नयाँ नायकको खोजीमा

घिमिरे युवराज
आन्द्रेया- (ढोकामा उभिएर) नायक जन्माउन नसक्ने राष्ट्र दयनीय हुँदोरहेछ !
ग्यालिलियो- त्यसो होइन आन्द्रेया, नायकको खाँचो भएको राष्ट्र दयनीय बन्दो रहेछ ।

संसारमा जतिपनि नायकहरु हामीले पाएछौं तिनको जन्म बढो कठिनसँग भएको छ। त्यसरी नै अनेकौं त्रासदि, अन्धविश्वास र धार्मिक जडताबीच जन्मिएका संसारकै महान् वैज्ञानिक, विचारक, सत्यवादी, नायक हुन् ग्यालिलियो ग्यालिलेइ। यिनको जीवनी पढ्दा लाग्छ समाज सधैं नयाँ नायकको आगमनका लागि अतुर छ तर त्यही समाजले नायकको जन्म हुनुभन्दा अगाडि नै बारम्बार अवैधानिक गर्भपतन गरिरहेको हुन्छ। त्यसैले देशमा नायक जन्मिन समय लाग्छ। हामी पनि यतिखेर नयाँ नायकको प्रतिक्षामा छौं। देश नै त्यसैको प्रतिक्षामा छ।

तिनै महान् व्यक्तित्व ग्यालिलियोको जीवनीमा आधारित ब्रेटोल्ड ब्रेख्तको नाटक हो ग्यालिलियो। यस नाटकको नेपाली अनुवाद "पृथ्वी घुमिरहेको छ" भर्खरै बजारमा आएको छ। अनुवादक हुन् होमर श्रेष्ठ। संसारमै प्रसिद्ध यस नाटकको नेपाली अनुवाद पढिसकेपछि मलाई लाग्यो यो कृतिको विक्री अत्याधिक हुनु पर्थ्यो। बढी विकेका किताबको दाँजोमा यो कृति पनि आउँनु पर्थ्यो। यसका केही कारण छन्।

खगोल शास्त्रका सम्बन्धमा नयाँ विचार दिने दार्शनिक गिओर्दानो ब्रुनो (१५४८-१६००) जसले अरस्तुका सिद्धान्तमाथि प्रश्न चिन्ह उठाएका थिए। ब्रुनोलाई ६ वर्षसम्म बन्दी बनाइयो र आफ्नो सिद्धान्त र विचार फिर्ता नलिएपछि बाइबलविरोधी अनैतिक विद्रोहीको अभियोग लगाएर जिउँदै जलाइयो। एउटा नयाँ विचारकलाई तत्कालीन रोमन क्याथोलिकहरुले त्यति क्रुर सजाय दिएको समाजमा अर्को एउटा विचारक ग्यालिलियो (सन् १५६४-१६४२) उदाइरहेका थिए। ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने सहरमा भएको थियो। तत्कालीन क्याथोलिकहरु बाईबलभन्दा पर्तिर गएर सोच्नु ईश्वर र जिजस्को अपमान ठान्दथे। र, रोमन क्याथोलिक चर्चको पृथ्वी अटल छ अर्थात सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने धार्मीक विश्वासलाई तोडेर बैज्ञानिक आधारका साथ सूर्यलाई फन्को मार्दै पृथ्वी घुमिरहेको छ भन्ने तर्क प्रस्तुत गरिरहेका ग्यालिलियोले आफ्ना नविन र वैचारिक विचारहरुकै कारणले धेरै धम्की र यातना खेप्नु पर्यो। यिनै महान नायकका बारेमा केन्द्रित ब्रेख्तको नाटक ग्यालिलियोले सँधै नयाँ विचार र युगको आह्वान गरेको छ।

नाटकमा एउटा प्रसंग छ– ग्यालिलियोले शक्तिशाली दूर्विन बनाउँछन् र दरबारका उच्चपदका कारिन्दा तथा अन्य क्याथोलिक दार्शनिकहरुलाई दूर्विनबाट हेर्न आग्रह गर्छन्। जुन दूर्विनबाट आकासका हजारौँ ताराहरु नजिकै देखिन्छन्। तर, पुरानो सोचाई र धर्मको जडका कारणले तिनीहरुले दूर्विनबाट हेर्न मान्दैनन्। बरु दूर्विनबाट हेर्दै नहेरी उल्दै ग्यालिलियोको भ्रमपूर्ण साधन भनेर आरोप लगाउँछन्। ती क्याथोलिकहरुले दूर्विनबाट नहेर्नु नाटकमा ठूलो प्रतीक हो। संसारमा अन्य धेरै मानिसहरु नयाँ चेतना, नयाँ धारणा, नयाँ दृष्टिकोण र विज्ञान रुपी दूर्विनलाई क्याथोलिकहरुले जसरी नै लत्याइरहेका छन् भन्ने अर्थ लाग्छ। नाटकमा अन्य धेरै यस्ता सान्दर्भिक विचारहरु छन् जुन हाम्रै जीवन र समाजसँग ठ्याक्कै मेल खान्छ। नेपालको वर्तमान परिस्थितिसँग पनि ठ्यक्कै मिल्दो लाग्छ।

ग्यालिलियो एपिक नाटक हो। जसलाई नेपालीमा काव्य नाटक भनेर चलाइएको छ। चलनचल्तिमा हिजोआज ब्रेख्तियन शैली पनि भनिन्छ। एपिक नाटकका केही विषेशता छन्। विभाजित दृश्यहरु, गीतको प्रयोग, कवितात्मक सम्वाद, हाँस्यव्यङ्ग्यको मिश्रण आदि। ग्यालिलियो नाटकमा १४ वटा दृश्यहरु छन्। नाटकमा हरेक दृश्यको सुरुवात र अन्य गीतबाट भएको छ। हरेक दृश्यका घटनाक्रम यथार्थपरक भएपनि हरेक चरित्रले बोल्ने सम्वादहरु दार्शनिक बाँणी जस्ता र लयदार छन्। र, एकपात्रले अर्को पात्रलाई सिधै नभइ व्यङ्ग्यात्मक रुपमा छेडखानी गर्ने र चित्त बुझ्नेगरी हाँस्ने परिस्थिति र सम्वाद प्रसस्त छन्।

ग्यालिलियो जर्मन भाषामा लेखिएको नाटक हो। ब्रेख्तले यसलाई तीन पटकसम्म पूर्नलेखन गरेका रहेछन्। पहिलो पटक डेनमार्क (सन् १९३८-१९३९)मा, दोस्रो पटक अमेरिका (१९४५-१९४७) र तेस्रो पटक बर्लिन (१९५४-१९५६)मा लेखिएका फरकफरक संस्करणका विशेष अर्थहरुलाई होमर श्रेष्ठले आफ्नो अनुवाद पृथ्वी घुमिरहेको छको भूमिकामा खुलाएका छन्। होमरको अनुवादमा धेरै कुरा छन्। १८७ पृष्ठ मोटो कृतिमा होमरले लगभग आधा कृतिलाई इतिहास र विश्लेषणमा खर्चिएका छन्। त्यसैले यस कृतिको पहिलो लोभलाग्दो पक्ष यही हो। भूमिकाका लागि होमरले धेरै दु:ख गरेका छन्। तत्कालीन रोमन क्याथोलिक समाज, दार्शनिक ग्यालिलियो र तत्कालीन समय, ब्रेख्त र इपिक थिएटर, नाटक ग्यालिलियो र यसको मञ्चनदेखि नेपाली समाजमा यसको सान्दर्भिकतासम्म प्रस्तुत उक्त भूमिका नेपाली रङ्गमञ्चका विद्यार्थीहरुका लागि अत्यन्तै उपयोगी छ। मैले पहिलो पटक २०६० सालमा महेश दत्तको हिन्दी अनुवाद 'गेलीलिओका जीवन' पढेको थिएँ। तर, दत्तले कुनभाषाबाट अनुवाद गरे भन्ने कुरा आफ्नो अनुदित कृतिमा प्रस्ट खुलाएका छैनन्। दोस्रो पटक लग्टनको अंग्रेजी अनुवाद ग्यालिलियो पढ्न पाएँ। तेस्रो पटक पढेँ होमरको सुन्दर अनुवाद पृथ्वी घुमिरहेको छ

तर, होमर श्रेष्ठले धेरै कृति र स्रोत जुदाएर यसको अनुवाद गरेका रहेछन्। उनी जर्मन भाषाका ज्ञाता भएकाले पनि उनका लागि सम्भावना धेरै रहेछ। होमरको नेपाली अनुवाद ज्यादै सरल, चुस्त र मिठो लाग्छ। उनले यति दु:ख किन गरे मलाई थाहा छैन। एउटा कृति पढ्दा यतिधेरै सूचना र ज्ञान पाएका कमै कृतिहरु छन् मेरालागि। साहित्य पढ्ने अन्य पाठकहरु जो नयाँ युग मन पराउँछन् तिनले पनि पढ्नै पर्ने कृति हो यो। विश्वविद्यालयको पाठ्यक्रममा पनि यो नाटक छ। विद्यार्थीहरुका लागि पनि होमरले गरेको नेपाली अनुवाद र उनको भूमिका पढ्नै पर्ने कृति बनेको छ। नाटकमा रहेका गीतको नेपाली अनुवादमा भने होमरले गीतको लयलाई भन्दा अर्थलाई बढी जोड दिएका छन्। गीतको लय र छन्द भने भताभुङ्ग भएको छ। नाटकमा प्रत्येक गीतको महत्व छ जसले नाटक मञ्चन र कथाका लागि ठुलो मद्धत पुर्याउँछ। गहिराइ तातो-तातो, उचाइ चिसो-चिसो छ, टोलटोलमा हल्लीखल्ली, दरबार सुनसान छ।

yubaraj.ghimire@gmail.com

1 :: प्रतिक्रिया:

Anonymous said...

natak ko barema padhne awasar dinu bhaekoma yubraj ji ra kalejkalam lai dhanyabad

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes