नाङ्गिदैछिन् द्रौपदी

रमेश न्यौपाने

दुर्योधन तानिरहेछ द्रौपदीको सारी,
अब लाज ढाकिदिने कुनै कृष्णहरु छैनन् यहाँ ।

सभामा युधिष्ठिर छन्,
भीम छन्,
अर्जुन छन्,
र छन् - नकुल र सहदेव,
महोदय ! चुपचाप हेरीरहेछन् तमासा यी सबै ।

जुवामा जितेपछि दुर्योधन
फुकाईरहेछ सारी द्रौपदीको,
नाङ्गिदैछिन् द्रौपदी,
र, छैनन् कृष्णका अदृश्य हातहरु अब ।

बाजी जित्नेले त तान्यो सारी,
तानिरहेछ-
तर आश्चर्य!
बाजी हार्नेहरु अर्थात-,
युधिष्ठिर-,
भीम-,
अर्जुन-,
नकुल र सहदेव पनि,
उसैगरी बजाईरहेछन् ताली-जित्नेले झैं,
खुब रमाईरहेछन‍् द्रौपदी नाङ्गिईरहेको यो तमासामा ।

लाज ढाकिदिने कुनै कृष्णहरु छैनन्- अब,
क्रमशस् नाङ्गिदैछिन् द्रौपदी ।
दुर्योधन तानिरहेछ द्रौपदीको सारी ।

काठमाडौ, रत्नराज्य लक्ष्मी क्याम्पस

रारासँग मेरो प्रेम

अनिता शिवाकोटी

"चोखो छ है, यो मेरो माया
राराको सङ्गलो पानी जस्तै,
चोखो छ है... ।"

किनारमा बसेर राराको पानी छुँदै छालसँगै मन्त्रमुग्ध हुँदै स्वस्फूर्त रूपमा हामीले पनि धेरैपटक यही गीत गुन्‍गुनायौँ । हावामा फैलिँदै गएका हाम्रा ती सामूहिक स्वरहरू खै कहाँ एक्कैछिनमा हराउँथे, अनि फेरि हामी टुक्रा-टाक्री जोड्‍दै अर्को गीत गुन्गुनाईहाल्थ्यौँ । आकाशमा झल्किएको जून, गोलबद्ध भएका हामी, अनि एकसुरले सङ्गीत निकालिरहेको राराको छाल । स्वर्गीय आनन्दलाई शव्दमा व्यक्त गर्ने सामर्थ्य हराउँदै गएपछि हामी सबैजना चुपलागेर रारामा टोलायौं । लामो समयसम्म एकोहोरिएर राराको सङ्गीत सुनिरह्‍यौँ । रारा ताललाई जिस्काउँदै बेला-बेलामा देखापरिरहेको जून, अनि किनारामा बसेर जूनको प्रतिक्षा गरिरहेका हामी । साँच्चै नै जूनले रारासँग हैन हामीसँग लुकामारी खेलिरहेको थियो । हुन त काठमाडौँमा पनि जून नदेखेको हैन, तरपनि तालमा चम्किएको जूनले बेग्दै आनन्द दिईरहेको थियो ।

नेपालगञ्जको विमानस्थलबाट चील झैँ उडेको यती एयरलाईन्सको विमानबाट कहीँ उजाड डाँडा अनि कहीँ मनै लोभ्याउने पहाडसँग लुकामारी खेल्दै हामीले त्यो रमाइलो यात्राको सुरूवात गरेका थियौँ । हुन त हाम्रो यात्राको लक्ष्य रारा ताल हेर्नु नभएर मुगुको सदरमुकाम गमगढीमा 'डोको रेडियो' सञ्चालन गर्ने थियो । तरपनि यात्राको अन्तिम दिन हामीले राराको लागि छुट्‍याएका थियौँ । शिक्षा स्वास्थ्य, यातायात, बिजुली जस्ता विकासका हरेक कुराबाट बञ्चित मुगालीको लागि आँगनमा रेडियो स्टेसन पुग्नु अनि आफैँले गाएका गीत, बोलेका आवाज रेडियोमा सुन्न पाउनु कम खुसिको कुरा थिएन । त्यस बेला गमगढी बजारमा ठूलै मेला लागेको थियो । मानिसहरूको चहलपहल बजारमा थामिनसक्नु थियो । सबैलाई खुसि देख्दा हामी पनि खुसि भयौँ ।

डोको रेडियो सञ्चालनको अवधि सकिएपछि हामी रारा ताल जान तालचा एयरपोर्टमा सामान राख्न गयौँ । यातायातको अभावले गर्दा खच्चरहरू हाम्रो सामान लिएर एयरपोर्ट तिर लागे । हामी पनि सबैसँग बिदावारी हुँदै खच्चरको पछि-पछि लाग्यौँ । गाडी गुड्‍ने बाटो नभएका कारण खच्चरलाई सामान बोकाउन विवश छन‍ मुगालीहरू । हामी तीन-चार दिन बस्नेहरूका लागि त यति गाह्रो भयो भने, उनीहरू आफ्नो सारा जीवन कसरी कसरी बिताइरहेका होलान्? मनमा कुरा खेलिरहे ।

बाटोमा कुनै पसल थिएन, लगेको खानेकुरा सबै सकिएपछि भोकले लखतरान हुँदै हामी तालचा एयरपोर्ट पुग्यौँ । बल्ल-बल्ल भेटिएको सानो होटल हाम्रा लागि सबैथोक भयो । होटलमा चाउचाउ पकाएर खायौँ अनि केही बोकेर सुरू गर्‍यौँ- नेपालकै सबैभन्दा ठूलो ताल, रारा हेर्ने यात्रा ।

बाटोमा भेटिएका हरिया चौर, विभिन्न आकारका धुपी बोटहरू, अनि साउती मारिरहेका सल्लासँग हामी पनि साउती मार्दै हिँड्‍यौँ । बाटो छेउछाउमा सेता पहेँला र रङ्गीबिरङ्गी बुकी फूलहरू फुलिरहेका थिए । छ जनाको हाम्रो समूहिक यात्रामा हाम्रा दुई साथीले बाटोभरि गजलका सेरहरू गाउँदै यात्राको रौनकता बढाईरहेका थिए । बाँकी हामी पनि बेलाबेलामा सुरमा सुर थप्दै उनीहरूलाई साथ दिइरहेका थियौँ । हुन त हरेक यात्रा अविष्मरणीय नै हुन्छन्, तर राराको रमाइलो यात्रा गर्ने सैभाग्य पाउने थोरै नेपालीमा म पनि परेँ भन्ने पनि सँगै सम्झिने कुरा भए मेरा लागि । बिहानैदेखि उकालो लाग्दा थाकेका खुट्टा अनि भोको पेट बिर्सन त्यो उत्साहले हामीलाई क्याटलिस्टको काम गरिरहेको थियो । के भोक के प्यास सबै कुरालाई मेट्‍ने एउटै अभिलाषा थियो हामीसँग रारा तालको सौन्दर्यतालाई चुम्ने । तालचा एयरपोर्टबाट झण्डै दुई घण्टा लामो उकालो आरालो बाटो पार गरेपछि हामीले रारालाई पहिलो पटक देख्यौँ ।

झण्डै दिउँसोको तीन बजेको हुनुपर्छ, हामीले रारालाई पहिलो पटक देख्दा । बीचबाट सोरिँदै आएको त्यो छाल किनारमा ठोक्किँदा लाग्छ, कुनै ठूलै चिज वेगले पहाडमा ठोक्कियो । त्यो छत्ल्याङ्ग आवाज बारम्बार हाम्रो कानमा बजिरहन्छ । तालमा उत्पन्न भएका तरङ्ग हाम्रो मन सम्म पुग्छ अनि स्वत: स्फूर्त रूपमा निस्कन थाल्छ-
"मनको माया हजुरको कहिले पाउने हो ?
डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो?... ।"

तराईका साना-साना ताल र काठमाण्डौँको रानीपोखरी, बाहेक मैले देखेको ठूलो ताल भनेको पोखराको फेवाताल मात्र थियो । सोचेको थिए फेवाताल भन्दा केही ठूलो त होला । तर मेरो आँकलन मिलेन । जङ्गलको बीचमा आँखाले भ्याएसम्म फैलिएको राराताल टेलिभिजनको पर्दामा देखिएका समुद्रको मोहक दृश्य झैँ लागिरहेको थियो । अपरान्हपछि तालमा छाल आउने भएकाले हामी तालको बीचसम्म जान सकेनौँ । रारालाई किनारमा उभिएर धेरैबेर सम्म हेर्‍यौं । राराको छालले हाम्रो सबै थकान मेटिईसकेको थियो । काठमाण्डौँको प्रदुषित वातावरणमा बस्ने हामीलाई यति स्वच्छ ठाउँमा आउन पाउनु भाग्यकै कुरा हो । रारालाई हेरिरहँदा मेरो मनमा एउटै मात्र कुरा खेलिरहेको थियो, यति मनमोहक र विशाल ताल किन छायाँमा पर्‍यो? हुन त राम्रो कुरा पाउनका लागि धेरै दु:ख गर्नुपर्छ भन्छन् । त्यै भएर होला रारासम्म बाटो नपुगेको, अनि विश्वको आँखा पुग्नुपर्ने ठाँउमा नेपालीका समेत आँखा पुग्न नसकेका । बाटोको सुबिधा भएमा कत्ति पर्यटक आउने थिए होलान् यहाँ? अनि पर्यटकीय स्थलको रूपमा मुगुलाई विकास गर्न सकिन्थ्यो । त्यसबाट मुगालीको पनि विभिन्न किसिमले सहयोग हुनसक्थ्यो । हाम्रो मनमा उठेका यस्तै छालहरु सँगाल्दै, हामी उर्लिरहेको राराको छाललाई त्यहीँ छोडेर राती १०:३० तिर आफ्नो बासस्थानतिर लाग्यौं ।

बिहान उठ्‍दा, ६ बजिसकेछ । राती रिसाएको रारालाई हेर्न हतार हतार बाहिर निस्किएँ । तर रारालाई मैले सोचेको जस्तो पाईन । उ त मौन थियो । मानौँ आफ्नो मनका सबै वेदना आँसुसँगै पोखिएर सकिएछ । बिहान त शान्त रारामा घामका किरण पर्दा पानीका फोका मोती झैँ टल्केका थिए । मोतीदाना तालभरि छरिएर चम्केकाथे । आखाँले भ्याएसम्म फैलिएको रारालाई किनारमा बसेर फेरि एकपटक हेरेँ, हाम्रो मौन वार्ता भैरहेको थियो । राराको त्यो रूप देखेर म भित्र भित्रै मोहित भैरहेको थिएँ । नेपालकै यती रमणीय राराताललाई धेरैले देख्न पाएका छैनन् । मैले रारालाई देख्न पाएँ, छुन पाएँ, उसलाई आफूमा समाहित गर्न पाएँ । मलाई आफूले जीवनकै कुनै महत्वपूर्ण कुरा गुमाइरहेको रहेछु जस्तो लाग्यो त्यस बेला । झन् उसले मलाई हेरेर मुस्कुराई दिँदा म भुतुक्कै भएकोथेँ । उसको त्यही मुस्कानले त मलाई बिहानीको त्यो चिसोसँग पनि पौँठेजोरी खेल्दै चम्किएका मोती दानालाई पटक पटक आँखा भरी कैद गर्ने साहस दिएको थियो ।

बिहान देखापरेको शान्त राराको त्यो मनमोहक रूप पनि मलाई निक्कै मन पर्‍यो । चाहना त लामो समय रारासँगै बिताउने थियो तर समयका विरूद्ध को नै पो जान सकेको छ र? अरू साथीसँगै मलाई पनि त्यहाँबाट फर्किनु नै थियो । मन बुझाउनै पर्‍यो । जे भएपनि नेपालमा पुग्नैपर्ने ठाउँहरूमध्ये एक रारा तालको किनारामा रात बिताउन पाउनु कम खुसीको कुरा हैन । बिहानै रारासँग जिस्कदै हामी फेरि राराको किनारै किनार फर्कियौँ । झण्डै एक घण्टा भन्दा लामो राराको किनारै किनार यात्रा गरेपछि, अन्तिम पटक रारालाई हेरेर हामी उकालियौँ । आँखामा रारा ताल नाचिरह्यो । त्यो जोसमा कत्ति चाँडो बाटो काटिएछ थाहै भएन । जाँदाखेरी झण्डै छ घण्टा लागेको बाटो हामीले दुई घण्टामै पार गरेछौँ । सायद अब फेरि रारासँग मेरो भेट नहुन पनि सक्छ, म यस्तै यस्तै सोचिरहेको थिएँ । त्यो निस्ठूरी रारा मेरो मनको कुरा, के बुझी होला र? तर तालचा एयरपोर्टमा आएर फेरि चील झैँ आकाशमा पुगेका हामीलाई राराको अर्को रूपको दर्शन मिल्यो । ठूलो थालमा भरिएको पानी झैँ उ हाम्रो बिदाईका लागि अर्को रूप लिएर आएकी थिई र हामीलाई बिदाईको हात हल्लाईरहेकी थिई । मैले क्यामरामा कैद गरेका केही दृश्य, अनि मेरो मस्तिस्कले कैद गरेका केही क्षणहरु नै राराको चिनो भएका छन् मेरा लागि ।

गजल

समृद्घि 'शायद'

आंशुलाई टल्काउने प्रभात हुन सक्नु पर्छ
फुटेका मन जोड्ने सौगात हुन सक्नु पर्छ

फुल्दा गुलाफ मात्र हैन चढ्ने देउतालाई
हांगावाट झरे'सी पारिजात हुन सक्नु पर्छ

कस्ले भन्छ विश्वासको खडेरी छ हामी वीच
एउटै मान्छे पनि जमात हुन सक्नु पर्छ

हृदय सगरमाथा आँखामा बुद्घ हरेकको
फिलिंगो विप्लवको उत्पात हुनसक्नु पर्छ

धाँजा धाँजा नहुन सक्छन् समय र मनहरू
बाफिएर आफैं पनि वर्षात हुन सक्नु पर्छ

मेरी आमाको जुनी

सङ्‍गीतस्रोता

तिमी सामू भर्खरै आईपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दु:खको कुवामा डुबेका अनिंदा आँखा
बारम्बार अँधेरी गौंडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।

तिमीसामू भर्खरै आइपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्‍गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरि त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।

मेरी आमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरु तास फिटिरहेका थिए
वल्लोपट्टी पल्लोपट्टी भलाद्‍मीहरु जूँगामा ताउ लगाईरहेका थिए
धर्मशालामा हेर्‍यो-
त्यहाँ लुटेराहरुको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरु झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरी साँझमा धनाढ्‍यहरु कम्मर भाँचिरहेका थिए
मेरी आमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पंक्तिहरुमा भगवान‌‍का भजनहरु बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरु टाँस्सिएका थिए
र सङग्रहालयका प्रत्येक कोठामा पनि
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।

कतैतिर पनि
बस्न, सास फेर्न र सुस्ताउन नपाएपछि
मेरी आमाको जुनी
घृणा, उपेक्षा र तिरस्कारका आक्रमणहरु खप्दै
भौंतारिंदै-भौंतारिंदै
तीव्र गतिमा चलेका एक-एक थान मुटु र फोक्सो बोकेर
तिमीसामू भर्खरै आइपुगेको छ
प्रिय कलाकार !
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

बाजुङ, पर्वत

गजल



दुख्ने गर्छ मुटु मेरो
डुब्दा बिगतका तलाऊहरु।

चर्किने गर्छ स्मृतीको पटमा
तिमीले दिएका घाउहरु।

स्वर्ग जस्तै थिए हिंजो
हामी घुमेको रमाईलो गाउँहरु।

नर्क तुल्य भएको छ आज
मेरो निम्ती त्यही ठाउँहरु।

मैले हारी तिमीले जित्नु पर्ने
थाहै नदिई कस्तो खेल्यौ दाउहरु।

बेवारीसे लाश जस्तै तिरस्कृत हुदै
कति चालौ जिन्दगीका गह्रौ यी पाऊहरु।

तिरस्कृत किनारमा उभी आज
पर्खि रहेछु पार तर्ने नाउहरु।

बि जे बान्तवा राई
भोजपुर

ईश्वरको अदालतमा आउटसाइडरको बयान

सङ्गीता पाण्डे २००८ जुलाई ६ आइतबार अपराहृन ३ बजे मार्टिन चौतारी, थापाथलीको हलमा ईश्वरको अदालतमा आउटसाइडरको बयान पुस्तकमाथि छलफल भइरहँदाको एक दृश्य।

मार्टिन चौतारीको यसपालीको साहित्यिक छलफल श्रृङ्‍खलामा मोमिलाद्वारा लिखित निबन्धसङ्‍ग्रह 'ईश्वरको अदालतमा आउटसाइडरको बयान' पुस्तकमाथि छलफल भयो । (मार्टिन चौतारीमा अंग्रजी महिनाको प्रत्येक पहिलो आइतबार दिउँसो ३ बजे साहित्यिक कृतिमाथि छलफल हुन्छ ।) उक्त कार्यक्रमका पण्डित (मार्टिन चौतारीमा वक्तालाई पण्डित भनिन्छ ।) धर्मेन्द्र नेम्वाङ्ग र डा. ज्ञानु पाण्डेले पुस्तकको समीक्षा गर्ने जिम्मा पाएका थिए ।

कार्यक्रममा सहभागी भएका युवा जमातलाई सोध्दा मैले समग्रमा यस्तो जवाफ पाएँ- "यो किताब पढ्‍दा जति बुझ्न गाह्रो छ त्यस्तै धर्मेन्द्र नेम्वाङ्गको प्रस्तुति(समीक्षा) बुझ्न गाह्रो भयो । अनि प्रस्तुति अलि लामो भयो ।" डा. ज्ञानु पाण्डेले बोलेपछि, उनको छोटो र मीठो प्रस्तुति सबैले मनपराएको जस्तो अनुभव गरेँ । यो पुस्तकमा भूमिका लेख्ने दुर्गा भण्डारी र मन्तव्य लेख्ने डा. वानीरा गिरीले त "यो पुस्तक यही हो" भनेर कुनै किटान गर्नसक्नु भएको छैन, वा गर्न रुचाउनुभएन भने उक्त छलफलमा उपस्थित साहित्यकार र साहित्यमा सामान्य रूची राख्ने अरूलाई यस पुस्तक माथि खुल्दुली लाग्नु स्वभाविकै थियो । कार्यक्रम सुरू हुनुभन्दा केही अघि नै मैले मेरा एक साथीलाई सोधेँ- "किताब कस्तो लाग्यो त ?" । उनले जवाफ दिए- "हिँड्‍दैछ पाइला मेट्‍दैछ ।" अर्थात उनको भनाइको अर्थ हो पढुन्जेल पुस्तकको भाषाशैलीले तान्छ तर शीर्षक अनुसार के भन्न खोजिएको हो ? पटक्कै बुझिँदैन । एउटै कुरा दोहोर्‍याई, तेहेर्‍याई आएको छ र जुन पढे पनि कुरा एउटै र शीर्षकमात्र फरक लाग्छ । डा. ज्ञानु पाण्डेले मोमिलालाई बुझ्नेले यो किताब बुझ्छन्, मोमिला आफैँले भोगेका कुराहरू छन् भन्नु भयो । त्यसो हो भने के यो पुस्तक लेखिकाको आत्मवृत्तान्त हो त ? आत्मवृत्तान्त, आत्मलाप भन्न पनि मिल्दैन किनभने हरेक घटना क्रमबद्धरूपमा परिस्कृत भएकै छैनन् र अर्र्का कुरा लेखिकाले यस पुस्तकमा प्रस्तुत गरेको आफ्नो मनतव्यमा यो मेरो आफ्नै भोगाई हो भनेर भनेकी पनि छैनन् । त्यसपछि पाण्डे पछि पालो आयो निबन्धकार मोमिलाको, उनले पनि "भोगेकै कुरा लेखेकी हुँ मैले" भनिन् । हुन त स्रष्टाले भोगेकै कुराहरूकै आधारमा केही कुरा लेख्ने हो ।

जो कोही मान्छेहरूमा दुई आत्मा हुन्छ, भनिन्छ । अर्थात् मस्तिष्क र मन त्यस्तै मोमिलाका दुई आत्माबीचको सङ्‍घर्ष र संवाद यस पुस्तकमा पाइन्छ । विभिन्न शीर्षकहरूलाई हटाएर पढ्‍दा पनि फरक नपर्ने उनको यो कृति उनको जीवनदर्शन हो । उनको यो दर्शनमा कामुको प्रभाव प्रसस्तै देखिन्छ । दर्शनमा जटिल कुरालाई सरल ढङ्गबाट बुझाउन खोजिन्छ तर यहाँ त अलि जटिल रूपमै प्रस्तुत गरेर, समय, अतित, जीवन मृत्यु, अनुभूति, संवेग, ईश्वर, प्रेम, पीडाहरूलाई पोख्दै, पहिचान गर्दै, सङ्‍घर्ष गर्दै, विद्रोह गर्दै अघि बढ्‍दै गएको भान हुन्छ । तर के मोमिलाले सही पहिचानमा यस कृतिमा आफूलाई उभ्याउन सकिन् त ? उनी आफैँ रुमलिएकी छिन्, आफ्नो अस्तित्वको खोजीमा आफैँ कता-कता हराएकी छिन् ।

पढ्‍दै जाँदा यस्तो लाग्छ कुनै प्रेमिकाले आफ्नो प्रमीसँग बिछोड हुँदाको चोटमा उसैलार्इ लेखेका प्रेममत्रहरू हुन्, जहाँ उ प्रतिका विद्रोही आवाजहरू निस्केका छन् । यस पुस्तकमा उनी खाली वहकिएकी मात्र छिन् । अर्थात् यस पुस्तकमा उनी flow, flow मात्र भएकी छिन्, जहाँ बग्दै बग्दै एउटा विन्दु, एउटा गन्तव्यमा वा मानौँ समुन्द्रमा मिसिनु पर्थ्यो । के उनी त्यहाँसम्म पुगिन ? आज स्वयम् यस पुस्तकले उनलाई नै प्रति प्रश्न गरे जस्तो लाग्छ ।

म त यस पुस्तकको प्रत्येक शीर्षक अनुसार लेखिकाले के भन्न खोजेको हो भनेर गहिरिएर पढ्‍दै थिएँ । प्रकृति र कलाको रोमान्टिक मूर्छनामा अतितजस्तो सुकै कष्टकर भएपनि बडो आदरका साथ, आत्मसाथ गरेर Bye भन्दै एक-एक पाइलामा कर्मको फूल फुलाउँदै हिँड्‍ने अठोट गरेको, त्यस्तै जीवनमा भोग्नुपरेका दु:ख स्वीकार गर्दै, जतिसुकै कुरा होस् त्यसभन्दा पनि उच्च मान्छेको आफ्नै जीवन हो, त्यसमा पनि वर्तमान जीवन मात्र मान्छेको आफ्नो हो, भन्ने कुरा प्रष्ट्‍याउन चाहेको जस्तो लाग्यो । लेखिका यहाँ आशावादी देखिन्छिन् र आशावादी हुनु पर्ने नै सन्देश दिएको जस्तो लाग्यो । त्यस्तै "पुरातात्विक सहरमा एक आउटसाइडर कृतिमा धर्म र संस्कृतिको नाममा आ-आफूलाई ठूलो ठान्नेप्रति व्यङ्‍ग्य गरिएको छ । र धार्मिक सहिष्णुताको कुरालाई औँल्याएको देखिन्छ । 'इतिहासको संस्करणमा' एउटै समयमा विभिन्न घटनाहरू भइरहेछन् भन्दै नेपालमा भएको कालरात्रीको प्रेमहत्या सम्बन्धी घटना पनि पाठकलाई संस्मरण गराएकी छिन् । यसरी सरसरती हेर्दा शीर्षक अनुसार केही न केही कुरा नौलो ढङ्गले प्रस्तुत भएको देखिन्छ ।

यो पुस्तक वास्तवमा नौलो प्रस्तुति बोकेर आएको छ । यस पुस्तकले समस्त पाठक वर्गलाई एउटा बेग्लै स्वाद दिएको छ । अन्तयमा भन्दा यो एउटा नौलो ढङ्गबाट प्रस्तुत गरिएको निबन्ध सङ्‍ग्रह हो जसमा उनले आफ्नो जीवनदर्शनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेकी छिन् ।

फर्केको खोलो

अनिता दुलाल
मिर्मिरेमै सुन्तली पानी लिन डोकोमा गाग्रो बोकेर पँधेरोतिर लाग्छे । पँधेरो गाउँबाट धेरै टाढा थिएन । वनजङ्गलको हरियाली, चराचुरुङ्गीहरूको मधूर गुञ्जन, अन्य प्राकृतिक छटाले भरिपूर्ण उसको गाउँ रमाइलो थियो । उ गुनगुनाउँदै पधेँरो पुग्छे ।
पधेँरोमा धेरै आईमाईहरू पानी भर्न पालो पर्खेर बसेका थिए । उनीहरू आ-आफ्नै कुरामा व्यस्त थिए । सुन्तली पधेँरोतिर एक पाइला सार्न नपाउँदै एउटी अधबैँसे आईमाई कराउन थाल्छे- "तँ अछुत पनि पानी लिन आइस् ? पर जा ! सबैले लिइसकेपछि मात्र पाउँछेस् ।" यस्तै-यस्तै वचनहरू एकपछि अर्को गर्दै सबैले भन्छन् । त्यस्ता वचनले उसको मन रुन्छ, अनि आँखा ।

सबै गइसकेपछि उ पछयौरीले आँसु पुछ्‍दै पानी भर्छे । पिठ्‍यूँमा पानीको गाग्रो अनि गहभरि आँसु लिएर सुन्तली घर पुग्छे। उसको लोग्ने घनश्याम दलानमा बसेर लुगा सिउँदै हुन्छ । सुन्तलीको आँसु देखेर 'के भयो' भनी सोध्छ। सुन्तलीले पँधेरोमा भएका सारा कुरा बताउँछे। घटनाको वृतान्त सुनिसकेपछि घनश्यामको मन अशान्त हुन्छ। सुन्तलीको जस्तै उसको मन पनि पीडाले भत्तभत्ती पोल्छ। उसको आँखाबाट आँसुका दुईचार थोपा खस्छन्। आँसु पछ्‍दै उनीहरू आफ्नो भाग्यलाई दोष दिदै मन बुझाउने प्रयत्न गर्छन्।

त्यसपछि सुन्तली भान्साको काम गर्न भित्र पस्न लाग्दा गाउँका सर्वमान्य व्यक्ति जितमान मुखिया आइपुग्छन्। बाहिर लुगा सिउँदै गरेको घनश्यामले मुखियालाई देख्छ र हतार-हतार सियो फाल्दै मुखियाको लागि भनेर गुन्द्री ओछ्‍याउँछ र बस्न अनुरोध गर्छ। मुखिया झोक्किँदै कराउँछन्- 'तँ दमाईको घरमा बसेर मलाई जात फाल्नु छैन, बुझिस‍ ओइ डुम ?' मुखिया घनश्यामलाई ठूल्ठूला आँखाले तर्दै गाली गर्दै हुन्छन्। मुखियालाई दिन अम्खोरामा पानी लिएर आएकी सुन्तली मुखियाको प्रचण्ड स्वर सुनेर डरले खङ्‍रङ्ग हुन्छे। उ थरर काम्छे अनि अम्खोरा भूँइमा राखेर भित्तोमा अढेस लाग्छे। त्यस बेलासम्म उसले अघि पँधेरोमा भएको घटना बिर्सिसकेकी थिई। अहिले उ पँधेरोको घटना र अहिले उसको आगनको प्रत्यक्ष दृष्य एकैचोटी देखिरहेकी छे।

सुन्तलीले आफूलाई पानी दिन ल्याएकी थिइ भन्ने कुरा मुखियाले बुझ्छन्। त्यसपछि कुद्‍दै गएर भूँइमा राखेको आम्खोरालाई लात्ताले हानेर लडाई दिन्छन‍। गाउँमा नयाँ आएको दमाइले सिलाउँदा आफ्नो कपडा त बिगारेन भनेर हेर्न आएका मुखिया रिसाउँदै त्यत्तिकै फर्किन्छन‍। मुखियाले जस्तो व्यवहार गरे पनि सहेर बस्नु सिवाय उनीहरूसँग अर्को विकल्प हुँदैन। उनीहरू आएको गाउँमा पनि माथ्ला जातकाले छोइछिटो गर्दै नगर्ने होइनन्। तर सबैले मान्ने गाउँकै ठूला मान्छे मुखियासँग भने उनीहरुको यसभन्दा पहिले यस्तो कहिल्यै भएको थिएन। उनीहरू अर्को छिमेकी जिल्लाबाट बँसाई सरेर आएको महिना दिन पनि भएको थिएन। गाउँलेहरूसँग घुलमिल पनि भएका थिएनन्। गाउँमा भएको दुर्इचार घर दलित परिवारसँग मात्र उनीहरूको आउजाउ हुनथालेको थियो।

त्यो घटना भएको केही महिनापछि गाउँभरि दशैंको रौनक छाउँछ। सारा गाउँ रमाइलोमा चुर्लुम्म डुब्छ। सुन्तली र घनश्यामको दैलोमा पनि दशैं त आउँछ तर खुसी आउँदैन। बरु फेरि एउटा अर्को दु:ख पर्छ उनीहरूलाई। दशैँको दिन उनीहरू गाउँ नजिकैको मन्दिर जान भनेर निस्किन्छन्। गाउँलेको दशैंको रमभmम देखेर उनीहरू आफ्नो घरको दशैं बिर्सन्छन्। तर मन्दिरमा दर्शन गर्न गएका उनीहरूलाई पुजारीले गाईवस्तु धपाएजस्तै गरी घोक्र्‍याएर बाहिर निकालिदिन्छ। र, यसपालीको दशैं अपवित्र हुने भयो भन्दै उ फत्फताउन थाल्छ। मन्दिरमा भएका मध्ये एकदुई जनाले पुजारीलाई सघाउँछन् अरू आस्चर्यमा पर्छन्, हाम्रो गाउँमा दलितले मन्दिर पस्ने आँट गर्‍यो भनेर। कसैले पनि विचरा भनेर सहानुभूति सम्म जनाउँदैनन्। बरु गाली गर्ने अझ एकदुईजना थपिँदै थिए। त्यसपछि दुबै सरासर घरतिर जान्छन्।

त्यस दिन सुन्तलीले चुलोमा आगो बालिन। घनश्याम पनि राती अबेरसम्म टोलाएर बसिरह्यो। राती १० बजेतिर घनश्यामसँग सल्लाह गर्न वीरे आइपुग्यो। "हेर दाजु ! हामी पुराना मान्छेहरूले त यहाँ कुकुरले जति सम्मान पाएका छैनौँ, तिमी त झन नयाँ छौ। तर अब यिनीहरूले जे गरे पनि सहेर बस्नु चाहीँ हुँदैन" बीरेले सान्त्वनाको भावसँगै आँट दिएझैँ गर्‍यो। वीरेसँगको कुराकानीमा रातको दुई बज्यो। त्यो घटनाको आधारमा पुजारी र अरू गाउँलेका विरूद्ध मुद्दा हाल्ने निर्णय गरी पल्लो गाउँको जगत विश्वकर्मासँग सल्लाह माग्न बिहानै जाने निधो गरे। त्यसपछि वीरे आफ्नो घरतिर लाग्यो। उनीहरूले अदालतमा मुद्दा दर्ता गरे, मुद्दा पनि जिते। मुखिया, पुजारी र अरू दुई जनाले एक लाख जरिवानासहित तीन-तीन वर्षको जेल सजाय पनि काट्‍नुपर्ने भो। घनश्याम खुसीले करायो। सुन्तलीले उसलाई घच्चच्याई, "के भो किन चिच्याएको ?" उ जुरुक्क उठ्‍यो। सुन्तली भने त्यसबेला सम्म जागैथिई। त्यहीबेला छिमेकमा भाले बासेको आवाज आयोः कुखुरी काँ ...।

इन्टरनेट खोज्ने कसरी ?


- दिनेश वाग्ले

बितेका वर्षमा बोलीचालीमा सबैभन्दा बढी प्रयोग गरिएकामध्ये एउटा वाक्यलाई फेरि एकपटक उल्लेख गरौं- 'यो सूचनाको युग हो ।' इन्टरनेट सूचनाको खानी हो । त्यो खानीबाट आफूलाई चाहिएको कुरा कसरी निकाल्ने ? यहीँनेर आउँछन् गुगल जस्ता सर्च इन्जिन सहयोगीका रूपमा । विश्‍वका करोडौँ इन्टरनेट प्रयोगकर्ताले इन्जिनहरूलाई इन्टरनेटको सूचना सञ्जालमा छिर्ने ढोकाका रूपमा प्रयोग गर्छन् । सबैभन्दा लोकपि्रय गुगल हो जसले सातापिच्छे आफ्नो सर्च बाकसमा सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गर्छ । नेपालसँग सम्बन्धित विषय त्यो सूचीमा विरलै पर्छन् । गत अपि्रलको एउटा साता त्यस्तै दुर्लभ मौका थियो जति बेला उक्त सूचीमा नेपाल टप टेनमा थियो । त्यति बेला ऐतिहासिक जनआन्दोलन चलिरहँदा नेपाल विश्व समाचार शीर्षकहरूमा थियो, धेरैले यसबारे जान्न चाहेका थिए । गुगलमा सोमबार साँझ नेपाल खोज्दा ९ करोड ८८ लाख नतिजा देखिए ।
जान्न चाहने कुरा धेरै हुन्छन् । भोट हाल्ने दिन आउन महिनौं बाँकी छ तर अमेरिकामा राष्ट्रपति चुनावका गर्मी सुरु भइसकेको छ । मुख्य दुई पार्टी रिपब्लिकन र डेमोक्रेटिकका केही प्रतिष्ठित सदस्यले आआफ्नो सङ्गठनबाट राष्ट्रपति उम्मेदवारी पाउने उद्देश्यसाथ आफूलाई सार्वजनिक गरिसकेका छन् । मेरो ध्यान डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारीको आशा गरिरहेका अश्‍वेत सिनेटर बाराक ओबामातिर छ र मैले उनीबारे केही जान्न खोजेँ । त्यसैले मैले सर्च बाकसमा गएर अङ्ग्रेजीमा बाराक ओबामा टाइप गरेँ। लौ, एउटा आर बढी भएछ, सही हिज्जेको बाराक आबामालाई देखाउँदै गुगलले सोधिहाल्यो- के तपाईंले यो खोज्न चाहनुभएको हो ? वाह, उनको आफ्नै वेब साइट रहेछ, बाराक ओबामा डट कम जसमा उनले अमेरिकाका लागि बाराक ओबामा भन्दै आफ्नो राष्ट्रपति-चाहनाबारे थुप्रै कुरा र ताजा सूचना राखेका रहेछन् ।
अचेल सगरमाथा आरोहणका कथा खुबै आइरहेका बेला मलाई पहिलो आरोहण अभियानबारे जान्ने चाहना भयो । त्यसैले एभरेस्ट टाइप गरें । तीन करोड नतिजा आए तर म निराश भएँ । पहिलो पेजका सुरुका १० नतिजामध्ये कुनैमा पनि मैले चाहेको कुरा पाइनँ । इन्टरनेटमा त्यसबारे सूचना नभएको होइन, बरु त्यसलाई खोज्ने मेरो तरिका गलत थियो । त्यस्तै गलत तरिका अपनाउँदा धेरै जना 'ह्‍या, यो इन्टरनेटमा पनि केही रहेनछ !' भन्दै निराश हुन्छन् । निश्चयै, सबै कुराको सम्पूर्ण सूचना इन्टरनेटमा पक्कै हुँदैन तर तरिका पुर्‍याएर खोजे धेरै पाउन सकिन्छ । आखिर मैले चाहेको कुरा पाइछाडेँ । कसरी पाएँ, त्यो बताउनुअघि खोज्ने कलाबारे केही साझेदारी गरिहालौँ।
- दिमाग लगाउने । ठ्याक्कै आफूले खोज्न चाहेको के हो, त्यो सर्च बाकसमा टाइप गर्ने । तर प्रश्‍न नगर्ने । गुगल या याहु जस्ता सर्च इन्जिनले वेब साइटमा लेखिएका कुरा नतिजाका रूपमा तपाईंसामु राखिदिने हो, आफैँ जान्ने भएर उत्तर दिने होइन । (अपवाद हुन्छन्, जस्तै- अन्नपूर्ण तीनको उचाइ कति भनेर गुगलमा प्रश्‍न गर्नुभयो भने ८ हजार ९१ मिटर भनेर फुत्त देखाइदिन्छ । नेपालको जनसङ्ख्या कति भन्दै टाइप गरे ० दशमलव १४ सेकेन्डभित्रै अमेरिकी जासुसी संस्था सीआईएले जुलाई २००७ को अनुमान भनी उल्लेख गरेको २ करोड ८९ लाख १ हजार ७ सय ९० संख्या देखाइदिन्छ ।) वेब साइटहरू यो लेखजस्तै सरर बगेको भाषामा लेखिएका हुन्छन् र सर्च इन्जिनहरूलाई त्यो बुझ्ने गरी बनाइएका हुन्छन् । तपाईं कुनै मान्छेलाई नेपालमा कतिखाले चरा पाइन्छन् भनेर सोध्नुहुन्छ भने सर्च इन्जिनमा नेपाल बर्ड टाइप गर्नुस् ।
- दुर्लभ शब्दहरू प्रयोग गर्नुस् । जति प्रचलित शब्द प्रयोग गर्‍यो, नतिजा त्यति धेरै निस्कन्छन् र टाउकोदुखाइ बढ्छ । तपाईं हिलारी क्लिन्टनको किताबबारे जान्न चाहनुहुन्छ भने र किताबको नाम थाहा छ भने सधैं लिभिङ हिस्ट्री टाइप गर्नुस्, बायोग्राफी अफ हिलारी क्लिन्टन भनेर होइन ।
- उद्धरण चिह्‍नको प्रयोग । सर्च बाकसमा लिभिङ हिस्ट्री भनेर खोज्दा गुगलले तीन खाले नतिजा देखाउँछ जसमा ती दुवै शब्द या दुईमध्ये एक भएका हुन सक्छन् जसले तपाईंलाई चाहेको किताबबारेको पेजमा नपुर्‍याउन सक्छ । त्यसैले ती दुई शब्दलाई दोहोरो उद्धरणमा राख्‍नुस् । जस्तो- "लिभिङ हिस्ट्री" ।
- जोड चिह्‍नको प्रयोग । लिभिङ हिस्ट्री भन्ने कुनै संग्रहालयको नाम पनि हुन सक्छ या अर्कै लेखकको पुस्तक । तर तपाईंलाई चाहिएको छ, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्‍नि तथा अमेरिकी सिनेटर हिलारी क्लिन्टनको किताब । त्यसैले "लिभिङ हिस्ट्री" लगत्तै जोड चिह्‍न दिनुस् र हिलारी क्लिन्टन टाइप गर्नुस् । अब आउने नतिजामा ठ्याक्कै ती प्रभावशाली महिलाकै किताबबारेका नतिजा आउँछन् ।
- घटाउ चिह्‍नको प्रयोग । तपाईं विराटनगरका एक जना कुनै कोइरालाबारे जान्न चाहिरहनुभएको छ तर प्रत्येक खोज-नतिजामा गिरिजाप्रसाद कोइरालाका विवरण देख्दा वाक्क हुनुभएको छ भने यसरी टाइप गर्नुस्- "कोइराला अफ विराटनगर" (घटाउ चिह्‍न) गिरिजा ।
- शुद्ध हिज्जे । इन्टरनेटमा सबैभन्दा प्रयोग गरिने सर्च इन्जिन गुगलले हिज्जे नमिले सच्याएर प्रश्‍न गर्छ (बाराक ओबामाबारेको मेरो खोजी एउटा उदाहरण हो) तर राम्रो चाहिँ सुरुमै सही हिज्जे प्रयोग गर्नु हो ।
- नचाहिने शब्द नराख्‍ने। इन्टरनेट सर्च इन्जिनले अफ, एन्ड, वेब जस्ता शब्दलाई खोजीमा समावेश गर्दैनन् । त्यसैले कोइराला अफ विराटनगरको साटो कोइराला विराटनगर मात्रै गर्दा हुन्छ ।अब मेरो पहिलो सगरमाथा आरोहण अभियानबारेको खोजीतिर लागौँ। मैले ठ्याक्कै त्यही कुरा टाइप गरेँ- "फस्ट माउन्ड एभरेस्ट एक्सपिडिसन" । केही आशावादी भएँ किनकि त्यहाँ डाक्टर अलेक्जेन्डर एम केल्लासको एउटा पृष्ठ मिल्यो जसमा तिब्बतले सन् १९२१ मा एउटा ब्रिटिस दललाई सगरमाथा जाने अनुमति दिएको उल्लेख छ ।

***

कविता:

रिर्त
- सङ्गीत आयाम

भर्खर भर्खरै हो
मान्छेहरू नाच्दै सडकमा
विजयोत्सव मनाउँदैछन्र्
भर्खर भर्खरै त हो
भनिन्छ, मान्छेहरू अब रैतीबाट
मालिक हुन पाएका छन्
जतासुकै हातहरू उठिरहेछन्
जुन हातहरूले सधैँ-सधैँ
मुक्तिकामी गीत मात्र गाएका छन्
लाग्छ, अब तिनै हातहरूले
तानाशाहका बर्बर कथालाई
निसाना साध्नेछन्
चारैतिर खुट्टाहरू दौडिरहेछन्
जुन खुट्टाहरूले सधैँ-सधैँ
इतिहास बदल्ने लडाइँ मात्र लडेका छन्
लाग्छ, ती खुट्टाहरूमा झुक्दै
जङ्गली इतिहास घोप्टो परेर
याचना गरिरहेछ
दृश्यहरू उही रहेनन्
परिदृश्यहरू त्यस्तै छैनन् ।
के साँच्चै नै अब
देशको पीडाले
निकास पाउने भयो त ?
के वास्तवमै
इतिहासको शैली अब
प्रायोजित नहुने हो त ?
के साँच्चै नै अब
समयले आतङ्कका कथा
लेख्‍नै नपर्ने भयो त ?
के वास्तवमै
शक्तिरूपी तानाशाह बन्ने क्रम
रोकिएकै हो त ?

चितवन ।

अतीतका यादहरु

मनु ठाडामगर
धनकुटा, हालः काठमाडौ


कति कूटिल छन् तिम्रा हाँसोहरू
कति मूल्यहिन् छन् तिम्रा आँशुहरू
कति अर्थहिन् छन् तिम्रा बाचाहरू
तर,
त्यही अर्थहिनता मै छन् मेरा मनका भावहरू

कति दुर्गन्धित छन् ती साथहरू
कति तिरस्कृत छन् ती माथहरू
कति कुटिल छन् ती दृष्टिहरू

तैपनि,
तिनै कुटिलता भित्र छन् मेरा आँशुका रापहरू

कति अनन्त र भावपूर्ण छन् तिम्रा हरेक शब्दहरू
कति पीडादायी छन् हाम्रा भेटघाटहरू
कति स्वार्थ पूर्ण छन् तिम्रा शब्दका महलहरू

अझैपनि‌...
तिनै शब्दमहलभित्रै छन् मेरा मनका भावहरू

त्यसैले मलाइ लाग्छ,
अझै निश्चल छ तिम्रो माया
निश्वार्थ लाग्छ छ तिम्रो भावना
गहिरो लाग्छ तिम्रो सम्झना

किनकी,
तिनै गहिराइ मै छन् मेरा सारा यादहरू
मलाई प्यारो छ मेरो अतित अनि तिम्रो साथहरु
त्यसैले,
तिमीमै समर्पित छन् मेरा सारा वाक्यहरू

गणतन्त्र जनताको जीत बरिलै

सफल घिमिरे


गर्विलो अक्षरले यो शिर्षक लेखिसकेपछि म घोषणा हुनै लागेको गणतान्त्रिक नेपालको राजधानीमा रहेको संविधानसभा हल नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर झरेँ । भीड प्रति क्षण चाक्लिँदै अनि समान गतिले बाक्लिँदै पनि थियो । यसै क्रममा समानान्तर रुपले मेरो मनमा उहिलेदेखि नै जमेर बसेको संगीत श्रोताले लेखेका गजलको शेर गुञ्जिरहेको थियो ।

आफ्नालागि आफै बाँच्ने रीत बरिलै
गणतन्त्र जिन्दगीको गीत बरिलै

बखान गर्न सुहाउने शब्द कहाँ छ
कति प्यारो जनताको जीत बरिलै

अघि बढ्‍दै जाँदा जति जति म संविधानसभा हलसँग नजिकिँदै जान्थेँ, उति उति हर्षले उज्यालिएका मनहरु देख्थेँ । तिनीहरुलाई देख्दा यस्तो लाग्थ्यो कि यि त्यस्ता जनता हुन् जो भर्खरैमात्र आजीवन कारावासबाट उन्मुक्ति पाएर आफ्नो विजयको हर्ष श्वाश लिइरहेका छन् । तिनको सामाजिक जीवनमा लागेको शक्ति सन्तुलनको माखेसाङ्गलो तोडिएको छ । अनि परिवर्तनका उच्च स्वरहरु लिएर तिनीहरु यो खाल्डो शहर चर्काइरहेका छन् । निश्चय नै, म आफू पनि तिनीहरु भन्दा कम्ती अर्थको नागरिक थिईनँ । हुन त म यो देशको विधिवत् नागरिक भएको चार वर्ष पनि भएको छैन तर मलाई त्यो दिन आफू नेपाली भएकोमा एउटा छुट्टै स्वतन्त्रताको भावले घनिभूत पारेको थियो । मैले धेरै नेपालीहरु देखेँ । साँचो अर्थमा तिनीहरु नेपाल आमाका सचेत सपूतहरु थिए । तिनको कुनै वर्ग थिएन । तिनको कुनै जात थिएन । न तिनीहरु लिङ्गीय रुपले फरक थिए न क्षेत्रीय रुपले पृथक् । ति मात्र नेपाली थिए । नेपाली मात्र ।

कन्चटको माथिल्लो कुनाबाट पसिनाले मूल फुटाईसक्दा पनि तिनले धोद्रो सुकाएर गणतन्त्रको स्तुतिगान गाईरहेका थिए । त्यो राष्ट्रिय गर्वको सुन्दरताले बिल गेट्‍सको माइक्रोसफ्टरुपी सम्पत्तिलाई केही होइन भन्ने पारेको थियो । टोयोटाका नानोटेक्नोलोजीहरुका अगाडि पनि हामी नै सुक्ष्म चेतना हौँ भन्ने लागेको थियो । इन्टरनेटले बनाएको 'ग्लोबल भिलेज' भन्दा हाम्रो राजनीतिक सामिप्यताले बनाएको 'नेसनल भिलेज' नै ठूलो रहेछ भन्ने पारेको थियो । किनकि हामी नेपाली प्रविधि भन्दा पनि परिस्थितिले नै यो पालि नजिकिएका थियौँ । देशी विदेशी सबैजना उत्सवमा मस्त थिए । सायद तिनले हामीलाई देखेर "म नेपाली हुन पाएको भए..." भनेर इर्ष्या गरिरहेथे । लाग्थ्यो, सम्मेलन केन्द्र अगाडिको त्यो विशाल जनसागर एउटै मालामा उनिएका सयौँ थुँगा फूलहरुको समूह हो । कतै राई, किराँतहरुको साँस्कृतिक नृत्य, कतै नेवारहरुको रमझम, यतातिर मगरहरुको आफ्नै संस्कृति, उतातिर गुरुङहरुको परम्परागत नाच । ओहो ! साँच्चै दशवटा संस्कूति देख्नको निम्ति दश गाउँ डुल्नु पर्थेन । मलाई त्यो दिन आफू यो संसारकै सबैभन्दा धनी नागरिक हुँ जस्तो लाग्यो । त्यसैले होला हाम्रा संस्कृतिहरुलाई बिछट्टै ध्यान दिएर नियालिरहेका विदेशी पत्रकारहरुका अगाडि म शीर ठाडो पारेर बोलिरहेको थिएँ "दिस इज ह्वाट वी आ(र)" (हामी के हौँ भन्ने यही हो ।)

त्यहाँ किराँतिहरुमात्रै किराँति नाच नाचिरहेका थिएनन् अरु जाति पनि थिए । गुरुङको संस्कृतिमा रम्ने गुरुङमात्रै थिएनन्, थुप्रै अरु पनि थिए । यिनै रमभmमहरुबाट हार्दिकताको एउटा नयाँ सुवास आइरहेको थियो । हाम्रो नेपाल अखण्ड भएर यसैगरि बाँचिरहोस् । जानि नजानी खुट्टा चलाएर राई नाच नाच्न लाग्दा भाग्यवश मार्टिन चौतारीकी दिदी कैलाश राईले देख्नुभएछ । अनि हामीलाई त्यो गीतमा खुट्टा मिलाउन सिकाउनु भयो । हामीले धेरै नाचहरु नाच्यौँ । धेरैथरि जातजातिहरुसँग मिलेर ।

कपाल फुलेर उमेरले भृकुटीको खुम्च्याई भरिदिएकादेखि लिएर गणतन्त्रको प्रथम उच्चारण गर्न सिक्दै गरेका लालाबालाहरु पनि बडो उमंगले यही एउटा दिनको प्रतिक्षा गरिरहेका थिए । लाग्थ्यो, तिनलाई यत्ति एउटा दिनको साक्षि बन्न यस धर्तीमा पठाईएको हो । नेपाली पाखाहरुमा यसपालि गुराँसको मौसम सकिर्इसक्न लाग्दा पनि राजधानीमा यो क्षण राताम्य थियो, झण्डाहरुले, विजयगानहरुले, उत्सवहरुले, अनि बिर्सिनसक्नु सहिदहरुका उत्सर्गहरुले । नेपाल राज्यको यो महत्वपूर्ण इतिहासको गर्विलो दिनको साक्षि बन्न पाएकोमा मेरो मन अत्यन्तै विजयले रंगीन भएको थियो । त्यसैले हामी नाच्यौँ, हामीले नचायौँ पनि....कालो सडकमा उज्यालोका गीतहरु गाउँदै "यो जीत कसको ? युवाको, युवा कसको ? जनताको"

यतिका वर्षहरुसम्म छाएको पत्रिकाका मृत खबरहरु, रगतले लत्पतिएका समाचारहरु अनि १९ दिने आन्दोलनको त्यो पिडादायी स्मृति साथै थिए । ति सबैलाई मस्तिष्कको एउटा कुनामा कैद गर्दै यही दिनको नारायणहिटीलाई नजरावलोकन गर्न भनी हामी फेरि दरबारमार्गतफ लाग्ने तरखर गर्‍यौँ । गर्वले शीर ठाडो पार्दै नारायणहिटीतर्फ बढिरहँदा हामीलाई युवामय साथ दिने धेरै भइसकेका थिए । तर हामी स्वतन्त्र थियौँ । न कुनै सिद्धान्त, न कुनै पार्टि, मात्रै जनताको पक्षपाति । हामी सबै स्वत:स्फूर्त थियौँ । मन भित्रभित्रै दरबारभित्रको सीमाभूमिमा गर्वले पाइला टेक्ने रहर थियो । तर उमेरले चन्द्रागिरी काटेका नेताहरुले समयमै सबै काम फत्ते गर्न सकेनन् । तैपनि हामी बढिरह्यौँ- नारायणहिटीतिरै । विविध नाराहरु सहित हाम्रा साथी युवाहरु अगाडि लम्किरहँदा खुलामञ्च नजिकै विष्फोटको आवाज आयो । छेवैको बारभित्र रहेका सैनिकहरु सुतेर पोजिसन लिन थाले । अनि सबै मानिस केही छिनलाई तितरवितर भए । वातावरण केही छिनको लागि सन्त्रस्त थियो । मैले देखिरहेको थिएँ, त्यहाँ एउटा निलो सानो माइक्रोको छेउबाट सेतो धुँवाको मुस्लो उडिरहेको थियो । पछि थाहा भयो, त्यो घटनामा दुईजना घाइते भएछन् ।

चाहे सिएनएन होस् वा एएफपी, या बिबिसी होस् वा वासिङटन पोष्ट, त्यो दिन सबै सञ्चार माध्यमका अनलाईन संस्करणहरुले नेपालको गणतन्त्र सम्बन्धी खबरलाई प्रमुखता दिएर अगाडि ल्याएका थिए । एक्काईसौँ शताब्दीले पिछडिएको वर्गमा राखेको एउटा मुलुकका जनताहरु कतिसम्म स्वतन्त्रताको प्रेमी र न्यायका हिमायति भएका छन् भन्ने थाहा पाएर विश्वका धेरै शक्तिशाली राष्ट्रहरु पनि अचम्मले जिब्रो टोकेको दिन थियो त्यो । विश्व पत्रकारिताको लेन्स र कलम नेपालतफ सोझिईरहँदा नेपालीहरु यो पवित्र भूमिमा आफ्नो स्वतन्त्रताको परिचय दिइरहेका थिए । नेतृत्वलाई त्यो बेलामा व्यापक दबाब दिँदै बालुवाटार, नारायणहिटी र सम्मेलन केन्द्र वरपर थुप्रै जनताहरु नाराबाजी, रमझम र जुलुस गर्दै थिए । जनताको सर्वोच्चता झुक्ने कुरै थिएन । आखिर आयो पनि त्यो रात । दलहरु राष्ट्रपतीय प्रणालीको खाकामा अन्तत: मीलनबिन्दुमा पुगेर बालुवाटारबाट बाहिर आए । अनि जनताको आदेशलाई शिरोधार्य गर्दै एकहूल सभासद्‍हरु लम्किए सभाहलतिर ।

ढिलै भएपनि मध्यरातको साइतमा देशले नयाँ बिहानीको शंखघोष गर्‍यो । रेडियो-रेडियो अनि टेलिभिजन-टेलिभिजनमा गणतान्त्रिक गड्‍गडाहट सुनियो । निकै लामो समयसम्म । अनि फेरि उत्रिए जनता उही कालो सडकमाथि । यतिबेला तिनीहरुले टेकेको कालो सडक सडक मात्रै थिएन । यो ति काला दिनहरु थिए जसले अहिलेसम्मको राज्यसत्तामा खुशीको अनुपस्थिति गराएको थियो । जसले आजसम्मका क्षणहरुमा समृद्धिलाई अंगार बनाइदिएको थियो । त्यही कालोपनलाई कुल्चँदै फेरि एकपटक मध्यरातमा नारायणहिटि थर्काउने गरि गगनभेदी आवाजहरु गुञ्जायमान भए । चर्का परिवर्तनकारी नाराहरु लगाइए । अनि जनताले आफ्नोलागि आफै लेखेका राष्ट्रिय गान सडकमा गुञ्जन हुँदै गर्दा सरकारी आदेशमा राति नै राजदरबारको शाहीझण्डा झिकियो । जनताको पसिनाको मूल्यमा बनाइएको दरबार बल्ल जनदरबार हुन पुग्यो । त्यतिबेला झुप्रा-झुप्राहरुमा नयाँ ज्योति जाज्वल्यमान भएको थियो । मध्यरातमा मेरो मनले कल्पिँदै थियो, अबको केही छिनपछि एउटा बिहानी उदाउँदैछ, लालिगुराँसमा परेका शीतहरु टल्किने गरेर ।
safal.ghimire@gmail.com

'समयको रङ' भित्रको विविध रङ

रमेश सफर निरौला
त्रिवि, किर्तिपुर


पुस्तकः समयको रङ (Colour of Epoch)
प्रकाशित मितिः २०६४
लेखक/गीतकारः टीका चाम्लिङ

साहित्य जुनसुकै विधाको भएपनि यो पाठकको भित्री हृदय आह्लादित गर्ने किसिमको हुनुपर्छ । लेखन र प्रयोगका नाममा बेतुक शब्दहरू थुपारेर काव्यलाई क्लिष्ट बनाउनु र पाठकलाई भ्रममा पार्दै आफू अव्बल हुन खोज्नु मूर्खता हो । कुनै पनि कृतिमा विविध पाटाको खोजी गर्ने क्रम नेपाली साहित्यको समालोचना विधामा शुरू भैसकेको छ । एक पठनमा वा लेखनमा एक तरिकाले मात्र कृतिलाई हेर्ने आग्रह चक्रव्यूह सञ्चेतनाको छ ।

हाम्रो जस्तो गाउँले भरिएको देशमा गाउँले र स्थानीय विम्वको प्रयोगले रचनालाई मिठासपूर्ण बनाइदिन्छ । तर पाठकले खोजेजस्ता रचना गर्ने रचनाकार औलामा गन्न सकिन्छ । यस्ता रचनाकारहरू मध्ये गीतकार टीका चाम्लिङ समयको रङ नामक गीतिसङ्‍ग्रह माफत गाउँले र जातीय विम्वहरू (Racial images) प्रयोग गर्न तल्लीन छन् । खोटाङको किराँत संस्कृति र चाडपर्वमा चलेका मौलिक शव्दहरू गीतको मिटरमा नार्न सिपालु चाम्लिङ एक सफल गीतकार भएको कुरा त २०६१ सालमा रेडियो नेपालको उत्कृष्ट गीतकार पुरस्कार जित्नुले नै प्रमाणित गरिसकेको छ । उत्कृष्ट शव्द चयन र तिनको गीतिलयमा सफलतापूर्वक प्रयोग गर्ने उनको शैलीको एक उदाहरण-

यसपालीको साकेलामा खुसेलाई डाक्छु
नजानेको एउटा शिली उसैलाई माग्छु ।

साँस्कृतिक चेतनाले भरिपूर्ण किराँती समाजमा प्रचलित साकेला, उधौली, उभौली मात्र हैन मुर्चुङ्‍गा, बिनायो जस्ता नेपाली लोकबाजाको प्रयोग अत्यन्त मीठो शैलीमा गरेका छन् ठाउँठाउँमा । एउटा छोरो परदेशिदा आमाको पीर कस्तो हुन्छ र उनको दिनचर्या कसरी व्यतित हुन्छ भन्ने कुराको स्पष्ट चित्र एउटै गीत मेरी आमा ले देखाउँछ । शान्ति भए खुसी हुने नेपाली जातिलाई सुनभन्दा नुन नै प्यारो लाग्ने भनाइ छ उनको गीतमा । इन्द्रेणीको रङ मनपराउने गीतकार इन्द्रेणीको गाउँतिरै फर्कन चाहन्छन् जुन चाहना उनको मात्र नभई आम आन्तरिक र बाह्य आप्रवासी (Diaspora)को समेत हो ।

जनयुद्धकालदेखि शान्ति स्थापना भइसक्दा सम्मका ४४ गीत समेटिएको समयको रङ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छ । यो कृति बिभिन्न समयको नेपाली समाजको रङ पनि हो । ऋतु परिवर्तनसँगै कर्‍याङकुरुङ फर्कनु, आरू फुल्नुले परिवर्तनको आह्वान गर्छ भने आपसी वैमनस्यता त्यागेर एकै मालामा उनिन प्रेरणा प्रदान गर्छ । मान्छेको जिन्दगी भन्नु नै दु:खको सागर हो र सागरसँगै बग्ने हामी पानी हौ, जो जन्मस्थानको पीडाले कर्मस्थानमा दुखेर नियतिको पछि दौडिरहन्छ भन्ने दृष्टिकोण गीतकारको रहेको पाइन्छ । मान्छेको जीवनका विविध पाटा हुन्छन् र तिनको आ-आफ्नो रूप र रङ हुन्छ । यिनै फरक फरक रङको समग्रता (Totality) नै जीवन हो जुन समग्रतामा हेर्न नसकिने हुन्छ । समयको रङमा रङ्गीन गीतकार आफू जस्तै आफ्ना श्रृजना पनि रङ्गीन संसारका रङगविहीन अनुहारको श्रृंगारमा खर्चन चाहन्छन् । यस्तै समर्पण र त्यागले मात्रै नेपाली साहित्य बिनिर्माणवाद (Deconstruction)को बाटोतिर लाग्न सक्छ । बिनिर्माणवाद नेपाली साहित्यको लागि अत्यावश्यक छ ।

चञ्चल मन

नेत्र आचार्य
त्यस दिन तीन दिनको ज्वरोले थलिएर भर्खरै तङ्‍ग्रिए जस्ता देखिने दाढीवाल तपसीले विपश्यनाको प्रवचन दिए । "मन निश्चल र शरीर गतिशील हुँदा मानिस शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छ" भन्दै ती शान्त पुरुषले प्रवचन टुङ्‍ग्याए । हल बाहिर मज्जाले पानी परिरहेको थियो । साथमा छाता हुनेहरू पछाडि फर्कंदै नफर्की हिँडिहाले । हामी भने त्यहीँ ओतमा बसिरहेका थियौँ । कुनै कामले बाहिर निस्कनुपर्दा प्रवचनमा उपस्थित हुन नभ्याएका एक जना साथीलाई मैले ती सज्जनको प्रवचनको सारसंक्षेप सुनाउँदै गर्दा मित्रले फ्‍याट्ट भने, "आफ्‍नो त मन चञ्चल, शरीर अचल भएर पो खत्तम भा'को रैछ ।" कुरैकुरामा हामीले तिनै साधुसँग एकाध महिना योग सिक्ने निधो गर्‍यौँ । पाँच/छ जना साथी तम्तयार भए । विचरा विमललाई भने समस्या पर्‍यो । उनी योग सिक्न हुरुक्क थिए । तर हरेक बिहान पाँच बजे नै उनी डान्स सिक्दारहेछन् । समय जुध्यो, अब योग सिक्नु कि डान्स !

छेउमा हात बाँधेर उभिएका नितेशले विमललाई डान्स सिक्न जोस्याउँदै भने, "साथी, रहर हुँदै तिमीले डान्स सिकिहाल । पछि जवानी ढल्कँदै जाँदा रहर मुर्झाउँछन् । कति साथीहरू यौवनमै सबै कुराप्रति अनासक्त भएर अफिस र घरबीचको एकनासे जिन्दगीमा आफूलाई सीमित पार्न थालेका भेटिन्छन् । न नयाँ कुरा सिक्ने रहर, न नयाँ पुस्तक पढ्‍ने चाख । दुनियादेखि, हुँदाहुँदा जिन्दगीदेखि नै एलर्जी । न खसमसँग प्रेम न दोस्रो घरजम गर्न रुचि । भएन बर्बाद !"

नितेशको कुराले एकै छिन हाँसोको लहर उर्लियो । त्यतिञ्जेल पानी थामिइसकेको थियो । सबै बाटो लागे । नितेश र म पनि गुँडतिर हिँड्‍यौँ । नितेशलाई यतिखेरको युवा पुस्ता देखेर किन त्यस्तो विघ्न कन्सिरी तातेको होला मैले ठम्याउन सकिरहेको थिइनँ । आलोचना गर्दा मात्रै मान्छेको छैटौँ इन्द्रिय खुल्ने गरेको देखेर म मनमनै चकित हुन्छु । कस्तो स्वाद आउँदो हो मान्छेलाई आलोचना गर्दा ? यस्तरी आलोचनाको अचानोमा पर्नुभन्दा अनकन्टार जङ्‍गलमा खुँखार डाँकुको चुप्पी सहनु सहज हुँदो हो सायद । विपश्यनाको अभ्यासले मानिसमा मैत्रीभाव, प्रज्ञाजस्ता गुण विकसित हुन्छन् । आफू र अर्कोबीच अभिन्नता महसुस हुन्छ, अर्काको खुशीमा आफ्‍नो खुशी देख्ने भावना पैदा हुन्छ । तर अरूलाई भित्तामै पुग्ने गरी आलोचना गरेर स्वाद लिनेहरूलाई विपश्यना कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो मात्र हुँदो हो ।

मेरो मनको कुरा बुझेँजस्तै गरी नितेशले त्यति नै खेर आफ्‍नो भनाइको स्पष्टीकरण दिन थाले, 'हेर्नुस‍ न, युवा पुस्तामा कनिकुथी कलेजको पढाइ सक्ने र एउटा जागिर पाएपछि हाइसुख्ख भएर बस्ने प्रवृत्ति देखिन थालेको छ । म त दङदास छु, कसरी यस्तो भइरहेको छ ? सायद यो हाम्रो अति अवैज्ञानिक शिक्षा प्रणालीको दोष हो । स्कुल र कलेजमा पाठ्‍यक्रमका पुस्तक हूबहू घोकिदिए फस्र्ट डिभिजन आउँछ । पुराना ब्याचका नोट वा गेस पेपर पढेर परीक्षा दिए पनि मजाले पास भइन्छ । दुन्निया रेफरेन्स पुस्तक पढेर टाउको दुखाउन किन पर्‍यो । पढ्‍ने बानी नभएपछि जीवनमा महत्वाकाङ्‍क्षा कहाँबाट आउनु, जीवनप्रति संवेदना, प्रेम कहाँबाट जाग्नु । टिन एजर हुँदा पुस्तक किन्न भनेर प्यारेन्ट्‍ससँग मागेको पैसा उडाउने उपाय कति छन्‍ कति । फिल्म हेर्न गए भइगो, कन्सर्ट, स्पोर्ट्‍स, स्वीमिङ, चुरुट, ड्रग्स... एण्ड सो अन ।'

उनका तर्कना सुन्दै गर्दा एक मन त मलाई लाग्यो, who are we to comment their life style? यो तिनीहरूको जिन्दगी, तिनीहरूले आफ्‍नै पाराले बिताउँन् ! हामीलाई के ? यतिञ्जेल हामी गुमनामनगर आइपुगेका थियौँ । यहाँको दरबारको पूर्वी गेटनेर एभरेष्ट होटल छ, हामीले प्राय: खाना खाने ठाउँ । होटेलमा पस्नै लागेको बेला झलक्क मलाई विपश्यनाका साधुले 'नो होटेल, नो हस्पिटल' भनेको याद आयो । होटेलमा खाना खान पस्नेहरूको मुख हस्पिटलतिर फर्किएको हुन्छ रे ! होटेलको चिल्लो र अत्यधिक मसलायुक्त खाना खानाले एसिडिटी बढेको पनि मलाई थाहा छ । यद्यपि कोठामा पुगेर आफैँ खाना पकाएर खाँदा त रातको दश बज्छ होला भनेर तर्कना गर्दै हामी होटलमा छिर्‍यौँ । हाम्रो जोरदार तर्क थियो, 'साधुसन्तले भनेका सबै वचन शिरोपर गर्दै जाने हो भने दुर्इ पाइला हिँड्‍न र दुई छाक खान पनि अनुमति पाइन्न यार !

'राति सुत्ने बेलामा विपश्यनामा बसेँ । आठ-दश मिनेट विपश्यना गर्छु भनेर बसेको, समय बितेको पत्तै भएनछ । ध्यान गहिरिँदै जाँदा म नितेशको विगततिर एकोहोरिएछु । नितेशलाई सानैदेखि चिन्ने हुँदा उसको बाल्यकालको पृष्ठभूमि र सम्पूर्ण विगत मैले एक पटक मस्तिष्कको चित्रपटमा फुकाएर हेरेँ :

'समाज हामीले चाहेको ट्रयाकमा हिँड्‍दैन । नित्सेले भनेकै छन्, व्यक्तिको पागलपन अस्वाभाविक हो तर समाजको, देशको पागलपन नियम नै हो । यहाँ जसको बाहुल्य छ उही हावी हुन्छ । गाउँमै गोर्की, चेखब, लेर्मेन्तोभ, तोल्सतोयका किताब पढेर दङदास हुन्थ्यो । उसलाई सानैदेखि पुस्तक पढ्‍ने बानी बस्यो । पुस्तकहरूले नै उसलाई गाउँबाहिरको विशाल संसारसँग परिचित गराए । पढ्‍ने बानी झन‍ तेज भयो । हिन्दी, संस्कृत र अङ्‍ग्रेजी साहित्यको सङ्‍गतले उ बहकिँदै गयो । यो बानीले उसको महत्वाकाङ्‍क्षा निकै बढाएको छ । उसलाई गाउँमा छटपटी भयो, पोखरा आयो, त्यहाँ पनि टिक्न सकेन, काठमाण्डू खाल्डोमा छिर्‍यो । अब यहाँ पनि उ बेचैन हुँदै गएको छ । सायद छिटै यहाँबाट पनि कुलेलम हुनेहोला । लौ, सबै यस्तै कहीँ अड्‍न नसक्ने हुनुपर्छ भन्ने के छ हँ ।'

नितेशले मेरो मनको यो अन्तर्सम्वाद सुनेको भए के भन्थ्यो होला । सायद यसरी जवाफ फर्काउँथ्यो होला : 'हेर, आजै विपश्यनामा ती साधुले मन निश्चल भएको जाती भनेर सम्झाएका छन् । तिमीलाई के थाहा, मानिसका सम्भावनाहरू कति छन् भनेर । हामी मानव जातिले आजसम्म हाम्रो मस्तिष्कको ५ प्रतिशत मात्रै उपयोग गरेका छौँ । मस्तिष्कको शतप्रतिशत उपयोग गर्न हामीले अरू केही गर्नुपर्दैन, सिस्टमेटिक अध्ययन, चिन्तन, मनन र सृजनात्मक क्रियाकलापद्वारा मस्तिष्कको पर्याप्त Exercise गरे पुग्छ । त्यो संसारको कल्पना गर त, जहाँ मानिसले आफ्‍नो मस्तिष्क र भावनाको सम्पूर्ण उपयोग गरेको हुन्छ । हामी जहाँ पनि पुग्न सक्नेछौँ । हामीले चाहेको जे पनि गर्न सक्नेछौँ । सबै कुरा हासिल गर्न सक्नेछौँ । यस्तो सम्भावना आँखा अगाडि देख्दादेख्दै युवा पुस्ता सुस्केरा हालेर अथवा लामो हाई तानेर बस्न सुहाउँछ ?'

मेरो मनमा यस्तो तर्कना कतिञ्जेल चल्ने थियो, बाहिर पानी पर्न थालेछ, झ्‍यालबाट आएको बाछिटाले मलाई होशमा ल्याइदियो । म ब्ल्याङ्‍केट तानेर सुतेँ । राति निद्रामा भने सधैँजस्तो त्यो ठूला ठूला आँखा हुने ठिटीसँग भेट भयो । त्यो चुलबुले ठिटीलाई देख्ता मलाई झलक्क मेरो फेभराइट राइटर नित्सेकै याद आउँछ । हुन त नित्सेले निस्सार संसारप्रति ठाउँठाउँमा कटाक्ष गरेका छन् । एक ठाउँमा उनले केसम्म भनेका छन् भने, 'यो दुनिया विष्टा हो, हाम्रा प्रयत्नहरूको उचित पुरस्कार पाइएला भनेर सोच्नु व्यर्थ छ ।' तर उनलाई सङ्‍गीत कस्तो मन पर्ने भने, 'म चाहन्छु सङ्‍गीत त्यस्तो होस् मानौँ यो अक्टुबरको घमाइलो मध्यान्ह हो, एकदम उल्लासपूर्ण र व्यापक । मानौँ यो अरूभन्दा एकदम अलग, चञ्चले, कोमल र मायालु ठिटी हो जसमा अनौठो एकोहोरोपना र आकर्षण छ ।'

छरितो चालडाल भएकी त्यो ठिटीसँग म एकाध पटकबाहेक बोलेको छैन । तर उसको सम्झना आउँदा मन गुनगुनाउन थालिहाल्छ : ...निगाहेँ राह तकती है । त्यो ठिटीलाई गाउँमा लगेर घाँस कटाउने कत्रो रहर मलाई ! उसले निधारमा टल्केका पसीना पुस्दै नपुछी मतिर हेरेको हेर्ने कस्तो हुटहुटी मलाई ! त्यो ठिटी मेरो जीवनमा सायद कहिल्यै आउँदिन । मैले उसलाई पछ्‍याउने चेष्टा पनि कहिल्यै गर्ने छैन । मलाई विपश्यनाकै पछि लाग्नु छ । यति हुँदाहुँदै पनि जब-जब उ याद आउँछे, म विपश्यनाद्वारा मनलाई नियन्त्रण गर्दिन, उसैलाई याद गरिरहन चाहन्छु ...

गीत

सङ्गीता पाण्डे

तिम्रो आँखा किन-किन हेरुँ- हेरुँ लाग्छ
प्रश्न गर्छु उत्तर छैन दिल बहकिँदै जान्छ

चन्द्रमा झैँ आकाशमा मुस्कुराउँछौ तिमी
बादलमुनि लुक्दै मलाई जिस्काउँछौ तिमी
कहिलेकाहीँ यस्तो लाग्छ मेरो कल्पनामा
तिमी बाहेक कोही छैन मेरो जिन्दगीमा

ल्याउनेछु नवप्रभात तिमीले साथ दिए
बस्नेछ अमर माया तिमीले प्रीत दिए
आँखाबाट आँसु झर्छ तिमी छुटि दिँदा
माया मैले लाएको हुँ तिमीसँगै सदा

Essay

Rakhi Sawant’s interview and our embarrassment
- Abhinaya Thapa

My friend was startled by the attitude and ‘indecent’ courage of Indian model and actress Rakhi Sawant in her interview at one commercial channel. According to him, her blatant answers and plastic gestures was what amazed him. I was quite surprised by his reaction, because he grew watching sleazy- greasy Hollywood gossips and even used to narrate it in amiable way. He added that Sawant appeared in the T.V while being with his parents and due to understandability of the Hindi language the embarrassment was unbearable.
I also watched that interview and surprisingly our reactions were quite similar. How it could be when even explicit and blatant acts of western figures never produced such awe and discomfiture in us. But a little provocation from neighbor’s daughter rattled us. There could be numerous of reasons and answers; our masculinity consciousness, our patriarchic, feudal upbringing and even Sawant's insidious acts for attraction.
But before any recourse to any subjectivity, the nature of the matter has to be looked quite carefully. The interview in T.V is in form of reality or virtual reality, the thing exists almost as your existence in front of you. So, it forces reaction through senses after being affected. Due to this, the power of conscience (knowledge) is almost mediatory. If the matter was in form of words, then the reader has to study word first and relate it with other things and words for meaning and comprehension. Therefore in the course of the reading, the consciousness has constant need of person’s ‘knowledge’. It affects in the outcome of one’s reaction, as the senses is in authority of intelligence, which in many cases first takes decision in order to react and express.
In interview form Rakhi Sawant was a ‘live being’ and she expressed and reacted against her questions and questioner. The 30 minutes of time of interview is a part of her life or ‘segment of living’ and it stands similar to common sense of culture’s, ‘way of living’. It was trouble with her culture. It confronted and disgusted us, as her ‘culture’ was part of the bigger one (sub- continental) under which our own exists. We both have to recourse to the ‘bigger one’ for our values and meanings, thus there’s mutual sharing and recognition between us. So, Sawant is one of ‘us’, not like the ‘others’. Due to it there’s a feeling of something similar to familial sentiments, where the ‘recognition’ notion confirms the some rights over the recognized. If it was the case of man, then there could have been the feeling of brotherhood or the immense hatred as against traitor. But, the matter was of ‘She’, an inferior in our ‘social knowledge’ in relation to us. The only immanent sentiments could be same as those towards our ideal ‘sisters, mothers and daughters’. One can argue the case of Miss Sawant was different. But the same distortion and transgression of cultural meanings and values while remaining within as its part was carried out by Taslima Nasreen too. The extreme reactions it followed show that Sawant personality was negligible importance.

कविता


( वि.सं. १९७४ सालमा प्रकाशित सूक्तिसिन्धु कविता संग्रह छाडा साहित्यको बात लागेर प्रतिबन्धमा परेको थियो । वि.सं. २०२४ सालमा जगदम्बा प्रकाशनले यसलाई पुन: प्रकाशन गर्‍यो । त्यसपछि पाठ्‍य सामग्री पसल, काठमाडौँले २०५५ र २०६२ सालमा क्रमश: तेस्रो र चौथो संस्करण प्रकाशन गरेको छ । उसबेला नेपाली कविता साहित्यमा श्रृङ्गारिक भावका कविता लेख्ने प्रसिद्ध प्राय: सबै कविहरूको कविता यसमा समेटिएको छ । नेपाली कवितामा श्रृङ्गारिक भाव धाराको ऐतिहासिक महत्व राख्ने यो सङ्‍ग्रहको एउटा कविता साभार गरेका छौँ । कलेज कलम समूह)


प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ।

-पण्डित कृष्णप्रसाद रेग्मी

प्रतर्‌ भयेछ कि सखी ! चिडिया कराये
श्रीसूर्यले अरुणकान्ति पनी फिँजाये ।
ताराहरू गगन मण्डलमा हराये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।

ढोका खुले घरघरै घरघर् गराये
बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
प्यारी ! उठौं कि अबता कुखुरा कराये ! ।।२।।

निन्द्रा सखी गयिछ भागि बिदा नमागी
प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अञ्जना पनि हिंडीछ सबै हराये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।३।।

सिन्दूर लत्पत छ कज्‍जल पूछ प्यारी,
अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी बिलाये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।४।।

जागा भयेर गर बन्दन इष्टलाई ।
छुट्टीन कष्ट छ अति छन ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।५।।

होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
आँटी मसक्‍क उठ सुस्त उघार ढोका
बेर् भो छिमेकिहरूले पनि चाल पाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।६।।

भोली पनी दिन बितीकन रात पर्ला
आजै अतीव नगरौँ अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।७।।

प्रीतीविना रहनु केहि हुँदैन राम्रो
प्रीति परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभाये
प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ! ।।८।।

देखिन्न शुक्र पनि अस्त भईसकेछ
तिर्‌मिर‌् हटीकन प्रकाश भइसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।९।।

गर्छन् वरीपरि पनि सब हल्लिखल्ली
कल्ली लगाउ झटपट्‍ खिच बाहु-बल्ली ।
देउ बिदा अब प्रिये ! सब साथि आये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१०।।

(साभार: सूक्तिसिन्धु, चौथो संस्करण २०६२)

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes