Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

संस्मरणमा फिल्म हेराइ

 प्रभाकर गौतम
               
                                                                                                   

फिल्म हेराइका मेरा थुप्रै सम्झनाहरु छन् जुन आजको आँखाबाट हेर्दा रोचक लागिरहेछ । यस संस्मरणमा मैले अपरिक्व उमेरमा व्यावसायिक फिल्म हेर्दाका अनुभवको मात्र चर्चा गरेको छु ।

मेरो जीवनमा चलचित्रका दृश्यहरुलाई जसरी देखाइन्छ उसरी नै ग्रहण गर्ने र सबै कुरा सत्य भएको भान हुने समय पनि थियो भनेर आज पत्याउन गाह्रो लागिरहेछ । तर यो सत्य हो । सायद मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट सबै गुज्रन्छन् होला । म पनि गुज्रिएँ, र नै धेरै पटक कलाकारसँगै रोइयो÷हाँसियो ।
फिल्मप्रति विचित्रको आकर्षण हुन्छ धेरै मान्छेमा । ममा पनि थियो र अद्यापि छ । पहिलो चोटि कैले र कुन फिल्म हेरेँ सम्झन सकिरहेको छुइनँ । नेपालमा टेलिभिजन आगमन हुनुभन्दा केही वर्ष अघि जन्मेकोले अनुमान चाहिँ गर्न सक्छु, मैले पहिलो पटक कुनै हिन्दी फिल्म नै हेरेँ र त्यो पनि सिनेमा हलमा गएर । स्याटेलाइट/डिस टिभीको आगमनपूर्व फिल्म हेर्नका लागि कि सिनेमा हल नै पुग्नु पथ्र्यो कि त भाडामा डेक ल्याएर हेर्नुपथ्र्यो ।

मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरु थिए । सबै सिनेमा घरमा हिन्दी फिल्म बढी चल्थे । त्यसबेलाको फिल्मको प्रचार–प्रसार शैलीले मलाई निकै तान्थ्यो । फिल्म परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा फिल्मको पोष्टर टाँसेर दुई÷चार जनाको समूह माइकिङ गर्दै हिड्थ्यो । नयाँ फिल्म लाग्दा होस् वा कुनै फिल्मले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी यो अवसर छुटाउँदिन थिएँ । तर त्यसबेला फिल्मको पोष्टर हेर्नु जति सजिलो कहाँ थियो र फिल्म हेर्न ? त्यो आप्नो बसको कुरा थिएन ।

तैपनि फिल्म हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरु फिल्म हेर्न जाँदा अक्सर मलाई साथी लैजानु हुन्थ्यो । फिल्म हेर्न पाउनु नै ठूलो कुरा भएपनि मलाई मारधाडवाला फिल्म मात्र जच्थ्यो । कुनै फिल्ममा फाइट आएन भने निकै बोर लाग्थ्यो । यस्तै एउटा फिल्म थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो फिल्म हेर्दा म हलमै निदाएको थिएँ । कारण प्रष्ट छ, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने पनि मेरो गजबको काइदा थियो । ‘औलाद’ भन्ने फिल्ममा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसैलाई तीनओटा फाइट सम्झेको थिएँ । सम्झिल्याउँदा आज पनि हाँस्छु म ।

फिल्म हेराइका तीता मीठा अनगिन्ती सम्झनाहरु मन प्लस मस्तिष्कमा टाँसिएर बसेका छन् । चाहे त्यो फिल्म हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्दा दलदलमा फसेको होस् चाहे बोर्डरपारीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिडेको । अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला ती दिनहरुको सम्झनाले पीडा दिँदैन बरु रोमाञ्चित पार्छ ।

फिल्म हेर्ने गजबका दिन चाहिँ किशोरावस्थामा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरुको अनुमति बिना पनि स्कूल वा टोलछिमेकका साथीहरुसँग फिल्म हेर्ने मौका जुराउने जुक्तिहरु आपैm निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, फिल्म हेर्ने अवसर जुराउन गाह्रो हुन्थेन । घरका सदस्यहरुको गाली र चुटाइ खाए पनि फिल्म हेर्ने तिर्सना घटेन, बढिरह्यो । समय जति–जति बित्यो फिल्म हेर्ने विकल्पहरु थपिँदै गए ।

त्यो बेला मिथुन र धर्मेन्द्रका एक्सन प्रधान फिल्महरु हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै फिल्मका एक्शन टिप्सहरुको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा हाम फालेर होस् चाहे घरको बार्दलीबाट भुइमा फाल हानेर, रील लाइफका हिरोहरु भैm रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा पाटो थियो ।

पछि, फिल्मकोे तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही फिल्मपे्रमीहरु नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने फिल्म हेर्न सकेसम्म छुटाउँदैन थिए । म पनि यसमा समावेश हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी फिल्म हेरिभ्याएँ ।

फिल्म हेराइको अर्को चरण विशेष छ । २०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल बनेपछि फिल्म हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाईहरु काम गर्ने त्यो हल ‘आप्mनै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन चार वर्ष त्यस हलमा लागेका फिल्महरु विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका फिल्मको मन परेका दृश्यहरु मात्र हेर्न पाउने समेतको पहुँच भयो । यसपछि त मन नपरेका फिल्महरु समेत धेरै पटक दोहो¥याएर हेर्न थालियो । घरमा भन्दा बढी हलमा बास हुने दिन पनि आए ।
यसले व्यवसायिक हिन्दी फिल्मका लगभग सबैजसो फर्मूला त थाहा भयो तर हाम्रो चोकको त्यो नयाँ सिनेमा घरले मेरो पढाइ चाहिँ धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्रगतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।

एउटा लामो कालक्रमपछि आज मेरो लागि फिल्म, हिजो जस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवन र जगत बुभ्mन सघाउने दृश्य साहित्य भएको छ । अझ, व्यक्ति वा समाजका विविध पाटोको बारेमा बुझन सघाउने माध्यम पनि बनेको छ । सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा फिल्मको उपयोगिताबारे धेरैले बोलिसकेका/लेखिसकेका छन् । तथापि, गम्भीर फिल्म हेर्दाका अनुभव तथा अनुभूतिबारे अर्को सन्दर्भमा लेख्ने अपेक्षाका साथ यो प्रसङ्ग यत्ति नै ।

स्मृति

॥ प्रभाकर गौतम ॥
जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना ।

पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं ।

उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्‍नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर प्रथम वर्षमा । म पनि सोही कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । उनी सायद भारतकै कुनै ठूलो सहरमा पढ्ने योजनामा थिइन् तर खै के मिलेन र काठमाडौं आइन् । नेपाली सरकारी कलेजको गञ्जागोल वातावरणमा उनलाई रस नलागेको उनको अभिब्यक्तिबाट म सहजै अनुमान लगाउन सक्थेँ । बेला-बेला ठट्यौली गर्दै उनी टिप्पणी गरिरहन्थिन् । तर फरासिलो स्वभावका कारणले उनले म भन्दा धेरै साथीभाइ बनाइसकेकी थिइन् ।

एउटै कलेजमा भएकाले हामी सधैंजसो भेट्थ्यौं । तर फरक-फरक तहमा भएकाले हाम्रो भेट छोटो हुन्थ्यो । एक-अर्काप्रति आदर र माया भए पनि हामीले सँगसँगै धेरै समय बिताउने अवसर पाएनौं । यस्तो मौका नै मिलेन । त्यसैले मैले उनलाई बाहिरबाट मात्रै चिनेको थिएँ । उनलाई जति पटक भेटेँ, सधैं 'मस्ती’ मा हुन्थिन् । उनलाई कहिल्यै गम्भीर वा दुःखी मुडमा देखिनँ । दिदीबाट पनि उनका बारेमा रमाइला प्रसङ्गहरू मात्र सुनेको थिएँ । त्यसैले उनीसँगको भेट रमाइलो लाग्थ्यो । मेरा नजिकका साथीहरू पनि उनलाई चिन्न थालिसकेका थिएँ, मेरै दिदीको रुपमा । उनी आफू पढ्ने कलेजमै भर्ना भएकोले मलाई कलेजको वातावरण पहिलेको भन्दा रमाइलो लाग्न थालेको थियो । उत्साह बढेको थियो ।

तर मेरो उत्साह लामो समयसम्म टिक्न पाएन । तीजको बेला थियो । म कलेज गएको थिइनँ । अचानक कलेजबाटै एउटा साथीको फोन आयो । उसको आवाज मलिन थियो । उसले एउटा ब्याड न्यूज छ भन्दै अप्रत्यासित रूपमा भन्यो "कलेजमा बिनी दिदीले सुसाइड गरेको हल्ला छ, तिमीलाई जानकारी दिन फोन गरेको ।" उसको कुराले म निस्तब्ध भएँ । प्रत्युत्तरमा मैले भनेँ "होइन होला ।" तर उसले "मलाई पनि विश्वास लागेको छैन तर..." भन्यो ।

कलेज पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाटाभरि मनमा एउटै प्रश्न आइरहृयो, त्यस्तो "बिन्दास" मान्छेले आत्महत्या ? कलेज पुगेपछि उनका साथीहरूलाई भेटेपछि उनको आत्महत्याको घटना अविश्वसनीय भए पनि पत्याउन बाध्य भएँ । त्यो दिन दिदी पनि कलेज गएकी थिइनन् । दिदीलाई फोन गरेर सुनाएँ, उनी फोनमै रुन थालिन् । रसिलो आँखा लिएर दिदी आइन् र म उनीसँगै पाटन अस्पताल पुगेँ । हामी दुवैले शवगृहमा लाश हेरेपछि आँसु थाम्न सकेनौं । दिदीले समेत अनुमान गर्न सकिनन् उनको आत्महत्याको कारण । मलाई त झन् थाहा हुने कुरै भएन, उनीसँग परिचय भएको करिब ६ महिना जति भएको थियो होला । उनको घरका सदस्यहरूले पनि आत्महत्याको  कुनै कारण फेला पार्न सकेका थिएनन् ।

यो घटना पूर्व मलाई आत्महत्या गर्ने सबै मानिस निराशावादी हुन्छन् भन्ने लागेको थियो । तर बिनी दिदीको आत्महत्यापछि मेरो धारणा परिवर्तन भएको छ । सधैं हाँसीखुसी देखिने मानिस पनि यस्तो दुर्घटनाको सिकार हुँदोरहेछ । सायद यस्ता मान्छेले अरुलाई आफ्नो दुःख बाँड्न अझ गाह्रो हुने भएर हो कि ?

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes