Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

फुटेको ऐना र म

- असीम सागर
पहिले
म जस्तै थियो
ऐनामा टाँस्सिएको मेरो अनुहार
अहिले
म जस्तो छैन
ऐनामा टाँस्सिएको मेरो अनुहार ।
एकाएक खसेर भुइँमा आफैं
आफू जस्तै फुटाइदिएको छ
फुटेको ऐनाले मेरो अनुहार ।

साँच्चै
कुनै ठूलो भुइँचालो आउनु पर्दैन ऐना खस्नलाई
कुनै चट्टानमा बज्रिनु पर्दैन ऐना फुट्नलाई
बिचरा ऐना न हो
खस्यो कि प्याट्ट फुट्छ
तर देखाउन छाड्दैन रिसले कसैको अनुहार
आफ्नो आयतनभित्र ।

त्यही ऐनाको आयतनमा राखेर आफूलाई सधैं
म जस्तै मान्छेले दाह्री काट्छ
मैले जस्तै मान्छेले जुँगा मिलाउँछ
कपाल कोर्छ, क्रिम घस्छ
सायद उसलाई विश्वास थिएछ
ऐनाले ढाँट्दैन ।

त्यहि ऐनामा आफ्नो अनुहार हेर्न
हरेक साँझ जून उदाउँछ
हरेक बिहान सूर्य उदाउँछ
र मेरो बुकुरो घरको उध्रिएको छाना र भित्ताको प्वालबाट छिरेको
एक खित्का जून
ऐना जस्तै टुक्रिएको छ
एक पित्का घाम
ऐना जस्तै फुटेको छ

मेरो अँध्यारो घरभित्र उज्यालो छर्न खोज्ने
यी निष्कपट घाम र जूनका एक-एक टुक्रा ऐना बटुलेर
म सोचिरहेछु
कसरी जोडेर देखाऊँ एउटा सिङ्गो जून
यो लोकलाई
यो संसारलाई ।

प्रश्‍न

॥ अनिल पौडेल ॥
किन माटोमा
विष रोपिरहेछन् खेतालाहरू !

पहिले पहिले यही माटोमा
सिर्जनाको व्याड राख्थे अग्रजहरू
फुच्चे अरनिको
माटोमा उम्रिए र तिब्बत पुगे
सिद्धार्थ गौतम
माटोमा उम्रिए र बुद्ध भए
निरन्तर लाभा भएर
जन्मिरहे देवकोटाहरू
हामीले पारिजातलाई
माटैमाथि मगमगाएको देख्यौं
तिलौराकोटमा उर्वर कोख लिएर
फेरि किन डुल्दैनन् मायादेवीहरू ?
जताततै
गुराँसका चिउला पाउलिरहेको बेला
किन मरूभूमिका कुरा गर्छन् मान्छेहरू ?

 यो वर्ष
हामीले बालुवा रोपेर
के अर्को वर्ष ढुङ्गा भित्र्याउने ?

रगतको रङ


॥ केशवराज सिलवाल ॥

कसले भन्छ 
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन 
फरक-फरक हुन्छ रगतको रङ 

मानिसअनुसार लाग्छ फरक-फरक घाम
फरक-फरक हुन्छ आकाशको रङ
फरक हुन्छ हावाको सिरेटो
त्यसरी नै 
फरक-फरक हुन्छ रगतको रङ 

देख्‍नलाई एउटै देखिए पनि 
फरक हुन्छ
प्रसव पीडामा बगेको कुनै आलो सुत्केरीको रगतको रङ
र उकालो चढ्दा  लडेपछि बगेको रगतको रङ 
फरक हुन्छ
जहाँतहीँ मुख बाएर बसेका जुकाले टोकेपछि बगेको रगतको रङ

फरक हुन्छ
शान्तिपूर्ण आन्दोलनमा बगेको रगतको रङ
फरक हुन्छ निर्दोषको घाँटी रेटिएपछि 
सिर्का हानेको रगतको रङ
फरक-फरक हुन्छ
न्यायप्रेमी र अन्यायीको रगतको रङ 
हो, फरक हुन्छ
धनी मानिसको रगतको रङ
जसमा पाइन्छ धेरै मात्रा विदेशी रक्सीको
र फरक हुन्छ भोका मजदुर 
गरिबहरूको रगतको रङ
जसमा रगतभन्दा भोकको अंश बढी हुन्छ
फरक हुन्छ
सत्ताधारी, राजा, महाराजा र तानाशाहको रगतको रङ

कसले भन्छ
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन
कसरी एउटै हुन्छ रगतको रङ ?

प्रत्युत्तर

॥ सानु घिमिरे ॥
मजेत्रोमा बाँधेर तिम्रो सम्मान 
बडो सानसँग हिंडेकी थिएँ,
तिम्रो उपहार, धारे हातको रिबन
हेर त कति सुहाएन मेरो शिरमा ।
आक्रोश, दुर्वचन र आरोपहरुमा
कस्तरी जिल्लिएको हाम्रो दौंतरी ?

चौबन्दीमा अड्किन खोजिरह्यौ
मुटुभन्दा पर तिम्रो स्थान,
कति खसखसाउने तिम्रो घाँटी
कति चुकचुकाउने तिम्रो जिब्रो 
पटुकीभरि छन् सम्झनाका मकैहरू
गोठालो जाँदा फक्याउने गर्छु ।

प्रत्युत्तर फेरि पनि त्यही हो,
तिमी चम्काइराख निष्ठुरताको पाइन
म सम्झिउँला त्यो हार्दिकताको मूल्य ।
डढेलो लागेको वनमा एक दिन
तिमीले खोज्नु स्नेहको ऐंसेलु,
बुटामुनिबाट कतै पलाउनेछ अर्को मुना ।

- सुनसरी, हाल: सिड्नी, अस्ट्रेलिया ।

सनहीको स्वर

उस्तादजी !
मन परेन मलाई
यो पुरानो सनहीको स्वर

उही पट्यारलाग्दो प्रस्तुति
पुनरावृत्ति मात्र
जति सुने पनि एउटै लाग्ने
यो टुइँ टुइँ

जति नै माझेर टल्काए पनि
मुख कुल्ला गरेर फुके पनि
झन् बिग्रिएको छ यसको सङ्गीत
तर, अरूलाई मन नपरे पनि
धेरै मनपर्छ तपाईँलाई
त्यसको बखान गर्दै
फुक्दै-फुक्दै हिँड्न
चोक-चोक
गल्ली-गल्ली

थाहा छ हामीलाई -
तपाईँ किन र कसको लागि
रातो पार्दै गाला
वर्षौँदेखि अनवरत
फुकिरहनुभएको छ यो सनही

मानेको हो हामीले-
ठूलो योगदान छ यो सनहीको
मृत्युशोकमा डुबेकालई
झन् बढी शोकमा डुबाउन
विरक्तिएकालाई झन् विरक्त तुल्याउन
सुतेकाहरूलाई अझ सुताउन
गएकाहरूलाई फेरि फर्किएर नआउन

उस्तादजी !
मन परेन मलाई
यो पुरानो सनहीको स्वर

त्यसो त-
मन नपर्ने कहाँ हो र मलाई ?
हप्तौपछि टन्न खान पाएर
बालबच्चाको अनुहारमा देखिएको
तृप्त हाँसोको सङ्गीत
कहाँ मन नपर्ने हो र ?

स्वतन्त्रता खोज्दै सडकमा चिच्याइरहेका
लामबद्ध मानिसहरूको स्वर
वर्षौँदेखि सुन्दै आए पनि
अझ मनपर्छ -
झरनाको कलकल
र पानीमा ढुङ्गा जुधेको आवाज

तर, उस्तादजी !
पटक्कै मन परेन मलाई
उही आलाप
उही आरोह-अवरोह
यो पुरानो सनहीको पट्यारलाग्दो स्वर ।

- लेले, ललितपुर

नेपाल प्यारो छ

मनु ठाडा
भन्छौ तिमी हिमाल सेतो छ
तर म देख्छु यो त रातो छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।

-धनकुटा, हालः काठमाडौँ

मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे

म मनबाट चलेको छु

मस्तिष्कबाट चलेको छैन

त्यसैले मलाई म मन पर्दैन

पहिला पहिला मेरा मनहरु

नसा नसाबाट बग्दै

मस्तिष्कमा पुगेर छानीने गर्थे

शुद्ध हुन्थे मनहरु अनि

म त्यसलाई व्यवहारमा उतार्थे

तर आज मनहरु

मस्तिष्कमा पुग्न नपाउँदै

व्यवहारबाट पोखिने गर्छन्

म सँधै मनको कुरा मान्छु

मस्तिष्क सदा लाचार भै रहन्छ

धिक्कारी रहन्छु म अनि मनहरुलाई

किनकी मेरा मनहरु

मलाई स्वयं दमन गर्दैछन्

लज्जास्पद बनाइरहेका छन्

तरपनि म प्रतिकार गर्न सक्दिन

मनहरुलाई

म हार्दोयुद्ध लडिरहेको छु

त्यसैले मलाई म मन पर्दैन !


(२०६१-०१-३१, पोखरा)


जीवन

एकल यात्री

रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो

कालो रात हैन, उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन, उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन, निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन, पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन, सफा मन चाहन्छु म
पराजित मृत्यु हैन, संघर्षशील जीवन चाहन्छु म

किनकी,
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो, पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन ।

मान्छे अनि फेरि मान्छे

- किशोर न्यौपाने 'यदु'

समयका
कलेटी परेका काँचुलीहरू
ओछ्याएर फलैंचामा
मेरी हजुरआमा
आँसुसँगै कात्‍नुहुन्छ
जिन्दगीको ए-को-हो-रो
परिभाषा ।

विचलित नबनी कत्ति पनि
जब
नबुझिने अनुहारमा खुम्चिएका रेखा देखाउँदै
पढ्नुहुन्छ एक अनुच्छेद वर्तमान
अनि मलाई लाग्छ-
उस्तै रहेछ बाँच्नुका रुटिनहरू
हिजो, अस्ति र आज ।

तर
भिरालो खुट्टाहरूले समाएर गन्तव्यमा
अहँ, गर्न सकिने रहेनछ सफलताको दस्तखत
त्यसैले होला
उहाँ भन्नुहुन्थ्यो-
सपनाको महल र खरानी मानसिकता
उस्तै-उस्तै हो नानू !

मेरी हजुरआमाको आग्रह र सल्लाहमा
त्यसपछि मैले कहिल्यै देखिनँ सपना,
आजकाल गर्व लाग्छ
सपनाको राजनीति नगरीकनै
म मान्छे बन्न सकेको छु

साँच्चै
कति गाह्रो हुने रहेछ हगि
मान्छेजस्तै मान्छे बन्नलाई ।

- आरुपोखरी ७, गोरखा ।

समयबारे बेखबर समय

-जय गौडेल

यो,
एउटी कुमारी
कुमारीत्व बचाउनको लागि
वेश्या,
अनि
एउटी वेश्या
वेश्यात्व बिकाउनको लागि
कुमारी बनेको समय हो

यो,
शान्तिको निमित्त
बुद्धले बन्दुक बोकेर
क्रान्ति गरेको समय हो

यो,
मान्छेले
मान्छे-मान्छेको माझमा
मान्छे खोजेको समय हो

यो,
समयले समयलाई
समय सोधेको समय हो ।

-स्याङ्जा ।

अन्यौल ...

एन. एस. डी. 'संघर्षी'

जिन्दगी मसँगै दौडिरहेछ
या म जिन्दगीसँगै दौडिरहेछु
थाहा छैन या त समयसँगै दौडिँदैछु
या समय मसँग हिँडिरहेछ
अनभिज्ञ छु म कोसँग हिँडिरहेछु
गन्तव्यको कुनै ज्ञान छैन
म कहाँ पुग्दैछु एक्लै विरहीबनी
आँसु म सँगै बग्दैछ या
म आँसुसँगै बगिरहेछु
थाहा छैन या त सँगसँगै बग्दैछु
या आँखा मात्र रसाइरहेछ
बेखबर छु म कोसँग रोइरहेछु
म किन रुदैछु हृदय रित्तिने गरी

ग्वार्को, ललितपुर

यो काठमाडौँ

जनकराज सापकोटा

राजधानीको वर्णपटमाथि उभिनुको भ्रम पालेर
मात्तिएको छ, सिङ्गो काठमाडौँ
यो भाले काठमाडौँ
यो पोथी काठमाडौँ
यो सहवास गरेरै सिङ्गै युग बिताइदिन्छ
अलिकति भ्रमजस्तो
अलिकति यथार्थजस्तो
बुढो भए पनि आँखाभरि वैश पालेर बसिदिन्छ
यहीँ कहीँ कतै
तानिरहेछन् एक हुल दुर्योधनहरू
द्रौपदीको साडी
हीँ कहीँ कतै
गाइरहेछन् एक हुल मानिसहरू
राष्ट्रियताको गीत
यो सङ्‍गति हो कि विसङ्‍गति ?
बेपरवाह, बेमतलव
राजधानीको जामा पहिरिएर
बाँचिदिन्छ सिङ्गो काठमाडौँ
सहरभरि थुप्रिएका सबै भ्रमहरू
उत्तर-आधुनिक यथार्थहरू हुन्
‍सहरभरि थुप्रिएका सबै मिथकहरू
उत्तर-आधुनिक जीवनहरू हुन्
जे भएपनि जस्तो भएपनि
सबैलाई गम्लङ्ग अँगालो मारेर बसिदिन्छ
यो भाले काठमाडौँ
यो पोथी काठमाडौँ
यो नपुँसक काठमाडौँ

गीतानगर, चितवन,
हाल: काठमाडौँ
janak_rasa2000@yahoo.com

किन सकिन मैले ?

रोशना महर्जन
हामीबीचको सम्बन्धको चर्चा परिचर्चा हुँदा
किन समाज सामु एउटा नाम दिन सकिन मैले

भावविह्वल तिमी आतिई कहालिएर रुँदा
किन निर्भीक भई तिम्रा आँसु पुछ्न सकिन मैले

बेदाग तिम्रो व्यक्तित्वमा चरित्रहीनताको दाग लाग्दा
किन तिम्रो पवित्रताको वकालत गर्न सकिन मैले

हामीबीचको नातालाई नाजायजको संज्ञा दिँदा
किन जायज भनी प्रमाणित गर्न सकिन मैले

तिमीमाथि हजारौ प्रश्न मिश्रित औँलाहरु उठ्दा
किन मौनता आफ्नो भंग गर्न सकिन मैले

कायरताको उपमा दिँदै तिमीले साथ मेरो माग्दा
किन हाम्रो मायाको समर्थन गर्न सकिन मैले

स्वच्छ प्रेमको निम्ति जीवन परित्याग तिमीले गर्दा
किन पापबोध गरी प्रायश्चित गर्न सकिन मैले


पुलचोक, ललितपुर

नाङ्गिदैछिन् द्रौपदी

रमेश न्यौपाने

दुर्योधन तानिरहेछ द्रौपदीको सारी,
अब लाज ढाकिदिने कुनै कृष्णहरु छैनन् यहाँ ।

सभामा युधिष्ठिर छन्,
भीम छन्,
अर्जुन छन्,
र छन् - नकुल र सहदेव,
महोदय ! चुपचाप हेरीरहेछन् तमासा यी सबै ।

जुवामा जितेपछि दुर्योधन
फुकाईरहेछ सारी द्रौपदीको,
नाङ्गिदैछिन् द्रौपदी,
र, छैनन् कृष्णका अदृश्य हातहरु अब ।

बाजी जित्नेले त तान्यो सारी,
तानिरहेछ-
तर आश्चर्य!
बाजी हार्नेहरु अर्थात-,
युधिष्ठिर-,
भीम-,
अर्जुन-,
नकुल र सहदेव पनि,
उसैगरी बजाईरहेछन् ताली-जित्नेले झैं,
खुब रमाईरहेछन‍् द्रौपदी नाङ्गिईरहेको यो तमासामा ।

लाज ढाकिदिने कुनै कृष्णहरु छैनन्- अब,
क्रमशस् नाङ्गिदैछिन् द्रौपदी ।
दुर्योधन तानिरहेछ द्रौपदीको सारी ।

काठमाडौ, रत्नराज्य लक्ष्मी क्याम्पस

मेरी आमाको जुनी

सङ्‍गीतस्रोता

तिमी सामू भर्खरै आईपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दु:खको कुवामा डुबेका अनिंदा आँखा
बारम्बार अँधेरी गौंडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।

तिमीसामू भर्खरै आइपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्‍गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरि त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।

मेरी आमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरु तास फिटिरहेका थिए
वल्लोपट्टी पल्लोपट्टी भलाद्‍मीहरु जूँगामा ताउ लगाईरहेका थिए
धर्मशालामा हेर्‍यो-
त्यहाँ लुटेराहरुको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरु झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरी साँझमा धनाढ्‍यहरु कम्मर भाँचिरहेका थिए
मेरी आमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पंक्तिहरुमा भगवान‌‍का भजनहरु बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरु टाँस्सिएका थिए
र सङग्रहालयका प्रत्येक कोठामा पनि
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।

कतैतिर पनि
बस्न, सास फेर्न र सुस्ताउन नपाएपछि
मेरी आमाको जुनी
घृणा, उपेक्षा र तिरस्कारका आक्रमणहरु खप्दै
भौंतारिंदै-भौंतारिंदै
तीव्र गतिमा चलेका एक-एक थान मुटु र फोक्सो बोकेर
तिमीसामू भर्खरै आइपुगेको छ
प्रिय कलाकार !
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

बाजुङ, पर्वत

कविता:

रिर्त
- सङ्गीत आयाम

भर्खर भर्खरै हो
मान्छेहरू नाच्दै सडकमा
विजयोत्सव मनाउँदैछन्र्
भर्खर भर्खरै त हो
भनिन्छ, मान्छेहरू अब रैतीबाट
मालिक हुन पाएका छन्
जतासुकै हातहरू उठिरहेछन्
जुन हातहरूले सधैँ-सधैँ
मुक्तिकामी गीत मात्र गाएका छन्
लाग्छ, अब तिनै हातहरूले
तानाशाहका बर्बर कथालाई
निसाना साध्नेछन्
चारैतिर खुट्टाहरू दौडिरहेछन्
जुन खुट्टाहरूले सधैँ-सधैँ
इतिहास बदल्ने लडाइँ मात्र लडेका छन्
लाग्छ, ती खुट्टाहरूमा झुक्दै
जङ्गली इतिहास घोप्टो परेर
याचना गरिरहेछ
दृश्यहरू उही रहेनन्
परिदृश्यहरू त्यस्तै छैनन् ।
के साँच्चै नै अब
देशको पीडाले
निकास पाउने भयो त ?
के वास्तवमै
इतिहासको शैली अब
प्रायोजित नहुने हो त ?
के साँच्चै नै अब
समयले आतङ्कका कथा
लेख्‍नै नपर्ने भयो त ?
के वास्तवमै
शक्तिरूपी तानाशाह बन्ने क्रम
रोकिएकै हो त ?

चितवन ।

अतीतका यादहरु

मनु ठाडामगर
धनकुटा, हालः काठमाडौ


कति कूटिल छन् तिम्रा हाँसोहरू
कति मूल्यहिन् छन् तिम्रा आँशुहरू
कति अर्थहिन् छन् तिम्रा बाचाहरू
तर,
त्यही अर्थहिनता मै छन् मेरा मनका भावहरू

कति दुर्गन्धित छन् ती साथहरू
कति तिरस्कृत छन् ती माथहरू
कति कुटिल छन् ती दृष्टिहरू

तैपनि,
तिनै कुटिलता भित्र छन् मेरा आँशुका रापहरू

कति अनन्त र भावपूर्ण छन् तिम्रा हरेक शब्दहरू
कति पीडादायी छन् हाम्रा भेटघाटहरू
कति स्वार्थ पूर्ण छन् तिम्रा शब्दका महलहरू

अझैपनि‌...
तिनै शब्दमहलभित्रै छन् मेरा मनका भावहरू

त्यसैले मलाइ लाग्छ,
अझै निश्चल छ तिम्रो माया
निश्वार्थ लाग्छ छ तिम्रो भावना
गहिरो लाग्छ तिम्रो सम्झना

किनकी,
तिनै गहिराइ मै छन् मेरा सारा यादहरू
मलाई प्यारो छ मेरो अतित अनि तिम्रो साथहरु
त्यसैले,
तिमीमै समर्पित छन् मेरा सारा वाक्यहरू

कविता


( वि.सं. १९७४ सालमा प्रकाशित सूक्तिसिन्धु कविता संग्रह छाडा साहित्यको बात लागेर प्रतिबन्धमा परेको थियो । वि.सं. २०२४ सालमा जगदम्बा प्रकाशनले यसलाई पुन: प्रकाशन गर्‍यो । त्यसपछि पाठ्‍य सामग्री पसल, काठमाडौँले २०५५ र २०६२ सालमा क्रमश: तेस्रो र चौथो संस्करण प्रकाशन गरेको छ । उसबेला नेपाली कविता साहित्यमा श्रृङ्गारिक भावका कविता लेख्ने प्रसिद्ध प्राय: सबै कविहरूको कविता यसमा समेटिएको छ । नेपाली कवितामा श्रृङ्गारिक भाव धाराको ऐतिहासिक महत्व राख्ने यो सङ्‍ग्रहको एउटा कविता साभार गरेका छौँ । कलेज कलम समूह)


प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ।

-पण्डित कृष्णप्रसाद रेग्मी

प्रतर्‌ भयेछ कि सखी ! चिडिया कराये
श्रीसूर्यले अरुणकान्ति पनी फिँजाये ।
ताराहरू गगन मण्डलमा हराये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।

ढोका खुले घरघरै घरघर् गराये
बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
प्यारी ! उठौं कि अबता कुखुरा कराये ! ।।२।।

निन्द्रा सखी गयिछ भागि बिदा नमागी
प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अञ्जना पनि हिंडीछ सबै हराये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।३।।

सिन्दूर लत्पत छ कज्‍जल पूछ प्यारी,
अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी बिलाये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।४।।

जागा भयेर गर बन्दन इष्टलाई ।
छुट्टीन कष्ट छ अति छन ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।५।।

होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
आँटी मसक्‍क उठ सुस्त उघार ढोका
बेर् भो छिमेकिहरूले पनि चाल पाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।६।।

भोली पनी दिन बितीकन रात पर्ला
आजै अतीव नगरौँ अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।७।।

प्रीतीविना रहनु केहि हुँदैन राम्रो
प्रीति परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभाये
प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ! ।।८।।

देखिन्न शुक्र पनि अस्त भईसकेछ
तिर्‌मिर‌् हटीकन प्रकाश भइसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।९।।

गर्छन् वरीपरि पनि सब हल्लिखल्ली
कल्ली लगाउ झटपट्‍ खिच बाहु-बल्ली ।
देउ बिदा अब प्रिये ! सब साथि आये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१०।।

(साभार: सूक्तिसिन्धु, चौथो संस्करण २०६२)

कविता

मसान राज्य
सुरेश हाचेकाली


राष्ट्रिय 'हेयरलुम' जस्तो मानेर
यो सृजनशील अधिराज्यमा
हामीले शताब्दीयौंसम्म
रक्तपिपासु, स्वेदपिपासु
बीरमसानको खलनायकत्व
शिरोपर गरेर मौन हिडिआएछौं ।

यी समसामयिक मान्छेहरूसँग
आधुनिक स्पन्दन
र आदिम धुकधुकी
दुवै छ

तर पनि
एक्काइसौं शताव्दीको छकालमा
यी जीवन्त मान्छेहरूमाथि
किन शासन गर्छन्
यी 'डेट एक्स्पायर्ड' मसानहरू ?
बिना टाउकोका मसानहरूले
हाम्रा दर्जनौ पुस्ताहरू फटाइदिए
नाङ्गै, भोकै र रोगी भएर
हामी युरो-अमेरिकी उत्तरआधुनिकता घोकिरहेछौं ।
यो आकुलव्याकुल
काकाकुल कर्मभूमिमा
मुरीमुरी रगतपसिना पोखिएको छ
यहाँ,
मान्छेका शरीरबाट पोखिएको
रातो रगतका भूमिगत तलाउहरू छन्
यहाँ,
मान्छेका जीवन्त निधारबाट पोखिएको
नीलो पसिनाका गहिरा पोखरीहरू छन्
यी पोखरी र तलाउहरूमा
मसानको बडेमान जनसंख्या
ग्रीष्मकालीन जलबिहार गर्दछ ।


२९ चैत्र, २०६२

Lost shadow


Rajju Dangol
Srijana College of Fine Arts, Kathmandu


Night! Oh night! Oh mighty night!
The shadow you create from the flashing light
Light so radiant and blinking so bright
I’ve lost my outline; it’s out of my sight

It’s vanished, it’s gone; can you find it for me?
My existence is dwindled; can you hold it for me?
I’ve searched it everywhere but cant somehow
I was something before but nothing am I now

I dreamt, I ate, and shared with it
I felt, I sensed and cared with it
I laughed; I smiled and cried with it
I walked; I spoke and lived with it
I’m sick and would be cured with it

Make magic, lure it, do anything you can
Convince it, persuade it say anything you can
Say that without it it’s missed by its man
With it alongside; only then could he stand.

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes