चञ्चल मन

नेत्र आचार्य
त्यस दिन तीन दिनको ज्वरोले थलिएर भर्खरै तङ्‍ग्रिए जस्ता देखिने दाढीवाल तपसीले विपश्यनाको प्रवचन दिए । "मन निश्चल र शरीर गतिशील हुँदा मानिस शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छ" भन्दै ती शान्त पुरुषले प्रवचन टुङ्‍ग्याए । हल बाहिर मज्जाले पानी परिरहेको थियो । साथमा छाता हुनेहरू पछाडि फर्कंदै नफर्की हिँडिहाले । हामी भने त्यहीँ ओतमा बसिरहेका थियौँ । कुनै कामले बाहिर निस्कनुपर्दा प्रवचनमा उपस्थित हुन नभ्याएका एक जना साथीलाई मैले ती सज्जनको प्रवचनको सारसंक्षेप सुनाउँदै गर्दा मित्रले फ्‍याट्ट भने, "आफ्‍नो त मन चञ्चल, शरीर अचल भएर पो खत्तम भा'को रैछ ।" कुरैकुरामा हामीले तिनै साधुसँग एकाध महिना योग सिक्ने निधो गर्‍यौँ । पाँच/छ जना साथी तम्तयार भए । विचरा विमललाई भने समस्या पर्‍यो । उनी योग सिक्न हुरुक्क थिए । तर हरेक बिहान पाँच बजे नै उनी डान्स सिक्दारहेछन् । समय जुध्यो, अब योग सिक्नु कि डान्स !

छेउमा हात बाँधेर उभिएका नितेशले विमललाई डान्स सिक्न जोस्याउँदै भने, "साथी, रहर हुँदै तिमीले डान्स सिकिहाल । पछि जवानी ढल्कँदै जाँदा रहर मुर्झाउँछन् । कति साथीहरू यौवनमै सबै कुराप्रति अनासक्त भएर अफिस र घरबीचको एकनासे जिन्दगीमा आफूलाई सीमित पार्न थालेका भेटिन्छन् । न नयाँ कुरा सिक्ने रहर, न नयाँ पुस्तक पढ्‍ने चाख । दुनियादेखि, हुँदाहुँदा जिन्दगीदेखि नै एलर्जी । न खसमसँग प्रेम न दोस्रो घरजम गर्न रुचि । भएन बर्बाद !"

नितेशको कुराले एकै छिन हाँसोको लहर उर्लियो । त्यतिञ्जेल पानी थामिइसकेको थियो । सबै बाटो लागे । नितेश र म पनि गुँडतिर हिँड्‍यौँ । नितेशलाई यतिखेरको युवा पुस्ता देखेर किन त्यस्तो विघ्न कन्सिरी तातेको होला मैले ठम्याउन सकिरहेको थिइनँ । आलोचना गर्दा मात्रै मान्छेको छैटौँ इन्द्रिय खुल्ने गरेको देखेर म मनमनै चकित हुन्छु । कस्तो स्वाद आउँदो हो मान्छेलाई आलोचना गर्दा ? यस्तरी आलोचनाको अचानोमा पर्नुभन्दा अनकन्टार जङ्‍गलमा खुँखार डाँकुको चुप्पी सहनु सहज हुँदो हो सायद । विपश्यनाको अभ्यासले मानिसमा मैत्रीभाव, प्रज्ञाजस्ता गुण विकसित हुन्छन् । आफू र अर्कोबीच अभिन्नता महसुस हुन्छ, अर्काको खुशीमा आफ्‍नो खुशी देख्ने भावना पैदा हुन्छ । तर अरूलाई भित्तामै पुग्ने गरी आलोचना गरेर स्वाद लिनेहरूलाई विपश्यना कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो मात्र हुँदो हो ।

मेरो मनको कुरा बुझेँजस्तै गरी नितेशले त्यति नै खेर आफ्‍नो भनाइको स्पष्टीकरण दिन थाले, 'हेर्नुस‍ न, युवा पुस्तामा कनिकुथी कलेजको पढाइ सक्ने र एउटा जागिर पाएपछि हाइसुख्ख भएर बस्ने प्रवृत्ति देखिन थालेको छ । म त दङदास छु, कसरी यस्तो भइरहेको छ ? सायद यो हाम्रो अति अवैज्ञानिक शिक्षा प्रणालीको दोष हो । स्कुल र कलेजमा पाठ्‍यक्रमका पुस्तक हूबहू घोकिदिए फस्र्ट डिभिजन आउँछ । पुराना ब्याचका नोट वा गेस पेपर पढेर परीक्षा दिए पनि मजाले पास भइन्छ । दुन्निया रेफरेन्स पुस्तक पढेर टाउको दुखाउन किन पर्‍यो । पढ्‍ने बानी नभएपछि जीवनमा महत्वाकाङ्‍क्षा कहाँबाट आउनु, जीवनप्रति संवेदना, प्रेम कहाँबाट जाग्नु । टिन एजर हुँदा पुस्तक किन्न भनेर प्यारेन्ट्‍ससँग मागेको पैसा उडाउने उपाय कति छन्‍ कति । फिल्म हेर्न गए भइगो, कन्सर्ट, स्पोर्ट्‍स, स्वीमिङ, चुरुट, ड्रग्स... एण्ड सो अन ।'

उनका तर्कना सुन्दै गर्दा एक मन त मलाई लाग्यो, who are we to comment their life style? यो तिनीहरूको जिन्दगी, तिनीहरूले आफ्‍नै पाराले बिताउँन् ! हामीलाई के ? यतिञ्जेल हामी गुमनामनगर आइपुगेका थियौँ । यहाँको दरबारको पूर्वी गेटनेर एभरेष्ट होटल छ, हामीले प्राय: खाना खाने ठाउँ । होटेलमा पस्नै लागेको बेला झलक्क मलाई विपश्यनाका साधुले 'नो होटेल, नो हस्पिटल' भनेको याद आयो । होटेलमा खाना खान पस्नेहरूको मुख हस्पिटलतिर फर्किएको हुन्छ रे ! होटेलको चिल्लो र अत्यधिक मसलायुक्त खाना खानाले एसिडिटी बढेको पनि मलाई थाहा छ । यद्यपि कोठामा पुगेर आफैँ खाना पकाएर खाँदा त रातको दश बज्छ होला भनेर तर्कना गर्दै हामी होटलमा छिर्‍यौँ । हाम्रो जोरदार तर्क थियो, 'साधुसन्तले भनेका सबै वचन शिरोपर गर्दै जाने हो भने दुर्इ पाइला हिँड्‍न र दुई छाक खान पनि अनुमति पाइन्न यार !

'राति सुत्ने बेलामा विपश्यनामा बसेँ । आठ-दश मिनेट विपश्यना गर्छु भनेर बसेको, समय बितेको पत्तै भएनछ । ध्यान गहिरिँदै जाँदा म नितेशको विगततिर एकोहोरिएछु । नितेशलाई सानैदेखि चिन्ने हुँदा उसको बाल्यकालको पृष्ठभूमि र सम्पूर्ण विगत मैले एक पटक मस्तिष्कको चित्रपटमा फुकाएर हेरेँ :

'समाज हामीले चाहेको ट्रयाकमा हिँड्‍दैन । नित्सेले भनेकै छन्, व्यक्तिको पागलपन अस्वाभाविक हो तर समाजको, देशको पागलपन नियम नै हो । यहाँ जसको बाहुल्य छ उही हावी हुन्छ । गाउँमै गोर्की, चेखब, लेर्मेन्तोभ, तोल्सतोयका किताब पढेर दङदास हुन्थ्यो । उसलाई सानैदेखि पुस्तक पढ्‍ने बानी बस्यो । पुस्तकहरूले नै उसलाई गाउँबाहिरको विशाल संसारसँग परिचित गराए । पढ्‍ने बानी झन‍ तेज भयो । हिन्दी, संस्कृत र अङ्‍ग्रेजी साहित्यको सङ्‍गतले उ बहकिँदै गयो । यो बानीले उसको महत्वाकाङ्‍क्षा निकै बढाएको छ । उसलाई गाउँमा छटपटी भयो, पोखरा आयो, त्यहाँ पनि टिक्न सकेन, काठमाण्डू खाल्डोमा छिर्‍यो । अब यहाँ पनि उ बेचैन हुँदै गएको छ । सायद छिटै यहाँबाट पनि कुलेलम हुनेहोला । लौ, सबै यस्तै कहीँ अड्‍न नसक्ने हुनुपर्छ भन्ने के छ हँ ।'

नितेशले मेरो मनको यो अन्तर्सम्वाद सुनेको भए के भन्थ्यो होला । सायद यसरी जवाफ फर्काउँथ्यो होला : 'हेर, आजै विपश्यनामा ती साधुले मन निश्चल भएको जाती भनेर सम्झाएका छन् । तिमीलाई के थाहा, मानिसका सम्भावनाहरू कति छन् भनेर । हामी मानव जातिले आजसम्म हाम्रो मस्तिष्कको ५ प्रतिशत मात्रै उपयोग गरेका छौँ । मस्तिष्कको शतप्रतिशत उपयोग गर्न हामीले अरू केही गर्नुपर्दैन, सिस्टमेटिक अध्ययन, चिन्तन, मनन र सृजनात्मक क्रियाकलापद्वारा मस्तिष्कको पर्याप्त Exercise गरे पुग्छ । त्यो संसारको कल्पना गर त, जहाँ मानिसले आफ्‍नो मस्तिष्क र भावनाको सम्पूर्ण उपयोग गरेको हुन्छ । हामी जहाँ पनि पुग्न सक्नेछौँ । हामीले चाहेको जे पनि गर्न सक्नेछौँ । सबै कुरा हासिल गर्न सक्नेछौँ । यस्तो सम्भावना आँखा अगाडि देख्दादेख्दै युवा पुस्ता सुस्केरा हालेर अथवा लामो हाई तानेर बस्न सुहाउँछ ?'

मेरो मनमा यस्तो तर्कना कतिञ्जेल चल्ने थियो, बाहिर पानी पर्न थालेछ, झ्‍यालबाट आएको बाछिटाले मलाई होशमा ल्याइदियो । म ब्ल्याङ्‍केट तानेर सुतेँ । राति निद्रामा भने सधैँजस्तो त्यो ठूला ठूला आँखा हुने ठिटीसँग भेट भयो । त्यो चुलबुले ठिटीलाई देख्ता मलाई झलक्क मेरो फेभराइट राइटर नित्सेकै याद आउँछ । हुन त नित्सेले निस्सार संसारप्रति ठाउँठाउँमा कटाक्ष गरेका छन् । एक ठाउँमा उनले केसम्म भनेका छन् भने, 'यो दुनिया विष्टा हो, हाम्रा प्रयत्नहरूको उचित पुरस्कार पाइएला भनेर सोच्नु व्यर्थ छ ।' तर उनलाई सङ्‍गीत कस्तो मन पर्ने भने, 'म चाहन्छु सङ्‍गीत त्यस्तो होस् मानौँ यो अक्टुबरको घमाइलो मध्यान्ह हो, एकदम उल्लासपूर्ण र व्यापक । मानौँ यो अरूभन्दा एकदम अलग, चञ्चले, कोमल र मायालु ठिटी हो जसमा अनौठो एकोहोरोपना र आकर्षण छ ।'

छरितो चालडाल भएकी त्यो ठिटीसँग म एकाध पटकबाहेक बोलेको छैन । तर उसको सम्झना आउँदा मन गुनगुनाउन थालिहाल्छ : ...निगाहेँ राह तकती है । त्यो ठिटीलाई गाउँमा लगेर घाँस कटाउने कत्रो रहर मलाई ! उसले निधारमा टल्केका पसीना पुस्दै नपुछी मतिर हेरेको हेर्ने कस्तो हुटहुटी मलाई ! त्यो ठिटी मेरो जीवनमा सायद कहिल्यै आउँदिन । मैले उसलाई पछ्‍याउने चेष्टा पनि कहिल्यै गर्ने छैन । मलाई विपश्यनाकै पछि लाग्नु छ । यति हुँदाहुँदै पनि जब-जब उ याद आउँछे, म विपश्यनाद्वारा मनलाई नियन्त्रण गर्दिन, उसैलाई याद गरिरहन चाहन्छु ...

2 :: प्रतिक्रिया:

safal ghimire said...

nice to go thru...
thanx...

Anonymous said...

katha ta ramro lagayo. tara sathi tapai bipashana ma dhari pakeko jasto lagena. bipasana garna nischal maan sangi jati istir sarir vayo uti ramro.

galat tarika le bipasana garda po thiti ko yaad dhari aako ho ki ?


suraj baidha

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes