मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।।
दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् ।

बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै दिसा-पिसाब गर्न त त्यत्ति गाह्रो लाग्दैन तर त्यही शौचालय जस्तै भान्छामा पकाएका खाना निल्न भने साह्रै मुश्किल पर्छ । त्यही पनि बेस्वादका बासी तर महँगा । यसपाली टेलिभिजनमा देखिएका खान नहुने कुराको मिसावट र फोहोरको दृश्य मैले बिस्रन सकेको छैन । सायद यसपाली म बाटोमा पाकेका खाना खान सक्दिनँ होला । सोच्दैछु - के व्यवस्था गर्ने भनेर । दशैं छेका सुरु भएको बजार अनुगमन लामा दूरीका यात्रुलाई खाना खुवाउने होटलसम्म पनि पुगे तुलनात्मक रुपमा हामीले स्वच्छ खाना पाउने थियौं कि ?

२०६३ को दशैंमा घर जानुभन्दा केही अघिसम्म म काठमाडौंका सडकपेटीमा व्यावसाय गर्नेहरुसँग अन्तरवार्ता लिँदै थिएँ । मार्टिन चौतारीले प्रकाशन गर्न लागेको सहरीकरणः जीविकाको विविध आयामका लागि जगन्नाथ दाइले लेख्ने अनौपचारिक क्षेत्रसम्बन्धी लेखका लागि । मैले विभिन्न ठाउँमा गएर विभिन्न व्यवसाय गर्ने विभिन्न उमेर समूह र लिङ्गको व्यक्तिहरुसँग कुरा गर्नुपर्ने थियो । त्यसै सिलसिलामा सुन्धारामा ठेलामा मःमः बेच्ने महिलासँग कुरा गर्न मन लाग्यो । भोक लागिरहेको थियो पहिले मःमः खाएरै सम्बन्ध र संवाद अघि बढाऊँ भन्ने विचारले मःमः खान तयार भएँ । पहिलो गाँसको स्वाद मीठो लागेन तर हतार-हतार निलेँ । मलाई घिन लाग्न थालिसकेको थियो । दोस्रो गाँस मुखमा हालेपछि ह्वास्स गनायो । मःमःको दुनो भुइँमा फालेर मैले त्यहीँ बान्ता गरेँ । त्यसको पैसा साहुनीले माग्ने आँट गरिनन् बरु भनिन् - "यस्तै त हुन्छ नि मःमः ! खाने बानी छैन जस्तो छ ।"
मलाई खान पनि आउँछ र मीठो मःमः बनाउन पनि आउँछ भन्ने उनलाई के थाहा
 ?

"खाएर हेर्नुस् न मःमः गनाएको छ", मैले त्यत्ति मात्र भनेँ । 

पछि वसन्तपुरमा ठेलामै मःमः बेच्नेसँग कुरा गरेँ । तर उनले एउटा-दुइटा मात्रै भए पनि चाख्नुस् न भनेर गरेको आग्रह भने स्विकार्न सकिनँ । म साकाहारी भइसकेको थिएँ । त्यसको पाँच वर्षसम्म मैले मासु नै खाइनँ । त्यही अन्तरवार्ताकै क्रममा लाजिम्पाटमा मोतिहारी भारत घर भएका पानीपुरीवालाको पानीपुरीले त मलाई पखालै चलायो । त्यस बेलादेखि हत्तपत्त म सडक खाना खाने आँटै गर्दिनँ ।


अफिसमा खाजा पाक्ने व्यवस्था नहुँदा हामी केही साथी नर्भिक हस्पिटल छेउको लुम्बिनी भोजनालयमा तन्दुरी रोटी खान जान्थ्यौं । एकदिन खाँदाखाँदै साकाहारी तरकारीमा पाकेको साङ्लो भेटियो । त्यसबारे साहुजीलाई गुनासो सुनायौं । उनले "कहिलेकाहीँ साङ्ला त परिहाल्छ नि" भन्ने उत्तर सहज रुपमा दिए । साहुजीले पनि यस्तो भन्न मिल्छ र भनेर हामीले उनलाई जिम्मेवार हुन भन्यौं । तर उनले "के गर्न सक्छौ गर, तिमीहरु जस्ता ग्राहक त यहाँ कति आउँछन् कति" भने । त्यसपछि पनि साथीहरु त्यहाँ जान छाडेनन् । म भने झन्डै एक वर्ष जस्तो त्यहाँ गइनँ । एक वर्षपछि त ती साहुजीले पनि बिर्सिए होलान् । म पनि बिर्सिन बाध्य भएँ । किनभने त्यो पसल वरिपरि त्यत्तिको सफा पसलको विकल्प मसँग थिएन ।

न्यूरोडका गुँदपाक पसलेले त व्यापार होइन अपराधै गरेका हुन् । खोज्दै जाने हो भने त्यस्ता अरु व्यापारका नाममा भइरहेका अपराध खुल्दै जालान् । तर सामान्य होटलमा अपराध गर्ने मानसिकताभन्दा अरु कुरा नै बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छ । थोरै पैसा दिएर उमेर नपुगेका बालबालिकालाई काम गर्न राख्ने चलनले पनि त्यस्तो भएको हो । उनीहरु बिहान पाँच बजेदेखि राति अबेरसम्म काम गर्न बाध्य छन् । शौचालयदेखि भान्छासम्म उनीहरुले नै सफा गर्नुपर्ने हुन्छ । कामदारहरूलाई कामको बोझ धेरै भएकॊ अवस्थामा होटलका साहुजीले चाहेर पनि सफासुग्घर गराउन सक्दैनन् । काम गर्ने मान्छेलाई खुसी नबनाई राम्रोसँग काम गराउन सकिँदैन । साहुजीले अनावश्यक किचकिच गर्दै दबाब दिए ग्राहकले खानेभन्दा पनि फोहोर खाना 
उनीहरु साहुजीलाई नै खुवाउन बेर लगाउँदैनन् । त्यसैगरी उनीहरु त्यस व्यवसायसम्बन्धी तालिम वा औपचारिक शिक्षा लिएर पनि आएका हुँदैनन् । उनीहरु औपचारिक अध्ययनका लागि स्कुल-कलेज जाँदै नगएका पनि हुन्छन् पढेकाहरु पनि बीचैमा छाड्ने नै धेरै हुन्छन् । त्यसैले सफाइ सम्बन्धी उनीहरुको धारणा र हामीले गर्ने अपेक्षा नमिल्न सक्छ । होटल-रेस्टुरेन्टका भान्छा प्रायः नदेखिने ठाउँमा हुन्छ । नाम चलेका होटेल तथा रेष्टुरेन्टहरुमा पनि सफासुग्घरको नाममा डाइनिङ हललाई मात्र ध्यान दिने प्रवृत्ति हुन्छ । भान्छा सफा राख्ने पकाउने-बनाउने कुरामा ध्यान दिने भन्दा पनि प्लेटमा खाना सजाउन नै बढी सिकाउने चलन छ ।

अहिले भइरहेको बजार अनुगमनलाई निरन्तरता दिने हो भने पनि धेरै क्षेत्रमा सुधार हुन सक्छ । अनुगमनकर्ताहरुले हामीलाई थाहै नभएको कुरा बाहिर ल्याएका होइनन् । बजारमा भइरहेको लुट र अपराधको जानकारी सम्बन्धित पक्ष र उपभोक्ता सबैलाई थाहा थियो । बाध्यताले गर्दा नै हामी उपभोक्ताले तिनको सेवा लिने गर्थ्यौं । हाम्रो विकल्प नहुनु उनीहरुको फाइदाको कुरा !

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes