लीला


तीर्थ विष्ट

आठ बजिसक्यो उ ओछ्‍यानमै छ । निन्द्राले छोडे पनि अल्छीले छोडेको छैन । हप्तामा एकदिन त आराम गर्नै पर्‍यो नि ! आरामै नगरी-नगरी पैसा केको लागि कमाउनु ! उ अलिअलि कमाउँछ र चाहिएको खर्च गर्छ । थोरै कमाउ, थोरै खर्च गर भन्ने जमाना गयो, र धेरै कमाउ, धेरै खर्च गरको जमाना आयो । तर उ समयसँग हिँड्‍न सकेको छैन, चाहेर पनि । कमाएको सबै खर्च पनि गर्दैन । बैकमा राख्छ, घरमा खर्च पठाउँछ । उसलाई अहिले चाहिएको पनि यत्ति नै हो । त्यसैले उ सन्तुष्ट छ । उ बस्ने घर अर्कैको हो, कोठा चाहिँ उसको । त्यही पनि एक महिनाको लागि मात्र । भोलि घरपतिले कोठा खाली गर भन्ने आदेश दिनसक्छ । फेरि अर्कै घरको कोठालार्इ उसले आफ्नो बनाउनु पर्छ । यसरी उसले यो आठ-दस वर्षको काठमाडौं बसाइमा धेरै अरुका घरका कोठालाई आफ्नो बनाउँदै छोड्‍दै गरिसकेको छ । ती कोठाहरूमा उसले आफूलाई मनपर्ने तरिकाले डेकोरेसन गरेको छ । भाडा तिरेर आफ्नो बनाएको कोठामा निदाएर आफैँले बनाएको घरमा सुतेको सपना पनि देखेको छ उसले ।

उ विद्यार्थी हो । उ सँग क्याम्पसको परिचयपत्र पनि छ । बस चढ्‍दा त्यसको सदुपयोग गर्छ । आफ्नो परिचय दिँदा 'म फलानो, फलानो क्याम्पसमा फलानो लेबलमा पढ्‍ने विद्यार्थी' भनेर दिन्छ । उ विद्यार्थी हो भन्नेमा खलाँसीले कहिल्यै शंका गरेको छैन । शङ्‍का गरिहाले पनि उm सँग सक्कली कार्ड छ- क्याम्पसको छाप र क्याम्पस चिफको सही भएको ।

शनिबार आठ बजे बिहानै हो उसको लागि । तर अरुहरु बाहिर जम्मा भएर हल्ला गर्दै थिए । यो हल्लामा उ सुतिरहन सकेन र बाहिर आयो । घरपतिको घर बनाउने कामदार, ठेकेदार र घरपति दम्पति थिए हल्ला गर्नेहरू ।

श्रीमती घरपति एउटा फुच्चे कामदारको कुरा गर्दै थिइन् । फुच्चे लजाईरहेको थियो । अरु हाँसिरहेका थिए, काम पनि गरिरहेका थिए । फुच्चेले अलि ठूलो डोकोमा निम्ठो माटो बोकेर बाहिर फाल्न लग्यो, फालेर आयो । अरु कुरा गर्दै थिए, हाँस्दै थिए । उ कसैलाई नहेरी काम गरिरह्‍यो । हाँस्ने मध्येको एक जनाले भन्यो- 'मान्छेमात्र फुच्चे, काम त लाठेले जस्तै गर्छ ।' श्रीमान् घरपतिले हाँसो थप्न भने- 'बलवान्'ले बलवान् बनाएको होला नि !' फेरि सबैजना हाँसे । अनि श्रीमती घरपतिले उसलाई सोधिन् 'यति सानो मान्छे भएर खैनी किन खाएको ?' उसले पुलुक्क हेर्यो, हाँसेरै उत्तर दिन सकेन । उसको हाँसो ओठसम्म पनि आएन । सानो स्वरमा उत्तर दियो-'टेन्सन हराउँछ ।' 'यति सानो मान्छेलाई पनि टेन्सन हुन्छ ? न विवाह भएको छ, न बच्चा छन्, न बच्चालाई पढाउनु छ, एक्लो ज्यानलाई केको टेन्सन ? हामीलाई पो टेन्सन छ । बच्चा ठूलो भयो, के गरी पढाउनु, बढाउनु भन्ने टेन्सन । त्यही पनि हामी खैनी खाँदैनौं । खैनी खाँदैमा टेन्सन हराउने भए म पनि खान्थेँ । खैनी खाँदैमा टेन्सन हराउँछ कहीँ ?' श्रीमती घरपतिले पटट्‍ट एकैछिनमा बोलेर सकिन् । फुच्चेको डोको भरियो अनि पहिलेजस्तै डोको उठाएर हिँड्‍यो ।

डेरावाल विद्यार्थी श्रोता र दर्शक मात्र बन्यो, केही बोलेन । छोरो घरपति बास्केटबल भुईमा उफार्दै बाहिर निस्कियो । उसले छोरो घरपतिको अनुहारमा टेन्सन देखेन । उसलाई लाग्यो- छोरो घरपति र फुच्चे कामदार दौतरी हुनुपर्ने । अनि मनमनै भन्यो 'हो त नि यी फुच्चेहरूलाई केको टेन्सन !'

- हजारबिघा, सर्लाही ।

1 :: प्रतिक्रिया:

Basanta Gautam said...

Nice one Tirthajee. Your story depicts our society very well.

Keep on writing.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes