प्रत्युत्तर

॥ सानु घिमिरे ॥
मजेत्रोमा बाँधेर तिम्रो सम्मान 
बडो सानसँग हिंडेकी थिएँ,
तिम्रो उपहार, धारे हातको रिबन
हेर त कति सुहाएन मेरो शिरमा ।
आक्रोश, दुर्वचन र आरोपहरुमा
कस्तरी जिल्लिएको हाम्रो दौंतरी ?

चौबन्दीमा अड्किन खोजिरह्यौ
मुटुभन्दा पर तिम्रो स्थान,
कति खसखसाउने तिम्रो घाँटी
कति चुकचुकाउने तिम्रो जिब्रो 
पटुकीभरि छन् सम्झनाका मकैहरू
गोठालो जाँदा फक्याउने गर्छु ।

प्रत्युत्तर फेरि पनि त्यही हो,
तिमी चम्काइराख निष्ठुरताको पाइन
म सम्झिउँला त्यो हार्दिकताको मूल्य ।
डढेलो लागेको वनमा एक दिन
तिमीले खोज्नु स्नेहको ऐंसेलु,
बुटामुनिबाट कतै पलाउनेछ अर्को मुना ।

- सुनसरी, हाल: सिड्नी, अस्ट्रेलिया ।

1 :: प्रतिक्रिया:

Roopess said...

पटुकीभरि छन् सम्झनाका मकैहरू
गोठालो जाँदा फक्याँउने गर्छु...
Nice words.. loved reading!

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes