Showing posts with label Feelings. Show all posts
Showing posts with label Feelings. Show all posts

जन्मोत्सव नमनाउँदा

* अंकलाल चलाउने *
बिहानको एघार बजेर पाँच मिनेटको समय । टुइँट् टुइँट् 'फोन-सन्देश'को घन्टी बज्यो । मोबाइलमा सन्देश पढेँ -
प्यारो साथी, शुभ जन्मदिन !

आश्चर्यमा परेर सोचेँ । ए आज त असार १९ गते । हो त रै'छ मेरो जन्मदिन । यो धर्तीमा पहिलो पाइला टेकेको दिन । हरेक वर्ष एकचोटि पर्ने दिन । हरेक नयाँ वसन्तको सुरूवात हुने पहिलो दिन मेरा लागि । साथीको सन्देशलाई परवाह नगरी हतारहतार काममा व्यस्त रहेकी आमालाई घरमा फोन गरेँ । सोधेँ, आमा म कहिले जन्मिएको थिएँ ? एकछिन अगमकिएर आमाले भन्नुभयो असारको १९ गते । महिना र गतेको लगत याद भए पनि आमालाई त्यो दिन आजै हो भन्नेमा वास्ता भएको रहेनछ । होस् पनि कसरी, छोराले कहिले जन्मदिन मनाउने भए पो ! मैले भनेँ, आमा आज असार १९, म जन्मेको दिन । 

आमासामु मेरो जिज्ञासा बढ्दै थियो - आजको दिन म कुन बेला जन्मेको थिएँ ? आमाले सविस्तार भन्नुभयो  - "घाम अस्ताइसकेको थियो, काममा गएका मान्छे घरतिर फर्कने बेला भएको थियो अनि चरनमा लगिएका गाईबाख्रा गोठालाहरु भित्र्याउँदै थिए ।" आमाले यति भनेपछि मैले ठम्याएँ, म बेलुकीपख अथवा समय किटेर भन्दा पाँच बजेतिर जन्मेको रहेछु । किनकि, म अलि ठूलो भएपछि गोठालो गरेको थिएँ ।  गाईबाख्रा गोठमा भित्र्याउँदा पाँच बजेको वरिपरि हुन्थ्यो । 

लगत्तै आमाले मेरो कुरो छोडेर भाइको जन्मको तिथिमिति बताउन थाल्नभयो । भाइ असोजको महिना दशैँको बेला अष्ठमीको दिन जन्मिएको  हो । ऊ दशैँमा जन्मेको हुनाले हरेक दशैँको अष्ठमी तिथिमा उसको जन्मदिन मनाउनु पर्ने कुरा पनि भन्नुभयो । मलाई अचम्म लाग्यो । किन भाइको जन्मदिन मनाउने, मेरो नमनाउने ? आमाले  ऊ दशैँको तिथिभित्र जन्मिएकोले मनाउनुपर्ने बताउनुभयो । आमाको रायअनुसार अरुबेला जन्मने त कति आए गए, सबैको मनाउन कहाँ साध्य हुन्छ र ? मैले मेरो जन्मदिन मनाउन नपाए पनि भाइको जन्मदिन मनाउने प्रक्रिया जान्न भने चुकिन । आमाले अझै बेलिविस्तार लगाउनुभयो - कुखुराको भाले काटेर रगतको टीका लगाइन्छ अनि टीका लगाउने बेलामा आशीर्वाद दिइन्छ :

 हुँदो खाँदो हुनु 
 जिउँदो जाग्दो हुनु !

खाना खाने बेला फुमे लगाइन्छ । माथिको आशीर्वाद दोहोर्‍याइन्छ । आमाले त्यसो भन्दा मैले काठमाडौंमा साथीहरूको जन्मोत्सवमा देखेको, साथीले केक काटेको र उसलाई सबैले  भाका मिलाएर 'ह्याप्पी बर्थ डे टु यू' भनी शुभकामना दिएको  सम्झेँ । जन्मोत्सव मनाउने आ-आफ्नै तरिका ।

तर काठमाडौंमा मनाउन थालिएको जन्मोत्सवको विधि विधानलाई पश्चिमा शैलीको सिकोको संज्ञा दिइन्छ । र हो पनि त्यही नै । शुभकामनामा  अंग्रेजी शब्दको प्रयोग नगरिए उत्सव जस्तै मानिदैन - हृयाप्पी वर्थ डे टु यु ! अझ अग्रजहरूबाट सुनेको, पहिले बत्ती बालेर मनाइने चलन, अहिले बलेको बत्ती नै निभाएर कर्मकाण्ड सुरू हुन्छ । ठीक विपरीत भएको छ सिकोको परिणाम । अध्याँरोबाट उल्यालोतिर पो राम्रो, उज्यालोबाट आध्याँरोतिर के राम्रो । यस्ता कुराको निरन्तरतामा लाग्ने हाम्रो परिचय कहाँ ? राम्रोलाई लात हानेर नराम्रोलाई काँधमा हाल्ने हाम्रो प्रवृत्ति आफूमा भएको महानतालाई नचिन्ने विशेषताबाहेक के हुन सक्छ ?

जे होस्, आशीर्वाद जति दशैंमा जन्मेको भाइले मात्र पाउने भए पनि म चाहिं  हुँदो खाँदो, जिउँदो जाग्दो नै भइराखूँ । फोन-सन्देश पठाउने साथी कवितालाई वर्णन गरेर नसकिने खुसीको धन्यवाद लेखेर पठाएँ । कुनै तामझामविना पनि दिन उल्लासमय रहृयो । २३ औँ वसन्तमा उक्लिंदा पहिलो पटक नै मैले शुभ जन्मदिनको  कामना पाएको थिएँ । २२ औँ वसन्त पार गरिसक्दासम्म मैले एकदिन पनि आज मेरो जन्मदिन हो भनेर सम्झेको थिइन । साँच्ची, कति नेपालीले आफ्नो जन्मदिन आएको र गएको थाहा पाउँदा हुन् ?
डोल्पा, हाल :  काठमाडौं
बी. ए. दोस्रो वर्ष, सीजेएमसी

* फुमे लगाउनु भनेको खानाको भाँडोमा कुखुराको टाउको, एकतिरको भागको कुमे (पखेटा) र सपेटा राखिएको हुन्छ, साथमा बत्ती बालिएको हुन्छ ।

मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।।
दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् ।

बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै दिसा-पिसाब गर्न त त्यत्ति गाह्रो लाग्दैन तर त्यही शौचालय जस्तै भान्छामा पकाएका खाना निल्न भने साह्रै मुश्किल पर्छ । त्यही पनि बेस्वादका बासी तर महँगा । यसपाली टेलिभिजनमा देखिएका खान नहुने कुराको मिसावट र फोहोरको दृश्य मैले बिस्रन सकेको छैन । सायद यसपाली म बाटोमा पाकेका खाना खान सक्दिनँ होला । सोच्दैछु - के व्यवस्था गर्ने भनेर । दशैं छेका सुरु भएको बजार अनुगमन लामा दूरीका यात्रुलाई खाना खुवाउने होटलसम्म पनि पुगे तुलनात्मक रुपमा हामीले स्वच्छ खाना पाउने थियौं कि ?

२०६३ को दशैंमा घर जानुभन्दा केही अघिसम्म म काठमाडौंका सडकपेटीमा व्यावसाय गर्नेहरुसँग अन्तरवार्ता लिँदै थिएँ । मार्टिन चौतारीले प्रकाशन गर्न लागेको सहरीकरणः जीविकाको विविध आयामका लागि जगन्नाथ दाइले लेख्ने अनौपचारिक क्षेत्रसम्बन्धी लेखका लागि । मैले विभिन्न ठाउँमा गएर विभिन्न व्यवसाय गर्ने विभिन्न उमेर समूह र लिङ्गको व्यक्तिहरुसँग कुरा गर्नुपर्ने थियो । त्यसै सिलसिलामा सुन्धारामा ठेलामा मःमः बेच्ने महिलासँग कुरा गर्न मन लाग्यो । भोक लागिरहेको थियो पहिले मःमः खाएरै सम्बन्ध र संवाद अघि बढाऊँ भन्ने विचारले मःमः खान तयार भएँ । पहिलो गाँसको स्वाद मीठो लागेन तर हतार-हतार निलेँ । मलाई घिन लाग्न थालिसकेको थियो । दोस्रो गाँस मुखमा हालेपछि ह्वास्स गनायो । मःमःको दुनो भुइँमा फालेर मैले त्यहीँ बान्ता गरेँ । त्यसको पैसा साहुनीले माग्ने आँट गरिनन् बरु भनिन् - "यस्तै त हुन्छ नि मःमः ! खाने बानी छैन जस्तो छ ।"
मलाई खान पनि आउँछ र मीठो मःमः बनाउन पनि आउँछ भन्ने उनलाई के थाहा
 ?

"खाएर हेर्नुस् न मःमः गनाएको छ", मैले त्यत्ति मात्र भनेँ । 

पछि वसन्तपुरमा ठेलामै मःमः बेच्नेसँग कुरा गरेँ । तर उनले एउटा-दुइटा मात्रै भए पनि चाख्नुस् न भनेर गरेको आग्रह भने स्विकार्न सकिनँ । म साकाहारी भइसकेको थिएँ । त्यसको पाँच वर्षसम्म मैले मासु नै खाइनँ । त्यही अन्तरवार्ताकै क्रममा लाजिम्पाटमा मोतिहारी भारत घर भएका पानीपुरीवालाको पानीपुरीले त मलाई पखालै चलायो । त्यस बेलादेखि हत्तपत्त म सडक खाना खाने आँटै गर्दिनँ ।


अफिसमा खाजा पाक्ने व्यवस्था नहुँदा हामी केही साथी नर्भिक हस्पिटल छेउको लुम्बिनी भोजनालयमा तन्दुरी रोटी खान जान्थ्यौं । एकदिन खाँदाखाँदै साकाहारी तरकारीमा पाकेको साङ्लो भेटियो । त्यसबारे साहुजीलाई गुनासो सुनायौं । उनले "कहिलेकाहीँ साङ्ला त परिहाल्छ नि" भन्ने उत्तर सहज रुपमा दिए । साहुजीले पनि यस्तो भन्न मिल्छ र भनेर हामीले उनलाई जिम्मेवार हुन भन्यौं । तर उनले "के गर्न सक्छौ गर, तिमीहरु जस्ता ग्राहक त यहाँ कति आउँछन् कति" भने । त्यसपछि पनि साथीहरु त्यहाँ जान छाडेनन् । म भने झन्डै एक वर्ष जस्तो त्यहाँ गइनँ । एक वर्षपछि त ती साहुजीले पनि बिर्सिए होलान् । म पनि बिर्सिन बाध्य भएँ । किनभने त्यो पसल वरिपरि त्यत्तिको सफा पसलको विकल्प मसँग थिएन ।

न्यूरोडका गुँदपाक पसलेले त व्यापार होइन अपराधै गरेका हुन् । खोज्दै जाने हो भने त्यस्ता अरु व्यापारका नाममा भइरहेका अपराध खुल्दै जालान् । तर सामान्य होटलमा अपराध गर्ने मानसिकताभन्दा अरु कुरा नै बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छ । थोरै पैसा दिएर उमेर नपुगेका बालबालिकालाई काम गर्न राख्ने चलनले पनि त्यस्तो भएको हो । उनीहरु बिहान पाँच बजेदेखि राति अबेरसम्म काम गर्न बाध्य छन् । शौचालयदेखि भान्छासम्म उनीहरुले नै सफा गर्नुपर्ने हुन्छ । कामदारहरूलाई कामको बोझ धेरै भएकॊ अवस्थामा होटलका साहुजीले चाहेर पनि सफासुग्घर गराउन सक्दैनन् । काम गर्ने मान्छेलाई खुसी नबनाई राम्रोसँग काम गराउन सकिँदैन । साहुजीले अनावश्यक किचकिच गर्दै दबाब दिए ग्राहकले खानेभन्दा पनि फोहोर खाना 
उनीहरु साहुजीलाई नै खुवाउन बेर लगाउँदैनन् । त्यसैगरी उनीहरु त्यस व्यवसायसम्बन्धी तालिम वा औपचारिक शिक्षा लिएर पनि आएका हुँदैनन् । उनीहरु औपचारिक अध्ययनका लागि स्कुल-कलेज जाँदै नगएका पनि हुन्छन् पढेकाहरु पनि बीचैमा छाड्ने नै धेरै हुन्छन् । त्यसैले सफाइ सम्बन्धी उनीहरुको धारणा र हामीले गर्ने अपेक्षा नमिल्न सक्छ । होटल-रेस्टुरेन्टका भान्छा प्रायः नदेखिने ठाउँमा हुन्छ । नाम चलेका होटेल तथा रेष्टुरेन्टहरुमा पनि सफासुग्घरको नाममा डाइनिङ हललाई मात्र ध्यान दिने प्रवृत्ति हुन्छ । भान्छा सफा राख्ने पकाउने-बनाउने कुरामा ध्यान दिने भन्दा पनि प्लेटमा खाना सजाउन नै बढी सिकाउने चलन छ ।

अहिले भइरहेको बजार अनुगमनलाई निरन्तरता दिने हो भने पनि धेरै क्षेत्रमा सुधार हुन सक्छ । अनुगमनकर्ताहरुले हामीलाई थाहै नभएको कुरा बाहिर ल्याएका होइनन् । बजारमा भइरहेको लुट र अपराधको जानकारी सम्बन्धित पक्ष र उपभोक्ता सबैलाई थाहा थियो । बाध्यताले गर्दा नै हामी उपभोक्ताले तिनको सेवा लिने गर्थ्यौं । हाम्रो विकल्प नहुनु उनीहरुको फाइदाको कुरा !

लेख्‍नुपर्दोरहेछ...


।। प्रभाकर गौतम ।।
लेखनप्रति आकर्षण भएर पनि अहिलेसम्म अपवादमा बाहेक केही लेखेको छुइनँ मैले धेरै कारणमध्ये लामो समयसम्म 'राम्रो अध्ययन' बिना के लेख्‍न सकिएला भन्ने डर नै हावी रह्यो जस्तो लाग्छ  (आलस्यलाई बिर्सने हो भने ) तर अहिले आएर लाग्दैछ, लेखाइको सम्बन्ध अध्ययनसँग भए पनि लिखित सामग्रीहरू ज्ञान मात्र नभएर अभ्यासका उपज पनि हुन् हामीले पढेका सबै कुरा लेख्‍न सम्भव हुँदैन लेख्‍ने आखिर बुझेका, बुझे जस्तो लागेका बुझ्न चाहेका कुरा नै रहेछन्

लेखनका पनि विविध विधा हुने भएकोले सबै कुरामा अध्ययनमै निर्भर हुनु पर्दैन मान्छेको स्वानुभव कल्पनाकै आधारमा पनि लेख्‍ने कुरा धेरै छन् त्यसका लागि चाहिने आधारभूत कुरो अभ्यास हो पढ्दैमा लेख्‍न आइहाल्ने हुँदैन रहेछ त्यसैले धेरै पढेपछि मात्रै लेख्‍न सकिन्छ भन्ने मेरो धारणा गलत लाग्छ अहिले बरू लेख्‍ने क्रममा प्रशस्त प्रश्नको सामना गर्नुपर्ने भएकोले लेख्‍ने अभ्यास सुरू गरेपछि पढाइमा अझ प्रष्टता ल्याउँदोरहेछ त्यसैले लागेको हो, लेख्‍नुपर्दोरहेछ

सबैलाई थाहा लेख्‍नुका अनेकन फाइदा छन् तर नियमित लेख्‍ने विषय चाहियो, अनि आफ्नो लेखाइ जाँच्ने परिचित तथा अपरिचितहरूको प्रतिक्रिया पनि सिक्दै गर्दाका सबै कुरा प्रकाशन योग्य हुँदैनन्, न त वैचारिक स्पष्टता नै हुन्छ लेखाइमा त्यसैले लेखन अभ्यासको निम्ति यतिखेर मलाई ब्लग नै सबैभन्दा उपयुक्त टुँडिखेल लागेको छ, सूचना-प्रविधिको द्रुततर विकास भइरहेको यस समयमा स्वतन्त्रता सहज पहुँचका कारण त्यसैले पनि ब्लगको संसारमा प्रवेश गर्दैछु ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes