॥ प्रभाकर गौतम ॥ |
जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना ।
पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं ।
उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर प्रथम वर्षमा । म पनि सोही कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । उनी सायद भारतकै कुनै ठूलो सहरमा पढ्ने योजनामा थिइन् तर खै के मिलेन र काठमाडौं आइन् । नेपाली सरकारी कलेजको गञ्जागोल वातावरणमा उनलाई रस नलागेको उनको अभिब्यक्तिबाट म सहजै अनुमान लगाउन सक्थेँ । बेला-बेला ठट्यौली गर्दै उनी टिप्पणी गरिरहन्थिन् । तर फरासिलो स्वभावका कारणले उनले म भन्दा धेरै साथीभाइ बनाइसकेकी थिइन् ।
एउटै कलेजमा भएकाले हामी सधैंजसो भेट्थ्यौं । तर फरक-फरक तहमा भएकाले हाम्रो भेट छोटो हुन्थ्यो । एक-अर्काप्रति आदर र माया भए पनि हामीले सँगसँगै धेरै समय बिताउने अवसर पाएनौं । यस्तो मौका नै मिलेन । त्यसैले मैले उनलाई बाहिरबाट मात्रै चिनेको थिएँ । उनलाई जति पटक भेटेँ, सधैं 'मस्ती’ मा हुन्थिन् । उनलाई कहिल्यै गम्भीर वा दुःखी मुडमा देखिनँ । दिदीबाट पनि उनका बारेमा रमाइला प्रसङ्गहरू मात्र सुनेको थिएँ । त्यसैले उनीसँगको भेट रमाइलो लाग्थ्यो । मेरा नजिकका साथीहरू पनि उनलाई चिन्न थालिसकेका थिएँ, मेरै दिदीको रुपमा । उनी आफू पढ्ने कलेजमै भर्ना भएकोले मलाई कलेजको वातावरण पहिलेको भन्दा रमाइलो लाग्न थालेको थियो । उत्साह बढेको थियो ।
तर मेरो उत्साह लामो समयसम्म टिक्न पाएन । तीजको बेला थियो । म कलेज गएको थिइनँ । अचानक कलेजबाटै एउटा साथीको फोन आयो । उसको आवाज मलिन थियो । उसले एउटा ब्याड न्यूज छ भन्दै अप्रत्यासित रूपमा भन्यो "कलेजमा बिनी दिदीले सुसाइड गरेको हल्ला छ, तिमीलाई जानकारी दिन फोन गरेको ।" उसको कुराले म निस्तब्ध भएँ । प्रत्युत्तरमा मैले भनेँ "होइन होला ।" तर उसले "मलाई पनि विश्वास लागेको छैन तर..." भन्यो ।
कलेज पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाटाभरि मनमा एउटै प्रश्न आइरहृयो, त्यस्तो "बिन्दास" मान्छेले आत्महत्या ? कलेज पुगेपछि उनका साथीहरूलाई भेटेपछि उनको आत्महत्याको घटना अविश्वसनीय भए पनि पत्याउन बाध्य भएँ । त्यो दिन दिदी पनि कलेज गएकी थिइनन् । दिदीलाई फोन गरेर सुनाएँ, उनी फोनमै रुन थालिन् । रसिलो आँखा लिएर दिदी आइन् र म उनीसँगै पाटन अस्पताल पुगेँ । हामी दुवैले शवगृहमा लाश हेरेपछि आँसु थाम्न सकेनौं । दिदीले समेत अनुमान गर्न सकिनन् उनको आत्महत्याको कारण । मलाई त झन् थाहा हुने कुरै भएन, उनीसँग परिचय भएको करिब ६ महिना जति भएको थियो होला । उनको घरका सदस्यहरूले पनि आत्महत्याको कुनै कारण फेला पार्न सकेका थिएनन् ।
यो घटना पूर्व मलाई आत्महत्या गर्ने सबै मानिस निराशावादी हुन्छन् भन्ने लागेको थियो । तर बिनी दिदीको आत्महत्यापछि मेरो धारणा परिवर्तन भएको छ । सधैं हाँसीखुसी देखिने मानिस पनि यस्तो दुर्घटनाको सिकार हुँदोरहेछ । सायद यस्ता मान्छेले अरुलाई आफ्नो दुःख बाँड्न अझ गाह्रो हुने भएर हो कि ?
0 :: प्रतिक्रिया:
Post a Comment