उस्तादजी !मन परेन मलाई
यो पुरानो सनहीको स्वर
उही पट्यारलाग्दो प्रस्तुति
पुनरावृत्ति मात्र
जति सुने पनि एउटै लाग्ने
यो टुइँ टुइँ
जति नै माझेर टल्काए पनि
मुख कुल्ला गरेर फुके पनि
झन् बिग्रिएको छ यसको सङ्गीत
तर, अरूलाई मन नपरे पनि
धेरै मनपर्छ तपाईँलाई
त्यसको बखान गर्दै
फुक्दै-फुक्दै हिँड्न
चोक-चोक
गल्ली-गल्ली
थाहा छ हामीलाई -
तपाईँ किन र कसको लागि
रातो पार्दै गाला
वर्षौँदेखि अनवरत
फुकिरहनुभएको छ यो सनही
मानेको हो हामीले-
ठूलो योगदान छ यो सनहीको
मृत्युशोकमा डुबेकालई
झन् बढी शोकमा डुबाउन
विरक्तिएकालाई झन् विरक्त तुल्याउन
सुतेकाहरूलाई अझ सुताउन
गएकाहरूलाई फेरि फर्किएर नआउन
उस्तादजी !
मन परेन मलाई
यो पुरानो सनहीको स्वर
त्यसो त-
मन नपर्ने कहाँ हो र मलाई ?
हप्तौपछि टन्न खान पाएर
बालबच्चाको अनुहारमा देखिएको
तृप्त हाँसोको सङ्गीत
कहाँ मन नपर्ने हो र ?
स्वतन्त्रता खोज्दै सडकमा चिच्याइरहेका
लामबद्ध मानिसहरूको स्वर
वर्षौँदेखि सुन्दै आए पनि
अझ मनपर्छ -
झरनाको कलकल
र पानीमा ढुङ्गा जुधेको आवाज
तर, उस्तादजी !
पटक्कै मन परेन मलाई
उही आलाप
उही आरोह-अवरोह
यो पुरानो सनहीको पट्यारलाग्दो स्वर ।
- लेले, ललितपुर ।



Sunday, March 08, 2009
हाम्रो कलम
Posted in: 
1 :: प्रतिक्रिया:
सनहीको एकोहोरो गुन्जन आज कहाँ पो टिक्ला र ? समयको परिवर्तनशीलता र त्यसको भोकलाई अति नै सारगर्भित तवरले मुखरित गरेको छ कविताले । यस्तै कविता चाहिएको छ आज देश र समाजलाई ।
Post a Comment