Showing posts with label लेख/विविध. Show all posts
Showing posts with label लेख/विविध. Show all posts

सम्बोधनको लैङ्गिक पाटो


                                                                                                                                         रश्मि शीला

अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका महिलाको जीवनशैली र भूमिकामा आएको परिवर्तन नेपाली समाजमा भइरहेको परिवर्तन मापन गर्ने एउटा आधार हुन सक्छ । शहरी परिवेशको कुरा गर्ने हो भने अहिले धेरै महिला दिदी बहिनीहरुले पुरुषको अगाडि घुम्टो ओढ्नु पर्दैन । घरभित्र र घरबाहिर दुबैतिर काम भ्याउने चुनौती कायम भएपनि अहिले उनीहरु घरको काममा मात्र सीमित छैनन् । उनीहरुको परम्परागत भूमिका क्रमशः फेरिँदैछ । कलेज पढ्ने केटाकेटीहरुलाई हेर्दा पनि थाहा पाउन सकिन्छ, नयाँ पुस्ता थुप्रै कुरामा स्वतन्त्र र उदार छ । एउटा उदाहरण, थुप्रै केटाकेटीहरु अहिले एकअर्कालाई समान रुपमा ‘तँ’ भनेर सम्बोधन गर्छन् । केही समय अगाडिका पुस्ताका धेरैका लागि यो अकल्पनीय कुरा थियो । नेपाली समाजमा केटा र केटीबीचको सम्बन्ध अनौपचारिक बन्दै गएको उदाहरण हो ‘तँ’ सम्बोधन ।

म त्रिभुवन विश्वविद्यालयमा पढ्दा मेरा पनि केही मिल्ने केटा र केटी (जोडी) साथीहरु थिए जो एकअर्कालाई तँ भनी सम्बोधन गर्दथे । अध्ययनलगायत सामाजिक सरोकारका विषयमा समेत चासो राख्ने तीमध्ये केही साथीहरु मलाई समाज परिवर्तनका संवाहक जस्ता पनि लाग्दथे । केही समयपछि तीमध्ये केही जोडीको विवाह पनि भयो । उनीहरुसँग पछि भेट हुँदा थाहा पाएँ, केटाले केटीलाई तँ नै भने पनि केटीले केटालाई गर्ने सम्बोधन फेरिएछ । कसैले तपाईं त कसैले हजूर नै भन्न थालेछन् । पहिला तँ भनिरहेको मान्छेलाई पछि तपाईं वा हजूर भन्नुलाई उनीहरु स्वयंले सामान्य रुपमा लिएको देख्दा मलाई अचम्म लाग्यो ।

यसबारे घोत्लिँदै जाँदा ‘तँ’, ‘तिमी’, ‘तपाईं’ वा ‘हजूर’ सम्बोधनको चुरो बुझ्न त लैङ्गिक र वर्गीय पाटोबाट हेर्नै पर्ने रहेछ । धेरै श्रीमान्हरुले ‘तँ’ वा ‘तिमी’ भनेपनि श्रीमतीले ‘तपाईं’ वा ‘हजूर’ भनेको हामी धेरैले सुनिरहेकै छौँ । सामान्यतः विवाह गर्दा महिलाभन्दा पुरुष ठूलो उमेरको हुने भएकोले यस्तो असमानतालाई स्वाभाविक रुपमा लिइएको पाइन्छ । तर श्रीमतीको उमेर श्रीमान्कोभन्दा बढी नै भएपनि श्रीमान्ले श्रीमतीलाई तपाईं वा हजूर किन भन्दैनन् त ? सम्बोधनार्थी शब्द नै समानताको आधार मान्न नसकिएला तर यो विभेदको स्रोत चाहिँ अवश्य हो । पुरुष श्रेष्ठ र महिला कनिष्ठ हुने परम्पराले सम्बोधनमा पनि निरन्तरता पाएको प्रष्ट छ । अन्य अवस्थामा जस्तै यसमा पनि ठूलो सम्झौता केटीले नै गर्छन् । केटालाई विवाहअघि गर्दै आएको सम्बोधन ‘तँ’ वा ‘तिमी’ विवाहपछि ‘तपाईं’ वा ‘हजूर’मा फेर्नु पर्छ भनेर मनोवैज्ञानिक रुपमा केटीहरु सायद धेरै अघि देखि तयार हुन्छन् (सायद पारिन्छन्) ।

महिलाका लागि अहिलेको समाज तुलनात्मक रुपमा उदार छ भन्ने कुरामा दुईमत नहोला । तर कस्तो समानता, विवाह पूर्वको मात्र कि पछिको पनि ? महिलाले अभ्यास गर्ने स्वतन्त्रका सीमाहरु थोरै फराकिलो मात्र भएको छ, तोडिएको छैन । विवाहपूर्वको समानता विवाहपश्चात् स्वतः संकुचित हुन्छ । अहिले आधुनिक भनिएको समाजमा समेत महिलाको भूमिका पुरुषको सहयात्री भन्दा सहायक वा सेवककै रुपमा सीमित छ । हाम्रो समाजमा अझै कन्यादान गर्ने चलन छ जहाँ विवाहित चेलीले पुरुषको खुट्टा ढोगी ‘अब म तपाईंको शरणमा परेँ, मेरो रक्षा गर है’ भन्ने भाव जाहेर गर्नु पर्छ । यसरी महिलाको वैवाहिक जीवनको शुरुवात नै समानताबाट नभइ असमानताबाट हुन्छ । पुरुषले संरक्षकको दर्जा पाउँछ भने महिलाले सधैं पुरुषले कोरिदिएको घेरोमा बस्नुपर्ने हुन्छ । मलाई लाग्छ यो लैङ्गिक अध्ययन गर्नेहरुका लागि पनि महत्वपूर्ण विषय हो ।  सायद यसबाट विवाह अघि र पछि महिला–पुरुष दुबैको भूमिका र दृष्टिकोणमा आउने परिवर्तनको झल्को दिन्छ ।

भनिन्छ, नेपाली युवाहरुमाझ आधुनिकता र परम्परागत दुबै भूमिका निर्वाह गर्नु पर्ने ठूलो चुनौती छ । विवाहपूर्वका ‘आधुनिक’ महिलाहरु विवाहपछि भने परम्परागत भूमिकामा मात्र सीमित भएका थुप्रै उदाहरण हामी देख्न सक्छौँ । त्यसैले समान जस्तो देखिए पनि थुप्रै अवस्थामा स्वतन्त्रता ‘सर्फेसियल’ छ । उनीहरु अभैm पितृसत्तात्मक समाजको जन्जालबाट उम्कने वातावरण बनिसकेको छैन । केही अपवाद बाहेक, न उनीहरुको घरेलु कामको बोझ घटेको छ न त सामाजिक–राजनीतिक निर्णयमा पहुँच बढेको छ । सायद यही कारण शिक्षित, आधुनिक र आफूलाई चेतनशील ठान्ने महिलाहरुले पनि कुनै समय आपैmले तँ वा तिमी भनेको जीवनसाथी(पूर्व साथी)लाई तपाईं वा हजूर भन्दा पनि असहज र हीनताबोध महसुस नगरेका होलान् । लैङ्गिक अध्ययनको पाटोबाट हेर्दा यो निकै संवेदनशील र महत्वपूर्ण विषय हो कि ! आखिर विवाहपूर्व तँ वा तिमी भन्दै आएको मान्छे कसरी त्यही व्यक्तिलाई तपाईं अथवा हजूर भन्न बाध्य हुन्छ वा सहर्ष राजी हुन्छ भन्ने कुरा खोतल्न सक्नुपर्छ । यसले विवाह अघि र पछि महिला–पुरुष दुबैको हैसियत, भूमिका र दृष्टिकोणमा आउने परिवर्तनबारे थप कुरा बुझ्न पक्कै सघाउँछ ।

सञ्चारमाध्यममा गीत छनोटको अस्वस्थ प्रतिस्पर्धा


                                                                                                                             -  प्रभाकर गौतम

एफएमररेडियो धेरैका लागि गीत–संगीत सुन्ने प्रमुख साधन हो । आधुनिक संगीतको विकास र विस्तारमा रेडियो नेपालले र पप तथा अत्याधुनिक संगीतको विकासमा एफएमले खेलेको भूमिका सराहनीय छ । नेपालमा हाल तीन सय पचासको हाराहारीमा एफएम खुलेकामा काठमाडौं उपत्यकामा मात्र यसको संख्या तीन दर्जन पुगिसक्यो । सबैजसो एफएममा नेपाली गीत–संगीतले ठूलो हिस्सा ओगटेको छ । यसले ठूलो समूहलाई मनोरञ्जन प्रदान गर्दै नेपाली कला तथा संगीत क्षेत्रकै प्रवद्र्धनमा पनि सघाएको छ । रेडियोमा गीत आफैं बज्दैन, बजाउने मान्छे चाहिन्छ । आधुनिक, पप, लोक, शास्त्रीय आदि सबै विधाका सिर्जनालाई श्रोतासम्म पुर्याउने काममा रेडियो कार्यक्रम प्रस्तोताको निर्णायक भूमिका हुन्छ । कुन कार्यक्रममा कुन गीत बजाउने भन्ने छनोट प्रायस् प्रस्तोताले नै गर्छन् । उनीहरूले एकातर्फ कलाकारका सिर्जनालाई श्रोतामाझ पुर्याउँछन् र अर्कोतर्फ तिनको प्रचारप्रसार पनि गरिरहेका हुन्छन् । तर, गीत छनोट गर्ने सबै प्रस्तोता ‘सांगीतिक चेत’ भएका हुन्छन् भन्ने छैन ।


कुनै पनि गीतको चर्चाका पछाडि एफएमररेडियो र कार्यक्रम सञ्चालकको प्रत्यक्ष–परोक्ष हात रहेको हुन्छ । एफएफमा छिट्टै लोकप्रिय हुने गीतले नै बढी स्थान पाउँछ र धेरै गीत एफएममा प्रसारण हुँदैनन् । म्युजिक भिडियो नबनेका गीतहरू प्रसारण हुने सम्भावना झिनो छ । यसले सम्बन्धित कलाकारको बजार विस्तारमा सहयोग त गर्ला तर एउटै गीत दोहोरिइरहने र धेरै गीतले ठाउँ नपाउने अवस्था छ । गीत छनोट र प्रसारणमा देखिएको यो समस्या र जटिलताका कारण थुप्रै राम्रा सिर्जना र तिनका कलाकार ओझेलमा परेका छन् । प्रसारणको अवसर पाएका गीतहरूबाट पनि सबै कलाकारले फाइदा उठाउन सक्ने वातावरण छैन । हामीले सुन्ने गीतहरूमा गायक, संगीतकार, गीतकारलगायत वाद्यवादन संयोजकहरूको सामूहिक भूमिका हुन्छ ।

सबै पक्षको विशेष योगदानविना राम्रो र स्तरीय गीत सिर्जना हुनै सक्दैन । विडम्बना, गायकबाहेक अन्य कलाकार प्रायस् ओझेलमा पर्छन् । कुनै गायक एउटै गीतबाट पनि रातारात लोकप्रिय हुन सक्छ तर संगीतकार र गीतकारलाई आफ्नो पहिचान बनाउन लामो समय लाग्छ । अझ संगीत संयोजक तथा अन्य वाद्यवादक त विरलै चिनिन्छन् । त्यसैले सार्वजनिक पहिचान बनाउन गायकको तुलनामा संगीतकार, गीतकार तथा अन्य कलाकारलाई मिडियाको विशेष साथ चाहिन्छ । तर हालसम्म एफएफमा गीत प्रसारण हुँदा ‘फलानो गायकको गीत’ भनेर गीतकार र संगीतकारको नामै नभन्ने प्रवृत्ति हाबी छ । ‘मेरा अधिकांश गीत बज्दा गीतकारका रूपमा मेरो नाम उल्लेख नहुने भएकाले साथीहरूले मेरो गीत सुनेका छन् तर त्यसको गीतकार म हुँ भन्ने धेरैलाई थाहा छैन’ रमण घिमिरेको भोगाइ हो यो । यहाँनेर, एउटा गीत तयार पार्दा धेरै जनाको मिहिनेत र सीप परेको हुन्छ भन्ने आधारभूत कुरालाई बेवास्ता गरेको पाइन्छ ।

कतिपय कार्यक्रम सञ्चालकहरू स्वयं गीत लेख्छन् र पनि आफूले सञ्चालन गर्ने कार्यक्रममा गीतकारको नाम उल्लेख गर्दैनन् । यसमा एफएम सञ्चालकहरूको नीति र प्रस्तोताहरूको हेलचेक्रयाइँ दुवै समस्या बनेको छ । एफएममा, कुनै गीतमा संलग्न सम्पूर्ण कलाकारको नाम भन्न पक्कै सम्भव नहोला । यद्यपि प्रत्येक गीत बज्नु अघि वा बजिसकेपछि कम्तिमा गायक, संगीतकार र गीतकारको नाम उच्चारण गर्ने हो भने थुप्रै स्रष्टाप्रति न्याय हुने थियो । पाइरेसी र कपी गर्न मिल्ने प्रविधिको विकासले पनि स्रष्टाहरू थप मारमा परेका छन् । अहिलेको संगीत बजारमा गीत बिक्रीमा मन्दी छाएको छ । केही समयअघिसम्म राहत पुर्याएको कल रिङ ब्याक टोन ९सिआरबिटी० को बजारसमेत घटेर अहिले कलाकारको आयस्रोत स्टेज कार्यक्रममा सीमित भएको छ ।
शास्त्रीय संगीतमा लागेका केही व्यक्ति तथा समूहको माग भए पनि स्टेज कार्यक्रममा गीतकारले स्थान पाउने कुरा भएन । यसबाट फाइदा उठाउने भनेको गायकले मात्रै हो । गायकले स्टेजमा गाउने गीतहरूबाट गीतकार र संगीतकारलाई प्रत्यक्ष लाभ हुँदैन । संगीत बजार उँभो लागे पनि, उँधो लागे पनि गीतकारका लागि आर्थिक रूपमा अवसर थोरै छ । अहिले चलेको ‘प्याकेज डिलिङ’ले चलेका संगीतकारलाई दाम कमाउने ढोकासमेत खुलेको छ । तर, संगीतकारले पनि गायकले भैँm एउटै गीतबाट पटकपटक आम्दानी गर्न सक्दैनन् । त्यसो त, गायककै हकमा पनि चर्चा कमाउन सफल केही सीमित गायकले मात्र हो अर्थ आर्जन गर्ने । पछिल्लो समयमा गीतकार तथा संगीतकारले पनि लगानी गरेर एकल एल्बम निकाल्ने क्रम बढेको छ ।

धेरै गीतकारमा आर्थिक मुनाफाको अपेक्षाभन्दा परिचय र आत्मसन्तुष्टि प्राथमिकतामा पर्छ । तर अहिलेको संगीत प्रसारणको अभ्यासले हेर्दा यही मौकाबाट सर्जकहरू वञ्चित भइरहेका छन् । सीमित एफएमले उपलब्ध गराउने सलामी ९रोयल्टी० ले निकट भविष्यमै स्रष्टाहरूलाई आर्थिक टेवा पुर्याउने अपेक्षा राख्ने ठाउँ छैन । उदाहरणका लागि अहिले कान्तिपुर एफएमले प्रत्येक गीतबापत १० रुपियाँँ ९गायक, संगीतकार र गीतकारलाई करिब तीन रुपियाँँ ३३ पैसा० सलामी दिने गरेको छ । गीत बजाउँदा नाम छुटाइए पनि क्युसिटमै भए पनि कान्तिपुर एफएममा कुन स्रष्टाको गीत कति पटक बज्यो भन्ने रेकर्ड मेन्टेन गर्नुपर्ने बाध्यता छ । सहजताका लागि दामासाहीमै सही, यो अभ्यासले एउटा सांगीतिक उत्पादनमा सबै सर्जकको समान योगदान देख्ने प्रवृत्ति बसाउने काम गरेको छ । तर, प्रविधिको सहज उपलब्धताका कारण धेरै एफएममा क्यासेट तथा सिडी किनेरभन्दा पनि इन्टरनेट तथा पेनड्राइभबाट गीत संकलन गरेर प्रसारण गर्ने अभ्यास व्यापक छ । आखिर सबैलाई थाहा छ, संगीत नभएको भए धेरै एफएमको जीवनलीला समाप्त भइसक्थ्यो । संगीत बजाएकै भरमा समय व्यवस्थापन गर्न पनि मिल्ने, अन्य कार्यक्रम थोरै भए पनि हुने र एफएमहरूको अस्तित्व पनि रहिरहने भएपछि सांगीतिक सर्जकहरूमाथि यति धेरै उपेक्षा किन र ?

सम्बोधन र संस्कार

 ॥ प्रभाकर गौतम 

हाम्रो संवादमा सम्बोधन अनिवार्य छ । 'तँ', 'तिमी', 'तपाईं' 'हजुर' हाम्रा सम्बोधनका तहहरु । सामान्यतः सानो बालकले यदि कसैलाई 'तँ' भन्यो भने उसलाई 'तपाईं' वा 'हजुर' भन्न सिकाइन्छ । त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो । हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमी भन्ने चलन समेत पाइन्छ । खासगरी काठमाडौँमा एउटा समूह / वर्गमा भने 'हजूर' नै भन्नुपर्ने, र पुछारमा 'स्योस्' जोड्ने चलन छ । मेरो बुझाइमा यस्तो भाषाको प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा आफ्नै रहरले बोल्नेहरु । यस्तो चलन भएकाहरुमध्ये एउटा ठूलै समूहले 'तपाईं' भन्नुलाई त्यति सभ्य मान्दैन । 

मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।।
दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् ।

बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै दिसा-पिसाब गर्न त त्यत्ति गाह्रो लाग्दैन तर त्यही शौचालय जस्तै भान्छामा पकाएका खाना निल्न भने साह्रै मुश्किल पर्छ । त्यही पनि बेस्वादका बासी तर महँगा । यसपाली टेलिभिजनमा देखिएका खान नहुने कुराको मिसावट र फोहोरको दृश्य मैले बिस्रन सकेको छैन । सायद यसपाली म बाटोमा पाकेका खाना खान सक्दिनँ होला । सोच्दैछु - के व्यवस्था गर्ने भनेर । दशैं छेका सुरु भएको बजार अनुगमन लामा दूरीका यात्रुलाई खाना खुवाउने होटलसम्म पनि पुगे तुलनात्मक रुपमा हामीले स्वच्छ खाना पाउने थियौं कि ?

२०६३ को दशैंमा घर जानुभन्दा केही अघिसम्म म काठमाडौंका सडकपेटीमा व्यावसाय गर्नेहरुसँग अन्तरवार्ता लिँदै थिएँ । मार्टिन चौतारीले प्रकाशन गर्न लागेको सहरीकरणः जीविकाको विविध आयामका लागि जगन्नाथ दाइले लेख्ने अनौपचारिक क्षेत्रसम्बन्धी लेखका लागि । मैले विभिन्न ठाउँमा गएर विभिन्न व्यवसाय गर्ने विभिन्न उमेर समूह र लिङ्गको व्यक्तिहरुसँग कुरा गर्नुपर्ने थियो । त्यसै सिलसिलामा सुन्धारामा ठेलामा मःमः बेच्ने महिलासँग कुरा गर्न मन लाग्यो । भोक लागिरहेको थियो पहिले मःमः खाएरै सम्बन्ध र संवाद अघि बढाऊँ भन्ने विचारले मःमः खान तयार भएँ । पहिलो गाँसको स्वाद मीठो लागेन तर हतार-हतार निलेँ । मलाई घिन लाग्न थालिसकेको थियो । दोस्रो गाँस मुखमा हालेपछि ह्वास्स गनायो । मःमःको दुनो भुइँमा फालेर मैले त्यहीँ बान्ता गरेँ । त्यसको पैसा साहुनीले माग्ने आँट गरिनन् बरु भनिन् - "यस्तै त हुन्छ नि मःमः ! खाने बानी छैन जस्तो छ ।"
मलाई खान पनि आउँछ र मीठो मःमः बनाउन पनि आउँछ भन्ने उनलाई के थाहा
 ?

"खाएर हेर्नुस् न मःमः गनाएको छ", मैले त्यत्ति मात्र भनेँ । 

पछि वसन्तपुरमा ठेलामै मःमः बेच्नेसँग कुरा गरेँ । तर उनले एउटा-दुइटा मात्रै भए पनि चाख्नुस् न भनेर गरेको आग्रह भने स्विकार्न सकिनँ । म साकाहारी भइसकेको थिएँ । त्यसको पाँच वर्षसम्म मैले मासु नै खाइनँ । त्यही अन्तरवार्ताकै क्रममा लाजिम्पाटमा मोतिहारी भारत घर भएका पानीपुरीवालाको पानीपुरीले त मलाई पखालै चलायो । त्यस बेलादेखि हत्तपत्त म सडक खाना खाने आँटै गर्दिनँ ।


अफिसमा खाजा पाक्ने व्यवस्था नहुँदा हामी केही साथी नर्भिक हस्पिटल छेउको लुम्बिनी भोजनालयमा तन्दुरी रोटी खान जान्थ्यौं । एकदिन खाँदाखाँदै साकाहारी तरकारीमा पाकेको साङ्लो भेटियो । त्यसबारे साहुजीलाई गुनासो सुनायौं । उनले "कहिलेकाहीँ साङ्ला त परिहाल्छ नि" भन्ने उत्तर सहज रुपमा दिए । साहुजीले पनि यस्तो भन्न मिल्छ र भनेर हामीले उनलाई जिम्मेवार हुन भन्यौं । तर उनले "के गर्न सक्छौ गर, तिमीहरु जस्ता ग्राहक त यहाँ कति आउँछन् कति" भने । त्यसपछि पनि साथीहरु त्यहाँ जान छाडेनन् । म भने झन्डै एक वर्ष जस्तो त्यहाँ गइनँ । एक वर्षपछि त ती साहुजीले पनि बिर्सिए होलान् । म पनि बिर्सिन बाध्य भएँ । किनभने त्यो पसल वरिपरि त्यत्तिको सफा पसलको विकल्प मसँग थिएन ।

न्यूरोडका गुँदपाक पसलेले त व्यापार होइन अपराधै गरेका हुन् । खोज्दै जाने हो भने त्यस्ता अरु व्यापारका नाममा भइरहेका अपराध खुल्दै जालान् । तर सामान्य होटलमा अपराध गर्ने मानसिकताभन्दा अरु कुरा नै बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छ । थोरै पैसा दिएर उमेर नपुगेका बालबालिकालाई काम गर्न राख्ने चलनले पनि त्यस्तो भएको हो । उनीहरु बिहान पाँच बजेदेखि राति अबेरसम्म काम गर्न बाध्य छन् । शौचालयदेखि भान्छासम्म उनीहरुले नै सफा गर्नुपर्ने हुन्छ । कामदारहरूलाई कामको बोझ धेरै भएकॊ अवस्थामा होटलका साहुजीले चाहेर पनि सफासुग्घर गराउन सक्दैनन् । काम गर्ने मान्छेलाई खुसी नबनाई राम्रोसँग काम गराउन सकिँदैन । साहुजीले अनावश्यक किचकिच गर्दै दबाब दिए ग्राहकले खानेभन्दा पनि फोहोर खाना 
उनीहरु साहुजीलाई नै खुवाउन बेर लगाउँदैनन् । त्यसैगरी उनीहरु त्यस व्यवसायसम्बन्धी तालिम वा औपचारिक शिक्षा लिएर पनि आएका हुँदैनन् । उनीहरु औपचारिक अध्ययनका लागि स्कुल-कलेज जाँदै नगएका पनि हुन्छन् पढेकाहरु पनि बीचैमा छाड्ने नै धेरै हुन्छन् । त्यसैले सफाइ सम्बन्धी उनीहरुको धारणा र हामीले गर्ने अपेक्षा नमिल्न सक्छ । होटल-रेस्टुरेन्टका भान्छा प्रायः नदेखिने ठाउँमा हुन्छ । नाम चलेका होटेल तथा रेष्टुरेन्टहरुमा पनि सफासुग्घरको नाममा डाइनिङ हललाई मात्र ध्यान दिने प्रवृत्ति हुन्छ । भान्छा सफा राख्ने पकाउने-बनाउने कुरामा ध्यान दिने भन्दा पनि प्लेटमा खाना सजाउन नै बढी सिकाउने चलन छ ।

अहिले भइरहेको बजार अनुगमनलाई निरन्तरता दिने हो भने पनि धेरै क्षेत्रमा सुधार हुन सक्छ । अनुगमनकर्ताहरुले हामीलाई थाहै नभएको कुरा बाहिर ल्याएका होइनन् । बजारमा भइरहेको लुट र अपराधको जानकारी सम्बन्धित पक्ष र उपभोक्ता सबैलाई थाहा थियो । बाध्यताले गर्दा नै हामी उपभोक्ताले तिनको सेवा लिने गर्थ्यौं । हाम्रो विकल्प नहुनु उनीहरुको फाइदाको कुरा !

विवादका बीच आदिकविको उपाधि

 ॥ रमेश सफर निरौला ॥
२०६६ पुस ३० गते राति नेपाल टेलिभिजनबाट प्रसारित हास्यशृंखला 'तीतो सत्य' मा यसका परियोजनाकार दीपाश्री निरौला र दीपकराज गिरीले नेपाली साहित्यजगत्‌मा एकपल्ट हलचल मच्चाएको विषयलाई उठाए । कवि भानुभक्त आचार्य र राजा पृथ्वीनारायण शाह नेपालमा हाल घटित भइरहेको अव्यवस्था हेर्न एकपल्ट फेरि 'कान्तिपुर' ओर्लिएको र यहाँको 'बबन्डर' देखेर ज्यादै निराश भएको कुरालाई नाटकीकरण गरेर हास्यशृंखलालाई रोचक, व्यङ्ग्यात्मक र विवादास्पद समेत बनाए परियोजनाकारद्वयले । 

हुनत नेपालका राजा पृथ्वीनारायण शाहको योगदान र भानुभक्तको नेपाली भाषा साहित्यमा योगदानको चर्चा यस सङ्क्रमणकालीन समयमा एउटा विवादास्पद विषय पनि हो तर आज हामी यस लेखभरि समालोचनाका विविध अर्थनिरुपणकका काँटाले भन्दा पनि नेपाली साहित्यमा भानुभक्तको उपाधि 'आदिकवि'माथि उठेका प्रश्नहरूको अध्ययनमा केन्द्रित हुनेछौं । समालोचनाभित्र छिर्नुअघि समालोचनालाई रुढ, एकांकी र पूर्णविरामतिर धकेल्ने मान्यताको प्रखर विरोधी 'चक्रव्यूह सञ्चेतना'लाई नसम्झी अगाडि बढ्नु मूर्खता ठहर्ला ! २०६० को दशकमा नेपाली समालोचनालाई विनिर्माण (Deconstruction) को औजारले मर्मत थाल्ने चक्रव्यूह सञ्चेतना समालोचकीय सिद्धान्तका आडमा ऐकिकताको नजरले यस सन्दर्भलाई हेर्न लागिपर्दैछौं । प्रस्तुत लेखमा भानुभक्तको उपाधि सही वा गलत भन्नुभन्दा ज्यादा यस उपर उठेका विवादको सन्दर्भ कोट्याउने प्रयास हुनेछ । 

जसरी भानुभक्तका रचनालाई प्रकाशनको माध्ययमबाट नेपाली जनमानससम्म ल्याइपुर्‍याउने काम मोतीराम भट्टले गरे ठीक त्यसरी नै 'आदिकवि'को उपाधि पनि भट्टले नै प्रस्ताव गरे । (त्रिपाठी : ई. सं १९९७) आदिकविको उपाधि चाहिँ दार्जिलिङका साहित्यसेवीहरूको प्रयासमा तत्कालीन राणा प्रधानमन्त्रीले तोक लगाएर दिएको देखिन्छ । तर यस उपाधिको औचित्यता खोज्दै सर्वप्रथम पं. दीनानाथ सापकोटा बोले । सापकोटाको भनाइ थियो :- भानुभक्तभन्दा अघि रघुनाथले पनि अध्यात्म रामायणको सातै काण्डको अनुवाद गरेका थिए जसमध्ये सम्वत् १९४५ मा साक्षीविनायक गोरखा यन्त्रालय बनारसमा 'सुन्दरकाण्ड' छापिएको थियो । (हस्त नेचाली : ई. सं १९९७) 

हृदयचन्द्रसिंह प्रधानले 'भानुभक्त : एक समीक्षा'मा लेखेका छन, भानुभक्त १६ वर्षको मात्र हुँदा शार्दूलविक्रीडित छन्दमा 'कृष्णचरित्र' अनुवाद गर्ने वसन्त शर्मालाई 'आदिकवि' मान्नुपर्ने तर्क राखेका छन् । यता उनको तर्क छ मौलिकतालाई स्थान दिने हो भने 'मौलिक भएर कविताको परिभाषामा' आउने कविता 'स्तुतिपद्य'का कवि यदुनाथ पोखर्‍याल 'आदिकवि' हुन् । परिस्कृत र आधुनिक भाषाशैली नभएका भानुभक्तलाई आदिकविको उपाधि अयोग्य रहेको जिकिर प्रधानको छ । विवादसँगै आदिकविका लागि दई कुराको तानातान देखिन्छ । पहिलो कविता लेख्‍नेलाई 'आदिकवि' भन्नुपर्ने वा नेपाली जनमानसमा बुझ्ने शैलीका कविता लेख्‍ने कविलाई 'आदिकवि' भन्नुपर्ने विषयमा भने नेपाली विद्वानहरू पनि एकमत छैनन् र स्पष्ट विभाजित छन् । 

जुद्धशमशेरले प्रधानमन्त्री हुँदा दिएको उपाधि आदिकवि कतिले त्यससमयमै मन नपराएको भए पनि राजनीतिक रूपले खतरा देखेर बिरोध गर्न नसकेको देखिन्छ भने कतिपयले चाँहि मौका पर्नासाथ विरोध गरेका छन् । कतिसम्म भने राणा भएर नै पनि साहित्यकार बालकृष्ण समले पनि स्पष्ट धारणा राखेका छैनन् । 'भानुभक्तको शैली' नामक रचनामा भाषाशैलीका लागि भानुभक्तलाई सर्वश्रेष्ठ मान्ने समले उनी 'ठूला कवि होइनन्' भनेर आदिकविको उपाधि अनुपयुक्त रहेको संकेत गरेका छन् तर पछिल्लो समयमा वि.सं. २००० मा 'भक्त भानुभक्त' नाटकको भूमिकामा 'आदिकवि' उपाधिलाई समर्थन गरेका छन् । समको यो दोहोरो चरित्र देख्दा लाग्छ त्यससमयमा राजनीतिक रूपले खासगरी राणा प्रधानमन्त्रीले गरेका कामको अन्ध समर्थन गर्नुबाहेक अर्को विकल्प थिएन । र समलाई पनि आफ्नो विगतको धारणामा पुन:विचार गर्न लगाइएको हुनसक्ने आधार धेरै छन् । राणा भएकैले उनलाई जेल नै त हालिएन तर पनि भित्री रूपमा दबाब आएको नकार्न सकिँदैन नत्र उनले आफ्नो भनाइलाई फेर्नुपर्ने जरुरी नै किन पर्‍यो होला ? बालचन्द्र शर्माले त भानुभक्त पूर्वका कविहरूलाई स्पष्ट शब्दमै उनीहरूको महत्त्व केवल यतिमै निहित छ, उनीहरू भानुभक्तभन्दा केही अघि जन्मिए भनेर भानु पूर्वका कविहरूको अवमूल्यन गरेका छन् (भानुभक्त : बालचन्द्र शर्मा, वि.सं. २०१४) । 

आदिकविको पदवीलाई अस्वीकार नै गर्नेहरूमा आनन्ददेव भट्ट, रामकृष्ण शर्मा, ताना शर्मा र वासुदेव त्रिपाठी समेत पर्दछन् । सिक्किमका कवि गुमानसिंह चाम्लिङले त 'आदिकवि' को विरोध गर्दा कलकत्ताको राइर्टस बिल्डिङमा आक्रमण मात्र भएन बरु पश्चिम बंगालका तात्कालीन मुख्यमन्त्री विधानचन्द्र रायको पैसा खाएर नेपाली भाषा र आदिकविविरोधी भएको आरोप लगाइयो (चाम्लिङ : ई.सं. १९९७ भूमिका खण्डबाट) । 

अर्कोतर्फ भानुभक्तलाई 'आदिकवि'को उपाधि दिलाउन जोडतोडले लाग्नेमा सूर्यविक्रम ज्ञवाली पनि एक थिए । प्रा. गोकुल सिन्हाको यस भनाइले पनि उक्त कुरा पुष्टि गर्छ :- "सबभन्दा ठूलो कुरो त भानुभक्तलाई आदिकविको सम्मान दिने श्रेय यिनै सूर्यविक्रम ज्ञवालीलाई छ ।" (भानु : भानुभक्त विशेषांकबाट) 

भानुभक्तलाई नेपालका आदिकवि मान्नु नहुने तर्क लिएर एउटा समूह अहिले अगाडि आएको देखिन्छ । उनीहरूको तर्क छ कि बहुल भाषा र संस्कृति भएको नेपालमा नेपाली भाषामा लेख्ने भानुभक्त कसरी आदिकवि भए ? उत्तर खोज्न यताउता भौंतारिनु जरुरी छैन किनकि भानुभक्त नेपाली भाषामात्रका आदिकवि हुन् न कि अर्थ्याइएझैं सम्पूर्ण नेपालीका । मैथिली भाषाका आदिकवि विद्यापति भएजस्तै अन्य भाषासमुदायले पनि आफ्ना भाषामा कविता गर्ने प्रथम वा भाषालाई समृद्ध बनाउने प्रथम कविलाई आदिकवि भन्न सक्नुपर्छ । मुलुक अहिले भाषिक रूपले पनि संघीयताको अभ्यासतर्फ लाग्दैछ, त्यस समयमा सघीय संरचनाले भाषा र सम्प्रदायका आधारमा यस्ता पदवी अवश्य देलान् । भानुभक्तले गरेको एउटा काम भने अविष्मरणीय रहिरहनेछ त्यो हो नेपाली भाषाको सम्प्रेषणीय रूपमा प्रयोग र त्यसको रामायण मार्फत प्रचारप्रसार । नेपाली भाषालाई अझ जनमानससम्म पुर्‍याउने कामको श्रेय त रामायणलाई प्रकाशित गर्न अग्रसरता देखाउने मोतीराम भट्टको पनि छ । तत्कालीन नेपाल भाषिक रूपले एक नेपाली भाषाको प्रचारप्रसारसँगै अन्य भाषाको वैकल्पिकतालाई अस्वीकार गर्ने किसिमको भएको समयमा र आफ्नो मातृभाषामा कलम चलाउनु भानुभक्तको दोष हुनसक्दैन ।

आफ्नो मातृभाषामा लेखेकै कारण नेपालका अन्य भाषाको अवमूल्यन भानुभक्तले गरे भन्ने खालको जुन अर्थ आज लगाइदैछ त्यो भने स्वीकार गर्न नसकिने खालकै छ । यदि भानुभक्तले नेपाली भाषामा लेख्‍नु गलत हो भने मैथिली कवि विद्यापतिले पनि मैथिली भाषामा लेख्‍नु त्यस्तै त्रुटि हो । भानुभक्त, जसले पहिलो नेपाली भाषी कवि जसले नेपाली भाषाको उन्नतिको उदय गर्‍यो भन्ने अर्थमा हो भने नेपाली भाषाको आदिकवि भन्नुमा आपत्ति नजनाए हुन्छ जसरी विद्यापतिलाई पनि हामी मैथिली भाषाका आदिकवि भन्दै आइरहेका छौं । अर्कोतर्फ, नेपाली भाषामा प्रथम कलम चलाउने कविका रूपमा उनलाई आदिकवि भनिएको हो र त्यस्तो प्रयास गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यसो गरिएमा उनीभन्दा अघिका कतिपय कविहरू उदयानन्द अर्ज्याल, रघुनाथ, वसन्त शर्मा, यदुनाथ पोखर्‍याल इत्यादिको अवमूल्यन हुनेछ । कसैलाई दिइएको उपाधिले ऊ स्वयंलाई बोझ नहोस् र अरुलाई समेत असर नपुर्‍याओस् भन्नेतर्फ सोच्नु जरुरी छ । 

धेरैले आदिकविको विरोध गरेपनि स्वतन्त्र भएर आलोचना गर्नेमा 'भानुभक्त : एक समीक्षा' पुस्तकका लेखक हृदयचन्द्रसिंह प्रधानको नाम अग्रपंक्तिमा आउँछ । उनले मुख्यतः तीन कुरा उठाएका छन् । प्रथम स्वतन्त्र विचार वा कल्पना अथवा नेपाली ढंगको कल्पना वा नेपाली भाषाको प्रयोग समाविष्ट भएको दृष्टिमा हेर्ने हो भने 'श्री कृष्ण चरित्र' नै नेपाली भाषाको आदिकविता र यसका रचनाकार वसन्त शर्मालाई आदिकवि भन्नुपर्ने तर्क राखेका छन् जुन तार्किक र स्पष्टवादी छ । दोश्रो, पूर्ण मौलिक कवितालाई हेर्दा नेपालीभाषाको प्रथम मौलिक कविता 'स्तुतिपद्य' नै आदिकविता र यसका रचयिता यदुनाथ पोखर्‍याललाई आदिकवि मान्नुपर्ने धारणा राखेका छन् । तेश्रो, आधुनिक नेपाली भाषाको थालनी तथा वर्तमान नेपाली भाषाको रूपविन्दु भानुभक्तको रामायणदेखि सुरु भएको हो । आधुनिक रूपमा आउने भाषाको परिस्कृतिलाई लिएर अदिकविता र आदिकविको उपाधि दिइयो भने भानुभक्तलाई पन्छाएर लेखनाथ पौड्याललाई आदिकवि भन्न सकिने तर्क राखेका छन् । अझ अगाडि बढेर प्रधानले त भाषाकै परिस्कृतिलाई मात्र हेर्ने हो भने लेखनाथभन्दा बालकृष्ण सम र समभन्दा सिद्धिचरण श्रेष्ठलाई आदिकवि उपाधि दिनुपर्ने तर्क राखेका छन्  । यस कुराको पछाडि लाग्ने हो भने त आधुनिक समयमा अझ परिस्कृत कविता लेख्‍नेलाई नै आदिकवि मान्नुपर्ने हुनसक्छ र यो क्रम अझ उत्तरआधुनिक समयमा र यस सन्दर्भका कविहरूमा अझ बढी लागू हुने देखिन्छ । अन्ततोगत्वा प्रधान भानुभक्तलाई आदिकवि मान्नै नहुने बरु उनलाई 'आदि प्रतिनिधि कवि' भन्नुपर्ने प्रस्ताव गर्दछन् । (प्रधान, 'भानुभक्त : एक समीक्षा', पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण) ।

कुरा जता टुङ्ग्याउन खोजिए पनि हाल भइरहेको विवाद नेपाली साहित्यमा एकपल्ट उठेर सेलाइसकेको विवाद हो । नेपालमा चलेको दशकीय लामो जनयुद्ध र जनआन्दोलन ताका मात्र हैन मधेस आन्दोलनमा समेत धेरै सालिकहरू भत्काइए । सालिक भत्किनेमा सहिददेखि राजा, कवि, समाजसेवी र अन्य क्षेत्रका व्यक्ति समेत परे । हाम्रो संवेदनशीलताले के सम्म देख्यो भने तिनका सालिक असुहाउँदिला र भद्दा भइदिए । नेपालको एकात्मक र विभेदकारी राज्यव्यवस्थासँग सहिद, कवि, समाजसेवी आदिका टाउका वा सालिक फोडेर बदला लिन खोजियो । जस कार्यले विभेदकारी र निरंकुश राज्यसत्तालाई भन्दा हामीलाई बढी नोक्सानी भयो । भानुभक्त र विद्यापतिका सालिक तोडिए तर उनीहरूलाई कत्ति दुखेन किनकि, उनीहरू त नदुख्‍ने भइसकेका थिए । परिवर्तनका निम्ति तातो गोलीले समेत नदुख्‍ने सहिद तिनका सालिकमा हान्दा के डगमगाउँथे ! भानुभक्तलाई 'आदिकवि' भनिनु भन्दा ज्यादा नेपाली साहित्यमा कलम चलाउनु थियो र उनले त्यसै गरे । आलोचना सहनुपर्ने डरले कलम नचलाएका भए हालको नेपाली साहित्य र मैथिलीमा कलम चलाउने विद्यापतिले पनि आफ्नो मातृभाषामा कलम नचलाएका भए हालको मैथिली भाषा साहित्य यति समृद्ध हुने थिएनन् । 

भानुभक्तले नेपालीकरण गरेर नेपालका अन्य मातृभाषालाई उपेक्षा गरे भन्ने तर्क राख्‍ने हो भने विद्यापतिले पनि मैथिलीबाहेक थारु, अवध, भोजपुरी आदि साहित्यउपर त्यस्तै अन्याय गरेको ठहरिने छ । त्यतिमात्र नभएर अन्य साहित्यकार/लेखक जसले एक भाषामा लेख्छ उसको अन्य भाषाप्रतिको दायित्व पनि खोज्नुपर्ने आवश्यकता देखिन्छ । यदि यस्तो खोजी सुरु भयो भने को कुन भाषामा कति ज्ञाता हुन्छ र उसलाई आफूले जानेको भाषामा लेख्‍ने छुट हुन्छ, हुँदैन भन्नेतर्फ ध्यान दिनैपर्छ । नेपाली भाषाका प्रखर भानुभक्तले अन्य भाषामा लेखेनन् भनेर नेपाललाई भाषिक रूपले राज्य विस्तार गर्ने 'विस्तारवादी भानुभक्त' भन्न नमिल्ला । 
'चक्रव्यूह सञ्चेतना' भन्छ : समालोचना निरन्तरगामी परियोजना हो र यसभित्र छिरेपछि ऐकिकताको नजरले कृतिलाई नहेर्ने हो भने कृति वा समस्यालाई समाधानसम्म ल्याइपुर्‍याउनु असम्भवप्रायः छ । कुनैपनि कुरालाई एकै हेराइमा यही हो भनी ठोकुवा गर्ने प्रवृत्तिमाथि धावा बोल्ने चक्रव्यूह सञ्चेतनाको सिद्धान्तमा रहेर भानुभक्तको आदिकवित्वमाथि गरिएको बहसमा टुंगोमा नपुग्नुलाई निरन्तरगामी परियोजना मान्नुपर्छ । किनकि विवादसँगै उठेका प्रश्न र तिनका उत्तर निरन्तर बहस र समालोचनाले मात्र सम्भव छन्, ध्वंसले होइन । 

सन्दर्भ सूची :
  • त्रिपाठी, वासुदेव, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ५१, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण । 
  • नेचाली, हस्त, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ६०, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण । 
  • प्रधान, शिव (सम्पादक), 'बृहत् समालोचना' गान्तोक प्रकाशन सिक्किम, २०४५ प्रथम । 
  • प्रधान, हृदयचन्द्रसिंह, 'भानुभक्त : एक समीक्षा' पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण ।
  • शर्मा, बालचन्द्र, 'भानुभक्त' पृ. १२०, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, ई. सं. २०१३, प्रथम संस्करण ।
  • हाचेकाली सुरेश र अन्य... 'चक्रव्यूह सञ्चेतना र ऐकिक पद्दतिको समालोचना...', समष्टि, वर्ष२४, अंक-५ (२०६० चैत्र-वैशाख २०६१) कृषि विकास बैंक, काठमाडौं, पृष्ठ ४६-५१ । 

      -  पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिवि कीर्तिपुर ।

खेलौना !

भवसागर घिमिरे
दूधभात सेलाउन लाग्या बेलामा, केटा'टीले जिद्दी गर्दै बिलौना गर्‍या बेलामा, हामी तिनलाई भुलाउन खेलौना देखाउने गर्छौं। कुनै अमेरिकन खेलौना, कुनै ब्रिटीस खेलौना, कुनै चाइनिज, भारतीय, जापानीज यस्तै यस्तै खेलौनाहरु देखाएपछि त केटा'टी शान्त हुन्छन्। खेलौनासँग रङ्गिदै दंग पर्छन् अनि सेलाइसक्या दुध भात पनि खप्लाक-खुप्लुक्क खान्छन्। केटा'टीलाई खेलौनासँगै खेलाउने बानी परेका हामी, आफू पनि अरुका हातले खेलाइने गरेको सायदै पत्तो पाइरहेका छौं। हामी हर पाइलामा अरुद्वारा खेलाइने गर्छौँ, हर पल दोस्रो पक्षद्वारा पेलिने र ठेलिने गर्छौँ। लाछारिन्छौं, पछारिन्छौं अनि माथि उक्लने नाममा बजारिन्छौँ पनि। यो गरिब मुलुकका अति गरिब जनता हामी साँच्चै नै अरुका खेलौना भएका छौं। कठपुतली, भाँडाकुटी यी सब हाम्रा पर्यायवाची नाम भैसकेका छन्।

हामी धेरै त नेताहरुबाट खेलिने गर्छौं। हामी बीचकै नेताहरु जसका हामी गुडिया हौं। हाम्रा काँधहरुका सिँढी बनाएर उनीहरु चढ्‍ने गर्छन् सत्तासम्म। हाम्रा आवाजहरुका शक्ति बोकेर उनीहरु कुर्लिने गर्छन् सदनमा। हाम्रा पाइलाहरु घरि धकेल्ने गर्छन् त घरि बाँध्ने गर्छन् उनै। हामी मात्र कठपुतली हौं, धकेलिने, बाँधिने, टुट्‍ने र फुट्‍ने कामका लागि बनाइएका अरुका निम्ति। घरि फलानो र ढिस्कानो पार्टी भन्दै कुर्लिन्छौँ हामी, घरि निण्र्ाायक आन्दोलन भन्दै सडक ओर्लने गर्छौँ हामी। स्वतन्त्रताका नाममा छुट्टै राज्यको माग गर्दै संघर्षमा होमिन्छौं, गोलीले भुट्टिन्छौं, कुट्टिन्छौं र छुट्टिन्छौं हामी। हामीलाई तिमीहरु सिंह हौं गर्ज भनेर फुर्काइन्छ, हामी मख्ख पर्दै सडक ओर्लेर गजक्क फुलेर गर्जने गर्छौँ। हाम्रो गर्जाइसँगै नेताहरुको गर्जो टर्ने गर्छ। पुन: तिमीहरु बिरालाहरु हौं भनेर हाम्रो कान फुकिन्छ। हामी म्याउँ म्याउँ गर्दै सडकबाट फर्कने गर्छौँ। आफ्नै अँध्यारा खोपीहरुमा। खेलौना न हौं हामी।

कानुन पनि हामीलाई मात्र लाग्छ। जसको नाम बैंकको कालो सूचिमा हुन्छ, उनै काला काला गाडीहरु चढ्‍छन्। जो चिप्ला चिप्ला कुरा गर्छन् उनैले चिल्ला चिल्ला कार चढ्‍छन्। हाम्रा काम कुरा खस्रा छन्‍, खानपिन खस्रै छ। त्यसैले हाम्रा निम्ति मात्र खस्रा कानुन बनेका छन्। कृषि विकास बैंकको सानो ऋणमा साँवाको व्याज, व्याजको स्याज र स्याजको प्याज थुप्रिदा हाम्रा घर खेत लिलाम हुन्छन्। हाम्रा साना साना अपराधहरुमा हामीलाई दण्डित गर्न अग्ला अग्ला जेलहरु बनाइएका छन्। तर ठूला ठूला अपराधीहरु, देशद्रोहीहरु, हामीमाथि गोली बर्साउनेहरु, हामीलार्इ हर दिन तर्साउनेहरुका निम्ति न कुनै जेल बनेको छ, न कुनै नेल बनेको छ। यिनका अघि मल्लिक, रायमाझी जस्ता आयोगले त घुँडा टेके भने हाम्रो के नै लाग्छ र? ती कानुनभन्दा माथि छन्। राजा हटे पनि यिनै रजौटाहरुले राज्य गर्ने छन् यो देशमा, हामीलाई खेलौना बनाएर।

यो देशै यस्तै छ। कोही यहाँ हिरो हिरोइन बन्ने नाममा नाङ्गिन्छन्। कोही यहाँ विदेशिने नाममा नाङ्गिन्छन्। कोही मूल्य वृद्धि खप्न नसकेर ढाडैसँग बाङ्गिन्छन्। सर्टिफिकेटका खातहरु जम्मा गरेर बेरोजगारीको सञ्जालसँगै झाङ्गिन्छन् यहाँ कोही। सबै खेलौना बनेका छन्, बनाइएका छन्। खेलौना पनि साइज साइजका छन्। टाइप टाइपका छन्। रङ्ग रङ्गका छन्। विभिन्न पक्षहरुबाट खेलाइने गर्छन्। विदेशी रिमोट कन्ट्रोलरबाट चल्ने खेलौनाहरु यी कहिले स्वदेशमा चटक देखाउँछन् त कहिले विदेशमा। मध्यम शिक्षित खेलौनाहरु यिनै ठूला खेलौनाहरुबाट खेलिने गर्दछन्। यिनीहरु पनि अशिक्षित खेलौनाहरुलाई प्रशिक्षित गर्न तल्लीन देखिन्छन्। मानौं यहाँ खेलौना बनेर खेलिने र खेलौना बनेर खेलाइनेहरुको ठूलो सञ्जाल बनेको छ। लहरो तान्दा पहरो गर्जिन सक्छ, पहरो गर्जिदा टहरो भत्कन सक्छ। यस्तै छ यहाँ खेलौना जिन्दगीहरु।

तपाई यी कुरा पढ्‍दा ङिच्च हाँस्न सक्नुहुन्छ। नाक खुम्च्याउँदै ओठ लेप्य्राउँन सक्नुहुन्छ। ठाडो आक्षेप भन्दै दिक्क मान्न सक्नुहुन्छ। पत्यार लागेझै गरी ठीक्क पार्न सक्नुहुन्छ। खेलौना न हौँ हामी। म यो लेख लेख्ने खेलौना। तपाई यो लेख पढ्‍ने खेलौना।

पोखरा ३, नदीपुर
हाल: त्रिवि कीर्तिपुर
sagarbhaba@gmail.com

इन्टरनेट खोज्ने कसरी ?


- दिनेश वाग्ले

बितेका वर्षमा बोलीचालीमा सबैभन्दा बढी प्रयोग गरिएकामध्ये एउटा वाक्यलाई फेरि एकपटक उल्लेख गरौं- 'यो सूचनाको युग हो ।' इन्टरनेट सूचनाको खानी हो । त्यो खानीबाट आफूलाई चाहिएको कुरा कसरी निकाल्ने ? यहीँनेर आउँछन् गुगल जस्ता सर्च इन्जिन सहयोगीका रूपमा । विश्‍वका करोडौँ इन्टरनेट प्रयोगकर्ताले इन्जिनहरूलाई इन्टरनेटको सूचना सञ्जालमा छिर्ने ढोकाका रूपमा प्रयोग गर्छन् । सबैभन्दा लोकपि्रय गुगल हो जसले सातापिच्छे आफ्नो सर्च बाकसमा सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गर्छ । नेपालसँग सम्बन्धित विषय त्यो सूचीमा विरलै पर्छन् । गत अपि्रलको एउटा साता त्यस्तै दुर्लभ मौका थियो जति बेला उक्त सूचीमा नेपाल टप टेनमा थियो । त्यति बेला ऐतिहासिक जनआन्दोलन चलिरहँदा नेपाल विश्व समाचार शीर्षकहरूमा थियो, धेरैले यसबारे जान्न चाहेका थिए । गुगलमा सोमबार साँझ नेपाल खोज्दा ९ करोड ८८ लाख नतिजा देखिए ।
जान्न चाहने कुरा धेरै हुन्छन् । भोट हाल्ने दिन आउन महिनौं बाँकी छ तर अमेरिकामा राष्ट्रपति चुनावका गर्मी सुरु भइसकेको छ । मुख्य दुई पार्टी रिपब्लिकन र डेमोक्रेटिकका केही प्रतिष्ठित सदस्यले आआफ्नो सङ्गठनबाट राष्ट्रपति उम्मेदवारी पाउने उद्देश्यसाथ आफूलाई सार्वजनिक गरिसकेका छन् । मेरो ध्यान डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारीको आशा गरिरहेका अश्‍वेत सिनेटर बाराक ओबामातिर छ र मैले उनीबारे केही जान्न खोजेँ । त्यसैले मैले सर्च बाकसमा गएर अङ्ग्रेजीमा बाराक ओबामा टाइप गरेँ। लौ, एउटा आर बढी भएछ, सही हिज्जेको बाराक आबामालाई देखाउँदै गुगलले सोधिहाल्यो- के तपाईंले यो खोज्न चाहनुभएको हो ? वाह, उनको आफ्नै वेब साइट रहेछ, बाराक ओबामा डट कम जसमा उनले अमेरिकाका लागि बाराक ओबामा भन्दै आफ्नो राष्ट्रपति-चाहनाबारे थुप्रै कुरा र ताजा सूचना राखेका रहेछन् ।
अचेल सगरमाथा आरोहणका कथा खुबै आइरहेका बेला मलाई पहिलो आरोहण अभियानबारे जान्ने चाहना भयो । त्यसैले एभरेस्ट टाइप गरें । तीन करोड नतिजा आए तर म निराश भएँ । पहिलो पेजका सुरुका १० नतिजामध्ये कुनैमा पनि मैले चाहेको कुरा पाइनँ । इन्टरनेटमा त्यसबारे सूचना नभएको होइन, बरु त्यसलाई खोज्ने मेरो तरिका गलत थियो । त्यस्तै गलत तरिका अपनाउँदा धेरै जना 'ह्‍या, यो इन्टरनेटमा पनि केही रहेनछ !' भन्दै निराश हुन्छन् । निश्चयै, सबै कुराको सम्पूर्ण सूचना इन्टरनेटमा पक्कै हुँदैन तर तरिका पुर्‍याएर खोजे धेरै पाउन सकिन्छ । आखिर मैले चाहेको कुरा पाइछाडेँ । कसरी पाएँ, त्यो बताउनुअघि खोज्ने कलाबारे केही साझेदारी गरिहालौँ।
- दिमाग लगाउने । ठ्याक्कै आफूले खोज्न चाहेको के हो, त्यो सर्च बाकसमा टाइप गर्ने । तर प्रश्‍न नगर्ने । गुगल या याहु जस्ता सर्च इन्जिनले वेब साइटमा लेखिएका कुरा नतिजाका रूपमा तपाईंसामु राखिदिने हो, आफैँ जान्ने भएर उत्तर दिने होइन । (अपवाद हुन्छन्, जस्तै- अन्नपूर्ण तीनको उचाइ कति भनेर गुगलमा प्रश्‍न गर्नुभयो भने ८ हजार ९१ मिटर भनेर फुत्त देखाइदिन्छ । नेपालको जनसङ्ख्या कति भन्दै टाइप गरे ० दशमलव १४ सेकेन्डभित्रै अमेरिकी जासुसी संस्था सीआईएले जुलाई २००७ को अनुमान भनी उल्लेख गरेको २ करोड ८९ लाख १ हजार ७ सय ९० संख्या देखाइदिन्छ ।) वेब साइटहरू यो लेखजस्तै सरर बगेको भाषामा लेखिएका हुन्छन् र सर्च इन्जिनहरूलाई त्यो बुझ्ने गरी बनाइएका हुन्छन् । तपाईं कुनै मान्छेलाई नेपालमा कतिखाले चरा पाइन्छन् भनेर सोध्नुहुन्छ भने सर्च इन्जिनमा नेपाल बर्ड टाइप गर्नुस् ।
- दुर्लभ शब्दहरू प्रयोग गर्नुस् । जति प्रचलित शब्द प्रयोग गर्‍यो, नतिजा त्यति धेरै निस्कन्छन् र टाउकोदुखाइ बढ्छ । तपाईं हिलारी क्लिन्टनको किताबबारे जान्न चाहनुहुन्छ भने र किताबको नाम थाहा छ भने सधैं लिभिङ हिस्ट्री टाइप गर्नुस्, बायोग्राफी अफ हिलारी क्लिन्टन भनेर होइन ।
- उद्धरण चिह्‍नको प्रयोग । सर्च बाकसमा लिभिङ हिस्ट्री भनेर खोज्दा गुगलले तीन खाले नतिजा देखाउँछ जसमा ती दुवै शब्द या दुईमध्ये एक भएका हुन सक्छन् जसले तपाईंलाई चाहेको किताबबारेको पेजमा नपुर्‍याउन सक्छ । त्यसैले ती दुई शब्दलाई दोहोरो उद्धरणमा राख्‍नुस् । जस्तो- "लिभिङ हिस्ट्री" ।
- जोड चिह्‍नको प्रयोग । लिभिङ हिस्ट्री भन्ने कुनै संग्रहालयको नाम पनि हुन सक्छ या अर्कै लेखकको पुस्तक । तर तपाईंलाई चाहिएको छ, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्‍नि तथा अमेरिकी सिनेटर हिलारी क्लिन्टनको किताब । त्यसैले "लिभिङ हिस्ट्री" लगत्तै जोड चिह्‍न दिनुस् र हिलारी क्लिन्टन टाइप गर्नुस् । अब आउने नतिजामा ठ्याक्कै ती प्रभावशाली महिलाकै किताबबारेका नतिजा आउँछन् ।
- घटाउ चिह्‍नको प्रयोग । तपाईं विराटनगरका एक जना कुनै कोइरालाबारे जान्न चाहिरहनुभएको छ तर प्रत्येक खोज-नतिजामा गिरिजाप्रसाद कोइरालाका विवरण देख्दा वाक्क हुनुभएको छ भने यसरी टाइप गर्नुस्- "कोइराला अफ विराटनगर" (घटाउ चिह्‍न) गिरिजा ।
- शुद्ध हिज्जे । इन्टरनेटमा सबैभन्दा प्रयोग गरिने सर्च इन्जिन गुगलले हिज्जे नमिले सच्याएर प्रश्‍न गर्छ (बाराक ओबामाबारेको मेरो खोजी एउटा उदाहरण हो) तर राम्रो चाहिँ सुरुमै सही हिज्जे प्रयोग गर्नु हो ।
- नचाहिने शब्द नराख्‍ने। इन्टरनेट सर्च इन्जिनले अफ, एन्ड, वेब जस्ता शब्दलाई खोजीमा समावेश गर्दैनन् । त्यसैले कोइराला अफ विराटनगरको साटो कोइराला विराटनगर मात्रै गर्दा हुन्छ ।अब मेरो पहिलो सगरमाथा आरोहण अभियानबारेको खोजीतिर लागौँ। मैले ठ्याक्कै त्यही कुरा टाइप गरेँ- "फस्ट माउन्ड एभरेस्ट एक्सपिडिसन" । केही आशावादी भएँ किनकि त्यहाँ डाक्टर अलेक्जेन्डर एम केल्लासको एउटा पृष्ठ मिल्यो जसमा तिब्बतले सन् १९२१ मा एउटा ब्रिटिस दललाई सगरमाथा जाने अनुमति दिएको उल्लेख छ ।

***

Status of agriculture in Nepal

Rebati Ram Poudel (Chetan)

Nepal is an agro-based country whose 70% citizen still relies on the agriculture as the major source of income. Even though majority of the citizens have occupation as farmer, many of them don't even possess their own land i.e. needless to say they are landless. Agriculture is that factor field which is most responsible for economic growth in our country. Till 2006 agriculture itself held 39.5% of the total economy while looking into the indicator of G.D.P. This means still now agricultural sector covers more than one third of the total national economy. If only we could concentrate upon the new approaches for systematic and scientific agricultural system then our national economy growth would reach a greater height. This would ultimately solve the poor economic condition of our citizens and later prosperity would prevail.

There has always been much neglect regarding the agricultural sector for ages. Realization of better country's economy with prosperous agricultural sector is there but unwillingness to act upon it is a problem. Farmers of more than 60% of the fertile land have unheard the irrigation facility yet and still depend upon rain water for cultivation. Lack of proper education or training, farmers apply same old fashioned way of farming that yields less than that with new techniques. Some where fertilizers are used in excess manner whereas some where they are insufficient. Management of the harvested crop has been one of the prominent problems for the farmers. If there be no market there would be no sell which ultimately leads to no economic gain. Orchards of Humla and Jumla are inaccessible for the people of Kathmandu due to no proper transportation facility resulting to rotting of those products. Some farmers don't have lands for their own to cultivate whereas some have unlimited lands that are left barren. Thus, there happens to be many problems in the agricultural sector that had to be addressed by the government.


Budget for fiscal year 2063/64 was announced last year. It was expected that this budget would make every citizens of Nepal believe that they are really in different and new stage than before. New and prosperous life would be entertained by people of new Nepal; addressing would be done by the new government especially for deprived groups, regions or sectors, but the dream went wrong. Neither was there any provision for revolution in land services nor was there any new approach for betterment of the sector and people. Only indirectly affecting factors had been introduced that would just touch the hair of agriculture. This act have really outspoken a bitter truth that the country had never been serious towards this sector before and would never be better in future if the budget follows the same trend. Thus, it does suffice to say that the budget has totally excluded agricultural sector for this year.

Why has this unfair act been seen or felt by the majority of the citizens? Answer lies within the concept of globalization and liberalization which has been tried to be introduced in our country as well. But with the fact that the country has many poor people than rich, globalization in the present context would be lethal for our country; this would only make our economic condition more and more worse by making greater and greater barrier between rich and poor which might burst like it did in people's war for 12 years. Until and unless majority of the citizens become capable of having access to each and every basic facilities, striking the right or core point i.e. revolution in agricultural system has to be considered seriously. Then only our country will have greater breakthrough in economic growth and who knows it might reclaim its pride of once being one of the prosperous countries in the world.


Hence, budget has to be reconsidered and a reform in agriculture and better provisions has to substitute other vague and less important sectors.

अनुसन्धान किन नगर्ने ?

भास्कर गौतम

करिब २१ वर्षको उमेरमा पहिलो पल्ट मैले 'अनुसन्धान' प्राज्ञिक कामको आधारभूत कर्म रहेछ भनी बुझ्ने अवसर पाएको हुँ । योभन्दा पहिले प्राज्ञिक क्षेत्रमा गरिने शोध मेरो लागि एउटा काल्पनिक भ्रम थियो । मेरो काल्पनिकीमा अनुसन्धान एउटा जासुसी (डिटेक्टिभ) कार्यको रुपमा थियो । तथ्य खोज्ने, विश्लेषण गर्ने र कुनै निष्कर्षमा पुग्ने । यसले कसरी ज्ञान उत्पादनलाई सघाउँछ मैले बुझेको थिइन ।
अनुसन्धानमा लाग्दै गएको केही वर्षपछि मात्र अध्येता हुनुको बहुआयामिक अर्थ मैले बुझ्न थालेको हुँ । तथापि ममा अन्तर्निहित लेख्नेपढ्‍ने कर्मले यस पेशाको आकर्षणलाई व्यापक बनाउँदै लान सघाएको हो । साथै कुरा खोतल्ने रुचीसँगै मेरो अन्तरमा कतै 'त्रिmटिकल नागरिक' बन्ने ठूलो अभिलाषा थियो । विभिन्न पुस्तक पढ्‍दै र काम गर्दै जाँदा मैले बेलैमा ठम्याएँ, अन्य विधाभन्दा व्यवस्थित रुपमा समाज बुझ्ने र समाजिक कुरीतिमाथि तीक्ष्ण दृष्टिकोण निर्माण गर्ने गहकिलो आधार सामजविज्ञानले नै दिन्छ । व्यवहारिक रुपमा यो सबै कुरा निकै छिटो आत्मसात गर्न मलाई निर्वाध रुपमा मार्टिन चौतारीमा उपलब्ध काम गर्ने वातावरण र त्यहाँ हुने चौतर्फी गतिविधिले प्रदान गरेकोमा कुनै शंका छैन । यही कारण पनि प्रारम्भिक वर्षहरुमा मार्टिन चौतारी मेरो लागि नयाँ कुराहरु सिक्ने उत्कृष्ट विद्यालय सावित भएको थियो ।
नेपालमा अनुसन्धानलाई उच्च तहको प्राज्ञिक, मूलत: अङ्‍ग्रेजीमा पहुँच हुनेले मात्र गर्नसक्ने विशिष्ट पेसाको रुपमा स्थापित गर्न खोजिएको छ । मलाई लाग्छ यो सत्यको एउटा झिनो पाटो हो । प्रत्येक मानिसको नैसर्गिक स्वाभावमा शोध गर्ने ठूलो हिस्सा अन्तर्निहित हुन्छ । त्यसैले शोधकार्य प्राकृतिक मानवीय स्वाभाव हो । यसलाई थोरैले मात्र व्यवस्थित ज्ञान उत्पादन गर्ने कर्ममा होम्छन् । धेरैले विभिन्न किसिमबाट यसको आंशिक र खण्डित प्रयोग गर्छन् । अझ नेपाली समाजमा शिक्षाको जग र अभ्यास निकै फितलो भएको कारण प्राज्ञिक र अर्ध-प्राज्ञिक क्षेत्रमा अनुसन्धानले नयाँ विचार निर्माणको आधार भएको थोरै मात्र उदाहरण छ । यसैको फाइदा उठाएर केही सीमित पढेलेखेकाहरु अनुसन्धानलाई निकै विशिष्ट र शुद्ध प्राज्ञिक पेसाको रुपमा स्थापित गर्न प्रयासरत् देखिन्छन्। तथापि अनुसन्धान त्यति साँघुरो दायार भएको क्षेत्र होइन ।
उदाहरणको लागि, कुनै युवा-समूहले एक कप चिया खाएर यसो गफसफ गर्नको लागि अधिकांश अवस्थामा टोलको वा सहरको गल्लीगल्ली चहार्छन् र सुरक्षित एवं स्वादिलो चिया पिउने निश्चित ठाउँ पहिल्याउँछन् । अथवा अधिकांश युवा आफ्नो प्रेमीसँग भेट्‍नु पर्‍यो भने सहरका धेरै स्थान चाहारेपछि मात्र सुरक्षित र उपयुक्त केही स्थान फेला पार्छन् । वा भनौ एउटा टि सर्ट या पेन्ट किन्नु पूर्व काठमाडौंमा भएजति पसल अधिकांश युवाले भ्याइसकेका हुन्छन् । यसरी मिहिनेत गरेर ठम्याएको चिया पसल, प्रियलाई भेट्‍ने ठाउँ वा कुनै सामानको खरिद पूर्वको शोधखोज गर्ने स्वभाविक कार्य नै अनुसन्धान गर्ने प्रारम्भिक र प्राकृतिक स्वभाव हो । यही कार्य लेखपढको संसारमा आइपुग्दा ज्ञानको व्यवस्थित बुझाइ हुनजान्छ । ज्ञानलाई व्यवस्थित रुपमा बुझ्ने यस्तो चरणसँगै स्वभाविक रुपमा ज्ञानको तर्किक प्रस्तुति वा उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्मी लाग्छन् ।
यसैले ग्राहकले मनपरेको टि सर्ट खोजे जस्तै अनुसन्धानले धेरै शोधको माग गर्छ, धेरै पसलहरु जस्तै धेरै किसिमको पुस्तकालय माग गर्छ, विभिन्न बजार वा गल्लीहरु चाहारेर समयको लगानी गरे जस्तै विविध विषयलाई गहिरिएर बुझ्ने धैर्यता र सिपको माग गर्छ, तथा बजार र त्यहाँको भौतिक पूर्वाधार जस्तै 'फिल्ड' र ज्ञानको भौतिक पूर्वाधार माग गर्छ । अर्थात् तथ्यको संकलन, अध्ययन र विश्लेषणात्मक प्रस्तुति नै अनुसन्धान हो । वा भनौं बुझ्ने प्रकृयासँग गाँसिएको तथ्यगत आधार, विश्लेषणको लागि आवश्यक कल्पनाशीलता एवं व्यापक अध्ययन, र बुझाउनको लागि चाहिने लेख्ने सिप अनुसन्धानका अभिन्न हिस्सा हुन् ।
यद्यपि कमजोर शैक्षिक अवस्था र पूर्वाधारको कारण नेपालमा अनुसन्धानको संस्कार उति बलियो छैन । त्यसैले अनुसन्धानको क्षेत्रमा लागेका युवासँग नयाँनयाँ अवसर मात्र होइन, चुनौतीहरु पनि धेरै छन् । सामाजविज्ञानको आधार बलियो नभएकै कारण अहिले पनि धेरै विषयमा कसैले विचारै नपुर्‍याएको अवस्था छ नेपालमा । यही कारण कुनै विषयमा आफू पहिलो अनुसन्धाता हुने सम्भावना जति छ उति नै चुनौती त्यो विषयलाई नेपाली सन्दर्भमा व्यवस्थित रुपमा बुझ्ने पनि छ । त्यसैले चुनौतीमा रमाउने युवाको लागि यो निकै आकर्षणको क्षेत्र हो, जहाँ अवसरै अवसर छ, सम्भावना नै सम्भावना छ ।
समाजमा विद्यमान यो अवसरलाई युवाले नसमात्नु भनेको नेपाली समाज बुझ्ने सौभाग्य गुमाउनु मात्र होइन, एउटा क्रिटिकल नागरिक बन्ने मौका समेत गुमाउनु हो । त्यस्तो क्रिटिकल नागरिक जसको संख्या न्यून हुनु भनेको नै लोकतान्त्रिक समाज निर्माणको सम्भावनालाई टाढा धकेल्नु हो । यही कारण लोकतान्त्रिक समाज र सार्वभौम राष्ट्र निर्माणको आकांक्षा राख्ने युवाले अनुसन्धाता हुने मौकालाई चुक्न दिँदैनन् ।
साभारः Y!magazine जुन २००७ अंक ९

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes