गणतन्त्र जनताको जीत बरिलै

सफल घिमिरे


गर्विलो अक्षरले यो शिर्षक लेखिसकेपछि म घोषणा हुनै लागेको गणतान्त्रिक नेपालको राजधानीमा रहेको संविधानसभा हल नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर झरेँ । भीड प्रति क्षण चाक्लिँदै अनि समान गतिले बाक्लिँदै पनि थियो । यसै क्रममा समानान्तर रुपले मेरो मनमा उहिलेदेखि नै जमेर बसेको संगीत श्रोताले लेखेका गजलको शेर गुञ्जिरहेको थियो ।

आफ्नालागि आफै बाँच्ने रीत बरिलै
गणतन्त्र जिन्दगीको गीत बरिलै

बखान गर्न सुहाउने शब्द कहाँ छ
कति प्यारो जनताको जीत बरिलै

अघि बढ्‍दै जाँदा जति जति म संविधानसभा हलसँग नजिकिँदै जान्थेँ, उति उति हर्षले उज्यालिएका मनहरु देख्थेँ । तिनीहरुलाई देख्दा यस्तो लाग्थ्यो कि यि त्यस्ता जनता हुन् जो भर्खरैमात्र आजीवन कारावासबाट उन्मुक्ति पाएर आफ्नो विजयको हर्ष श्वाश लिइरहेका छन् । तिनको सामाजिक जीवनमा लागेको शक्ति सन्तुलनको माखेसाङ्गलो तोडिएको छ । अनि परिवर्तनका उच्च स्वरहरु लिएर तिनीहरु यो खाल्डो शहर चर्काइरहेका छन् । निश्चय नै, म आफू पनि तिनीहरु भन्दा कम्ती अर्थको नागरिक थिईनँ । हुन त म यो देशको विधिवत् नागरिक भएको चार वर्ष पनि भएको छैन तर मलाई त्यो दिन आफू नेपाली भएकोमा एउटा छुट्टै स्वतन्त्रताको भावले घनिभूत पारेको थियो । मैले धेरै नेपालीहरु देखेँ । साँचो अर्थमा तिनीहरु नेपाल आमाका सचेत सपूतहरु थिए । तिनको कुनै वर्ग थिएन । तिनको कुनै जात थिएन । न तिनीहरु लिङ्गीय रुपले फरक थिए न क्षेत्रीय रुपले पृथक् । ति मात्र नेपाली थिए । नेपाली मात्र ।

कन्चटको माथिल्लो कुनाबाट पसिनाले मूल फुटाईसक्दा पनि तिनले धोद्रो सुकाएर गणतन्त्रको स्तुतिगान गाईरहेका थिए । त्यो राष्ट्रिय गर्वको सुन्दरताले बिल गेट्‍सको माइक्रोसफ्टरुपी सम्पत्तिलाई केही होइन भन्ने पारेको थियो । टोयोटाका नानोटेक्नोलोजीहरुका अगाडि पनि हामी नै सुक्ष्म चेतना हौँ भन्ने लागेको थियो । इन्टरनेटले बनाएको 'ग्लोबल भिलेज' भन्दा हाम्रो राजनीतिक सामिप्यताले बनाएको 'नेसनल भिलेज' नै ठूलो रहेछ भन्ने पारेको थियो । किनकि हामी नेपाली प्रविधि भन्दा पनि परिस्थितिले नै यो पालि नजिकिएका थियौँ । देशी विदेशी सबैजना उत्सवमा मस्त थिए । सायद तिनले हामीलाई देखेर "म नेपाली हुन पाएको भए..." भनेर इर्ष्या गरिरहेथे । लाग्थ्यो, सम्मेलन केन्द्र अगाडिको त्यो विशाल जनसागर एउटै मालामा उनिएका सयौँ थुँगा फूलहरुको समूह हो । कतै राई, किराँतहरुको साँस्कृतिक नृत्य, कतै नेवारहरुको रमझम, यतातिर मगरहरुको आफ्नै संस्कृति, उतातिर गुरुङहरुको परम्परागत नाच । ओहो ! साँच्चै दशवटा संस्कूति देख्नको निम्ति दश गाउँ डुल्नु पर्थेन । मलाई त्यो दिन आफू यो संसारकै सबैभन्दा धनी नागरिक हुँ जस्तो लाग्यो । त्यसैले होला हाम्रा संस्कृतिहरुलाई बिछट्टै ध्यान दिएर नियालिरहेका विदेशी पत्रकारहरुका अगाडि म शीर ठाडो पारेर बोलिरहेको थिएँ "दिस इज ह्वाट वी आ(र)" (हामी के हौँ भन्ने यही हो ।)

त्यहाँ किराँतिहरुमात्रै किराँति नाच नाचिरहेका थिएनन् अरु जाति पनि थिए । गुरुङको संस्कृतिमा रम्ने गुरुङमात्रै थिएनन्, थुप्रै अरु पनि थिए । यिनै रमभmमहरुबाट हार्दिकताको एउटा नयाँ सुवास आइरहेको थियो । हाम्रो नेपाल अखण्ड भएर यसैगरि बाँचिरहोस् । जानि नजानी खुट्टा चलाएर राई नाच नाच्न लाग्दा भाग्यवश मार्टिन चौतारीकी दिदी कैलाश राईले देख्नुभएछ । अनि हामीलाई त्यो गीतमा खुट्टा मिलाउन सिकाउनु भयो । हामीले धेरै नाचहरु नाच्यौँ । धेरैथरि जातजातिहरुसँग मिलेर ।

कपाल फुलेर उमेरले भृकुटीको खुम्च्याई भरिदिएकादेखि लिएर गणतन्त्रको प्रथम उच्चारण गर्न सिक्दै गरेका लालाबालाहरु पनि बडो उमंगले यही एउटा दिनको प्रतिक्षा गरिरहेका थिए । लाग्थ्यो, तिनलाई यत्ति एउटा दिनको साक्षि बन्न यस धर्तीमा पठाईएको हो । नेपाली पाखाहरुमा यसपालि गुराँसको मौसम सकिर्इसक्न लाग्दा पनि राजधानीमा यो क्षण राताम्य थियो, झण्डाहरुले, विजयगानहरुले, उत्सवहरुले, अनि बिर्सिनसक्नु सहिदहरुका उत्सर्गहरुले । नेपाल राज्यको यो महत्वपूर्ण इतिहासको गर्विलो दिनको साक्षि बन्न पाएकोमा मेरो मन अत्यन्तै विजयले रंगीन भएको थियो । त्यसैले हामी नाच्यौँ, हामीले नचायौँ पनि....कालो सडकमा उज्यालोका गीतहरु गाउँदै "यो जीत कसको ? युवाको, युवा कसको ? जनताको"

यतिका वर्षहरुसम्म छाएको पत्रिकाका मृत खबरहरु, रगतले लत्पतिएका समाचारहरु अनि १९ दिने आन्दोलनको त्यो पिडादायी स्मृति साथै थिए । ति सबैलाई मस्तिष्कको एउटा कुनामा कैद गर्दै यही दिनको नारायणहिटीलाई नजरावलोकन गर्न भनी हामी फेरि दरबारमार्गतफ लाग्ने तरखर गर्‍यौँ । गर्वले शीर ठाडो पार्दै नारायणहिटीतर्फ बढिरहँदा हामीलाई युवामय साथ दिने धेरै भइसकेका थिए । तर हामी स्वतन्त्र थियौँ । न कुनै सिद्धान्त, न कुनै पार्टि, मात्रै जनताको पक्षपाति । हामी सबै स्वत:स्फूर्त थियौँ । मन भित्रभित्रै दरबारभित्रको सीमाभूमिमा गर्वले पाइला टेक्ने रहर थियो । तर उमेरले चन्द्रागिरी काटेका नेताहरुले समयमै सबै काम फत्ते गर्न सकेनन् । तैपनि हामी बढिरह्यौँ- नारायणहिटीतिरै । विविध नाराहरु सहित हाम्रा साथी युवाहरु अगाडि लम्किरहँदा खुलामञ्च नजिकै विष्फोटको आवाज आयो । छेवैको बारभित्र रहेका सैनिकहरु सुतेर पोजिसन लिन थाले । अनि सबै मानिस केही छिनलाई तितरवितर भए । वातावरण केही छिनको लागि सन्त्रस्त थियो । मैले देखिरहेको थिएँ, त्यहाँ एउटा निलो सानो माइक्रोको छेउबाट सेतो धुँवाको मुस्लो उडिरहेको थियो । पछि थाहा भयो, त्यो घटनामा दुईजना घाइते भएछन् ।

चाहे सिएनएन होस् वा एएफपी, या बिबिसी होस् वा वासिङटन पोष्ट, त्यो दिन सबै सञ्चार माध्यमका अनलाईन संस्करणहरुले नेपालको गणतन्त्र सम्बन्धी खबरलाई प्रमुखता दिएर अगाडि ल्याएका थिए । एक्काईसौँ शताब्दीले पिछडिएको वर्गमा राखेको एउटा मुलुकका जनताहरु कतिसम्म स्वतन्त्रताको प्रेमी र न्यायका हिमायति भएका छन् भन्ने थाहा पाएर विश्वका धेरै शक्तिशाली राष्ट्रहरु पनि अचम्मले जिब्रो टोकेको दिन थियो त्यो । विश्व पत्रकारिताको लेन्स र कलम नेपालतफ सोझिईरहँदा नेपालीहरु यो पवित्र भूमिमा आफ्नो स्वतन्त्रताको परिचय दिइरहेका थिए । नेतृत्वलाई त्यो बेलामा व्यापक दबाब दिँदै बालुवाटार, नारायणहिटी र सम्मेलन केन्द्र वरपर थुप्रै जनताहरु नाराबाजी, रमझम र जुलुस गर्दै थिए । जनताको सर्वोच्चता झुक्ने कुरै थिएन । आखिर आयो पनि त्यो रात । दलहरु राष्ट्रपतीय प्रणालीको खाकामा अन्तत: मीलनबिन्दुमा पुगेर बालुवाटारबाट बाहिर आए । अनि जनताको आदेशलाई शिरोधार्य गर्दै एकहूल सभासद्‍हरु लम्किए सभाहलतिर ।

ढिलै भएपनि मध्यरातको साइतमा देशले नयाँ बिहानीको शंखघोष गर्‍यो । रेडियो-रेडियो अनि टेलिभिजन-टेलिभिजनमा गणतान्त्रिक गड्‍गडाहट सुनियो । निकै लामो समयसम्म । अनि फेरि उत्रिए जनता उही कालो सडकमाथि । यतिबेला तिनीहरुले टेकेको कालो सडक सडक मात्रै थिएन । यो ति काला दिनहरु थिए जसले अहिलेसम्मको राज्यसत्तामा खुशीको अनुपस्थिति गराएको थियो । जसले आजसम्मका क्षणहरुमा समृद्धिलाई अंगार बनाइदिएको थियो । त्यही कालोपनलाई कुल्चँदै फेरि एकपटक मध्यरातमा नारायणहिटि थर्काउने गरि गगनभेदी आवाजहरु गुञ्जायमान भए । चर्का परिवर्तनकारी नाराहरु लगाइए । अनि जनताले आफ्नोलागि आफै लेखेका राष्ट्रिय गान सडकमा गुञ्जन हुँदै गर्दा सरकारी आदेशमा राति नै राजदरबारको शाहीझण्डा झिकियो । जनताको पसिनाको मूल्यमा बनाइएको दरबार बल्ल जनदरबार हुन पुग्यो । त्यतिबेला झुप्रा-झुप्राहरुमा नयाँ ज्योति जाज्वल्यमान भएको थियो । मध्यरातमा मेरो मनले कल्पिँदै थियो, अबको केही छिनपछि एउटा बिहानी उदाउँदैछ, लालिगुराँसमा परेका शीतहरु टल्किने गरेर ।
safal.ghimire@gmail.com

2 :: प्रतिक्रिया:

Bhabasagar said...

Nice one!Keep on Writing.
-Bhabasagar Ghimire

Anonymous said...

raastrapremi!
-bhumika

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes