॥ रमेश सफर निरौला ॥ |
२०६६ पुस ३० गते राति नेपाल टेलिभिजनबाट प्रसारित हास्यशृंखला 'तीतो सत्य' मा यसका परियोजनाकार दीपाश्री निरौला र दीपकराज गिरीले नेपाली साहित्यजगत्मा एकपल्ट हलचल मच्चाएको विषयलाई उठाए । कवि भानुभक्त आचार्य र राजा पृथ्वीनारायण शाह नेपालमा हाल घटित भइरहेको अव्यवस्था हेर्न एकपल्ट फेरि 'कान्तिपुर' ओर्लिएको र यहाँको 'बबन्डर' देखेर ज्यादै निराश भएको कुरालाई नाटकीकरण गरेर हास्यशृंखलालाई रोचक, व्यङ्ग्यात्मक र विवादास्पद समेत बनाए परियोजनाकारद्वयले ।
हुनत नेपालका राजा पृथ्वीनारायण शाहको योगदान र भानुभक्तको नेपाली भाषा साहित्यमा योगदानको चर्चा यस सङ्क्रमणकालीन समयमा एउटा विवादास्पद विषय पनि हो तर आज हामी यस लेखभरि समालोचनाका विविध अर्थनिरुपणकका काँटाले भन्दा पनि नेपाली साहित्यमा भानुभक्तको उपाधि 'आदिकवि'माथि उठेका प्रश्नहरूको अध्ययनमा केन्द्रित हुनेछौं । समालोचनाभित्र छिर्नुअघि समालोचनालाई रुढ, एकांकी र पूर्णविरामतिर धकेल्ने मान्यताको प्रखर विरोधी 'चक्रव्यूह सञ्चेतना'लाई नसम्झी अगाडि बढ्नु मूर्खता ठहर्ला ! २०६० को दशकमा नेपाली समालोचनालाई विनिर्माण (Deconstruction) को औजारले मर्मत थाल्ने चक्रव्यूह सञ्चेतना समालोचकीय सिद्धान्तका आडमा ऐकिकताको नजरले यस सन्दर्भलाई हेर्न लागिपर्दैछौं । प्रस्तुत लेखमा भानुभक्तको उपाधि सही वा गलत भन्नुभन्दा ज्यादा यस उपर उठेका विवादको सन्दर्भ कोट्याउने प्रयास हुनेछ ।
जसरी भानुभक्तका रचनालाई प्रकाशनको माध्ययमबाट नेपाली जनमानससम्म ल्याइपुर्याउने काम मोतीराम भट्टले गरे ठीक त्यसरी नै 'आदिकवि'को उपाधि पनि भट्टले नै प्रस्ताव गरे । (त्रिपाठी : ई. सं १९९७) आदिकविको उपाधि चाहिँ दार्जिलिङका साहित्यसेवीहरूको प्रयासमा तत्कालीन राणा प्रधानमन्त्रीले तोक लगाएर दिएको देखिन्छ । तर यस उपाधिको औचित्यता खोज्दै सर्वप्रथम पं. दीनानाथ सापकोटा बोले । सापकोटाको भनाइ थियो :- भानुभक्तभन्दा अघि रघुनाथले पनि अध्यात्म रामायणको सातै काण्डको अनुवाद गरेका थिए जसमध्ये सम्वत् १९४५ मा साक्षीविनायक गोरखा यन्त्रालय बनारसमा 'सुन्दरकाण्ड' छापिएको थियो । (हस्त नेचाली : ई. सं १९९७)
हृदयचन्द्रसिंह प्रधानले 'भानुभक्त : एक समीक्षा'मा लेखेका छन, भानुभक्त १६ वर्षको मात्र हुँदा शार्दूलविक्रीडित छन्दमा 'कृष्णचरित्र' अनुवाद गर्ने वसन्त शर्मालाई 'आदिकवि' मान्नुपर्ने तर्क राखेका छन् । यता उनको तर्क छ मौलिकतालाई स्थान दिने हो भने 'मौलिक भएर कविताको परिभाषामा' आउने कविता 'स्तुतिपद्य'का कवि यदुनाथ पोखर्याल 'आदिकवि' हुन् । परिस्कृत र आधुनिक भाषाशैली नभएका भानुभक्तलाई आदिकविको उपाधि अयोग्य रहेको जिकिर प्रधानको छ । विवादसँगै आदिकविका लागि दई कुराको तानातान देखिन्छ । पहिलो कविता लेख्नेलाई 'आदिकवि' भन्नुपर्ने वा नेपाली जनमानसमा बुझ्ने शैलीका कविता लेख्ने कविलाई 'आदिकवि' भन्नुपर्ने विषयमा भने नेपाली विद्वानहरू पनि एकमत छैनन् र स्पष्ट विभाजित छन् ।
जुद्धशमशेरले प्रधानमन्त्री हुँदा दिएको उपाधि आदिकवि कतिले त्यससमयमै मन नपराएको भए पनि राजनीतिक रूपले खतरा देखेर बिरोध गर्न नसकेको देखिन्छ भने कतिपयले चाँहि मौका पर्नासाथ विरोध गरेका छन् । कतिसम्म भने राणा भएर नै पनि साहित्यकार बालकृष्ण समले पनि स्पष्ट धारणा राखेका छैनन् । 'भानुभक्तको शैली' नामक रचनामा भाषाशैलीका लागि भानुभक्तलाई सर्वश्रेष्ठ मान्ने समले उनी 'ठूला कवि होइनन्' भनेर आदिकविको उपाधि अनुपयुक्त रहेको संकेत गरेका छन् तर पछिल्लो समयमा वि.सं. २००० मा 'भक्त भानुभक्त' नाटकको भूमिकामा 'आदिकवि' उपाधिलाई समर्थन गरेका छन् । समको यो दोहोरो चरित्र देख्दा लाग्छ त्यससमयमा राजनीतिक रूपले खासगरी राणा प्रधानमन्त्रीले गरेका कामको अन्ध समर्थन गर्नुबाहेक अर्को विकल्प थिएन । र समलाई पनि आफ्नो विगतको धारणामा पुन:विचार गर्न लगाइएको हुनसक्ने आधार धेरै छन् । राणा भएकैले उनलाई जेल नै त हालिएन तर पनि भित्री रूपमा दबाब आएको नकार्न सकिँदैन नत्र उनले आफ्नो भनाइलाई फेर्नुपर्ने जरुरी नै किन पर्यो होला ? बालचन्द्र शर्माले त भानुभक्त पूर्वका कविहरूलाई स्पष्ट शब्दमै उनीहरूको महत्त्व केवल यतिमै निहित छ, उनीहरू भानुभक्तभन्दा केही अघि जन्मिए भनेर भानु पूर्वका कविहरूको अवमूल्यन गरेका छन् (भानुभक्त : बालचन्द्र शर्मा, वि.सं. २०१४) ।
आदिकविको पदवीलाई अस्वीकार नै गर्नेहरूमा आनन्ददेव भट्ट, रामकृष्ण शर्मा, ताना शर्मा र वासुदेव त्रिपाठी समेत पर्दछन् । सिक्किमका कवि गुमानसिंह चाम्लिङले त 'आदिकवि' को विरोध गर्दा कलकत्ताको राइर्टस बिल्डिङमा आक्रमण मात्र भएन बरु पश्चिम बंगालका तात्कालीन मुख्यमन्त्री विधानचन्द्र रायको पैसा खाएर नेपाली भाषा र आदिकविविरोधी भएको आरोप लगाइयो (चाम्लिङ : ई.सं. १९९७ भूमिका खण्डबाट) ।
अर्कोतर्फ भानुभक्तलाई 'आदिकवि'को उपाधि दिलाउन जोडतोडले लाग्नेमा सूर्यविक्रम ज्ञवाली पनि एक थिए । प्रा. गोकुल सिन्हाको यस भनाइले पनि उक्त कुरा पुष्टि गर्छ :- "सबभन्दा ठूलो कुरो त भानुभक्तलाई आदिकविको सम्मान दिने श्रेय यिनै सूर्यविक्रम ज्ञवालीलाई छ ।" (भानु : भानुभक्त विशेषांकबाट)
भानुभक्तलाई नेपालका आदिकवि मान्नु नहुने तर्क लिएर एउटा समूह अहिले अगाडि आएको देखिन्छ । उनीहरूको तर्क छ कि बहुल भाषा र संस्कृति भएको नेपालमा नेपाली भाषामा लेख्ने भानुभक्त कसरी आदिकवि भए ? उत्तर खोज्न यताउता भौंतारिनु जरुरी छैन किनकि भानुभक्त नेपाली भाषामात्रका आदिकवि हुन् न कि अर्थ्याइएझैं सम्पूर्ण नेपालीका । मैथिली भाषाका आदिकवि विद्यापति भएजस्तै अन्य भाषासमुदायले पनि आफ्ना भाषामा कविता गर्ने प्रथम वा भाषालाई समृद्ध बनाउने प्रथम कविलाई आदिकवि भन्न सक्नुपर्छ । मुलुक अहिले भाषिक रूपले पनि संघीयताको अभ्यासतर्फ लाग्दैछ, त्यस समयमा सघीय संरचनाले भाषा र सम्प्रदायका आधारमा यस्ता पदवी अवश्य देलान् । भानुभक्तले गरेको एउटा काम भने अविष्मरणीय रहिरहनेछ त्यो हो नेपाली भाषाको सम्प्रेषणीय रूपमा प्रयोग र त्यसको रामायण मार्फत प्रचारप्रसार । नेपाली भाषालाई अझ जनमानससम्म पुर्याउने कामको श्रेय त रामायणलाई प्रकाशित गर्न अग्रसरता देखाउने मोतीराम भट्टको पनि छ । तत्कालीन नेपाल भाषिक रूपले एक नेपाली भाषाको प्रचारप्रसारसँगै अन्य भाषाको वैकल्पिकतालाई अस्वीकार गर्ने किसिमको भएको समयमा र आफ्नो मातृभाषामा कलम चलाउनु भानुभक्तको दोष हुनसक्दैन ।
आफ्नो मातृभाषामा लेखेकै कारण नेपालका अन्य भाषाको अवमूल्यन भानुभक्तले गरे भन्ने खालको जुन अर्थ आज लगाइदैछ त्यो भने स्वीकार गर्न नसकिने खालकै छ । यदि भानुभक्तले नेपाली भाषामा लेख्नु गलत हो भने मैथिली कवि विद्यापतिले पनि मैथिली भाषामा लेख्नु त्यस्तै त्रुटि हो । भानुभक्त, जसले पहिलो नेपाली भाषी कवि जसले नेपाली भाषाको उन्नतिको उदय गर्यो भन्ने अर्थमा हो भने नेपाली भाषाको आदिकवि भन्नुमा आपत्ति नजनाए हुन्छ जसरी विद्यापतिलाई पनि हामी मैथिली भाषाका आदिकवि भन्दै आइरहेका छौं । अर्कोतर्फ, नेपाली भाषामा प्रथम कलम चलाउने कविका रूपमा उनलाई आदिकवि भनिएको हो र त्यस्तो प्रयास गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यसो गरिएमा उनीभन्दा अघिका कतिपय कविहरू उदयानन्द अर्ज्याल, रघुनाथ, वसन्त शर्मा, यदुनाथ पोखर्याल इत्यादिको अवमूल्यन हुनेछ । कसैलाई दिइएको उपाधिले ऊ स्वयंलाई बोझ नहोस् र अरुलाई समेत असर नपुर्याओस् भन्नेतर्फ सोच्नु जरुरी छ ।
आफ्नो मातृभाषामा लेखेकै कारण नेपालका अन्य भाषाको अवमूल्यन भानुभक्तले गरे भन्ने खालको जुन अर्थ आज लगाइदैछ त्यो भने स्वीकार गर्न नसकिने खालकै छ । यदि भानुभक्तले नेपाली भाषामा लेख्नु गलत हो भने मैथिली कवि विद्यापतिले पनि मैथिली भाषामा लेख्नु त्यस्तै त्रुटि हो । भानुभक्त, जसले पहिलो नेपाली भाषी कवि जसले नेपाली भाषाको उन्नतिको उदय गर्यो भन्ने अर्थमा हो भने नेपाली भाषाको आदिकवि भन्नुमा आपत्ति नजनाए हुन्छ जसरी विद्यापतिलाई पनि हामी मैथिली भाषाका आदिकवि भन्दै आइरहेका छौं । अर्कोतर्फ, नेपाली भाषामा प्रथम कलम चलाउने कविका रूपमा उनलाई आदिकवि भनिएको हो र त्यस्तो प्रयास गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यसो गरिएमा उनीभन्दा अघिका कतिपय कविहरू उदयानन्द अर्ज्याल, रघुनाथ, वसन्त शर्मा, यदुनाथ पोखर्याल इत्यादिको अवमूल्यन हुनेछ । कसैलाई दिइएको उपाधिले ऊ स्वयंलाई बोझ नहोस् र अरुलाई समेत असर नपुर्याओस् भन्नेतर्फ सोच्नु जरुरी छ ।
धेरैले आदिकविको विरोध गरेपनि स्वतन्त्र भएर आलोचना गर्नेमा 'भानुभक्त : एक समीक्षा' पुस्तकका लेखक हृदयचन्द्रसिंह प्रधानको नाम अग्रपंक्तिमा आउँछ । उनले मुख्यतः तीन कुरा उठाएका छन् । प्रथम स्वतन्त्र विचार वा कल्पना अथवा नेपाली ढंगको कल्पना वा नेपाली भाषाको प्रयोग समाविष्ट भएको दृष्टिमा हेर्ने हो भने 'श्री कृष्ण चरित्र' नै नेपाली भाषाको आदिकविता र यसका रचनाकार वसन्त शर्मालाई आदिकवि भन्नुपर्ने तर्क राखेका छन् जुन तार्किक र स्पष्टवादी छ । दोश्रो, पूर्ण मौलिक कवितालाई हेर्दा नेपालीभाषाको प्रथम मौलिक कविता 'स्तुतिपद्य' नै आदिकविता र यसका रचयिता यदुनाथ पोखर्याललाई आदिकवि मान्नुपर्ने धारणा राखेका छन् । तेश्रो, आधुनिक नेपाली भाषाको थालनी तथा वर्तमान नेपाली भाषाको रूपविन्दु भानुभक्तको रामायणदेखि सुरु भएको हो । आधुनिक रूपमा आउने भाषाको परिस्कृतिलाई लिएर अदिकविता र आदिकविको उपाधि दिइयो भने भानुभक्तलाई पन्छाएर लेखनाथ पौड्याललाई आदिकवि भन्न सकिने तर्क राखेका छन् । अझ अगाडि बढेर प्रधानले त भाषाकै परिस्कृतिलाई मात्र हेर्ने हो भने लेखनाथभन्दा बालकृष्ण सम र समभन्दा सिद्धिचरण श्रेष्ठलाई आदिकवि उपाधि दिनुपर्ने तर्क राखेका छन् । यस कुराको पछाडि लाग्ने हो भने त आधुनिक समयमा अझ परिस्कृत कविता लेख्नेलाई नै आदिकवि मान्नुपर्ने हुनसक्छ र यो क्रम अझ उत्तरआधुनिक समयमा र यस सन्दर्भका कविहरूमा अझ बढी लागू हुने देखिन्छ । अन्ततोगत्वा प्रधान भानुभक्तलाई आदिकवि मान्नै नहुने बरु उनलाई 'आदि प्रतिनिधि कवि' भन्नुपर्ने प्रस्ताव गर्दछन् । (प्रधान, 'भानुभक्त : एक समीक्षा', पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण) ।
कुरा जता टुङ्ग्याउन खोजिए पनि हाल भइरहेको विवाद नेपाली साहित्यमा एकपल्ट उठेर सेलाइसकेको विवाद हो । नेपालमा चलेको दशकीय लामो जनयुद्ध र जनआन्दोलन ताका मात्र हैन मधेस आन्दोलनमा समेत धेरै सालिकहरू भत्काइए । सालिक भत्किनेमा सहिददेखि राजा, कवि, समाजसेवी र अन्य क्षेत्रका व्यक्ति समेत परे । हाम्रो संवेदनशीलताले के सम्म देख्यो भने तिनका सालिक असुहाउँदिला र भद्दा भइदिए । नेपालको एकात्मक र विभेदकारी राज्यव्यवस्थासँग सहिद, कवि, समाजसेवी आदिका टाउका वा सालिक फोडेर बदला लिन खोजियो । जस कार्यले विभेदकारी र निरंकुश राज्यसत्तालाई भन्दा हामीलाई बढी नोक्सानी भयो । भानुभक्त र विद्यापतिका सालिक तोडिए तर उनीहरूलाई कत्ति दुखेन किनकि, उनीहरू त नदुख्ने भइसकेका थिए । परिवर्तनका निम्ति तातो गोलीले समेत नदुख्ने सहिद तिनका सालिकमा हान्दा के डगमगाउँथे ! भानुभक्तलाई 'आदिकवि' भनिनु भन्दा ज्यादा नेपाली साहित्यमा कलम चलाउनु थियो र उनले त्यसै गरे । आलोचना सहनुपर्ने डरले कलम नचलाएका भए हालको नेपाली साहित्य र मैथिलीमा कलम चलाउने विद्यापतिले पनि आफ्नो मातृभाषामा कलम नचलाएका भए हालको मैथिली भाषा साहित्य यति समृद्ध हुने थिएनन् ।
भानुभक्तले नेपालीकरण गरेर नेपालका अन्य मातृभाषालाई उपेक्षा गरे भन्ने तर्क राख्ने हो भने विद्यापतिले पनि मैथिलीबाहेक थारु, अवध, भोजपुरी आदि साहित्यउपर त्यस्तै अन्याय गरेको ठहरिने छ । त्यतिमात्र नभएर अन्य साहित्यकार/लेखक जसले एक भाषामा लेख्छ उसको अन्य भाषाप्रतिको दायित्व पनि खोज्नुपर्ने आवश्यकता देखिन्छ । यदि यस्तो खोजी सुरु भयो भने को कुन भाषामा कति ज्ञाता हुन्छ र उसलाई आफूले जानेको भाषामा लेख्ने छुट हुन्छ, हुँदैन भन्नेतर्फ ध्यान दिनैपर्छ । नेपाली भाषाका प्रखर भानुभक्तले अन्य भाषामा लेखेनन् भनेर नेपाललाई भाषिक रूपले राज्य विस्तार गर्ने 'विस्तारवादी भानुभक्त' भन्न नमिल्ला ।
'चक्रव्यूह सञ्चेतना' भन्छ : समालोचना निरन्तरगामी परियोजना हो र यसभित्र छिरेपछि ऐकिकताको नजरले कृतिलाई नहेर्ने हो भने कृति वा समस्यालाई समाधानसम्म ल्याइपुर्याउनु असम्भवप्रायः छ । कुनैपनि कुरालाई एकै हेराइमा यही हो भनी ठोकुवा गर्ने प्रवृत्तिमाथि धावा बोल्ने चक्रव्यूह सञ्चेतनाको सिद्धान्तमा रहेर भानुभक्तको आदिकवित्वमाथि गरिएको बहसमा टुंगोमा नपुग्नुलाई निरन्तरगामी परियोजना मान्नुपर्छ । किनकि विवादसँगै उठेका प्रश्न र तिनका उत्तर निरन्तर बहस र समालोचनाले मात्र सम्भव छन्, ध्वंसले होइन ।
सन्दर्भ सूची :
- त्रिपाठी, वासुदेव, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ५१, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण ।
- नेचाली, हस्त, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ६०, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण ।
- प्रधान, शिव (सम्पादक), 'बृहत् समालोचना' गान्तोक प्रकाशन सिक्किम, २०४५ प्रथम ।
- प्रधान, हृदयचन्द्रसिंह, 'भानुभक्त : एक समीक्षा' पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण ।
- शर्मा, बालचन्द्र, 'भानुभक्त' पृ. १२०, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, ई. सं. २०१३, प्रथम संस्करण ।
- हाचेकाली सुरेश र अन्य... 'चक्रव्यूह सञ्चेतना र ऐकिक पद्दतिको समालोचना...', समष्टि, वर्ष२४, अंक-५ (२०६० चैत्र-वैशाख २०६१) कृषि विकास बैंक, काठमाडौं, पृष्ठ ४६-५१ ।
- पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिवि कीर्तिपुर ।
1 :: प्रतिक्रिया:
राम्रो अध्ययन गरेको देखिन्छ । मिहिनेत जारी रहोस् ।
Post a Comment