कविता:

रिर्त
- सङ्गीत आयाम

भर्खर भर्खरै हो
मान्छेहरू नाच्दै सडकमा
विजयोत्सव मनाउँदैछन्र्
भर्खर भर्खरै त हो
भनिन्छ, मान्छेहरू अब रैतीबाट
मालिक हुन पाएका छन्
जतासुकै हातहरू उठिरहेछन्
जुन हातहरूले सधैँ-सधैँ
मुक्तिकामी गीत मात्र गाएका छन्
लाग्छ, अब तिनै हातहरूले
तानाशाहका बर्बर कथालाई
निसाना साध्नेछन्
चारैतिर खुट्टाहरू दौडिरहेछन्
जुन खुट्टाहरूले सधैँ-सधैँ
इतिहास बदल्ने लडाइँ मात्र लडेका छन्
लाग्छ, ती खुट्टाहरूमा झुक्दै
जङ्गली इतिहास घोप्टो परेर
याचना गरिरहेछ
दृश्यहरू उही रहेनन्
परिदृश्यहरू त्यस्तै छैनन् ।
के साँच्चै नै अब
देशको पीडाले
निकास पाउने भयो त ?
के वास्तवमै
इतिहासको शैली अब
प्रायोजित नहुने हो त ?
के साँच्चै नै अब
समयले आतङ्कका कथा
लेख्‍नै नपर्ने भयो त ?
के वास्तवमै
शक्तिरूपी तानाशाह बन्ने क्रम
रोकिएकै हो त ?

चितवन ।

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes