Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

समय र नीलो प्रेम



।। शिव ज्ञवाली ।।

भर्खरै फेसबुकको स्टाटसमा एउटा म्यासेज अपलोड गरेँ ।

मुड त्यति फ्रेस छैन । गर्मीले शरीर लस्त छ । झ्यालबाट सुटुक्क छिरेको चिसो हावाको स्पर्शले ओइलाएको जाँगर फक्रिन्छ । यो समय म प्रायः च्याटिङ र फेसबुकमा बिताउँछु ।

एउटा मासिक पत्रिकको कनीकुथी सम्पादक । पलङमुनि गोल्डस्टारका तीन जोर नयाँ, पुराना जुत्ता । गाउँबाट आमाले पठाइदिएको गुन्द्रक र मस्यौराका पोकाहरू । टेवलमा ल्यापटप छ, विदेशी मित्रले उपहार दिएको । सडकमा कुकुरहरूलाई कार्तिक लाएको छ । पर....मोटरको आवाज केही मन्द हुँदै जाँदैछ ।

रातको साढे एघार बजिसकेको छ । सिरानीमा मोबाइल लडिरहेछ । म यो कोठामा विगतका केही वर्ष अघिदेखि एक्लै छु । कहिलेकाँही पाहुना पनि थपिन्छन् । यो समयसँग मेरा धेरै सुरुवातहरू जोडिएका छन् । सायद मैले पहिलो पटक एक पफ गाँजा तानेको समय, यस्तै लेख्नै नपर्ने अरू पनि । केही अनौठो, केही नयाँपन र गर्वको अनुभूति संगालेको त्यो क्षण । केही घुर्मैलो सम्झनामा आइरहन्छ ।

ààà

बाहुन गाउँमा रातिको राम हेर्न जानलाई अनुमति थिएन । त्यो रात मगर गाउँको साँल्दाइको कड्कुरोमा बितेको थियो । उद्देश्य गाउनुभन्दा बढी तरुनी जिस्काउनुमा थियो । तरुनीहरूको भीडमा पछ्यौरा ओढेर बसिदिन्थे । उमेरले भर्खर सोह्र काट्दै गर्दाको रुमानी मौसम । बतासले पात हल्लाउँदा पनि त हाँसो उठ्छ ?
‘ओए बाउन ! टिमी आम्छौ ?’

स्कुलबाट फर्कदैं गर्दा बाटोमा झुपीले सोधी ।

रातामाटे माल्दाइकी छोरी, उमेरले दमाली नै हो । बाटोमै घर छ । ऊ स्कुल जान्थिन । उचाइ पनि लगभग मेरो चिउँडोसम्म आउँथी । राताराता गाला र पोटिलो शरीर । नेप्टो नाक, वक्षस्थलले चुन्नी अलिक माथि उठ्न थालेको, वसन्तको पहाड जस्तै । म सम्झिन्छु उसलाई । हिजोजस्तै लाग्छ तर पाँच दशक नाघिसकेछ ।

‘कहाँ आउने भनेको ?’

‘साँल्दाइकोमा झाम्रे छ, ठा’पा छैनौ ?’

‘के खान हो भन्चु ?’

‘एक थोक देम्ला नि !’

‘पक्कै दिन्छेउ ?’

‘सुपाले टाँस्नी नदे’त । उसले चुनौती दिँदै भनी, ‘देन सक्ने कि खान सक्ने ?’

‘अहिले नै देउ नत ।’ मैले पनि निर्धक्कसँग मागें किनकि घरमा ऊ एक्लै थिई ।

‘अहिले जो खरोभ’भा बेनको जाँड घलामेर खाउ केरे ।’ उसले मैले सोचेभन्दा फरक प्रस्ताव गरी । उसको नजिकै गएर हात समाएँ ।

‘म त आउँदिन ।’ मैले भाउ खोजें ।

‘केलाई नआम्न परो ? साँझ देम्ला के एक थोक ।’ उसले लुकाएर राखेको एक थोक साँझदिने बाचा गरी ।
सुटुक्क घरभित्र छिरेर एक मग सुइक्याएँ । कसैले थाहा पाउँदैनन् भन्ने पक्का थियो । उसले पनि अलिकति खाई, मलाई पनि खुवाइदिई । निकै राम्री थि मोरी । हाँस्दा गालामा डिम्पल स्पस्ट देखिन्थ्यो ।
‘म जान्छु अब’ मैले भने ।

‘साँझ आउहै बाउन’, उसले भनी । हिड्ने बेला गम्लङ्ग अङगालोमा बेरेर चुप्प म्वाइ खान पनि भ्याई । म पनि के कम उसलाई साथ दिएँ । र, झाम्रेको प्रस्ताब स्वीकारी दिएँ । ‘बाटोमा राम्रोसित जाउहै, फेरि मन्टेउला, ‘केही तल पुग्दासम्म उसले सम्झाउँदै थिई । यता मलाई भने घरबाट कसरी निस्कने भन्ने समस्या थियोे । थाहा पाए फलानो फलानिसित सल्किएछ । पँधेरालाई मसला हुने ।

घरका सबै सुतिसकें । बार्दलीबाट मलखातोमा फालहालेर पुगें झाम्रेमा । साँल्दाइको आँगनमा झाम्रे, दोहोरी र चुड्काको मारामार थियो । दोहोरीमा युवायुवतीहरू छेंड हान्दै थिए । पर सुन्तलाको रुखको छाँयामा म र उजेली र झुपी थियौं । ‘छि † काठाको नाख कत्रो वाई ।’ मेरो नाकलाई लक्षित गर्दै झुपीले भनी । तर, परिवेश नाकसँग मिल्ने थिएन । गाउँमा छँदा यस्ता झाम्रेहरू धेरै बिते गाउनुभन्दा अरूमा नै ।

चिसोले निकै हान्न थालेपछि गाँजाले सालको सुल्फामा बेरिएर हामीलाई तताएको थियो । उजेली पनि सँगै थिई, फर्कायौं । स्वस्थानीमा महादेव र पार्वती झैं झुपीको पोल्टामा त्यो रात कटाइदिएँ । त्यो साढे एघार ........हातको चिमचिमे घडिमा बजिरहेको थियो । दिनभरिको मेलापातले थकित उसको शरीर, काखीबाट पसिनाको अमिलो गन्घ । मिड्डीको फेरमा म निदाएँ । अलिकति रिसाएकी थिई अर्कोदिन । दुःखको कुरा त्यो दिनदेखि आजसम्म भेट भएको छैन उनीहरूसँग ।

त्यसो त प्रेम गर्ने चलन गाउँमा परिवर्तन आएको छ । हामी वन पाखामा, रोपाइँ र पानी पँधेरोमा प्रेम साट्थ्यौं । तर मोटर र मोवाइलले धेरैको सम्बन्ध जुराइदिएको छ । एउटा जोक्स सम्झिन्छु, ‘सुहागरात’को । गाउँमै बाख्रा चराउँदा गरेका कामहरू ।

ààà
पाँच दशक पछिको भिन्नताले तिरमिराउँछन् आँखा । जीवनशैलीमा परिवर्तन आएको छ । प्रविधिको प्रयोगले यान्त्रिक बन्दैछ मानिस । म सम्झिर्दै छु आफ्नै परिवर्तित परिवेश । एस.एल.सी पछिको मेरो सहर बसाइँ । त्यसो त एक दशक विदेशमा विताइएछ । र, कम्प्यूटर इन्जिनियरको मेरो पेसा आफै पनि यन्त्रिक भइसकेको अनुभव गर्छु ।

धेरै समयपछि फेसबुकमा झुपीको सम्झनामा केही शब्द चढाएँ ‘झुपि र झाम्रे’ । ऊ हेर्छे हेर्दिन थाहा छैन । सायद सुदूर गाउँमा त्यो पहुँच छैन । हेर्न पाएको भए साढे एघार.....ऊ फेरी सम्झिन्थी होली, मैलेजस्तै घरीघरी । एउटा मीठो पहिलो अनुभव बिर्सिन चाहेर पनि त कोही सक्दैन ।

केही झकाएका छन् आँखाहरू । पानीको सटेज छ कोक पिइदिन्छु । यो सहरिया जीवनको बाध्यता । मोबाइल बज्छ । समय बिताउने अजीव साधन, बोर लायो कि थिचिदियो । ठिटीहरूको प¥यो भने घण्टौं गफिन्छ ।
‘शलिना’ मेरी पार्टटाइम गर्ल फ्रेण्ड, यसरी नै भेटेको थिएँ । उनीसँगका क्षणहरू सम्झिन चाहन्न किनकि हामी एक महिनामा नै डिभोर्स गरिदियौं । बालै भएन ! आउने जाने त क्रम चलिरहन्छ । उनीबाट जन्मेको छोरा अहिले दोस्रो बाउसँग रम्दै छ । हप्ताअघि पार्टीमा भेट भएको । बियरको चुस्कीसँगै पूर्व छोरासँग निकै रमाइलो भएथ्यो । म यी सब बिर्सन चाहन्छु ।

‘तपाइँ को बोल्नु भो’, मेरो प्रश्न खस्न नपाउँदै उल्टै म त्यो नारी स्वरको जवाफ दिनु पर्ने फसादमा परें । म अलमलिएँ । ‘अलमलिनु भो हैन ?’ नारी स्वरले सोध्यो । म केही बोल्न सकिन । ‘रातिराति केटीहरूलाई फोन गर्न लाज लाग्दैन ?’ मलाई भाउन्ना छुट्यो । उनको अन्तिम प्रहार, ‘तपाइँलाई रातिमा यसरी केटीहरूसँग फोन गर्न मजा आउँछ होइन ?’ म नाजवाफ भएँ । हातबाट मोबाइल सेट खस्ला जस्तो भयो र शरीरमा चिटचिट पसिना आयो ।

करिब पन्ध्र मिनेटपछि त्यहीँ नम्बरबाट म्यासेज आयो ‘तपाइँलाई गुड नाइट नभनी म कसरी सुत्न सक्छु र ?’ मैले तत्कालै डायल गरें । उनी प्रमिला थिइन् । प्रमोदकी पे्रमिका । मेरो कलेजकी छात्रा । भर्खर ‘ए’ लेभल सकेर आएकी थिई ।

प्रमोद मेरो कलेजको धुरन्धर पढन्दास । उमेरले मभन्दा निकै कान्छो थियो । मध्यपश्चिमको होनाहार ठिटो, बाकपटुक । ठिटीहरू लठ्ठै हुन्थे उसको बोलिमा । यो जोडीसँग कहिले रङ्गमञ्च त कहिले रङ्गशालामा भेट हुन्थ्यो । कुराकानीकै शिलशिलामा भेटको प्रस्ताव त उनैले राखिन् । मलाई केही सहज भयो । म उनलाई मन पराउँथे । रत्नपार्क छेउको चिया पसलमा एक दिन उनलाई भेटें । त्यो दिन उनीसँग वन साइडेड लवको बारेमा कुरा गरें । उसले पूरै इन्कारेकी थिई ।
आज रातको फोनले मलाई तनाब दियो । बिगत दुई वर्षदेखि ऊ कसैलाई पे्रम गर्छे । घोरिएर सोँचें । उसका पनि त रहर र इच्छाहरू पानीका फोका झैं उठ्दै र फुट्दै गर्छन् होला । सायद ऊ प्रमोदसँग सन्तुष्ट छैन, एउटा जवान केटी । प्रमोद भद्रमान्छे हो । उसको एउटै कमजोरी छ । कसैसँग जीवनसाथीको रूपमा प्रेम गर्छ भने बिहे अगाडि उसलाई पुजिरहन्छ । वास्तवमै आदर्श प्रेमी । पहिलो दिन फोनमै एउटा टुटेफुटे कविता सुनाइदिएँ । त्यसपछिका दिनहरू फोनमै घण्टौं बितिदिन्थे । रातका फोनका बातले मेरो एक्लोपन केही सुन्दर बनाइदिन्थ्यो । खुलेर यौनका कुरा हुन्थे । म तपाइँलाई सोधुँ ? तपाइँ खुलेर नेपालीमा आफ्ना अङ्गका नाम भन्न सक्नुहुन्छ ? फोनले यसलाई सहज बनाइदियो म सोधिदिन्थे ।
‘तिमीले कहिल्यै अनुभव गरेकी छौं ?’

‘छि ! कस्तो लाज नभा’को ।’

‘मन लाग्दैन ?’

‘लागेर के गर्नु ....केटाहरूलाईजस्तो सजिलो छर ?’

‘तिमी कसैलाई प्रेम गर्छेउ ?’

‘तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।’

उसको स्वरमा कताकता आँसु भिजेको पाउँछु । विगतका केही घटनाले ऊ प्रमोदसँग प्रेम गर्थीर्, मेरो विश्वास दरियो । उनीहरू सँगै रात बिताउँथे । मेरीस्टोप सेन्टरमा उनीहरूले एवर्सन गरेका थिए, मेरै साथीको क्लिनिकमा । म केही सोच्न सक्दिन । प्रमोद आखिर त्यस्तो थिएन  । उसले प्रमिलालाई प्रेम गथ्र्यो त्यसैले सहयोग मात्र गरेको हुनसक्छ । ‘तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।’ प्रमिलाको अन्तिम वाक्यले रत्नपार्कमा रातको समयमा भेटीएकी एक ठिटीले भनेको आई.एम भर्जिन ब्रो सम्झाइदिन्छ ।

ààà

समय बितेको पनि पत्तै नहुने । आज म र प्रमिलासँगै बस्न थालेको एक दशक पुगिसकेछ । यो समयमा हामीबाट एउटी छोरी जन्मिएकी छ । छोरी आजभोलि होस्टेलमै छे । उसको उच्च शिक्षासम्मको डोनेसन भरिसकेका छौं । सायदै अब ऊ फर्किन्छ । आजको रात म धेरै व्यस्त छु । कारण भोलि नै प्रमिला र मेरो डिभोर्स पार्टी छ । उनी भोलि नै अर्कैसँग विवाह बन्धनमा बाँधिदै छिन् । मैले पनि वृद्धा आश्रमको लागि अग्रीम बुकिङ फर्म बुझाउँदै छु । बाँकी जीवन अबको केही दशक म ‘रोबोर्ट’ मेरी नयाँ यान्त्रिक जीवन सङ्गिनीसँग बिताउँदै छु । भोलि नै हाम्रो इन्गेजमेन्ट हुँदैछ । रातको ठीक साढे एघार बजे ।

 gyawali.shi@gmail.com

नयाँ घर


॥ दीपक जडित ॥
जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दै थियो । काठमाडौं जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यति सजिलो कहाँ हुन्छ र ? छन त तीन जनाकै मात्रै परिवार छ दिलबहादुरको, तर पनि आफ्नो घर छैन। दुई कोठा भाडामा लिएर सारा संसारै त्यसैलाई सम्झनुपरेको छ। पहिले छोरो सानै हुँदा यौटा कोठा सुत्न-बस्नको लागि प्रयोगमा आउंथ्यो र अर्को भान्सा तथा राखनधरनको लागि । अब छोरो हुर्कंदै गएपछि त्यो पनि रहेन । छोरोलाई यौटा सिंगै कोठा चाहियो भने यता दिल बहादुर र उसकी श्रीमतीलाई भने भान्सामै सुत्ने बस्ने गर्नुपर्ने भयो ।

दिलबहादुरको पसलको आम्दानी पनि भन्नु मात्रै छ । राम्रो होस् पनि कसरी ?त्यति चहलपहल नै नहुने गल्लीभित्र सानो कोच्याक्रो परेको पसल छ । धन्न यौटा छोराको स्कूल खर्च धानेर तीन जनालाई रुखो सुखो ख्वाएको छ ।

त्यसो त गर्नेले यस्तै सानो पसल गरेर पनि कमाएका छन्। घर जग्गा जोडेका छन्। कतीले गाडीनै चढेका छन तर दिल बहादुरको त खै पुर्पुरोमै छैन क्यार। हुनत तराईतिर दिल बहादुरको तिन चार बिगाहा जमिन पनि छ तर जग्गा जमिन भएर मात्र पनि भएन त्यसको भोग चलन गर्न पनि पाउनु पर्यो। आफैंले खनजोत नगरे पनि त्यती थोरै जग्गा हुनेले कसैलाई अधिया ठेक्कामा दिएर त्यसको आम्दानी सम्म खान पाउने भए पनि दिल बहादुरलाई निक्कै हुनेथियो तर पञ्चायतीकालमा गाउँ पञ्चायतको उप प्रधान भएको दिल बहादुरलाई आज आएर त्यतीबेला उप प्रधान हुनुकै अभिषापले घरबार छोडेर काठमाण्डौ भाग्नु पर्यो। तराईको उस्को भएजती जग्गा अहिले सबै माओवादी जनसरकारको कब्जामा छ। दुई पटक सम्म आफ्नो धेरै सम्पती नभएको र आफुले उप प्रधान भएको बेला पनि शोषण गरेर वा भ्रष्टाचार गरेर कुनै सम्पती नजोडेको सफाई दिन पनि पुगेकै हो दिल बहादुर तर जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस् त्यसैले तेस्रो पटक पनि यो जग्गामा हकदाबी गर्न आईस भने तेरो घाँटी छिनाईदिन्छौं। तैंले शोषण गरेको थिईनस र नै आजसम्म तेरो ज्यानमा तलवितल भएको छैन भन्ने धम्की पुर्ण जवाफ दिए। त्यसपछि दिल बहादुर फर्केर गाउँ गएको छैन। तिन चार बिगाहा जग्गाको पछि लागेर ज्यानै फाल्न पनि कहाँ सक्थ्यो र दिल बहादुर बरु गाउँको जग्गा माया मारेर काठमाण्डौमा नयाँ जोडजाम गर्न लागीपरेको छ।

काठमाण्डौ आउँदा पाँच वर्षको छोरा र श्रीमतीको साथमा आएको दिल बहादुरले गाउँको घर बेचेको पैसाले सानो पसल शुरु गरेको थियो। अहिले आएर छोरा हुर्केर प्लस टु पढ्ने भै सक्यो तर पसल भने हुर्काउन बढाउन सकेको छैन।

पढाईमा होनहार छ दिल बहादुरको छोरा- नविन। सरकारी स्कूलमा पढाउँदा चिनेजानेका जती सबैले छोराको भविश्य किन बर्बाद गर्छस ए दिल बहादुर ? भोली तेरो छोरो ठुलो मान्छे हुन्छ राम्रो स्कूलमा हालिदे भने। हुनपनि हो उस्को सम्पती भन्नु नै त्यै यौटा छोरा त हो। आफुले त केहि नै गर्न सकेन जीवनमा भोली त्यही छोराले केहि गर्यो भने बुढेशकालमा सुखको दिन देख्न पाउंछ उस्ले त्यसैले आफ्नो र श्रीमतीको खाने लाउने ईत्यादी खर्च कटाएर भएपनि छोरालाई राम्रो स्कूलमा हालेको छ।

ठुलो हुँदै गएपछि छोराले घरको समस्या बुझ्ला भन्ने लागेको थियो दिल बहादुरलाई तर परिणाम उल्टो देखा पर्दै गयो। राम्रो स्कूलमा हाल्नुकै परिणाम- हुनेखानेका छोराछोरीसँगको संगतले होला दिलबहादुरलाई छोराले दिनहुं कचकच गर्न थाल्यो, "साथीभाई छन्। उनेरकोमा नि गईन्छ, कैलेकाहिं उनेरलाई पनि ल्याउनु पर्छ। खै आफ्नो त घर पनि सुँगुरको खोर जस्तो छ। यत्रो भै सक्यो काठमाण्डौमा बसेको यौटा घर पनि बनाउन नसक्नेले किन छोरा जन्माउनु ?" छोराको दिनदिनैको यस्तै गन्थनले दिल बहादुर रुन सम्म सक्दैनथ्यो।
धन्य मलाई बा आमाले दुखजिलो गरेर राम्रो स्कूलमा पढाईरहेकाछन्। मैले भोली बा आमालाई सुख दिनु पर्छ भन्नुपर्ने छोराले संधै कचकच गर्न थालेपछि दिल बहादुर कि श्रीमतीले माईती तिर गएर रोईकराई, हारगुहार गरेर उस्को पसल भएकै गल्लीको भित्रपट्टी बाटो न घाटोको चार आना घडेरी किनेकी थिईन।

माईतीको ठुलो मन हुने हो भने अथवा छोराछोरी दुबैले बाबुआमाको सम्पती बराबर अँशभाग पाउने हो भने दिल बहादुर कि श्रीमतीले पनि काठमाण्डौमा भने जस्तो ठाउँमा भनेजस्तो घर बनाउन सक्ने थिईन तर छोरी परिन उनि छोरी पनि अर्काको घर गै सकेकि त्यसैले माईतीले त्यती चार आना घडेरी किन्न सघाउँदा पनि पछि शान्ती भएर गाउँको जग्गा फिर्ता भएपछि ब्याज सहित तिर्ने शर्तमा मात्र सघाए। जसरीतसरी होस् छोराकै निंती घर बनाउनको लागी दिल बहादुर कि श्रीमतीले घडेरी जोडेरै छाडिन् अनि दिल बहादुरले पनि रिनपान, सरसापट गरेर दुई ट्रक जती ईंटा उसकै घडेरीबाट नजिक पर्ने गरी अर्काको खाली जग्गामा राखेको सम्म पैसा तिरेर राखेको छ। जसरी होस तिन महिना भित्रमा नक्सा कोराएर जग खन्ने योजनामा छ दिल बहादुर तर समयले नै साथ दिदैन उसलाई। महिनामा एकदुई पटक हुने बन्द हड्तालले त उस्को योजनालाई ठुलो असर पुर्याउथ्यो अब त झन दिनहुँ जसो बन्द हुन थालेको छ।
आजभोली लाखौं लाख मानिसहरु सडकमा निस्किएर जिन्दावाद मुर्दावादको नारा लागाउछन्। राजतन्त्रको जरै उखेलेर फाल्न अनि गणतन्त्र स्थापना गर्न मान्छेहरु हत्केलामा ज्यान राखेर नारा जुलुसमा सहभागी हुन्छन।
त्यसै त चैत्रको तातो घाम काठमाण्डौको साँघुरा सडकहरु घामले तातेर आगो बल्ला झैं भै रहेको त्यसमाथी सडकभरी, चोकचोकमा जताततै टायरको थुप्रो भेला गरेर दनदनी आगो बाल्दा र त्यसको कालो मुस्लो धुँवाले उपत्यका ढाक्दा सारा काठमाण्डौ उपत्यका नै आर्यघाट झैं प्रतित हुन्थ्यो। छिनमै सलह झैं लाखौं नरनारीहरु उपत्यका नै थर्काउँदै नारा जुलुसका साथ सडक भरी निस्कन्थे मानौं कि काठमाण्डौमा अर्को यौटा सुनामी आईरहेछ। छिनमै आर्मी र प्रहरीले निहत्था जनताको जुलुसमाथी अन्धाधुन्ध लाठीचार्ज गरेर अनि गोली बर्षा गरेर घाईतेहरु र मृतहरु मात्र सडकमा रहँदा फेरी लाग्थ्यो कि तहसनहस गरेर सुनामी भर्खरै गएको छ।
प्रशासनको दमन देखेर दिल बहादुरको पनि रगत उम्लिन्छ। उस्लाई पनि जुलुसमा सहभागी हुने इच्छा जागेर आउँछ तर फेरी गाउँमा जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस भनेको सम्झना आउँछ र चाहेर पनि उ जुलुसहरुमा सहभागी हुन सक्दैन।
दिल बहादुर मनमनै आफैंलाई धिक्कारेर थुक्छ। उहिले पञ्चायतकालमा उप प्रधान भएकोमा उस्लाई आफैं देखि घृणा लागेर आउँछ। आज उ आफुलाई घर न घाटको ठान्छ। गणतन्त्रवादीहरुको कित्तामा छु भन्नलाई पनि उसलाई तिनिहरुले नै पञ्चे भन्ने गर्छन्। पञ्चेहरुकै कित्तामा हुनलाई पनि आज कतै कसैसँग न उसको सम्बन्ध छ न त सरकारको कुनै रवैया नै उसलाई मन पर्छ।
घरीघरी उस्लाई आफु यो देशको नागरिक त हुँ भन्ने कुरामै शंका लाग्छ।

आन्दोलन चरम उत्कर्षमा पुगेको बेला एकदिन दिल बहादुरले घर बनाउन थुपारेको ईँटा केहि नौ जवानहरुले ओसार्दै गरेको देख्यो। उसलाई ति नौ जवानहरुले ईंटाहरु कुन प्रयोजनको लागी ओसारीरहेछन भन्ने बुझ्न बेरै लाग्दैन। एकमनले दिल बहादुर खुशी हुन्छ। कम से कम मैले खरिद गरेको ईंटाले आर्मी र प्रहरीको प्रतिकार गर्न जनताको काम त गर्यो भन्ने लाग्यो उसलाई फेरी तुरुन्तै यौटा घर पनि बनाउन नसक्ने ले किन छोरा जन्माउनु भन्दै गरेको छोराको अनुहार आँखामा आयो र नौ जवानहरुलाई सम्झाएर म गरिबको ईंटा नष्ट नगरिदिनुहोस् बाबु हो भन्नलाई त्यतै तिर लम्कियो।
जसै दिल बहादुर ईंटा ओसार्दै गरेका नौ जवानहरुको नजिक पुग्छ। भिंडबाट यौटा परिचित आवाजले उस्लाई हकारेझैं लाग्छ। एकछिन सम्म उस्ले कता कस्ले कस्लाई के भन्यो पत्तो पाउँदैन। अरुलाई भनेको हो कि आफुलाईनै भनेको हो ठम्याउन नपाउंदै त्यहि भिंडबाट दुबै हातमा ईंटाको टुक्रा बोकेर उस्को छोरो उ भएतिर निस्कियो र झपारेको स्वरमा भन्यो, "हैन तपाईं बुढो मान्छे यहाँ किन आउनु भ'को ? खुरुक्कन घर गएर बस्नु। यहाँ तपाईंको काम छैन।"
दिल बहादुरको गोडा जहाँको तहिँ अडिन्छन्। एकै निमेशमा उस्को मनभरी यति कुराहरु खेल्न थाल्छन् कि उ अवाक हुन्छ। जुन छोराको लागी घर बनाउन भनेर अनेक तरहले उस्ले केहि ईंटा जुगाड गरेको थियो आज त्यहि छोराले नै त्यो ईंटाहरुको सर्बनास गरिरहेको छ।

" हैन घर जानु भने पछि जानु नि खुरुक्क। किन यहाँ उभिईराखेको ? " छोराको गर्जनाले झस्किन्छ उ। सम्हालिने कोसिस गर्दै दिल बहादुर छोरालाई भन्छ, " अनि बाबु यो ईंटा ...? घर...? त्यत्रो पैसा...? " दिल बहादुरलाई छोरालाई के भनें थाहा हुँदैन। जती सम्हालिएर बोल्न खोजेता पनि स्पस्टसँग केहि भन्न सक्दैन उ तर छोराले बुझ्छ दिल बहादुरले भन्न खोजेको कुरा, " यत्रो देशमा घर नहुने हामी यौटा परिवार मात्रै हौं र ? जब यो देश नै लाखौंलाख गरिबको लागी घरजस्तो छैन भने तपाईंले तिन कोठाको घर बनाए पनि नबनाए पनि के फरक पर्छ र ? अब चाहिंदैन मलाई घर सर। यो देश नै मेरो घर हो यसैलाई नयाँ बनाउन पाए पुग्छ मलाई।" दिल बहादुरले आफ्नो छोरालाई यस्तो रुपमा देख्छु भनेर कल्पना सम्म गरेको थिएन। उसले सानो सम्झेको छोरो कतिखेर कतिखेर ठुलो भएछ थाहै थिएन उस्लाई।
" ए ! भाग भाग, आयो आयो।" , " ठोक ठोक त्यसलाई ठोक।" एक्कासी भिंडमा खैलाबैला र भागाभाग मचियो। दिल बहादुरले हेर्दाहेर्दै उस्को छोराको छाती भ्वाङ्ग पर्यो र रगतको भल बग्न थाल्यो। भुईंमा ढल्दै गरेको छोरालाई समाउन अघि बढ्दै गर्दा दिल बहादुरको आँखाभरी अँध्यारो छायो। होस खुल्दा दिल बहादुरलाई निधारमा तारा भएको रातो रुमाल बाँधेका केहि अपरिचित अनुहारहरुले पानी छर्कंदै थिए। भुईंभरी छताछुल्ल पोखिएर लगभग कट्कटीएको उस्को छोराको रगत माथी उ थियो। वरपर झण्डै दुई दर्जन रंगी बिरंगी चप्पलहरु छरपस्ट थिए। उस्को छोराको मुर्दा शरिरलाई ठुलो तारा भएको रातो झण्डा ओढाईएको थियो। छेवैमा तारावाल रातो रुमालधारी यौटा अपरिचित मोवाईलमा कसैसँग दोहोरो सम्बाद बोल्दै थियो। अर्को पट्टीको आवाज अस्पस्ट भएपनि उस्ले भन्दैथियो -
" कामरेड नविनले शहादत प्राप्त गर्नुभयो।"
"..................................."
"कामरेड नविनका पिता "
"............................"
" हजुर । कामरेड दिल बहादुर। "
"......................................."
" खुल्यो खुल्यो। होस खुल्यो।"
"................................................"
"हवस कामरेड। हामी सहादत प्राप्त कामरेड नविनको पार्थिव शरिरलाई झण्डा ओढाएर नगर परिक्रमा गराउनेछौं।"
"..................................................."
" लाल सलाम कामरेड !!"

मेरी प्रेमिकाको कथा

नारायणी देवकोटा

म एउटा सरकारी क्याम्पसको प्रोफेसर हुँ । यतिबेला रातको बाह्र बजेको छ । नजिकै कतै दोहोरी साँझबाट माया पिरतीको मीठो गीत सुनिरहेकोछु । मेराअगाडि एक चाङ लेखका टुक्राहरू छन‍ । विद्यार्थीले क्याम्पसको वाषिकोत्सवको अवसरमा स्मारिका निकाल्न लागेका छन् । र, मलाई प्रुफ हेरिदिनु भनेका छन् । मैले एक हप्तामा सबै हेर्नुपर्ने छ । म अन्योलमा छु, मेरा हातमा पीडाको प्रतिबद्धता र बाध्यता भन्ने शीर्षकको कथा छ । यसको लेखक मेरी प्रेमिका हो । तपाईलाई नलागोस् मैले मेरी प्रेमिकाको बयान गर्छु । खै के भन्नु ? मैले के गरेँ ? मेरी प्रेमिका ? पाप लाग्छ यसो भन्दा । तर, उनलाई के सम्बोधन गरूँ ? हो म उनलाई बिहे गर्न चाहन्थेँ, अङ्‍गालोमा बेर्थें दुनियाँका माज, उ आँसु झार्थी, म कठोर बन्न भन्थेँ । तर, कठोरताका नाममा उ ढुङ्‍गा बनी मेरा लागि समेत । र, अब लाग्नेछ झस्का मुटुमा (खै मुटुमा नै होला ?) जसरी भात खाँदा दाँतमा ढुङ्‍गा लाग्छ त्यसरी नै । किन भन्ने लाग्ला तपाईलाई । म बिहे गर्न चाहन्थेँ उसलाई । तर, अहा ! जुन दिन म उसैलाई बिहेको कुरा गर्न उसको क्याम्पस गएँ, उसले भनी, 'बिहे भयो सर ।' म कोठामा आएर कस्तो भएथेँ थाहा छैन । त्यसपछि पनि भेट भयो तर उसले असफल विवाहका कुरा गर्थी र फेरि बिहे गर्ने कुरा गर्थी तर म ? म चाहन्थेँ बिहे गर्न तर म बिवाहित भएको छु, दोस्रो विवाह गर्न समाजले दिँदैनथ्यो । अझै लाग्छ गर्नु पनि हुँदैन । तर यो कथा ? मैले भने म अन्योलमा छु विद्यार्थी नेताले मागेर ल्याएको हुनुपर्छ । उनी यो क्याम्पसकी विद्यार्थी होइनन् । म के गरूँ ? यहाँ तपाई नै पढ्‍नुस् उसको कथा र प्रुफ पनि हेरिदिनु ।

त्यतिबेला म आफन्तसँग विद्रोह गरेर हिँडेकीले काठमाडौँमा एकदमै सस्तो काम गरेर बाँचेकी थिएँ । मेरो ग्याँस सकिएको पन्ध्र दिन भएको थियो तर मसँग साथमा न आफन्त थिए न राम्रो नोकरी थियो । कतै कुनै राम्रो आम्दानीको बाटो पनि थिएन । मैले तलबबापत दुई हजार पाउँनेवाला थिएँ र तिर्नु पैंतीस सय थियो । मैले त्यो महिना पनि काठमाडौंका काँचो पानी र चाउचाउले बिताउनुपर्ने थियो । त्यो दिन म क्याम्पसमा साथीहरूबीच देशको राजनीतिक माहोलका विषयमा कुरा गर्दै थिएँ । उनी आएर अँगालो मार्दै भनेका थिए, 'कहाँ हराएकी थियौ ? हिँड म चिया खुवाउँछु ।'

उनी को थिए त्यो पनि भन्नुपर्छ मैले । उनी म प्रमाणपत्र तहमा पढ्‍दा त्रिविकै कुनै क्याम्पसमा मास्टर्समा मेजर अङ्‍ग्रेजी पढाउँथे । कसरी भेट भएको थियो उनीसँग त्यो पनि बताउँनुपर्छ । स्ववियुका नेताहरू उनीसँग राजनीतिक बहस गरिरहन्थे । मलाई स्ववियुको चुनावमा उठ्‍न भनिएको थियो र मैले क्याम्पसमा भाषण गरेकी थिएँ । स्ववियु चुनावको पर्सिपल्ट उनले मलाई आफ्नो ग्रुपमा ट्‍युसन पढ्‍न बोलाएका थिए । दिनदिनैको भेट र चियाले नजिक बनाएको थियो हामीलाई । त्यसबेला मेरो हालत कस्तो थियो ? मेरो घरमा कसैले पढेका थिएनन्‍ । त्यसैले पढाइका कुरा बुझ्‍दैनथे उनीहरू । घर निकै टाढा थियो काठमाडौँदेखि । म काठमाडौँमा एक्लै बस्थेँ । यहाँ भएका आफन्तले मलाई मानसिकरूपमा बलात्कार गरेका थिए । तिनको र मेरो सम्बन्ध पीडक र पीडितको थियो । मन भरिभरि प्रतिशोधको भावना थियो । ती दिनमा म बढ्‍तै रुन्थेँ । क्याम्पसमा कसैले जिस्क्याए रुन्थेँ । कहिलेकाहीँ भोक लाग्थ्यो तर पैसाको माया लाग्थ्यो र रुन्थेँ । मैले पास गर्नैपर्छ भन्ने लाग्थ्यो अनि पढ्‍दापढ्‍दै फेल हुन्छु कि भनेर रुन्थेँ । पखाला लाग्थ्यो अनि मर्छु कि भनेर रुन्थेँ । रुनलाई प्रसस्तै समय र विषय हुन्थे । कहिलेकाहीँ त आफ्‍नो मन किन यति रुन्चे भयोहोला भन्ने सोच्थेँ अनि रुन्थेँ । आफ्‍नो राम्रो पदप्रदर्शक छैनन् भन्ने सम्झेर रुन्थेँ । यस्तो समयमा उनी मेरो नजिक भएका थिए । मलाई थाहा छैन उनले मलाई प्रेम गर्छन् कि गर्दैनन् । अझ विवाह गर्ने उनको चाह पो थियो अथवा छ कि ? मलाई यी विषयमा न कहिल्यै सोच्न मन लाग्यो न लाग्नेछ । तर, एउटा कुरा उनी मलाई माया गर्थे र गर्छन् । माया गरेर बोलाउँथे । मसँग भावी योजनाका कुरा सोध्थे । आफूलाई धेरै कमजोर नसोच्न भन्थे । अनि मेरा बुबाले झैँ कहिलेकाहीँ मायाले काँधमा हात राख्दै राम्रो लेखक बन्ने छौ भन्थे ।

एक दिन बागबजारको चियापसलमा उनले, 'तिम्रो लक्ष्य के हो ?' भने । मेरो लक्ष्य के थियो ? बाआमाका लागि पढेर केही गर्नु थियो । बाआमाले मलाई जसको संरक्षणमा पठाएका थिए उसले बलात्कार गर्ने प्रयास गरेको थियो (हुन त तिनी पीएचडी गरेका नेपालमा नाम चलेका प्रोफेसर हुन् र उनले भनेका थिए, 'यौन भनेको केही होइन' तर मलाई यौनका विषयमा समाजले थुप्रै भ्रम भरिदिएको छ, जसलाई मैले अझै पनि चिर्न सकेकी छैन ।) यही कारण थियो मैले काठमाडौँमा आफन्तसँग विद्रोह गर्नु परेको । अझ आफन्तसँग शत्रुजस्तो हुनु पनि यही कारण थियो । ती दिनमा लाग्थ्यो कुनै दिन कुनै मूल्यमा पनि मैले पीएचडी गर्नेछु । अनि छुट्‍याउने छु प्रेम, यौन र बलात्कार ।

धेरैबेर सोचेर मैले जवाफ दिएकी थिएँ, 'पीएचडी गर्ने ।'
'किन ?' उनले भने ।
किन ? उत्तर के दिनु थियो र ? मैले आँसु झारेँ ।
'कारण नभन भै गो,' उनले भने, 'कहिलेसम्म गर्छौ त पीएचडी त्यो त भन ।'
'थाहा छैन, तर गर्छु एक दिन ।' मैले भनेँ ।

मलाई थाहा छैन यो सम्बन्धलाई कुन कोटामा राख्ने र के परिभाषा दिने हो । आत्मीयतताको यो हदसम्मको सम्बन्ध जहाँ यौनका विषयमा कुरा नै हुँदैन । उनीसँग लामो समय भेट हुँदैन थियो तर भेट हुँदा मायाले बोलाउँथे र भन्थे, 'तिमीलाई चिया खुवाउँछु ।' त्यस दिन पनि चिया खान उनी र म क्याम्पसबाट बाहिर निस्किएका थियौँ । मेरो त्यही पीएचडी गर्ने प्रतिबद्धताले हुन लागेको विवाह छाडेर आएकी थिएँ । बलात्कार प्रयासको त्यो घटनाले मलाई दिनरात पोल्थ्यो र छटपटाउथेँ । मलाई पनि सुखी जीवनको रहर थियो । मायालु आफन्तको रहर थियो । यौनप्रति आकर्षण थियो । म पनि विवाह गर्न चाहन्थेँ । तर, मलाई यी सबै कुराभन्दा अगाडि यौनका विषयमा समाजले मेरो दिमागमा भरेको भ्रम थियो कि सत्य, बुझ्‍नु थियो । अरूका लागि यो कुरा ठूलो हो वा सानो हो । म बौलाएकी छैन भने सातवर्ष अगाडि र आज पनि मलाई यो कुरा उस्तै छ । आज पनि ठीक हो कि होइन द्वन्द्व छ मभित्र र म छटपटाइरहन्छु ।

त्यसपटक पाँच महिनापछि भेट भएको थियो उनको र मेरो । अनि त्यहाँ म रुन चाहन्थेँ । सबैका अगाडि रुनुहुन्न भन्ने लाग्न थालेको थियो । चिया पसलमा पुगेपछि उनले भने, 'कहाँ हराएकी बिहा गर्‍यौ कि क्या हो ?'
अँ, भयो सर ।
कस्तो मान्छेसँग गर्‍यौ ?
(मलाई जस्तो केटासँग बिहे गर्दिन भन्ने लागेको थियो त्यही केटा सम्झेँ) मास्टर्स पास गरेको र पीएचडी गर्न अमेरिका जान लागेको ।
कहाँ छन् उनी ?
गइसके ।
बिहे गरेको भोलिपल्ट नयाँ घरमा के गर्‍यौ ?
पहिला नुहाएँ अनि घर पोतेँ । सबैलाई चिया बाँडेँ र जग्गेको कार्यमा बसेँ । (हाम्रो संस्कारमा नयाँ दुलहीले जे गर्छन् त्यही भनेँ)
दु:ख लागेन ?
लागेन ।
यी र यस्तै कुरा गरेर हामी उठ्‍यौ । मैले उनसँग झुटो बोलेँ । फेरि दुई-तीन महिनामा भेट भयो । त्यसरी नै हामी कुनै होटलमा पस्यौँ र चिया खायौँ ।
'चिठी आउँदै छ ?' उनले सोधे ।
आउँदैन ।
किन ?
हामीले डिभोर्स गर्‍यौँ ।
किन ?
मन मिलेन । उनले नपढ भने, म पढ्‍न चाहन्छु ।

फेरि यस्तै कुरा गरेर छुट्टियौँ । पुसको एउटा चिसो दिनमा रत्नपार्कको चौरमा म र एकजना केटा साथी बदाम खाँदै थियौँ । उनको क्याम्पसकी साथीसँग भेट भयो । मसँग उसको भेट हुनुअगाडि उनीहरू चिया खाएर छुट्टिएका रहेछन् ।
'ओई ! के भनेकी तिमीले सरलाई ?' उसले भनी ।
'जे भनेँ ठीक भनेँ,' मैले भनेँ ।

उसले झुटो हो विवाह भएकै छैन भनिछ उनलाई । फेरि आज बिहान भेट भयो उनीसँग ।
उनले भने, 'यो संसार बुझ्‍नुभन्दा तिमीलाई बुझ्‍न गाह्रो छ ।'
'मसँग बुझ्‍नु न मेरा कुरा, दुनियाँसँग बुझ्‍न खोजेपछि गाह्रो त हुन्छ नि,' मैले भनेँ ।
यसपालि मैले चिया खाउँ भनेँ ।
'तिमीलाई देख्दा कस्तो हुन्छ भने..., भनन तिमी के गर्छौ ?' उनले भने ।
पढ्‍छु ।
अरू ?
मार्क्सवाद मनपर्न थालेको छ, त्यतैतर्फ पो लेख्छु कि ।
फेरि विवाह ?
थाहा छैन ।
लभसभ ?
कसरी उत्तर दिनु उनलाई ? यो उमेरमा प्रेम गर्ने, विवाह गर्ने, रहर कसलाई हुँदैन ? म थुप्रै केटा साथी भएकी केटी । फरक-फरक-क्षेत्रमा मलाई चिन्छन् । र, थुप्रै साथीहरू मेरा लागि मरिमेट्‍छन् । कसरी म पत्थर भएकी छु ? मैले बुझ्‍नु छ प्रेम के हो र बलात्कार के हो ? त्यसका लागि मैले पढ्‍नुछ, पढ्‍नुछ र फेरि पनि पढ्‍नुछ । कहिले र कति थाहा छैन । उनको प्रश्नको उत्तरमा म कलेटी परेका ओठ टोकिरहन्छु ।
तिमीलाई कसैले प्रेम गर्छ ?
गर्छन‍ होला ।
कसले अथवा कस्ताले गर्छन् जस्तो लाग्छ ?
तपाईजस्ता प्रोफेसर, विदेशी पत्रकार,...।
त्यस्तै कुरा गरेर छुट्टियौ हामी आज पनि । अब सामाजिक क्षेत्रमा लागे भनेँ मेरा हरेक विषयमा चर्चा हुनेछ । समाजमा मैले झुटो बोलेको पनि थाहा हुनेछ उनलाई । म साँचो-साँचो भन्न चाहन्छु तर सक्दिनँ । उनीसँग फेरि भेट नहुने भए सबैसबै भनेर छुट्टिन्थेँ । तर, दु:खको कुरा हामी सानो उपत्यकामा छौँ । यहाँ बाटो हिँड्‍दा अचानक पनि भेट हुनसक्छ ।

आज म पीएचडी गर्नका लागि जाँदै छु । लामो समय नेपालमा हुने छैन म । माथिको कथा चार वर्षअगाडि लेखेकी हुँ मैले । यो कथा लेखेपछि म निकै व्यस्त भएँ । उनको र मेरो भेट धेरै भएन । जाने तयारी भएपछि एकपल्ट उनलाई भेट्‍न चाहन्थेँ तर उनी गाउँ गएका रहेछन् । के गरूँ, के गरूँ लाग्यो । साँचो त भन्नु नै पर्छ । उनका क्याम्पसका विद्यार्थीले स्मारिका निकाल्दैछन् र... त्यसका लागि कथा लेखिदिन भनेका थिए । यही दिएँ किनभने स्मारिका उनलाई पनि दिइनेछ । समय निकै बदलिएको छ । उनीसँग परिचय भएको एघार वर्ष भइसकेको छ । आफूसँग पढेका थुप्रै साथीका छोराछोरी स्कुल जान्छन् । सबैको रमाइलो जीवन छ । तर मेरो ? आज पनि म एक्लै छु । आज पनि असल साथी छैन भनेर मन कोक्याँउछ । आज पनि त्यही प्रेम र बलात्कार छुट्‍याउने काम मुख्य छ जीवनमा । म मरिन भनेँ पीएचडी गरेर नेपाल फर्किंनेछु र लेख्नेछु । त्यही एउटा पीडाको रन्कोसँगै उडिरहेकी छु म यो जहाजमा विरानो मुलुकतर्फ ।

उसको कथा पढेर उसका चिनचानका मानिसलाई फोन गरेँ । दुई महिनाअगाडि नै उ विदेश गइछ पढ्‍नलाई । मलाई खोजेकी रहिछ । म त्यसबखत गाउँ गएको थिएँ । उसको लडाइँ, एक्लो लडाइँमा मरेर लागेकी छे । उसले पीएचडी गरोस् र राम्रो लेखक बनोस् भनेर कामना गर्छु । उ टाढा गएकी छ मदेखि । फर्केर नेपाल आउँछे या आउँदिन । यति बेला उ गएको देशमा उज्यालो होला । त्यो नयाँ ठाउँमा बाटो पत्ता लगाउन नसकेर आँखाभरि आँसु भर्दै हिँडेकी होली उ । यहाँ मेरो आँखामा पनि आँसु भरिएको छ, यो मध्य रातमा ।

फर्केको खोलो

अनिता दुलाल
मिर्मिरेमै सुन्तली पानी लिन डोकोमा गाग्रो बोकेर पँधेरोतिर लाग्छे । पँधेरो गाउँबाट धेरै टाढा थिएन । वनजङ्गलको हरियाली, चराचुरुङ्गीहरूको मधूर गुञ्जन, अन्य प्राकृतिक छटाले भरिपूर्ण उसको गाउँ रमाइलो थियो । उ गुनगुनाउँदै पधेँरो पुग्छे ।
पधेँरोमा धेरै आईमाईहरू पानी भर्न पालो पर्खेर बसेका थिए । उनीहरू आ-आफ्नै कुरामा व्यस्त थिए । सुन्तली पधेँरोतिर एक पाइला सार्न नपाउँदै एउटी अधबैँसे आईमाई कराउन थाल्छे- "तँ अछुत पनि पानी लिन आइस् ? पर जा ! सबैले लिइसकेपछि मात्र पाउँछेस् ।" यस्तै-यस्तै वचनहरू एकपछि अर्को गर्दै सबैले भन्छन् । त्यस्ता वचनले उसको मन रुन्छ, अनि आँखा ।

सबै गइसकेपछि उ पछयौरीले आँसु पुछ्‍दै पानी भर्छे । पिठ्‍यूँमा पानीको गाग्रो अनि गहभरि आँसु लिएर सुन्तली घर पुग्छे। उसको लोग्ने घनश्याम दलानमा बसेर लुगा सिउँदै हुन्छ । सुन्तलीको आँसु देखेर 'के भयो' भनी सोध्छ। सुन्तलीले पँधेरोमा भएका सारा कुरा बताउँछे। घटनाको वृतान्त सुनिसकेपछि घनश्यामको मन अशान्त हुन्छ। सुन्तलीको जस्तै उसको मन पनि पीडाले भत्तभत्ती पोल्छ। उसको आँखाबाट आँसुका दुईचार थोपा खस्छन्। आँसु पछ्‍दै उनीहरू आफ्नो भाग्यलाई दोष दिदै मन बुझाउने प्रयत्न गर्छन्।

त्यसपछि सुन्तली भान्साको काम गर्न भित्र पस्न लाग्दा गाउँका सर्वमान्य व्यक्ति जितमान मुखिया आइपुग्छन्। बाहिर लुगा सिउँदै गरेको घनश्यामले मुखियालाई देख्छ र हतार-हतार सियो फाल्दै मुखियाको लागि भनेर गुन्द्री ओछ्‍याउँछ र बस्न अनुरोध गर्छ। मुखिया झोक्किँदै कराउँछन्- 'तँ दमाईको घरमा बसेर मलाई जात फाल्नु छैन, बुझिस‍ ओइ डुम ?' मुखिया घनश्यामलाई ठूल्ठूला आँखाले तर्दै गाली गर्दै हुन्छन्। मुखियालाई दिन अम्खोरामा पानी लिएर आएकी सुन्तली मुखियाको प्रचण्ड स्वर सुनेर डरले खङ्‍रङ्ग हुन्छे। उ थरर काम्छे अनि अम्खोरा भूँइमा राखेर भित्तोमा अढेस लाग्छे। त्यस बेलासम्म उसले अघि पँधेरोमा भएको घटना बिर्सिसकेकी थिई। अहिले उ पँधेरोको घटना र अहिले उसको आगनको प्रत्यक्ष दृष्य एकैचोटी देखिरहेकी छे।

सुन्तलीले आफूलाई पानी दिन ल्याएकी थिइ भन्ने कुरा मुखियाले बुझ्छन्। त्यसपछि कुद्‍दै गएर भूँइमा राखेको आम्खोरालाई लात्ताले हानेर लडाई दिन्छन‍। गाउँमा नयाँ आएको दमाइले सिलाउँदा आफ्नो कपडा त बिगारेन भनेर हेर्न आएका मुखिया रिसाउँदै त्यत्तिकै फर्किन्छन‍। मुखियाले जस्तो व्यवहार गरे पनि सहेर बस्नु सिवाय उनीहरूसँग अर्को विकल्प हुँदैन। उनीहरू आएको गाउँमा पनि माथ्ला जातकाले छोइछिटो गर्दै नगर्ने होइनन्। तर सबैले मान्ने गाउँकै ठूला मान्छे मुखियासँग भने उनीहरुको यसभन्दा पहिले यस्तो कहिल्यै भएको थिएन। उनीहरू अर्को छिमेकी जिल्लाबाट बँसाई सरेर आएको महिना दिन पनि भएको थिएन। गाउँलेहरूसँग घुलमिल पनि भएका थिएनन्। गाउँमा भएको दुर्इचार घर दलित परिवारसँग मात्र उनीहरूको आउजाउ हुनथालेको थियो।

त्यो घटना भएको केही महिनापछि गाउँभरि दशैंको रौनक छाउँछ। सारा गाउँ रमाइलोमा चुर्लुम्म डुब्छ। सुन्तली र घनश्यामको दैलोमा पनि दशैं त आउँछ तर खुसी आउँदैन। बरु फेरि एउटा अर्को दु:ख पर्छ उनीहरूलाई। दशैँको दिन उनीहरू गाउँ नजिकैको मन्दिर जान भनेर निस्किन्छन्। गाउँलेको दशैंको रमभmम देखेर उनीहरू आफ्नो घरको दशैं बिर्सन्छन्। तर मन्दिरमा दर्शन गर्न गएका उनीहरूलाई पुजारीले गाईवस्तु धपाएजस्तै गरी घोक्र्‍याएर बाहिर निकालिदिन्छ। र, यसपालीको दशैं अपवित्र हुने भयो भन्दै उ फत्फताउन थाल्छ। मन्दिरमा भएका मध्ये एकदुई जनाले पुजारीलाई सघाउँछन् अरू आस्चर्यमा पर्छन्, हाम्रो गाउँमा दलितले मन्दिर पस्ने आँट गर्‍यो भनेर। कसैले पनि विचरा भनेर सहानुभूति सम्म जनाउँदैनन्। बरु गाली गर्ने अझ एकदुईजना थपिँदै थिए। त्यसपछि दुबै सरासर घरतिर जान्छन्।

त्यस दिन सुन्तलीले चुलोमा आगो बालिन। घनश्याम पनि राती अबेरसम्म टोलाएर बसिरह्यो। राती १० बजेतिर घनश्यामसँग सल्लाह गर्न वीरे आइपुग्यो। "हेर दाजु ! हामी पुराना मान्छेहरूले त यहाँ कुकुरले जति सम्मान पाएका छैनौँ, तिमी त झन नयाँ छौ। तर अब यिनीहरूले जे गरे पनि सहेर बस्नु चाहीँ हुँदैन" बीरेले सान्त्वनाको भावसँगै आँट दिएझैँ गर्‍यो। वीरेसँगको कुराकानीमा रातको दुई बज्यो। त्यो घटनाको आधारमा पुजारी र अरू गाउँलेका विरूद्ध मुद्दा हाल्ने निर्णय गरी पल्लो गाउँको जगत विश्वकर्मासँग सल्लाह माग्न बिहानै जाने निधो गरे। त्यसपछि वीरे आफ्नो घरतिर लाग्यो। उनीहरूले अदालतमा मुद्दा दर्ता गरे, मुद्दा पनि जिते। मुखिया, पुजारी र अरू दुई जनाले एक लाख जरिवानासहित तीन-तीन वर्षको जेल सजाय पनि काट्‍नुपर्ने भो। घनश्याम खुसीले करायो। सुन्तलीले उसलाई घच्चच्याई, "के भो किन चिच्याएको ?" उ जुरुक्क उठ्‍यो। सुन्तली भने त्यसबेला सम्म जागैथिई। त्यहीबेला छिमेकमा भाले बासेको आवाज आयोः कुखुरी काँ ...।

चञ्चल मन

नेत्र आचार्य
त्यस दिन तीन दिनको ज्वरोले थलिएर भर्खरै तङ्‍ग्रिए जस्ता देखिने दाढीवाल तपसीले विपश्यनाको प्रवचन दिए । "मन निश्चल र शरीर गतिशील हुँदा मानिस शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छ" भन्दै ती शान्त पुरुषले प्रवचन टुङ्‍ग्याए । हल बाहिर मज्जाले पानी परिरहेको थियो । साथमा छाता हुनेहरू पछाडि फर्कंदै नफर्की हिँडिहाले । हामी भने त्यहीँ ओतमा बसिरहेका थियौँ । कुनै कामले बाहिर निस्कनुपर्दा प्रवचनमा उपस्थित हुन नभ्याएका एक जना साथीलाई मैले ती सज्जनको प्रवचनको सारसंक्षेप सुनाउँदै गर्दा मित्रले फ्‍याट्ट भने, "आफ्‍नो त मन चञ्चल, शरीर अचल भएर पो खत्तम भा'को रैछ ।" कुरैकुरामा हामीले तिनै साधुसँग एकाध महिना योग सिक्ने निधो गर्‍यौँ । पाँच/छ जना साथी तम्तयार भए । विचरा विमललाई भने समस्या पर्‍यो । उनी योग सिक्न हुरुक्क थिए । तर हरेक बिहान पाँच बजे नै उनी डान्स सिक्दारहेछन् । समय जुध्यो, अब योग सिक्नु कि डान्स !

छेउमा हात बाँधेर उभिएका नितेशले विमललाई डान्स सिक्न जोस्याउँदै भने, "साथी, रहर हुँदै तिमीले डान्स सिकिहाल । पछि जवानी ढल्कँदै जाँदा रहर मुर्झाउँछन् । कति साथीहरू यौवनमै सबै कुराप्रति अनासक्त भएर अफिस र घरबीचको एकनासे जिन्दगीमा आफूलाई सीमित पार्न थालेका भेटिन्छन् । न नयाँ कुरा सिक्ने रहर, न नयाँ पुस्तक पढ्‍ने चाख । दुनियादेखि, हुँदाहुँदा जिन्दगीदेखि नै एलर्जी । न खसमसँग प्रेम न दोस्रो घरजम गर्न रुचि । भएन बर्बाद !"

नितेशको कुराले एकै छिन हाँसोको लहर उर्लियो । त्यतिञ्जेल पानी थामिइसकेको थियो । सबै बाटो लागे । नितेश र म पनि गुँडतिर हिँड्‍यौँ । नितेशलाई यतिखेरको युवा पुस्ता देखेर किन त्यस्तो विघ्न कन्सिरी तातेको होला मैले ठम्याउन सकिरहेको थिइनँ । आलोचना गर्दा मात्रै मान्छेको छैटौँ इन्द्रिय खुल्ने गरेको देखेर म मनमनै चकित हुन्छु । कस्तो स्वाद आउँदो हो मान्छेलाई आलोचना गर्दा ? यस्तरी आलोचनाको अचानोमा पर्नुभन्दा अनकन्टार जङ्‍गलमा खुँखार डाँकुको चुप्पी सहनु सहज हुँदो हो सायद । विपश्यनाको अभ्यासले मानिसमा मैत्रीभाव, प्रज्ञाजस्ता गुण विकसित हुन्छन् । आफू र अर्कोबीच अभिन्नता महसुस हुन्छ, अर्काको खुशीमा आफ्‍नो खुशी देख्ने भावना पैदा हुन्छ । तर अरूलाई भित्तामै पुग्ने गरी आलोचना गरेर स्वाद लिनेहरूलाई विपश्यना कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो मात्र हुँदो हो ।

मेरो मनको कुरा बुझेँजस्तै गरी नितेशले त्यति नै खेर आफ्‍नो भनाइको स्पष्टीकरण दिन थाले, 'हेर्नुस‍ न, युवा पुस्तामा कनिकुथी कलेजको पढाइ सक्ने र एउटा जागिर पाएपछि हाइसुख्ख भएर बस्ने प्रवृत्ति देखिन थालेको छ । म त दङदास छु, कसरी यस्तो भइरहेको छ ? सायद यो हाम्रो अति अवैज्ञानिक शिक्षा प्रणालीको दोष हो । स्कुल र कलेजमा पाठ्‍यक्रमका पुस्तक हूबहू घोकिदिए फस्र्ट डिभिजन आउँछ । पुराना ब्याचका नोट वा गेस पेपर पढेर परीक्षा दिए पनि मजाले पास भइन्छ । दुन्निया रेफरेन्स पुस्तक पढेर टाउको दुखाउन किन पर्‍यो । पढ्‍ने बानी नभएपछि जीवनमा महत्वाकाङ्‍क्षा कहाँबाट आउनु, जीवनप्रति संवेदना, प्रेम कहाँबाट जाग्नु । टिन एजर हुँदा पुस्तक किन्न भनेर प्यारेन्ट्‍ससँग मागेको पैसा उडाउने उपाय कति छन्‍ कति । फिल्म हेर्न गए भइगो, कन्सर्ट, स्पोर्ट्‍स, स्वीमिङ, चुरुट, ड्रग्स... एण्ड सो अन ।'

उनका तर्कना सुन्दै गर्दा एक मन त मलाई लाग्यो, who are we to comment their life style? यो तिनीहरूको जिन्दगी, तिनीहरूले आफ्‍नै पाराले बिताउँन् ! हामीलाई के ? यतिञ्जेल हामी गुमनामनगर आइपुगेका थियौँ । यहाँको दरबारको पूर्वी गेटनेर एभरेष्ट होटल छ, हामीले प्राय: खाना खाने ठाउँ । होटेलमा पस्नै लागेको बेला झलक्क मलाई विपश्यनाका साधुले 'नो होटेल, नो हस्पिटल' भनेको याद आयो । होटेलमा खाना खान पस्नेहरूको मुख हस्पिटलतिर फर्किएको हुन्छ रे ! होटेलको चिल्लो र अत्यधिक मसलायुक्त खाना खानाले एसिडिटी बढेको पनि मलाई थाहा छ । यद्यपि कोठामा पुगेर आफैँ खाना पकाएर खाँदा त रातको दश बज्छ होला भनेर तर्कना गर्दै हामी होटलमा छिर्‍यौँ । हाम्रो जोरदार तर्क थियो, 'साधुसन्तले भनेका सबै वचन शिरोपर गर्दै जाने हो भने दुर्इ पाइला हिँड्‍न र दुई छाक खान पनि अनुमति पाइन्न यार !

'राति सुत्ने बेलामा विपश्यनामा बसेँ । आठ-दश मिनेट विपश्यना गर्छु भनेर बसेको, समय बितेको पत्तै भएनछ । ध्यान गहिरिँदै जाँदा म नितेशको विगततिर एकोहोरिएछु । नितेशलाई सानैदेखि चिन्ने हुँदा उसको बाल्यकालको पृष्ठभूमि र सम्पूर्ण विगत मैले एक पटक मस्तिष्कको चित्रपटमा फुकाएर हेरेँ :

'समाज हामीले चाहेको ट्रयाकमा हिँड्‍दैन । नित्सेले भनेकै छन्, व्यक्तिको पागलपन अस्वाभाविक हो तर समाजको, देशको पागलपन नियम नै हो । यहाँ जसको बाहुल्य छ उही हावी हुन्छ । गाउँमै गोर्की, चेखब, लेर्मेन्तोभ, तोल्सतोयका किताब पढेर दङदास हुन्थ्यो । उसलाई सानैदेखि पुस्तक पढ्‍ने बानी बस्यो । पुस्तकहरूले नै उसलाई गाउँबाहिरको विशाल संसारसँग परिचित गराए । पढ्‍ने बानी झन‍ तेज भयो । हिन्दी, संस्कृत र अङ्‍ग्रेजी साहित्यको सङ्‍गतले उ बहकिँदै गयो । यो बानीले उसको महत्वाकाङ्‍क्षा निकै बढाएको छ । उसलाई गाउँमा छटपटी भयो, पोखरा आयो, त्यहाँ पनि टिक्न सकेन, काठमाण्डू खाल्डोमा छिर्‍यो । अब यहाँ पनि उ बेचैन हुँदै गएको छ । सायद छिटै यहाँबाट पनि कुलेलम हुनेहोला । लौ, सबै यस्तै कहीँ अड्‍न नसक्ने हुनुपर्छ भन्ने के छ हँ ।'

नितेशले मेरो मनको यो अन्तर्सम्वाद सुनेको भए के भन्थ्यो होला । सायद यसरी जवाफ फर्काउँथ्यो होला : 'हेर, आजै विपश्यनामा ती साधुले मन निश्चल भएको जाती भनेर सम्झाएका छन् । तिमीलाई के थाहा, मानिसका सम्भावनाहरू कति छन् भनेर । हामी मानव जातिले आजसम्म हाम्रो मस्तिष्कको ५ प्रतिशत मात्रै उपयोग गरेका छौँ । मस्तिष्कको शतप्रतिशत उपयोग गर्न हामीले अरू केही गर्नुपर्दैन, सिस्टमेटिक अध्ययन, चिन्तन, मनन र सृजनात्मक क्रियाकलापद्वारा मस्तिष्कको पर्याप्त Exercise गरे पुग्छ । त्यो संसारको कल्पना गर त, जहाँ मानिसले आफ्‍नो मस्तिष्क र भावनाको सम्पूर्ण उपयोग गरेको हुन्छ । हामी जहाँ पनि पुग्न सक्नेछौँ । हामीले चाहेको जे पनि गर्न सक्नेछौँ । सबै कुरा हासिल गर्न सक्नेछौँ । यस्तो सम्भावना आँखा अगाडि देख्दादेख्दै युवा पुस्ता सुस्केरा हालेर अथवा लामो हाई तानेर बस्न सुहाउँछ ?'

मेरो मनमा यस्तो तर्कना कतिञ्जेल चल्ने थियो, बाहिर पानी पर्न थालेछ, झ्‍यालबाट आएको बाछिटाले मलाई होशमा ल्याइदियो । म ब्ल्याङ्‍केट तानेर सुतेँ । राति निद्रामा भने सधैँजस्तो त्यो ठूला ठूला आँखा हुने ठिटीसँग भेट भयो । त्यो चुलबुले ठिटीलाई देख्ता मलाई झलक्क मेरो फेभराइट राइटर नित्सेकै याद आउँछ । हुन त नित्सेले निस्सार संसारप्रति ठाउँठाउँमा कटाक्ष गरेका छन् । एक ठाउँमा उनले केसम्म भनेका छन् भने, 'यो दुनिया विष्टा हो, हाम्रा प्रयत्नहरूको उचित पुरस्कार पाइएला भनेर सोच्नु व्यर्थ छ ।' तर उनलाई सङ्‍गीत कस्तो मन पर्ने भने, 'म चाहन्छु सङ्‍गीत त्यस्तो होस् मानौँ यो अक्टुबरको घमाइलो मध्यान्ह हो, एकदम उल्लासपूर्ण र व्यापक । मानौँ यो अरूभन्दा एकदम अलग, चञ्चले, कोमल र मायालु ठिटी हो जसमा अनौठो एकोहोरोपना र आकर्षण छ ।'

छरितो चालडाल भएकी त्यो ठिटीसँग म एकाध पटकबाहेक बोलेको छैन । तर उसको सम्झना आउँदा मन गुनगुनाउन थालिहाल्छ : ...निगाहेँ राह तकती है । त्यो ठिटीलाई गाउँमा लगेर घाँस कटाउने कत्रो रहर मलाई ! उसले निधारमा टल्केका पसीना पुस्दै नपुछी मतिर हेरेको हेर्ने कस्तो हुटहुटी मलाई ! त्यो ठिटी मेरो जीवनमा सायद कहिल्यै आउँदिन । मैले उसलाई पछ्‍याउने चेष्टा पनि कहिल्यै गर्ने छैन । मलाई विपश्यनाकै पछि लाग्नु छ । यति हुँदाहुँदै पनि जब-जब उ याद आउँछे, म विपश्यनाद्वारा मनलाई नियन्त्रण गर्दिन, उसैलाई याद गरिरहन चाहन्छु ...

कथा



खेद
रश्मि शीला
बाहिरबाट 'आईया' भन्ने ठूलो स्वर सुनेपछि, मेरो त सातो नै उड्‍यो । स्वर रश्मिको जस्तै थियो... 'कसैले हान्यो कि, गाडिले पो ठक्कर दियो कि, लडिन कि, माथिबाट केहि खसेर लाग्यो कि' यस्तै यस्तै कुराहरु सोचर म दौडेँर बाहिर । रश्मि भुईमा थचक्कै बसेकी थिईन् । उनको वरिपरि मान्छेहरु 'के भो, के भो ?' भनेर कराउदै उभिएका थिए । उनको नजिक हुरीं झै गरी पुगेँ म । हातमा गाढा पाँच प्वाल थिए र रगतको भेल बग्दै थियो ।'


ओई रश्मि ! के भो ?

कुकुरले टोक्यो ।

कुन कुकुर ? कस्को कुकुर ?

त्यही तलको देवी दिदीको पसल छेउको भुस्याहा कुकुर छ नि ...।


उनले यति के भनेकी थिईन मेरो त पारो चढ्‍यो बा पनि पछि पछि आउदै हुनुहुन्थ्यो, उहाँ पनि जङ्गिनु भो र मलाई माथिबाट लट्‍ठी ल्याउन भन्नु भो । माथिबाट मैले पनि यति मोटो लठ्‍ठी र फलामको रड निकालेर लगेँ ।


'आज त त्यसलाई छोड्‍दै छोड्‍ने छैन,'


तल पुग्दा बा त परै कुकुर खोज्दै हुनुहुँदो रहेछ, लट्‍ठी बालाई दिएर नजिक बसेका र ढुङ्‍गे धारामा पानी भर्न आएकाहरूलाई सोध्न थाले, 'खोई, त्यो कुकुर कता गयो ? कहाँ भाग्यो ?' 'उ त्यो घरमा पसेको छ ...' त्यहीँ नजिकै उभिएको एक फुच्चेले बोले । बा र म घरभित्रै छिर्‍यौँ, छिँडीमा मज्जाले सुतेको रहेछ । बाले ड्‍याम्म ! पारेर कुकुरको ढाडमा बजार्नुभयो । कुई..., कुई..., कुई... गर्दै कुकुर जुरुक्क उठ्‍यो । त्यसपछि त के थियो र ! मैले रडले र बाले लठ्‍ठीले ड्‍याम ड्‍याम जता पर्‍यो त्यतै हान्न थाल्यौँ । मैले त के हाने र, बाले हानेको पो... यति जोडले हान्दै हुनुहुन्थ्यो कि के भन्ने । एकै क्षणको चुटाईपछि त्यो कुकुर खुट्टा लङगड्‍याउँदै र खोच्याउँदै छेउको कोठाभित्र छिर्‍यो । कुकुरको कुई...., कुई ....आवाजले ती मान्छेहरु पहिले नै डराएर बसेका थिए, अनि झन् हामीले त्यसलाई रगताम्य हुनेगरी पिटेको देखेर उनीहरु पनि 'आ !' 'आम्मै !' 'अबुई !' भनेर चिच्याउन थालेका थिए । कुकुर चल्नै नसक्ने गरी लडेपछि हामीले त्यसलाई बाहिर घिसारेर ल्यायौँ । त्यति बेला बल्ल मैले थाहा पाएँ कि राहुल पनि हामीसँगै लट्‍ठीले हान्दै रहेछन् । कुकुर छट्‍पटाउँदै थियो । नछट्‍पटाई मरोस् भनेर त्यसलाई मैले टाउकोमै चार-पाँच जोड लगाएँ । एकै छिनको छटपटाहटपछि त्यसको शरीर शान्त भो र हामी घर फर्कनतिर लाग्यौँ ।


त्यस रात खाना खान मन लागेन । सिधै आफ्नो कोठामा छिरेँ, रश्मिको हातको घाउ र हामीले त्यसपछि गरेको काम झलझल हुँदैथ्यो । आवेशमा जे गरेँ राम्रो गरिन भन्ने त्यो भावनाले भतभति छाती पोल्दै थियो । म कुकुर भनेपछि हुरुक्कै हुने मान्छे । कसैले कुकुरलाई ढुङ्गा मात्र हान्दा पनि गाली गर्ने म नै हुन्थेँ । भुस्याहा कुकुरलाई पाउरोटी, बिस्कुट किनेर खानदिने, उनीहरूसँग जिस्कन, चल्न पाउँदा संसारै भुल्ने पनि म नै थिएँ । आज त्यही माया गर्ने हातबाट, बोल्न पनि नसक्ने एक असहाय भुस्याहा कुकुरको हत्या भो । जब म त्यस कुकुरलाई मारेर घर फर्कंदै थिएँ, मेरा दुबै हातमा रगत लागेको थियो । कति आत्मग्लानी भएको छ... दुखी छु कि मबाट यस्तो काम भो तर अब के... !

डाँकुसितको जम्काभेट

संगीता पाण्डे
हुन त अतीतलाई संगाल्नु फाईदाजनक देखिँदैन यद्यपी मेरो अतीतले मेरो साथ छाड्‍दैन । मेरो मनोदशा नै यसले गर्दा अत्यन्त असन्तुलित, क्षुब्ध अवस्थामा रहन्छ । कहिलेकाहीं म त्यसबाट पन्छिने भरमग्दुर चेष्टा गर्दछु तर अचानक आँखाको अगाडि ती दृश्यहरु सजीव भई फनफनी रिङ्‍न थाल्छन्, अकथनीय व्यथाले मुटुलाई निमोठ्‍न सुरु गर्दछ, यसैमा नै मेरो जीवनको कथा लुकेको छ । कसैलाई यस विषयमा वताएर मनको वोझ हटाउने व्यग्रताले मलाई लखेटीरहन्छ ।

लामो समयदेखि यात्राको आकांक्षाले छट्‍पटाई रहेको यो मनलाई शान्ति दिन कार्यालय कै एउटा सानो मिनीबस लिई देल्ली, हैदराबाद हुँदै आग्रासम्म पुग्ने योजना वनाएका थियौं । नेपालगञ्ज (हाम्रो घर) बाट प्रस्थान गर्दा दिउँसोको एघार बजिसकेको थियो । जम्मा तेह्रजना हामी हर्ष र उल्लासको लहरमा मनोभावनाहरुलाई सम्हाल्न मुस्किल परिरहेको अनुभव गर्दै थियौं । उनले मलाई वारम्वार भन्ने गर्थिन् "संदेश मलाई ताजमहल हेर्ने ठूलो इच्छा छ ।" नेपालगञ्जको गर्मीमाथि पौषको जाडोले पूर्णरुपले विजय प्राप्त गरिसकेको थिएन तापनि वातावरण उल्लासमय थियो । गाडीको गति कहिले तीब्र हुन्थ्यो कहिले मन्द... ड्राइभरले दिएको ब्रेकले मोटर भित्र भुईँचालो उठ्‍थ्यो, हामी एकअर्का सित ठोक्किन पुग्थ्यौं अनि पेट मिची मिची हाँस्थ्यौं । मानिसको जीवन पनि यस्तै न हो- मार्गका वाधारुपी काँडाले जीवनको गतिशीलतामा आँच ल्याउँछ अनि परिस्थिति र बिवशताको ब्रेकले त्यसलाई सदाको निम्ति टुङ्‍ग्याईदिन्छ ।

मौनतालाई छिचोल्दै संगीत गुञ्जन थाल्छ । सुदेशले टाउको झुकाएर मजासँग गितार वजाउँदै थियो । उसको संगीतमा एउटा गजबको मस्ति थियो, भावनाले पूर्ण एउटा लठ्‍याउने नशा ! उसको स्वरमा स्वर मिलाउँदै हामीले गाउन थाल्यौं- जीवन हाम्रो सङ्‍लो पानी हो...... सलल राजै खोला झैँ बगौं सलल......म छिनछिनमा प्रतीक्षातिर दृष्टि लगाउँथे । उनको चिउँडोको माझमा खोपिएको कालो कोठी आज मलाई औधी राम्रो लाग्यो । कोटी गफ चुट्‍ने प्रवीन शायरी भन्थ्यो भने रमेश चुटि्‍कला सुनाउँदै खुब हसाउँथ्यो । गाडी रोकेर सबैजना चियापसल भित्र पसे, म शीतल हावा खाँदै केही पर मात्र के पुगेको थिएँ मेरो आँखा शिकारीको गोली लागेर मृत्युसंग संघर्ष गरिरहेको परेवी माथि पर्‍यो । उसको मृत्युको प्रत्युत्तरमा अलाप विलाप गरिरहेको परेवाको दु:ख, पीडा र वेदनामा सान्त्वना स्वरुप मेरो दुई थोपा आँसु भुँइमा खसे । हर्नको आवाजले म झस्कें, दौडदै मोटर भित्र पसें- सबै बसिसकेका रहेछन् । ब्यङ्‍ग्य गर्दै विजयले भन्यो- "अरे यार ! बडो भावुक बन्छस् तँ... समय पायो कि प्रकृतिलाई अंकमाल गर्न पुग्छस्, कसरी भाउज्यू (प्रतीक्षा) लाई छाडेर जान सकेको ए...। सबै हाँसे म हाँसिन। पाँच वर्षकै उमेरमा टुहुरो भएको मेरो वालहृदयमा त्यही समय देखि नै भावुकता, एकान्त र चिन्ताको छाप परिसकेको थियो......त्यसलाई कसले बुझ्न सक्थ्यो र ?

पलैंया आइपुग्दा रातपरिसकेको थियो । गौरीफान्टाको १५ कि.मी.बाटोलाई पारगरिसकेपछि मात्र बस्ती आउँथ्यो । 'गौरीफान्टा' डाकुहरु लाग्ने सुप्रसिद्ध ठाउँ त्यसमाथि अघिको कारुणिक दृश्यले मेरो मन एक तमासको भैरहेको थियो । रमेशलाई मैले घरिघरि भन्थें- "हामी पलैंया मै बसौं; रातको वेला...यस्तो डरलाग्दो..." नकारात्मक उत्तर दिंदै उसले भन्थ्यो "क्या नामर्द छस् भाई, जीवनमा कसरी संघर्ष गर्छस्? डाँकु लाग्न सक्दैन... जब तक मे जिन्दा हुँ यु अल डोन्ट ह्‍याभ टु वरी" अन्धकारको साम्राज्य, घनाजंगल... जंगली जनावर कराएको आवाज... यी सबैलाई छिचोल्दै हाम्रो गाडी गुड्‍दै थियो । एक्कासी गाडी रोकियो । अगाडि देख्यौं- सडकको बीचमा रुखको मुढा तेर्साएर राखिएको ।

हृदयको गति बढ्‍दा बढ्‍दै हामी ६, ७ जना बाहिर निस्केर त्यसलाई पन्छाउन मात्र के लागेका थियौं आगोको राँको हातमा लिएर एउटा हेर्दैमा राक्षस जस्तो देखिने मान्छे आगाडि बढ्‍दै आयो- शायद उ डाँकुको सरदार थियो । उसको पछाडि एक डफ्फा डाँकुहरु हा....हा....गर्दै आउँदै थिए । मोटर भित्र कोही कराउन थाले, कोही चिच्याउन..... तर त्यो चिच्याहट सुन्ने त्यहाँ को थियो र ? मेरो शरीर रन्किएको थियो, चिट्‍-चिट्‍ पसिना काड्‍दै हामी ५, ७ जना धैर्यसाथ उभिई रहेका थियौं..... किंकर्तव्यविमुढ जस्तो भएर । मेरो मस्तिष्कले काम गर्न छोडिसकेको थियो । सरदारले पहाडै थर्काउने गरी करायो- "अन्दर जा कर लुटो, सब निकालो । कुछ नाछोड्‍ना हाँ ।" आगोको राँकोको उज्यालोमा उसको लाल लाल नेत्र क्रोध ईर्ष्या र लोभले दन्किरहेका थिए, उच्च नाकले अभिमान प्रकट गर्थ्यो भने किच्रिक्क परेको ललाटबाट उदारतालाई तिलाञ्जली दिईसकेको कुरा प्रष्ट हुन्थ्यो । उसको हुकुम बमोजिम ५ जनाले भाला जस्तो हतियार लिई गाडि घेरे र अरुले सामान निकाल्न शुरु गरे.... गितार, क्यामेरा, सुट्‍केश, ब्यागेज आदि कीमती मालहरुको चाङ लाग्यो । हामीले घडि, ज्याकेट, कोट सवै फुकाल्यौं । अब म सित एउटै चिज मात्र बाँकी थियो औँठी... उनले र मैले साटेको... हाम्रो प्रेमको प्रतीक.... त्यस बहुमूल्य वस्तुलाई मैले ज्यानको खातिर पनि दिन तयार थिइन, मुखभित्र हाली जिब्रो मुनि लुकाएँ ।

त्यतिकैमा मेरो आँखा एउटा डाँकुमाथि पर्‍यो... भरखर मात्र यौवनको खुडि्‍कलोमा पाईला टेकेको त्यस युवक (डाँकु) को आँखामा पाप भएको जस्तो लाग्दैनथ्यो । उ त केवल वाध्यतावश आफ्नो सरदारको आज्ञा पालन गरिरहेको थियो । मैले उसलाई चिने... उसको आँखालाई चिने... उ नेपाली थियो । गाडीभित्र लत्ताकपडा लिन डाँकाहरुमै गुत्यम् गुत्था तलिरहेको थियो । त्यही मौकाको फाइदा लिने हेतुले रमेश सासैसासमा बोल्यो- हरि अप, आई थिङ्‍क द पुलिस स्टेशन इज नियर बाइ... ह्‍वाट डु यु थिङ्‍क? "मौनम् सम्मती लक्षणम्" भने झैँ मलाई उसले तान्यो र हामी कुद्‍यौं... त्यो जंगलै जंगल... ज्यानको माया मारेर । हस्याङ फस्याङ गर्दै पुलिस स्टेशन पुगी तुरुन्त एक डप्फा पुलिस सहित त्यही बाटो भएर फर्क्यौ । फर्कँदा बाटोमा मैले सोचे- मानिस डाँकु किन बन्छ ? उसलाई डाँकु बनाउने यही आर्थिक असमानताले व्याप्त समाज हो... र दोषी हामी हौं । जिमिन्दार र तल्सीङ्गको कुचक्री जाँतोमा पिंधिएर अझ त्यसमाथि समाजका सुधारक भनाउँदा मानवरुपी दानवहरुको चुसाई, कुटाई र लुटाइले पिल्सिएर गाँस र वासको समस्या समाधान गर्नका लागि..... यहाँ कति मानिस बाह्रै घण्टा पसिना चुहाएर पनि एक छाक खान पाउँदैनन् । उनीहरुको लुगा बाह्र ठाउँमा टालेको हुन्छ... परिश्रमको फल उनीहरुलाई गोली र कोर्रा मिल्छ ।

अनि अर्को तिर यस्ता मानिस पनि हुन्छन् जो सधैं जहाजमा सफर गरिरहेका हुन्छन्, सुगन्धीत मखमलको पोशाकमा चौरासी व्यञ्जनको स्वादमा । जबसम्म समाजबाट यो असमानता हट्‍दैन तवसम्म डाँकु र चोरका संख्या पनि घट्‍दैनन् । नत्र भने एक पछि अर्को गर्दै हाम्रो देशका उज्ज्वल नक्षत्रहरु, भविष्यका कर्णधारहरु देश छाडि यही पेशा अपनाउने छन् यसमा विकल्प छैन । मान्छे बाँच्छ आफ्नो लागि... धरतीका सम्पूर्ण कुराहरु विकृत गराएर उपयोग गर्नाका लागि... वास्तबमा उ त बाँच्नु पर्दछ समाजका लागि... यहाँका जालि फटाहा र शोषकहरुको अन्त्यगरी आदर्श समाजको सिर्जना गर्नका लागि । म यस्तै तर्क वितर्क गर्दै थिएँ, हामी हाम्रो गाडी निरै आईपुग्यौं । त्यहाँ कोलाहल हुँदैन न त्यहाँ डाँकुहरु हुन्छन् न त कुनै समाज नै हुन्छ । त्यहाँ त हुन्छ पाँच जनाको लाश जसको ठीक बीचमा उनी पनि हुन्छिन् । हो यत्ती हो, मेरो जीवनको कथा लुकेको सजीव घट्‍नाको वृतान्त यत्ति हो ।

लीला


तीर्थ विष्ट

आठ बजिसक्यो उ ओछ्‍यानमै छ । निन्द्राले छोडे पनि अल्छीले छोडेको छैन । हप्तामा एकदिन त आराम गर्नै पर्‍यो नि ! आरामै नगरी-नगरी पैसा केको लागि कमाउनु ! उ अलिअलि कमाउँछ र चाहिएको खर्च गर्छ । थोरै कमाउ, थोरै खर्च गर भन्ने जमाना गयो, र धेरै कमाउ, धेरै खर्च गरको जमाना आयो । तर उ समयसँग हिँड्‍न सकेको छैन, चाहेर पनि । कमाएको सबै खर्च पनि गर्दैन । बैकमा राख्छ, घरमा खर्च पठाउँछ । उसलाई अहिले चाहिएको पनि यत्ति नै हो । त्यसैले उ सन्तुष्ट छ । उ बस्ने घर अर्कैको हो, कोठा चाहिँ उसको । त्यही पनि एक महिनाको लागि मात्र । भोलि घरपतिले कोठा खाली गर भन्ने आदेश दिनसक्छ । फेरि अर्कै घरको कोठालार्इ उसले आफ्नो बनाउनु पर्छ । यसरी उसले यो आठ-दस वर्षको काठमाडौं बसाइमा धेरै अरुका घरका कोठालाई आफ्नो बनाउँदै छोड्‍दै गरिसकेको छ । ती कोठाहरूमा उसले आफूलाई मनपर्ने तरिकाले डेकोरेसन गरेको छ । भाडा तिरेर आफ्नो बनाएको कोठामा निदाएर आफैँले बनाएको घरमा सुतेको सपना पनि देखेको छ उसले ।

उ विद्यार्थी हो । उ सँग क्याम्पसको परिचयपत्र पनि छ । बस चढ्‍दा त्यसको सदुपयोग गर्छ । आफ्नो परिचय दिँदा 'म फलानो, फलानो क्याम्पसमा फलानो लेबलमा पढ्‍ने विद्यार्थी' भनेर दिन्छ । उ विद्यार्थी हो भन्नेमा खलाँसीले कहिल्यै शंका गरेको छैन । शङ्‍का गरिहाले पनि उm सँग सक्कली कार्ड छ- क्याम्पसको छाप र क्याम्पस चिफको सही भएको ।

शनिबार आठ बजे बिहानै हो उसको लागि । तर अरुहरु बाहिर जम्मा भएर हल्ला गर्दै थिए । यो हल्लामा उ सुतिरहन सकेन र बाहिर आयो । घरपतिको घर बनाउने कामदार, ठेकेदार र घरपति दम्पति थिए हल्ला गर्नेहरू ।

श्रीमती घरपति एउटा फुच्चे कामदारको कुरा गर्दै थिइन् । फुच्चे लजाईरहेको थियो । अरु हाँसिरहेका थिए, काम पनि गरिरहेका थिए । फुच्चेले अलि ठूलो डोकोमा निम्ठो माटो बोकेर बाहिर फाल्न लग्यो, फालेर आयो । अरु कुरा गर्दै थिए, हाँस्दै थिए । उ कसैलाई नहेरी काम गरिरह्‍यो । हाँस्ने मध्येको एक जनाले भन्यो- 'मान्छेमात्र फुच्चे, काम त लाठेले जस्तै गर्छ ।' श्रीमान् घरपतिले हाँसो थप्न भने- 'बलवान्'ले बलवान् बनाएको होला नि !' फेरि सबैजना हाँसे । अनि श्रीमती घरपतिले उसलाई सोधिन् 'यति सानो मान्छे भएर खैनी किन खाएको ?' उसले पुलुक्क हेर्यो, हाँसेरै उत्तर दिन सकेन । उसको हाँसो ओठसम्म पनि आएन । सानो स्वरमा उत्तर दियो-'टेन्सन हराउँछ ।' 'यति सानो मान्छेलाई पनि टेन्सन हुन्छ ? न विवाह भएको छ, न बच्चा छन्, न बच्चालाई पढाउनु छ, एक्लो ज्यानलाई केको टेन्सन ? हामीलाई पो टेन्सन छ । बच्चा ठूलो भयो, के गरी पढाउनु, बढाउनु भन्ने टेन्सन । त्यही पनि हामी खैनी खाँदैनौं । खैनी खाँदैमा टेन्सन हराउने भए म पनि खान्थेँ । खैनी खाँदैमा टेन्सन हराउँछ कहीँ ?' श्रीमती घरपतिले पटट्‍ट एकैछिनमा बोलेर सकिन् । फुच्चेको डोको भरियो अनि पहिलेजस्तै डोको उठाएर हिँड्‍यो ।

डेरावाल विद्यार्थी श्रोता र दर्शक मात्र बन्यो, केही बोलेन । छोरो घरपति बास्केटबल भुईमा उफार्दै बाहिर निस्कियो । उसले छोरो घरपतिको अनुहारमा टेन्सन देखेन । उसलाई लाग्यो- छोरो घरपति र फुच्चे कामदार दौतरी हुनुपर्ने । अनि मनमनै भन्यो 'हो त नि यी फुच्चेहरूलाई केको टेन्सन !'

- हजारबिघा, सर्लाही ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes