सम्बोधनको लैङ्गिक पाटो


                                                                                                                                         रश्मि शीला

अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका महिलाको जीवनशैली र भूमिकामा आएको परिवर्तन नेपाली समाजमा भइरहेको परिवर्तन मापन गर्ने एउटा आधार हुन सक्छ । शहरी परिवेशको कुरा गर्ने हो भने अहिले धेरै महिला दिदी बहिनीहरुले पुरुषको अगाडि घुम्टो ओढ्नु पर्दैन । घरभित्र र घरबाहिर दुबैतिर काम भ्याउने चुनौती कायम भएपनि अहिले उनीहरु घरको काममा मात्र सीमित छैनन् । उनीहरुको परम्परागत भूमिका क्रमशः फेरिँदैछ । कलेज पढ्ने केटाकेटीहरुलाई हेर्दा पनि थाहा पाउन सकिन्छ, नयाँ पुस्ता थुप्रै कुरामा स्वतन्त्र र उदार छ । एउटा उदाहरण, थुप्रै केटाकेटीहरु अहिले एकअर्कालाई समान रुपमा ‘तँ’ भनेर सम्बोधन गर्छन् । केही समय अगाडिका पुस्ताका धेरैका लागि यो अकल्पनीय कुरा थियो । नेपाली समाजमा केटा र केटीबीचको सम्बन्ध अनौपचारिक बन्दै गएको उदाहरण हो ‘तँ’ सम्बोधन ।

म त्रिभुवन विश्वविद्यालयमा पढ्दा मेरा पनि केही मिल्ने केटा र केटी (जोडी) साथीहरु थिए जो एकअर्कालाई तँ भनी सम्बोधन गर्दथे । अध्ययनलगायत सामाजिक सरोकारका विषयमा समेत चासो राख्ने तीमध्ये केही साथीहरु मलाई समाज परिवर्तनका संवाहक जस्ता पनि लाग्दथे । केही समयपछि तीमध्ये केही जोडीको विवाह पनि भयो । उनीहरुसँग पछि भेट हुँदा थाहा पाएँ, केटाले केटीलाई तँ नै भने पनि केटीले केटालाई गर्ने सम्बोधन फेरिएछ । कसैले तपाईं त कसैले हजूर नै भन्न थालेछन् । पहिला तँ भनिरहेको मान्छेलाई पछि तपाईं वा हजूर भन्नुलाई उनीहरु स्वयंले सामान्य रुपमा लिएको देख्दा मलाई अचम्म लाग्यो ।

यसबारे घोत्लिँदै जाँदा ‘तँ’, ‘तिमी’, ‘तपाईं’ वा ‘हजूर’ सम्बोधनको चुरो बुझ्न त लैङ्गिक र वर्गीय पाटोबाट हेर्नै पर्ने रहेछ । धेरै श्रीमान्हरुले ‘तँ’ वा ‘तिमी’ भनेपनि श्रीमतीले ‘तपाईं’ वा ‘हजूर’ भनेको हामी धेरैले सुनिरहेकै छौँ । सामान्यतः विवाह गर्दा महिलाभन्दा पुरुष ठूलो उमेरको हुने भएकोले यस्तो असमानतालाई स्वाभाविक रुपमा लिइएको पाइन्छ । तर श्रीमतीको उमेर श्रीमान्कोभन्दा बढी नै भएपनि श्रीमान्ले श्रीमतीलाई तपाईं वा हजूर किन भन्दैनन् त ? सम्बोधनार्थी शब्द नै समानताको आधार मान्न नसकिएला तर यो विभेदको स्रोत चाहिँ अवश्य हो । पुरुष श्रेष्ठ र महिला कनिष्ठ हुने परम्पराले सम्बोधनमा पनि निरन्तरता पाएको प्रष्ट छ । अन्य अवस्थामा जस्तै यसमा पनि ठूलो सम्झौता केटीले नै गर्छन् । केटालाई विवाहअघि गर्दै आएको सम्बोधन ‘तँ’ वा ‘तिमी’ विवाहपछि ‘तपाईं’ वा ‘हजूर’मा फेर्नु पर्छ भनेर मनोवैज्ञानिक रुपमा केटीहरु सायद धेरै अघि देखि तयार हुन्छन् (सायद पारिन्छन्) ।

महिलाका लागि अहिलेको समाज तुलनात्मक रुपमा उदार छ भन्ने कुरामा दुईमत नहोला । तर कस्तो समानता, विवाह पूर्वको मात्र कि पछिको पनि ? महिलाले अभ्यास गर्ने स्वतन्त्रका सीमाहरु थोरै फराकिलो मात्र भएको छ, तोडिएको छैन । विवाहपूर्वको समानता विवाहपश्चात् स्वतः संकुचित हुन्छ । अहिले आधुनिक भनिएको समाजमा समेत महिलाको भूमिका पुरुषको सहयात्री भन्दा सहायक वा सेवककै रुपमा सीमित छ । हाम्रो समाजमा अझै कन्यादान गर्ने चलन छ जहाँ विवाहित चेलीले पुरुषको खुट्टा ढोगी ‘अब म तपाईंको शरणमा परेँ, मेरो रक्षा गर है’ भन्ने भाव जाहेर गर्नु पर्छ । यसरी महिलाको वैवाहिक जीवनको शुरुवात नै समानताबाट नभइ असमानताबाट हुन्छ । पुरुषले संरक्षकको दर्जा पाउँछ भने महिलाले सधैं पुरुषले कोरिदिएको घेरोमा बस्नुपर्ने हुन्छ । मलाई लाग्छ यो लैङ्गिक अध्ययन गर्नेहरुका लागि पनि महत्वपूर्ण विषय हो ।  सायद यसबाट विवाह अघि र पछि महिला–पुरुष दुबैको भूमिका र दृष्टिकोणमा आउने परिवर्तनको झल्को दिन्छ ।

भनिन्छ, नेपाली युवाहरुमाझ आधुनिकता र परम्परागत दुबै भूमिका निर्वाह गर्नु पर्ने ठूलो चुनौती छ । विवाहपूर्वका ‘आधुनिक’ महिलाहरु विवाहपछि भने परम्परागत भूमिकामा मात्र सीमित भएका थुप्रै उदाहरण हामी देख्न सक्छौँ । त्यसैले समान जस्तो देखिए पनि थुप्रै अवस्थामा स्वतन्त्रता ‘सर्फेसियल’ छ । उनीहरु अभैm पितृसत्तात्मक समाजको जन्जालबाट उम्कने वातावरण बनिसकेको छैन । केही अपवाद बाहेक, न उनीहरुको घरेलु कामको बोझ घटेको छ न त सामाजिक–राजनीतिक निर्णयमा पहुँच बढेको छ । सायद यही कारण शिक्षित, आधुनिक र आफूलाई चेतनशील ठान्ने महिलाहरुले पनि कुनै समय आपैmले तँ वा तिमी भनेको जीवनसाथी(पूर्व साथी)लाई तपाईं वा हजूर भन्दा पनि असहज र हीनताबोध महसुस नगरेका होलान् । लैङ्गिक अध्ययनको पाटोबाट हेर्दा यो निकै संवेदनशील र महत्वपूर्ण विषय हो कि ! आखिर विवाहपूर्व तँ वा तिमी भन्दै आएको मान्छे कसरी त्यही व्यक्तिलाई तपाईं अथवा हजूर भन्न बाध्य हुन्छ वा सहर्ष राजी हुन्छ भन्ने कुरा खोतल्न सक्नुपर्छ । यसले विवाह अघि र पछि महिला–पुरुष दुबैको हैसियत, भूमिका र दृष्टिकोणमा आउने परिवर्तनबारे थप कुरा बुझ्न पक्कै सघाउँछ ।

सञ्चारमाध्यममा गीत छनोटको अस्वस्थ प्रतिस्पर्धा


                                                                                                                             -  प्रभाकर गौतम

एफएमररेडियो धेरैका लागि गीत–संगीत सुन्ने प्रमुख साधन हो । आधुनिक संगीतको विकास र विस्तारमा रेडियो नेपालले र पप तथा अत्याधुनिक संगीतको विकासमा एफएमले खेलेको भूमिका सराहनीय छ । नेपालमा हाल तीन सय पचासको हाराहारीमा एफएम खुलेकामा काठमाडौं उपत्यकामा मात्र यसको संख्या तीन दर्जन पुगिसक्यो । सबैजसो एफएममा नेपाली गीत–संगीतले ठूलो हिस्सा ओगटेको छ । यसले ठूलो समूहलाई मनोरञ्जन प्रदान गर्दै नेपाली कला तथा संगीत क्षेत्रकै प्रवद्र्धनमा पनि सघाएको छ । रेडियोमा गीत आफैं बज्दैन, बजाउने मान्छे चाहिन्छ । आधुनिक, पप, लोक, शास्त्रीय आदि सबै विधाका सिर्जनालाई श्रोतासम्म पुर्याउने काममा रेडियो कार्यक्रम प्रस्तोताको निर्णायक भूमिका हुन्छ । कुन कार्यक्रममा कुन गीत बजाउने भन्ने छनोट प्रायस् प्रस्तोताले नै गर्छन् । उनीहरूले एकातर्फ कलाकारका सिर्जनालाई श्रोतामाझ पुर्याउँछन् र अर्कोतर्फ तिनको प्रचारप्रसार पनि गरिरहेका हुन्छन् । तर, गीत छनोट गर्ने सबै प्रस्तोता ‘सांगीतिक चेत’ भएका हुन्छन् भन्ने छैन ।


कुनै पनि गीतको चर्चाका पछाडि एफएमररेडियो र कार्यक्रम सञ्चालकको प्रत्यक्ष–परोक्ष हात रहेको हुन्छ । एफएफमा छिट्टै लोकप्रिय हुने गीतले नै बढी स्थान पाउँछ र धेरै गीत एफएममा प्रसारण हुँदैनन् । म्युजिक भिडियो नबनेका गीतहरू प्रसारण हुने सम्भावना झिनो छ । यसले सम्बन्धित कलाकारको बजार विस्तारमा सहयोग त गर्ला तर एउटै गीत दोहोरिइरहने र धेरै गीतले ठाउँ नपाउने अवस्था छ । गीत छनोट र प्रसारणमा देखिएको यो समस्या र जटिलताका कारण थुप्रै राम्रा सिर्जना र तिनका कलाकार ओझेलमा परेका छन् । प्रसारणको अवसर पाएका गीतहरूबाट पनि सबै कलाकारले फाइदा उठाउन सक्ने वातावरण छैन । हामीले सुन्ने गीतहरूमा गायक, संगीतकार, गीतकारलगायत वाद्यवादन संयोजकहरूको सामूहिक भूमिका हुन्छ ।

सबै पक्षको विशेष योगदानविना राम्रो र स्तरीय गीत सिर्जना हुनै सक्दैन । विडम्बना, गायकबाहेक अन्य कलाकार प्रायस् ओझेलमा पर्छन् । कुनै गायक एउटै गीतबाट पनि रातारात लोकप्रिय हुन सक्छ तर संगीतकार र गीतकारलाई आफ्नो पहिचान बनाउन लामो समय लाग्छ । अझ संगीत संयोजक तथा अन्य वाद्यवादक त विरलै चिनिन्छन् । त्यसैले सार्वजनिक पहिचान बनाउन गायकको तुलनामा संगीतकार, गीतकार तथा अन्य कलाकारलाई मिडियाको विशेष साथ चाहिन्छ । तर हालसम्म एफएफमा गीत प्रसारण हुँदा ‘फलानो गायकको गीत’ भनेर गीतकार र संगीतकारको नामै नभन्ने प्रवृत्ति हाबी छ । ‘मेरा अधिकांश गीत बज्दा गीतकारका रूपमा मेरो नाम उल्लेख नहुने भएकाले साथीहरूले मेरो गीत सुनेका छन् तर त्यसको गीतकार म हुँ भन्ने धेरैलाई थाहा छैन’ रमण घिमिरेको भोगाइ हो यो । यहाँनेर, एउटा गीत तयार पार्दा धेरै जनाको मिहिनेत र सीप परेको हुन्छ भन्ने आधारभूत कुरालाई बेवास्ता गरेको पाइन्छ ।

कतिपय कार्यक्रम सञ्चालकहरू स्वयं गीत लेख्छन् र पनि आफूले सञ्चालन गर्ने कार्यक्रममा गीतकारको नाम उल्लेख गर्दैनन् । यसमा एफएम सञ्चालकहरूको नीति र प्रस्तोताहरूको हेलचेक्रयाइँ दुवै समस्या बनेको छ । एफएममा, कुनै गीतमा संलग्न सम्पूर्ण कलाकारको नाम भन्न पक्कै सम्भव नहोला । यद्यपि प्रत्येक गीत बज्नु अघि वा बजिसकेपछि कम्तिमा गायक, संगीतकार र गीतकारको नाम उच्चारण गर्ने हो भने थुप्रै स्रष्टाप्रति न्याय हुने थियो । पाइरेसी र कपी गर्न मिल्ने प्रविधिको विकासले पनि स्रष्टाहरू थप मारमा परेका छन् । अहिलेको संगीत बजारमा गीत बिक्रीमा मन्दी छाएको छ । केही समयअघिसम्म राहत पुर्याएको कल रिङ ब्याक टोन ९सिआरबिटी० को बजारसमेत घटेर अहिले कलाकारको आयस्रोत स्टेज कार्यक्रममा सीमित भएको छ ।
शास्त्रीय संगीतमा लागेका केही व्यक्ति तथा समूहको माग भए पनि स्टेज कार्यक्रममा गीतकारले स्थान पाउने कुरा भएन । यसबाट फाइदा उठाउने भनेको गायकले मात्रै हो । गायकले स्टेजमा गाउने गीतहरूबाट गीतकार र संगीतकारलाई प्रत्यक्ष लाभ हुँदैन । संगीत बजार उँभो लागे पनि, उँधो लागे पनि गीतकारका लागि आर्थिक रूपमा अवसर थोरै छ । अहिले चलेको ‘प्याकेज डिलिङ’ले चलेका संगीतकारलाई दाम कमाउने ढोकासमेत खुलेको छ । तर, संगीतकारले पनि गायकले भैँm एउटै गीतबाट पटकपटक आम्दानी गर्न सक्दैनन् । त्यसो त, गायककै हकमा पनि चर्चा कमाउन सफल केही सीमित गायकले मात्र हो अर्थ आर्जन गर्ने । पछिल्लो समयमा गीतकार तथा संगीतकारले पनि लगानी गरेर एकल एल्बम निकाल्ने क्रम बढेको छ ।

धेरै गीतकारमा आर्थिक मुनाफाको अपेक्षाभन्दा परिचय र आत्मसन्तुष्टि प्राथमिकतामा पर्छ । तर अहिलेको संगीत प्रसारणको अभ्यासले हेर्दा यही मौकाबाट सर्जकहरू वञ्चित भइरहेका छन् । सीमित एफएमले उपलब्ध गराउने सलामी ९रोयल्टी० ले निकट भविष्यमै स्रष्टाहरूलाई आर्थिक टेवा पुर्याउने अपेक्षा राख्ने ठाउँ छैन । उदाहरणका लागि अहिले कान्तिपुर एफएमले प्रत्येक गीतबापत १० रुपियाँँ ९गायक, संगीतकार र गीतकारलाई करिब तीन रुपियाँँ ३३ पैसा० सलामी दिने गरेको छ । गीत बजाउँदा नाम छुटाइए पनि क्युसिटमै भए पनि कान्तिपुर एफएममा कुन स्रष्टाको गीत कति पटक बज्यो भन्ने रेकर्ड मेन्टेन गर्नुपर्ने बाध्यता छ । सहजताका लागि दामासाहीमै सही, यो अभ्यासले एउटा सांगीतिक उत्पादनमा सबै सर्जकको समान योगदान देख्ने प्रवृत्ति बसाउने काम गरेको छ । तर, प्रविधिको सहज उपलब्धताका कारण धेरै एफएममा क्यासेट तथा सिडी किनेरभन्दा पनि इन्टरनेट तथा पेनड्राइभबाट गीत संकलन गरेर प्रसारण गर्ने अभ्यास व्यापक छ । आखिर सबैलाई थाहा छ, संगीत नभएको भए धेरै एफएमको जीवनलीला समाप्त भइसक्थ्यो । संगीत बजाएकै भरमा समय व्यवस्थापन गर्न पनि मिल्ने, अन्य कार्यक्रम थोरै भए पनि हुने र एफएमहरूको अस्तित्व पनि रहिरहने भएपछि सांगीतिक सर्जकहरूमाथि यति धेरै उपेक्षा किन र ?

संस्मरणमा फिल्म हेराइ

 प्रभाकर गौतम
               
                                                                                                   

फिल्म हेराइका मेरा थुप्रै सम्झनाहरु छन् जुन आजको आँखाबाट हेर्दा रोचक लागिरहेछ । यस संस्मरणमा मैले अपरिक्व उमेरमा व्यावसायिक फिल्म हेर्दाका अनुभवको मात्र चर्चा गरेको छु ।

मेरो जीवनमा चलचित्रका दृश्यहरुलाई जसरी देखाइन्छ उसरी नै ग्रहण गर्ने र सबै कुरा सत्य भएको भान हुने समय पनि थियो भनेर आज पत्याउन गाह्रो लागिरहेछ । तर यो सत्य हो । सायद मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट सबै गुज्रन्छन् होला । म पनि गुज्रिएँ, र नै धेरै पटक कलाकारसँगै रोइयो÷हाँसियो ।
फिल्मप्रति विचित्रको आकर्षण हुन्छ धेरै मान्छेमा । ममा पनि थियो र अद्यापि छ । पहिलो चोटि कैले र कुन फिल्म हेरेँ सम्झन सकिरहेको छुइनँ । नेपालमा टेलिभिजन आगमन हुनुभन्दा केही वर्ष अघि जन्मेकोले अनुमान चाहिँ गर्न सक्छु, मैले पहिलो पटक कुनै हिन्दी फिल्म नै हेरेँ र त्यो पनि सिनेमा हलमा गएर । स्याटेलाइट/डिस टिभीको आगमनपूर्व फिल्म हेर्नका लागि कि सिनेमा हल नै पुग्नु पथ्र्यो कि त भाडामा डेक ल्याएर हेर्नुपथ्र्यो ।

मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरु थिए । सबै सिनेमा घरमा हिन्दी फिल्म बढी चल्थे । त्यसबेलाको फिल्मको प्रचार–प्रसार शैलीले मलाई निकै तान्थ्यो । फिल्म परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा फिल्मको पोष्टर टाँसेर दुई÷चार जनाको समूह माइकिङ गर्दै हिड्थ्यो । नयाँ फिल्म लाग्दा होस् वा कुनै फिल्मले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी यो अवसर छुटाउँदिन थिएँ । तर त्यसबेला फिल्मको पोष्टर हेर्नु जति सजिलो कहाँ थियो र फिल्म हेर्न ? त्यो आप्नो बसको कुरा थिएन ।

तैपनि फिल्म हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरु फिल्म हेर्न जाँदा अक्सर मलाई साथी लैजानु हुन्थ्यो । फिल्म हेर्न पाउनु नै ठूलो कुरा भएपनि मलाई मारधाडवाला फिल्म मात्र जच्थ्यो । कुनै फिल्ममा फाइट आएन भने निकै बोर लाग्थ्यो । यस्तै एउटा फिल्म थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो फिल्म हेर्दा म हलमै निदाएको थिएँ । कारण प्रष्ट छ, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने पनि मेरो गजबको काइदा थियो । ‘औलाद’ भन्ने फिल्ममा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसैलाई तीनओटा फाइट सम्झेको थिएँ । सम्झिल्याउँदा आज पनि हाँस्छु म ।

फिल्म हेराइका तीता मीठा अनगिन्ती सम्झनाहरु मन प्लस मस्तिष्कमा टाँसिएर बसेका छन् । चाहे त्यो फिल्म हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्दा दलदलमा फसेको होस् चाहे बोर्डरपारीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिडेको । अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला ती दिनहरुको सम्झनाले पीडा दिँदैन बरु रोमाञ्चित पार्छ ।

फिल्म हेर्ने गजबका दिन चाहिँ किशोरावस्थामा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरुको अनुमति बिना पनि स्कूल वा टोलछिमेकका साथीहरुसँग फिल्म हेर्ने मौका जुराउने जुक्तिहरु आपैm निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, फिल्म हेर्ने अवसर जुराउन गाह्रो हुन्थेन । घरका सदस्यहरुको गाली र चुटाइ खाए पनि फिल्म हेर्ने तिर्सना घटेन, बढिरह्यो । समय जति–जति बित्यो फिल्म हेर्ने विकल्पहरु थपिँदै गए ।

त्यो बेला मिथुन र धर्मेन्द्रका एक्सन प्रधान फिल्महरु हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै फिल्मका एक्शन टिप्सहरुको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा हाम फालेर होस् चाहे घरको बार्दलीबाट भुइमा फाल हानेर, रील लाइफका हिरोहरु भैm रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा पाटो थियो ।

पछि, फिल्मकोे तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही फिल्मपे्रमीहरु नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने फिल्म हेर्न सकेसम्म छुटाउँदैन थिए । म पनि यसमा समावेश हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी फिल्म हेरिभ्याएँ ।

फिल्म हेराइको अर्को चरण विशेष छ । २०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल बनेपछि फिल्म हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाईहरु काम गर्ने त्यो हल ‘आप्mनै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन चार वर्ष त्यस हलमा लागेका फिल्महरु विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका फिल्मको मन परेका दृश्यहरु मात्र हेर्न पाउने समेतको पहुँच भयो । यसपछि त मन नपरेका फिल्महरु समेत धेरै पटक दोहो¥याएर हेर्न थालियो । घरमा भन्दा बढी हलमा बास हुने दिन पनि आए ।
यसले व्यवसायिक हिन्दी फिल्मका लगभग सबैजसो फर्मूला त थाहा भयो तर हाम्रो चोकको त्यो नयाँ सिनेमा घरले मेरो पढाइ चाहिँ धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्रगतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।

एउटा लामो कालक्रमपछि आज मेरो लागि फिल्म, हिजो जस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवन र जगत बुभ्mन सघाउने दृश्य साहित्य भएको छ । अझ, व्यक्ति वा समाजका विविध पाटोको बारेमा बुझन सघाउने माध्यम पनि बनेको छ । सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा फिल्मको उपयोगिताबारे धेरैले बोलिसकेका/लेखिसकेका छन् । तथापि, गम्भीर फिल्म हेर्दाका अनुभव तथा अनुभूतिबारे अर्को सन्दर्भमा लेख्ने अपेक्षाका साथ यो प्रसङ्ग यत्ति नै ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes