बेसुरा समयको सुरिलो घन्टी


– हाम्रो कलम टिम 

समसामयिक नेपाली साहित्यिक वृत्तमा नारायण ढकाल गम्भीर कलमवाज मानिन्छन् । गहन अध्ययन र मिहीन चिन्तनले उनको लेखकीय जग खँदिलो बनेको प्रमाण उनकै कृतिहरूले दिएका छन् । खासगरी खारिएको अभिव्यक्ति शिल्प भएका ढकालको आख्यान अझ धारिलो छ । पछिल्ला समयमा प्रकाशनमा आएका आत्महन्ता, बहिर्गमन जस्ता कथाकृति तथा दुर्भिक्ष र प्रेतकल्प जस्ता उपन्यासले उनको शक्तिशाली आख्यानकारिताको सजीव चिनारी दिएका छन् । तर उनको चिनारी यतिमै बाँधिँदैन । कविता लेखनमा समेत उत्साही भएर देखिने उनको गद्य पनि उत्तिकै ओजपूर्ण छ । हालै प्रकाशित लेख र निबन्धहरूको संग्रह 'शोकमग्न यात्री'मा त्यो प्रभावशाली गद्य छताछुल्ल छ ।  

संस्मरण, यात्रा-वृत्तान्त, निबन्ध र आलेख गरी बाइस रचना रहेको कृतिको यो दोस्रो संस्करण हो । २०५६ सालमा प्रकाशित पहिलो संस्करणमा समाविष्ट ११ वटा लेख-निबन्धमा थप ११ वटा राखेर दोस्रो संस्करण प्रकाशन गरिएको छ । कृतिका संस्मरण र निबन्धहरूमा पञ्चायकालीन नेपाली समाजदेखि प्रजातन्त्र प्राप्तियताका विविध प्रसंग विषयवस्तु बनेका छन् । ती सामाजिक र राष्ट्रिय विडम्बनाका प्रसंग हेर्दा बेसुरा समयका प्रकटीकरण लाग्छन् । 

साहित्य निकै कमजोर माध्यम भएको ठहर्‍याउँदै एक समयमा लेखक ढकाल रोग र भोकबाट ग्रस्त समाजलाई शक्तिवान् बनाउन पूर्णकालीन राजनीतिमा हामफाल्छन् । सांसद चुनिएपछि उनले आफ्ना सांसद मित्रहरूलाई संसद र वेश्यालयबीचको अर्थभेद हराएको विडम्बनापूर्ण परिस्थिति बुझाउन खोजेको सन्दर्भ पनि जोडेका छन् । यसबारे संग्रहको आलेख 'अर्थान्तर' बोल्छ । निजी मामिलामा पनि आत्मसमीक्षा गर्दै अघि बढ्ने सर्जक ढकालले आफ्नो तीतो विगतका पाना पनि संस्मरणमार्फत इमानदार भएर राखेका छन् । चाहे विज्ञानको पढाइदेखि विरक्तिएर घरबाट बरालिँदै हिँडेको प्रसंग होस् कि, छोरो डाक्टर हुने सपना साँचेका बाबुआमाले उसले पढाइ छाडेपछि तह लगाउन इच्छाविपरीत बिहे गराइदिएको अवस्था होस्, सबैमा खुला पुस्तक  बनेका छन् लेखक । 

संग्रहमा उनले अमेरिकाका शक्तिशाली कवि एलेन ग्रिन्सवर्गको सन्दर्भबाट बग्दै आएर यता नेपालमा समय बेपत्ता भएको बारे सरल तर तीक्ष्ण कविता लेखिरहेका युवा कवि युमाको चर्चासम्म समेटेका छन् । ग्रिन्सवर्गको चर्चा केलाउने 'ग्रिन्सवर्ग, बुटपालिस र खापीभित्रको नगरा' संस्मरणबाट पञ्चायतकालको उकुसमुकुसमा अभिव्यक्तिको मुख खुम्चिँदा युवा लेखकहरूले सामूहिक रूपमा कृति प्रकाशन गर्न कसरी बुटपालिस आन्दोलन गरेका रहेछन् भनेर बुझ्न पाइन्छ । त्यतिबेला सन्तोष भट्टराई, किशोर नेपाल, शैलेन्द्र साकार, जगदीश घिमिरे, लेखक ढकाल लगायतले नयाँ सडकमा बसेर बटुवाको जुत्ता पालिस गरेर पैसा जम्मा पारेका थिए । 

भारतसँगको सीमाक्षेत्रमा देशले खेप्नुपरेको हस्तक्षेपका साथै प्राकृतिक सम्पदासम्बन्धी सम्झौतामा समेत अपमानपूर्ण नियति भोग्नुपरेको कारुणिक चित्र लामो यात्रा संस्मरण 'महाकालीको तीस घन्टा र शोकमग्न यात्री' ले उतारेको छ । सुदूरपश्चिमको कञ्चनपुरस्थित शारदा बाँध बनेपछि भारतीय पक्षको रजाइँ, महाकाली सन्धिमा राष्ट्रघाती काम गर्ने नेपालका राजनीतिक नेताहरूको दास मनोवृत्ति, अरु बेला पानी भारततिर सोहोरिँदा काकाकुल बनेर पानी माग्ने महाकाली वर्षायाममा भने बाढीको भँगालो बोकेर त्रस्त हुनुपर्ने नियति देखेर जब लेखक भक्कानिन्छन्, पाठकको आँसु पनि थामिँदैनन् । राष्ट्रवाद धुलोपिठो पारेर नेताहरूले असमान सन्धि-सम्झौता गरेको प्रतिफल देख्दा आफन्तको मृत्युमा मलामी हिँडेका शोकमग्न यात्री भएर हिँड्न विवश हुनुपरेको छ ।

राजनीति र साहित्यको साइनोबारे पनि लेखकले छोटोमा सटीक धारणा राखेका छन् । राजनीतिलाई साहित्यमा सरल प्रविधिमा प्रत्यारोपण गर्ने प्रचलन नेपाली साहित्यमा नभएको उनको औंल्याइ छ । त्यसैगरी स्रष्टाको अगाडि समीक्षक थकित र निकै पछाडि छुटेको म्याराथनको शिथिल खेलाडी लाग्छ ढकाललाई । जीवित लेखकहरूलाई उपेक्षा गरेर दिवंगत लेखकहरूलाई वैतरिणी तार्न झैं आरती उतार्ने समीक्षकको प्रवृत्तिप्रति उनको असन्तुष्टि छ । साहित्यिक र सामाजिक मूल्यका हिसाबले पाठकीय समाजलाई हल्लाइदिने पछिल्लो समयको उपन्यास 'प्रेतकल्प'को रचनागर्भ यस संग्रहको अर्को उपलब्धि हो । यसले कृति र कृतिकारलाई बुझ्न थप सघाउँछ ।

समग्रमा यस संग्रहले वैचारिक मन्थन गर्दै दिमागमा काउकुती उमार्ने सामर्थ्य बोकेको छ । दुई दशकअगाडिसम्मको घटना र सन्दर्भ भए पनि तिनमा चेतनाको सघनता र सामयिक मूल्य उच्च छ, यसैले पनि यी आलेख र सम्झौटोहरू अहिले पनि उत्तिकै महत्वपूर्ण बनेका छन् । 


कृति : शोकमग्न यात्री

कृतिकार : नारायण ढकाल
प्रकाशक : फाइनप्रिन्ट
मूल्य : २९९ रुपैयाँ

3 :: प्रतिक्रिया:

Unknown said...

online le ni garnu garyo dherai kura thaha hune hai

house in kathmandu


Sack said...

Nice article
visit
How to make money at home
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes