॥ विमल आरोही ॥ |
मैले यस कार्यक्रममा धेरैको जिन्दगी र विश्वास तपाईंहरूलाई देखाएँ / सुनाएँ । तर, हाम्रो भाग्य निर्माणको ठेक्का लिइबसेका मुख्य ठेकेदारहरूको जिन्दगीको असली विश्वास थाहा नपाउँदा सधैं दुःख पाइरह्यौं । के हो त उनीहरूको जिन्दगीको असली विश्वास ? आज हामी प्रमुख तीन विनिर्माण कम्पनीका तीतीन जना ठेकेदारका साथै सभामुख र राष्ट्रपतिको जिन्दगीका विश्वास तपाईंलाई देखाउनेछौं ।
मैले सबैभन्दा पैला सोधेको थिएँ लाइसेन्स पाएर सेन्स हराएका महान् कलाकार दाहाललाई- 'तपाईंको जिन्दगीको प्रमुख विश्वास के हो ?' बडो भावुक मुद्रामा उहाँले भन्नुभो- 'ओराली लागेको बिरालोको चाल भो, दुईचार वर्षमै मरेकै हाल भो, छल गर्यो भाग्यले ।' यसपछि म उनकै क्लोन भनिने काजीसाबलाई भेट्न नयाँबजारबाट उठेको मात्र के थिएँ । उनी त्यहीं टुप्लुकिए । 'म यहीं भएको अवस्था विद्यमान हो । लौ सुन्नुस्- उकाली ओरालीहरू भञ्ज्याङ अनि चौतारीहरू / जहाँ जहाँ जान्छन् प्रचण्ड म पाइला बनी पछ्याइरहन्छु ।' यसपछि म आशाको मसिनो त्यान्द्रो विद्यावारिधिलाई भेट्न उनको डेरामा पुगें । उनले सुनाए- 'कअअति जल्छौ आरिसैले अझै जल्दै गर / म त हिँड्छु सीधै बाटो खुट्टा तान्दै गर ।'
खुट्टा तान्दै सानेपा पुगें । 'लाग्दछ मलाई रमाइलो यही सानेपा पखेरो' एक्लैएक्लै गाउँदै बसेका घरमूलीले भने, 'धेरैजसो मामाघर (सिंहदबरबार) तिरै बस्न रुचाउँछन् । तन्नेरीहरू 'बुढा'कण्ठतिर होलान् । न सकिन्छ पार्टी चलाउन, न सकिन्छ काशी जान बुढेसकालैमा / शेरबाबु कनकन गर्छन्, रामचन्द्र आँखा तर्छन् ।' पल्टैपल्ट कुर्सी बसेका देऊ वा नदेऊलाई भेट्न बुढाकोलोनी पुग्दा नेता-कार्यकर्ता त कति हो कति घरभरि ! लाग्थ्यो पार्टी अड्डा त यो पो हो । 'पैयर गुडन लाग्या मेरा सिंहदरबार जान्या पजेराका, पैय.../...असक्षम शनि दशा अब छुटन लाग्या मेरा...।' रामचन्द्रलाई खोज्दै सिंहदरबार पुगें । प्रधानमन्त्रीको कार्यकक्षबाहिर लहरै झुन्ड्याइएका प्रमका तस्बिर हेर्दै थिए । 'न जितें कसैलाई न हराएँ कसैलाई / विनाइन्धन सत्रपल्ट पकाएँ आफैंलाई ।'
'आजै र दिउँसै के देखें सपनी मै प्रम भएको' गुन्गुनाउँदै सत्र कार्यकालसम्म प्रम हुनुभएका फोटो प्रमलाई बाहिरै छोडेर म भित्र छिरें । 'राष्ट्रिय सहमतिको सरकार'का चड्कन प्रम झलनाथ बडो प्रसन्न मुद्रामा कुर्सीमै आसीन । कुर्सीबाटै आमसभामा झैं जोडतोडका साथ सुनाउनुभो, 'तटस्थपछि त कुर्सी आउँदा क्या दामी भो, क्या../ यहाँ रेफ्री म, खेलाडीहरूको क्या बदनामी भो.. ।' अनेकौं कीर्तिमानधारी नामचलाउ भूपूनेपालले भन्नुभो, 'कुर्सी के हो, प्रम के हो, मजस्तो काइतेलाई सोध / चड्कन के हो, जबज के हो, मसँग कहिले सोध्दै नसोध ...।' नेकां(एमाले) का कम्रेड गोलीले चिरपरिचित मृदुभाषी शैलीमा श्वास फेर्नुभो, 'पर्ख, हेर, ठोक है, युथफोर्स हो / ओलीको रङ्गले, गोलीको ढङ्गले, ओली सिँगार्न यो..ऽऽऽ ।'
दर्शकवृन्द ! यसपछि म ६०१ निवासकेन्द्र पुगें । बैठक चलिरहेको थियो तर त्यहाँ 'सुवास' मात्र थियो । 'पोहोर साल म्याद फाट्दा जतन गरी जसोतसो टालें/यसपालि त साँच्चै फाट्यो कुन नाकले, कुन मुखले म्याद थप्ने हो ?' र, अन्तिममा म शीतलनिवास । 'शीलत' भए पनि बेग्लै उखरमाउलो गर्मी थियो, छटपटी र उकुसमुकुस थियो । केही गर्न त के, बोल्न समेत नपाइने जिन्दगीको विश्वास एक लाइन, 'देश लड्ला है नेता भीरबाट हेर /नयाँ नेपालको है साथी गफैमा भुलेर ।'
दर्शकवृन्द ! हामीले हाम्रा मुख्य ठेकेदारहरूको असली विश्वास नै थाहा पाइसकेपछि के अब पनि हामी पत्रपत्रिका, टिभी, रेडियो, चोक, गल्ली जताततै यिनलाई गाली गरेर समय खेर फालौंला त ? अहँ, मलाई त्यस्तो लाग्दैन !
[२०६७ चैत ११ गते शुक्रबार नागरिक दैनिकमा प्रकाशित लेखको परिमार्जित रूप]