नाङ्गिदैछिन् द्रौपदी

रमेश न्यौपाने

दुर्योधन तानिरहेछ द्रौपदीको सारी,
अब लाज ढाकिदिने कुनै कृष्णहरु छैनन् यहाँ ।

सभामा युधिष्ठिर छन्,
भीम छन्,
अर्जुन छन्,
र छन् - नकुल र सहदेव,
महोदय ! चुपचाप हेरीरहेछन् तमासा यी सबै ।

जुवामा जितेपछि दुर्योधन
फुकाईरहेछ सारी द्रौपदीको,
नाङ्गिदैछिन् द्रौपदी,
र, छैनन् कृष्णका अदृश्य हातहरु अब ।

बाजी जित्नेले त तान्यो सारी,
तानिरहेछ-
तर आश्चर्य!
बाजी हार्नेहरु अर्थात-,
युधिष्ठिर-,
भीम-,
अर्जुन-,
नकुल र सहदेव पनि,
उसैगरी बजाईरहेछन् ताली-जित्नेले झैं,
खुब रमाईरहेछन‍् द्रौपदी नाङ्गिईरहेको यो तमासामा ।

लाज ढाकिदिने कुनै कृष्णहरु छैनन्- अब,
क्रमशस् नाङ्गिदैछिन् द्रौपदी ।
दुर्योधन तानिरहेछ द्रौपदीको सारी ।

काठमाडौ, रत्नराज्य लक्ष्मी क्याम्पस

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes