डर एम केल्लासको एउटा पृष्ठ मिल्यो जसमा तिब्बतले सन् १९२१ मा एउटा ब्रिटिस दललाई सगरमाथा जाने अनुमति दिएको उल्लेख छ ।

***

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes