रेल चढ्ने रहर

॥ रमेश सफर निरौला ॥  
रातको ३ बजे कलंकी पुगेर ५ घण्टाको उभ्याइपछि बल्लतल्ल बसको टिकट पाउँदा फुरुङ्ग पर्नुका पछाडि मधेसको गर्मी खाने मात्र चाहना अवश्य थिएन । बरु थियो वर्षदिनको चाड दशैं मनाउँदै मधेसका केही जीवनको एकसरो ठम्याइको रहर । मधेस, अझ घर जानकै लागि मैले आफू कार्यरत संस्था मार्टिन चौतारीमा तीन दिनको बिदा लिएको थिएँ । 

यसपल्ट मधेस पुग्दा-नपुग्दै गर्मीले फर्किहालूँ जस्तो भइसकेको थियो । बहाना गर्मी छल्नु थियो भने चाहना पहाड मधेस चढ्नु र ओर्लनु । यसै मेसोमा मैले भान्जा उमेशसँग मिलेर एक रात भेडेटारदेखि भारतको बिहारसम्मको यात्रा गर्ने योजना बनाएँ । घरमा ब्याउन लागेको गाईको दुर्लभ रूपमा भेटिने बिगौती माया मारेर उमेश र मेरो 'टोली' लाग्यो रमणीय दृश्यदेखि रेल चढ्ने 'भाग्य' सम्मको यात्रामा । हामीले हाम्रो दुई सदस्यलाई 'टोली' र नेपाली भएर रेल चढ्न पाउनुलाई 'भाग्य' न्वारान गरिसकेका थियौं । भेडेटार पुग्न ७० किलोमिटरको दूरी पार गर्न प्रतिव्यक्ति रु. ५०  मा यात्रा गराउने मितेरी यातायातसँग कुनै मित्रता थिएन, बरु यो संयोग मात्रै थियो । 

बिहानको साढे सात बज्दा भेडेटारको दृश्यावलोकन गर्ने घर घामले टल्किरहेको थियो । २० रूपैयाँको टिकट लिएर त्यस घरको माथिल्लो तल्लामा पुग्दा भान्जा धरान बजारतर्फ औंल्याँउदै थिए । पहाड घनाजंगलको छातीबाटै धागो तानेजस्तो कालो घुमाउरो बाटो हुँदै धनकुटाका सुन्तला, तरकारीजस्ता कृषि उत्पादन मधेस झर्थ्यो । कुशल लेखक हुँदो हो त त्यहाँको सौन्दर्य वर्णनमा शब्दकोषका कति उरुङ आफ्नो डायरीमा खन्याउँथ्यो होला !

निधारमा हात राखेर आँखामा चर्को घामको किरण छल्दै भान्जा भन्दै थिए- ऊ त्यताको सेतो ठाउँ कोशी नदी । भनिनसक्दै कुहिरोले ढपक्कै ढाकिसकेको थियो कोशीको लमतन्न ज्यानलाई । अचम्मको मौसम एकैक्षण अगाडि हाम्रा आँखामा अत्यासलाग्दो किरण छर्ने सूर्य पनि निरीह भएर हामीसँग उज्यालोको आशा गरिरहे झैं लाग्थ्यो । दिनरात हेरिरहूँ लाग्ने दृश्यको चाङलाई छोडेर टावरको तल आइपुग्दा निर्मल पानीको धारो बगिरहेको भेटियो । छेवैमा बसेर नरिवल बिस्कुट खाएर त्यही धाराको चिसो पानीले आँत मेटाइयो । मधेसमा फलेको नरिवल धनकुटा लगेर बनाइएको बिस्कुट स्वादिष्ट थियो । त्यही भयो हाम्रो बिहानी ब्रेकफास्ट र सकियो पहाडको यात्रा पनि ।

धरान ओर्लिएर खाएको भातमा पकाउने भन्दा बेच्ने ध्यान बढी गएको प्रष्ट थियो । सब कुरामा पैसा सोहोर्ने ध्याउन्न मात्र ! व्यवसायमा त सेवाग्राहीलाई सेवा दिएर सन्तुष्टि दिने कुरा पनि हुन्छ कि ! नेपालमा बसेर बेलायती चमत्कार हेर्न हाम्रो 'टोली' लाग्यो बिहारतिर । विराटनगर पुग्दा मध्याह्नको १२ बजिसकेको थियो, गर्मीले आफ्नो पारो बढाउँदै थियो । २६ रूपैयाँ तिरेर स्थानीय बसमा चढ्नुअघि नै भान्जाले मलाई बिहार शब्द उच्चारण नगर्न सचेत गराइसकेका थिए । बसका सँगै यात्रारत भारतीयहरूलाई हामीले रेलबारे सोध्यौं, यसैबाट उनीहरूले हामी अपरिचित यात्री भनेर चिनिसकेका थिए । नेपालमा व्यापार गर्दै आएका र 'दशैं मनाउन' भारत फर्किरहेका एक भारतीयले हामीलाई बिहारको यात्राबारे बढी सचेत गराए ।  उनी भन्दै थिए, "तपाईंको मोबाइल खै ? पर्स छाम्नूस् त !" जब मैले मेरा सामान छोएँ, उनले त्यहीँबाट शुरू गरे । रेलमा यसै भनिनेछ र तपाईं त्यसै गर्नुहुनेछ, अनि पकेटमारले थाहा पाउँछ कहाँ राखिएको छ सामान र अर्को स्टेशन पुग्दासम्म तपाईंका गोजी रित्तिसक्नेछन् । सावधानीसूचक जानकारी सुनेर म आतंकित भइसकेको थिएँ । यसैबीचमा भान्जाले रेलको टिकट किन्न स्थानीय बसका कन्डक्टरसँग भारतीय रूपैयाँ साटिसकेका थिए ।

दिउँसो १ बजे मेरो मनको भाषामा बिहार र स्थानीय भाषामा जोगवनी पुग्दा १७ डिब्बे रेल निर्जीव रूपमा सुतिरहेको थियो । त्यो रेल अबको ७ घण्टापछि रातको ८ बजे मात्र दिल्ली प्रस्थान गर्ने समय रहेछ । अब त्यतिका समय कुरेर त्यति राति रेल चढ्ने रहर 'हावा महल'मा परिणत हुँदै थियो । यसअघि हाम्रो 'भाग्य' अर्थात् अर्को रेल करिब ३० मिनटअघि नै साढे १२ बजे छुटिसकेछ भारतको कुनै सहरका लागि । नेपाली भएर रेल चढ्ने रहर मूर्खतापूर्ण भएको निष्कर्षमा उमेश पुगिसकेका थिए । म भने रेल स्टेशनको पसलमा मूल्यसूची र पसलको सञ्चालन अनुमति अवधि पढ्दै थिएँ । निराश आँखा लिएर १५ वटा डिब्बाका सिट र शौचालय चहार्दै २ घण्टा बिहारमा बिताइयो । अरू ५ घण्टा कुरे पनि दिल्ली जाने एक्सप्रेस रेलले एक स्टेशन परको कटिहार पुर्‍याएर हामीलाई ओरालिदिने सम्भावना थिएन । भारतीय डेढ रूपैयाँ कपको चिया पिएर पिलन्धरे अनुहार लगाउँदै हामी फर्कियौं आफ्नै 'महान्' मातृभूमि, जसले सधैं स्वतन्त्र रहेका, कसैको दास नभएका नागरिकलाई परचक्रीले बनाएको रेल चढ्न अझै रोकिरहेछ तर त्यसको आफ्नै मुलुकभित्र मात्रै । यो देशको बहादुरी रानी भन्सार जस्ता थुप्रै भन्सारको वारिपट्टि मात्र रहेछ भन्ने कुरा बिहारको बजारमा सामान किन्ने अधिकांश नेपालीको अनुहार पढेर बुझियो । रेल चढ्ने रहर अपूरो हुनुसँगै भारतलाई 'मक्का-मदिना' देख्ने नेपाली शासकले आफ्नो देशमा भने 'स्वर्ग जाने' बाटो बनाउन पनि कन्ज्यूस्याँइ देखाएकोप्रति म त दंग परें । तर भान्जालाई भने आफ्नै देशमा आएर आइसक्रिम नखाएसम्म रेलको तातोले रापिलो पारिरहृयो । 

1 :: प्रतिक्रिया:

Lok Bahadur Thapa said...

nice post...

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes