मेरी प्रेमिकाको कथा

नारायणी देवकोटा

म एउटा सरकारी क्याम्पसको प्रोफेसर हुँ । यतिबेला रातको बाह्र बजेको छ । नजिकै कतै दोहोरी साँझबाट माया पिरतीको मीठो गीत सुनिरहेकोछु । मेराअगाडि एक चाङ लेखका टुक्राहरू छन‍ । विद्यार्थीले क्याम्पसको वाषिकोत्सवको अवसरमा स्मारिका निकाल्न लागेका छन् । र, मलाई प्रुफ हेरिदिनु भनेका छन् । मैले एक हप्तामा सबै हेर्नुपर्ने छ । म अन्योलमा छु, मेरा हातमा पीडाको प्रतिबद्धता र बाध्यता भन्ने शीर्षकको कथा छ । यसको लेखक मेरी प्रेमिका हो । तपाईलाई नलागोस् मैले मेरी प्रेमिकाको बयान गर्छु । खै के भन्नु ? मैले के गरेँ ? मेरी प्रेमिका ? पाप लाग्छ यसो भन्दा । तर, उनलाई के सम्बोधन गरूँ ? हो म उनलाई बिहे गर्न चाहन्थेँ, अङ्‍गालोमा बेर्थें दुनियाँका माज, उ आँसु झार्थी, म कठोर बन्न भन्थेँ । तर, कठोरताका नाममा उ ढुङ्‍गा बनी मेरा लागि समेत । र, अब लाग्नेछ झस्का मुटुमा (खै मुटुमा नै होला ?) जसरी भात खाँदा दाँतमा ढुङ्‍गा लाग्छ त्यसरी नै । किन भन्ने लाग्ला तपाईलाई । म बिहे गर्न चाहन्थेँ उसलाई । तर, अहा ! जुन दिन म उसैलाई बिहेको कुरा गर्न उसको क्याम्पस गएँ, उसले भनी, 'बिहे भयो सर ।' म कोठामा आएर कस्तो भएथेँ थाहा छैन । त्यसपछि पनि भेट भयो तर उसले असफल विवाहका कुरा गर्थी र फेरि बिहे गर्ने कुरा गर्थी तर म ? म चाहन्थेँ बिहे गर्न तर म बिवाहित भएको छु, दोस्रो विवाह गर्न समाजले दिँदैनथ्यो । अझै लाग्छ गर्नु पनि हुँदैन । तर यो कथा ? मैले भने म अन्योलमा छु विद्यार्थी नेताले मागेर ल्याएको हुनुपर्छ । उनी यो क्याम्पसकी विद्यार्थी होइनन् । म के गरूँ ? यहाँ तपाई नै पढ्‍नुस् उसको कथा र प्रुफ पनि हेरिदिनु ।

त्यतिबेला म आफन्तसँग विद्रोह गरेर हिँडेकीले काठमाडौँमा एकदमै सस्तो काम गरेर बाँचेकी थिएँ । मेरो ग्याँस सकिएको पन्ध्र दिन भएको थियो तर मसँग साथमा न आफन्त थिए न राम्रो नोकरी थियो । कतै कुनै राम्रो आम्दानीको बाटो पनि थिएन । मैले तलबबापत दुई हजार पाउँनेवाला थिएँ र तिर्नु पैंतीस सय थियो । मैले त्यो महिना पनि काठमाडौंका काँचो पानी र चाउचाउले बिताउनुपर्ने थियो । त्यो दिन म क्याम्पसमा साथीहरूबीच देशको राजनीतिक माहोलका विषयमा कुरा गर्दै थिएँ । उनी आएर अँगालो मार्दै भनेका थिए, 'कहाँ हराएकी थियौ ? हिँड म चिया खुवाउँछु ।'

उनी को थिए त्यो पनि भन्नुपर्छ मैले । उनी म प्रमाणपत्र तहमा पढ्‍दा त्रिविकै कुनै क्याम्पसमा मास्टर्समा मेजर अङ्‍ग्रेजी पढाउँथे । कसरी भेट भएको थियो उनीसँग त्यो पनि बताउँनुपर्छ । स्ववियुका नेताहरू उनीसँग राजनीतिक बहस गरिरहन्थे । मलाई स्ववियुको चुनावमा उठ्‍न भनिएको थियो र मैले क्याम्पसमा भाषण गरेकी थिएँ । स्ववियु चुनावको पर्सिपल्ट उनले मलाई आफ्नो ग्रुपमा ट्‍युसन पढ्‍न बोलाएका थिए । दिनदिनैको भेट र चियाले नजिक बनाएको थियो हामीलाई । त्यसबेला मेरो हालत कस्तो थियो ? मेरो घरमा कसैले पढेका थिएनन्‍ । त्यसैले पढाइका कुरा बुझ्‍दैनथे उनीहरू । घर निकै टाढा थियो काठमाडौँदेखि । म काठमाडौँमा एक्लै बस्थेँ । यहाँ भएका आफन्तले मलाई मानसिकरूपमा बलात्कार गरेका थिए । तिनको र मेरो सम्बन्ध पीडक र पीडितको थियो । मन भरिभरि प्रतिशोधको भावना थियो । ती दिनमा म बढ्‍तै रुन्थेँ । क्याम्पसमा कसैले जिस्क्याए रुन्थेँ । कहिलेकाहीँ भोक लाग्थ्यो तर पैसाको माया लाग्थ्यो र रुन्थेँ । मैले पास गर्नैपर्छ भन्ने लाग्थ्यो अनि पढ्‍दापढ्‍दै फेल हुन्छु कि भनेर रुन्थेँ । पखाला लाग्थ्यो अनि मर्छु कि भनेर रुन्थेँ । रुनलाई प्रसस्तै समय र विषय हुन्थे । कहिलेकाहीँ त आफ्‍नो मन किन यति रुन्चे भयोहोला भन्ने सोच्थेँ अनि रुन्थेँ । आफ्‍नो राम्रो पदप्रदर्शक छैनन् भन्ने सम्झेर रुन्थेँ । यस्तो समयमा उनी मेरो नजिक भएका थिए । मलाई थाहा छैन उनले मलाई प्रेम गर्छन् कि गर्दैनन् । अझ विवाह गर्ने उनको चाह पो थियो अथवा छ कि ? मलाई यी विषयमा न कहिल्यै सोच्न मन लाग्यो न लाग्नेछ । तर, एउटा कुरा उनी मलाई माया गर्थे र गर्छन् । माया गरेर बोलाउँथे । मसँग भावी योजनाका कुरा सोध्थे । आफूलाई धेरै कमजोर नसोच्न भन्थे । अनि मेरा बुबाले झैँ कहिलेकाहीँ मायाले काँधमा हात राख्दै राम्रो लेखक बन्ने छौ भन्थे ।

एक दिन बागबजारको चियापसलमा उनले, 'तिम्रो लक्ष्य के हो ?' भने । मेरो लक्ष्य के थियो ? बाआमाका लागि पढेर केही गर्नु थियो । बाआमाले मलाई जसको संरक्षणमा पठाएका थिए उसले बलात्कार गर्ने प्रयास गरेको थियो (हुन त तिनी पीएचडी गरेका नेपालमा नाम चलेका प्रोफेसर हुन् र उनले भनेका थिए, 'यौन भनेको केही होइन' तर मलाई यौनका विषयमा समाजले थुप्रै भ्रम भरिदिएको छ, जसलाई मैले अझै पनि चिर्न सकेकी छैन ।) यही कारण थियो मैले काठमाडौँमा आफन्तसँग विद्रोह गर्नु परेको । अझ आफन्तसँग शत्रुजस्तो हुनु पनि यही कारण थियो । ती दिनमा लाग्थ्यो कुनै दिन कुनै मूल्यमा पनि मैले पीएचडी गर्नेछु । अनि छुट्‍याउने छु प्रेम, यौन र बलात्कार ।

धेरैबेर सोचेर मैले जवाफ दिएकी थिएँ, 'पीएचडी गर्ने ।'
'किन ?' उनले भने ।
किन ? उत्तर के दिनु थियो र ? मैले आँसु झारेँ ।
'कारण नभन भै गो,' उनले भने, 'कहिलेसम्म गर्छौ त पीएचडी त्यो त भन ।'
'थाहा छैन, तर गर्छु एक दिन ।' मैले भनेँ ।

मलाई थाहा छैन यो सम्बन्धलाई कुन कोटामा राख्ने र के परिभाषा दिने हो । आत्मीयतताको यो हदसम्मको सम्बन्ध जहाँ यौनका विषयमा कुरा नै हुँदैन । उनीसँग लामो समय भेट हुँदैन थियो तर भेट हुँदा मायाले बोलाउँथे र भन्थे, 'तिमीलाई चिया खुवाउँछु ।' त्यस दिन पनि चिया खान उनी र म क्याम्पसबाट बाहिर निस्किएका थियौँ । मेरो त्यही पीएचडी गर्ने प्रतिबद्धताले हुन लागेको विवाह छाडेर आएकी थिएँ । बलात्कार प्रयासको त्यो घटनाले मलाई दिनरात पोल्थ्यो र छटपटाउथेँ । मलाई पनि सुखी जीवनको रहर थियो । मायालु आफन्तको रहर थियो । यौनप्रति आकर्षण थियो । म पनि विवाह गर्न चाहन्थेँ । तर, मलाई यी सबै कुराभन्दा अगाडि यौनका विषयमा समाजले मेरो दिमागमा भरेको भ्रम थियो कि सत्य, बुझ्‍नु थियो । अरूका लागि यो कुरा ठूलो हो वा सानो हो । म बौलाएकी छैन भने सातवर्ष अगाडि र आज पनि मलाई यो कुरा उस्तै छ । आज पनि ठीक हो कि होइन द्वन्द्व छ मभित्र र म छटपटाइरहन्छु ।

त्यसपटक पाँच महिनापछि भेट भएको थियो उनको र मेरो । अनि त्यहाँ म रुन चाहन्थेँ । सबैका अगाडि रुनुहुन्न भन्ने लाग्न थालेको थियो । चिया पसलमा पुगेपछि उनले भने, 'कहाँ हराएकी बिहा गर्‍यौ कि क्या हो ?'
अँ, भयो सर ।
कस्तो मान्छेसँग गर्‍यौ ?
(मलाई जस्तो केटासँग बिहे गर्दिन भन्ने लागेको थियो त्यही केटा सम्झेँ) मास्टर्स पास गरेको र पीएचडी गर्न अमेरिका जान लागेको ।
कहाँ छन् उनी ?
गइसके ।
बिहे गरेको भोलिपल्ट नयाँ घरमा के गर्‍यौ ?
पहिला नुहाएँ अनि घर पोतेँ । सबैलाई चिया बाँडेँ र जग्गेको कार्यमा बसेँ । (हाम्रो संस्कारमा नयाँ दुलहीले जे गर्छन् त्यही भनेँ)
दु:ख लागेन ?
लागेन ।
यी र यस्तै कुरा गरेर हामी उठ्‍यौ । मैले उनसँग झुटो बोलेँ । फेरि दुई-तीन महिनामा भेट भयो । त्यसरी नै हामी कुनै होटलमा पस्यौँ र चिया खायौँ ।
'चिठी आउँदै छ ?' उनले सोधे ।
आउँदैन ।
किन ?
हामीले डिभोर्स गर्‍यौँ ।
किन ?
मन मिलेन । उनले नपढ भने, म पढ्‍न चाहन्छु ।

फेरि यस्तै कुरा गरेर छुट्टियौँ । पुसको एउटा चिसो दिनमा रत्नपार्कको चौरमा म र एकजना केटा साथी बदाम खाँदै थियौँ । उनको क्याम्पसकी साथीसँग भेट भयो । मसँग उसको भेट हुनुअगाडि उनीहरू चिया खाएर छुट्टिएका रहेछन् ।
'ओई ! के भनेकी तिमीले सरलाई ?' उसले भनी ।
'जे भनेँ ठीक भनेँ,' मैले भनेँ ।

उसले झुटो हो विवाह भएकै छैन भनिछ उनलाई । फेरि आज बिहान भेट भयो उनीसँग ।
उनले भने, 'यो संसार बुझ्‍नुभन्दा तिमीलाई बुझ्‍न गाह्रो छ ।'
'मसँग बुझ्‍नु न मेरा कुरा, दुनियाँसँग बुझ्‍न खोजेपछि गाह्रो त हुन्छ नि,' मैले भनेँ ।
यसपालि मैले चिया खाउँ भनेँ ।
'तिमीलाई देख्दा कस्तो हुन्छ भने..., भनन तिमी के गर्छौ ?' उनले भने ।
पढ्‍छु ।
अरू ?
मार्क्सवाद मनपर्न थालेको छ, त्यतैतर्फ पो लेख्छु कि ।
फेरि विवाह ?
थाहा छैन ।
लभसभ ?
कसरी उत्तर दिनु उनलाई ? यो उमेरमा प्रेम गर्ने, विवाह गर्ने, रहर कसलाई हुँदैन ? म थुप्रै केटा साथी भएकी केटी । फरक-फरक-क्षेत्रमा मलाई चिन्छन् । र, थुप्रै साथीहरू मेरा लागि मरिमेट्‍छन् । कसरी म पत्थर भएकी छु ? मैले बुझ्‍नु छ प्रेम के हो र बलात्कार के हो ? त्यसका लागि मैले पढ्‍नुछ, पढ्‍नुछ र फेरि पनि पढ्‍नुछ । कहिले र कति थाहा छैन । उनको प्रश्नको उत्तरमा म कलेटी परेका ओठ टोकिरहन्छु ।
तिमीलाई कसैले प्रेम गर्छ ?
गर्छन‍ होला ।
कसले अथवा कस्ताले गर्छन् जस्तो लाग्छ ?
तपाईजस्ता प्रोफेसर, विदेशी पत्रकार,...।
त्यस्तै कुरा गरेर छुट्टियौ हामी आज पनि । अब सामाजिक क्षेत्रमा लागे भनेँ मेरा हरेक विषयमा चर्चा हुनेछ । समाजमा मैले झुटो बोलेको पनि थाहा हुनेछ उनलाई । म साँचो-साँचो भन्न चाहन्छु तर सक्दिनँ । उनीसँग फेरि भेट नहुने भए सबैसबै भनेर छुट्टिन्थेँ । तर, दु:खको कुरा हामी सानो उपत्यकामा छौँ । यहाँ बाटो हिँड्‍दा अचानक पनि भेट हुनसक्छ ।

आज म पीएचडी गर्नका लागि जाँदै छु । लामो समय नेपालमा हुने छैन म । माथिको कथा चार वर्षअगाडि लेखेकी हुँ मैले । यो कथा लेखेपछि म निकै व्यस्त भएँ । उनको र मेरो भेट धेरै भएन । जाने तयारी भएपछि एकपल्ट उनलाई भेट्‍न चाहन्थेँ तर उनी गाउँ गएका रहेछन् । के गरूँ, के गरूँ लाग्यो । साँचो त भन्नु नै पर्छ । उनका क्याम्पसका विद्यार्थीले स्मारिका निकाल्दैछन् र... त्यसका लागि कथा लेखिदिन भनेका थिए । यही दिएँ किनभने स्मारिका उनलाई पनि दिइनेछ । समय निकै बदलिएको छ । उनीसँग परिचय भएको एघार वर्ष भइसकेको छ । आफूसँग पढेका थुप्रै साथीका छोराछोरी स्कुल जान्छन् । सबैको रमाइलो जीवन छ । तर मेरो ? आज पनि म एक्लै छु । आज पनि असल साथी छैन भनेर मन कोक्याँउछ । आज पनि त्यही प्रेम र बलात्कार छुट्‍याउने काम मुख्य छ जीवनमा । म मरिन भनेँ पीएचडी गरेर नेपाल फर्किंनेछु र लेख्नेछु । त्यही एउटा पीडाको रन्कोसँगै उडिरहेकी छु म यो जहाजमा विरानो मुलुकतर्फ ।

उसको कथा पढेर उसका चिनचानका मानिसलाई फोन गरेँ । दुई महिनाअगाडि नै उ विदेश गइछ पढ्‍नलाई । मलाई खोजेकी रहिछ । म त्यसबखत गाउँ गएको थिएँ । उसको लडाइँ, एक्लो लडाइँमा मरेर लागेकी छे । उसले पीएचडी गरोस् र राम्रो लेखक बनोस् भनेर कामना गर्छु । उ टाढा गएकी छ मदेखि । फर्केर नेपाल आउँछे या आउँदिन । यति बेला उ गएको देशमा उज्यालो होला । त्यो नयाँ ठाउँमा बाटो पत्ता लगाउन नसकेर आँखाभरि आँसु भर्दै हिँडेकी होली उ । यहाँ मेरो आँखामा पनि आँसु भरिएको छ, यो मध्य रातमा ।

1 :: प्रतिक्रिया:

prakash said...

really a nice story, keep it up

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes