Showing posts with label Feelings/Essay. Show all posts
Showing posts with label Feelings/Essay. Show all posts

कविता मोह –रोशन खड्का



कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखँु लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केही सम्झनाहरु छन् । जसलाई यसरी लेखिरहेछु । त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्राविमा पढ्थे । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ । भर्खरै दुई कक्षा चढेथँे । इन्दिरा मिस गाउनुहुन्थ्यो । उहाँको मधुर आवाजले मन्त्रमुग्ध बनाउथ्यो मलाई । सुनिरहन्थेँ । त्यो गीत माधवप््रसाद घिमिरेको “घामछाँया” कविता थियो । कविताभन्दा पनि मलाई इन्दिरा मिसको गीत मनपथ्र्यो । उहाँले सिकाउनुभएको लयमा आफ्ना सहपाठीसँगै ठूलो ठूलो स्वरमा गाउथेँ म, “कति राम्रो घाम कति राम्रो छाँया...।” त्यतिखेर मैले बुझेथेँ, कविता भनेको त गाउने कुरा रहेछ ।

 जसै कक्षा चढ्दै गएँ, ईन्दिरा मिसको आवाज पनि छुट्दै गयो । मैले गाँउने घामपानी गीत पनि ओझेल पर्दै गयो । यो ओझेलले मैले बुझेको कवितालाई छोपिदियो । झनहरी सर कविता घोकाउनुहुन्थ्यो । भुलेका प्रत्येक अक्षरको बदला एक लौरो खानुपर्ने भयले कविता खुब घोक्थेँ म । स्कुलमा घोकेका धेरै कविता आज पनि मुखाजप छ । यसरी दश कक्षासम्म पुग्दा म भित्र कविता सम्बन्धी अर्कै बिचार उब्जिएको थियो । म सोच्थेँ, कविता त घोक्ने कुरा रहेछ । दश पास गरेँ । अङ्ग्रेजी र गणितको आतंकले त्रसित म लुरुलुरु नेपालीको शरण परेँ । बाह्रमा बीसवटा कविता पढनु पथ्र्यो । पढ्थे । यतिखेरसम्म कविताले म भित्र स्पष्ट अनुभुत गर्न नसक्ने भावको तरङ्ग सञ्चार गर्न थालेको थियो, स्पष्ट हुन मन लाग्थ्यो । पाठ्यपुस्तकमा दिइएको समीक्षा पढ्थेँ । समीक्षा मेरो स्पष्ट भावमा घन भएर बजारिन्थ्यो । मैले अलिअलि बुझेको कविता र समीक्षाको व्याख्या कतै मेल खान्थेन । त्यतिखेर म सोच्थँे, कविता भनेको पुस्तक लेख्ने मान्छेले मात्र बुझ्ने कुरा रहेछ । आफूभित्र कविता बुझ्ने चाहना हुर्किएको थाहा पाउँदा एक पटक आग्रह गरेथेँ, “सर भिखारी कविता बुझ्नेगरी बताईदिनुस् न ।” गुरु अझै अप्ठ्यारो लाग्ने गरी समीक्षामै लेखिएका कुरा दोहो¥याउनुहन्थ्यो । म बुझ्दिनथेँ । त्यसपछि महशुस भएथ्यो, म बोधो छु, बोधो मान्छेले कविता कहिल्यै बुझ्दैन । म भित्र फेरी कविता सम्बन्धी अर्कै धारणा विकास भयो । कविता भनेको नबुझिने कुरा पो रहेछ ।

यसैगरी समय बित्दै गयो । बितेका समयसँग म भित्र कविताप्रतिको मोह चैँ बढिरह्यो । एकोहोरो पढिरहँे । यसबीच मैले अनुभूत गरेको कविता गाउने कुरा, घोक्ने कुरा र नबुझ्ने कुरा बिस्तारै बिलाउँदो थियो । पढिरहँदा कविताले अनौठो आनन्द दिन थाल्यो, नौलो संसार देखाउन थाल्यो । यो खुसीमा मैले भानुभक्तलाई पढेँ । लेखनाथ र देवकोटालाई पढेँ । रिमाल, भूपी र मोहन कोईरालालाई पढेँ । अनि बैरागी काँईला र अरु अरु थुप्रै कविलाई पढेँ । यीमध्ये कतिलाई बुझेँ कतिलाई बुझिनँ , अझै बुझ्दिनँ । अलि अलि बुझेर अनि अलि अलि नबुझेरै पनि मैले रिमाल र भूपीलाई असाध्यै मन पराएँ । यी दुई प्रिय कविका कविताले नै मलाई कविता पढिरहन प्रेरित गरे । त्यसपछि मलाई थाहा भयो, कविता नबुझ्ने मात्रै हुँदारहेनछन् । सजिलो भाषामा पनि बुझिने कविता लेखिँदा रहेछन् । त्यसैबेला देखि कविताले तानिरहेछ मलाई आपूmतिर निरन्तर निरन्तर... साहित्यमा कथा र उपन्यास, संस्मरण र निबन्धात्मक कृतिमा पनि उत्तिकै रुचि छ । तैपनि कहिले अति नै कहिले केही कम मात्रामा म कविता नै पढ्छु । कतै हिड्नु परे झोलामा कवितै बोक्छु । गाडीमा यात्रा गरिरहँदा बदलिइरने दृश्य र कविता मलाई उत्तिकै रोमाञ्चक र प्रिय लाग्छ । एउटै संग्रहका कवितामा हुने संवेदनाका फरक फरक अनुभुतिलाई म शब्दले व्यक्तै गर्न सक्दिनँ ।

भनिहालेँ नि म कवितै पढ्छु धेर । फेसबुक चलाउन थालेपछि यो क्रम अझ बढेको छ । बढ्दो छ । फेसबुकमा जोडिनु भएका साहित्यिक मनहरुसँगको सम्वादले मेरो पाठकीय चेतलाई परिपक्व र फराकिलो बनाउन निकै मद्दत गरेको छ । फेसबुकबाटै घनिष्ट भएका दोलखातिरका मित्र सौरभ कार्कीसँग साहित्यबारे हुने लामा फोन संवाद मेरा अविस्मरणीय क्षण हुन् । अप्रकाशित सर्जकहरुलाई प्रकाशित हुने प्रिय संसार हो फेसबुक । यसमा दिनहुँ प्रकाशित हुने सिर्जनाहरुबाट अरुले जस्तै मैले पनि प्रशस्त लाभ प्राप्त गरेको छु । बिशेष गरी कविता पढिरहने मेरो चाहनाको निम्ति फेसबुक अमूल्य प्राप्ति भएको छ । अहिले पढ्नकै लागि काठमाडौँ आएको छु । यता आउने बेला आमाले गाली गर्नुभएथ्यो, “अरु पढेर जागिर खान्छन् तँचाहिँ जागिर छोडेर पढ् अब, खुब ठूलो काम गर्ने भइस् ।” पढ्नुको अर्थ जागिर भनी बुझ्नुभएकी मेरी आमाको गाली मुसुक्क हाँसेर सुने मात्र । 

अतः आजकाल म पढ्न भनेरै काठमाडौँमा छु । यहाँ पनि कवितै पढिरहेछु । केही साथीसँग मागी, केही आफैले किनेर निकै कविता पढेँ । पढेका मध्ये बुद्विसागरका कविता, ल्याम्पपोष्टबाट खसेको जून, हतारमा यात्रा, गार्मेन्टकी गायत्री र प्रशन्न घिमिरेको र...निशब्द मलाई असाध्यै मन परे । पछिल्लो समयका यी प्रभावशाली कविताले मलाई बुझाएका छन्, कतिपय कवि सरल लेख्ने ध्याउन्नमा कलालाई भुल्दा रहेछन् । कतिपय चैँ कलात्मक बनाउने मोहमा सरल र बोधगम्य कविता लेख्न चुक्दा रहेछन् । उल्लेखित कविका कविताहरूमा यी दुवै कुराको अभाव पाएँ मैले । कला र विचारको सन्तुलनले यी कविता म बारम्बार दोहो¥याईरहन्छु । कविता पढेको निकै समय पछि मैले बुझेको छु, ईन्दिरा मिसले झैँ कवितालाई कसैले लय हालिदिनु नपर्ने रहेछ । यसमा आफैँ एउटा मधुर लयको सिर्जना हुदोरहेछ । यो कसैले घोकाउने गुरुकुलीय वेदका मन्त्र पनि होईन रहेछ । सुन्दर कविताका पंक्तिहरु त मुटुलाई छोएर आफै हृदयमा बस्दारहेछन् । अझ कविता कुनै पण्डितको पुराण त हुदै होईन रहेछ, अरुले अथ्र्याइदिए पछि मात्र बुझ्ने । यो त सबैले आफ्ना लागि आफ्नै आफ्नै विवेकले बुझ्न सक्ने बृहत ज्ञान भण्डार पो रहेछ । यसरी म भित्र दिन प्रतिदिन कविताप्रतिको मोह निरन्तर आकासिँदो छ । अतः सूर्यमुखी फूल सूर्यप्रति आकर्षित भएझैँ म पनि कवितासँग आकर्षित छु । फलामका कणहरु चुम्बकसँग तानिएझैँ म पनि कवितासँग तानिदो छु । नदीको लागि समथर भूमिझैँ मेरो लागि पनि कविता निरन्तर हिडाइरहने जीवनको गति भएको छ । यसर्थ भनेको हुँ कविताप्रति मेरो निकै मोह छ ।


 सिमरा ७ बारा हालः कुलेश्वर, काठमाडौँ
 roshan.reader@gmail.com

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes