![]() |
| - असीम सागर |
पहिले
म जस्तै थियो
ऐनामा टाँस्सिएको मेरो अनुहार
अहिले
म जस्तो छैन
ऐनामा टाँस्सिएको मेरो अनुहार ।
एकाएक खसेर भुइँमा आफैं
आफू जस्तै फुटाइदिएको छ
फुटेको ऐनाले मेरो अनुहार ।
साँच्चै
कुनै ठूलो भुइँचालो आउनु पर्दैन ऐना खस्नलाई
कुनै चट्टानमा बज्रिनु पर्दैन ऐना फुट्नलाई
बिचरा ऐना न हो
खस्यो कि प्याट्ट फुट्छ
तर देखाउन छाड्दैन रिसले कसैको अनुहार
आफ्नो आयतनभित्र ।
त्यही ऐनाको आयतनमा राखेर आफूलाई सधैं
म जस्तै मान्छेले दाह्री काट्छ
मैले जस्तै मान्छेले जुँगा मिलाउँछ
कपाल कोर्छ, क्रिम घस्छ
सायद उसलाई विश्वास थिएछ
ऐनाले ढाँट्दैन ।
त्यहि ऐनामा आफ्नो अनुहार हेर्न
हरेक साँझ जून उदाउँछ
हरेक बिहान सूर्य उदाउँछ
र मेरो बुकुरो घरको उध्रिएको छाना र भित्ताको प्वालबाट छिरेको
एक खित्का जून
ऐना जस्तै टुक्रिएको छ
एक पित्का घाम
ऐना जस्तै फुटेको छ
मेरो अँध्यारो घरभित्र उज्यालो छर्न खोज्ने
यी निष्कपट घाम र जूनका एक-एक टुक्रा ऐना बटुलेर
म सोचिरहेछु
कसरी जोडेर देखाऊँ एउटा सिङ्गो जून
यो लोकलाई
यो संसारलाई ।



Sunday, October 14, 2012
Jotare Dhaiba

Posted in: 










