पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् । सामूहिकताको यो सम्बोधन सहज पनि बनेको छ । टपरी भन्ने भाँडोलाई बुझाउन गोलो घेरामा शब्द छर्ने हिसाबमा रङ्गवादी कविले ‘उपद्रो’ मच्चाउनु उनीहरूको निजत्त्व र प्रयोग रहँदै आएको थियो । तर त्यो टपरी पछिल्लो कृतिमा आउँदा सग्लै रूपमा सरल शब्दका सिन्काले बुनिएका छन् । सरलताको यो 'अवतार’ पनि कविको आफ्नै पूर्वशैलीदेखि अर्को प्रयोग बनेको छ । यसको फाइदा : प्रयोगको नाममा शब्दको उबडखाबड र फन्के रोटी हुने लहरलाई कविको सनकको संज्ञा दिँदै कवितादेखि नै विकर्षित हुने पाठकलाई पनि न्याय गरेको देखिन्छ । कविता भनेको ‘यातना-गृह’ होइन भनेर अब तिनले स्वप्निलको नयाँ कृतिको दैलो उघार्न सक्छन् ।
फुटकर रचनामार्फत पनि कवि-लेखकले पाठकसँग संवाद त गरिरहन्छ । तर संवाददेखि अलिक अगाडि बढेर पुस्तकाकार कृतिले पाठकहरूको लागि ‘सभा’को काम गर्छ । यसैले ढिलै गरेर पनि स्वप्निलले नयाँ कृतिको जोहो गरे । एउटा अंगको जाँचबाट रोगको निदान असम्भव भए जस्तै पाठकहरूले सङ्ग्रहबाटै लेखकको शल्यक्रिया गर्छन् । कृतिभित्रका कविताहरू कलाका हिसाबले सुन्दर र वैचारिक तहमा सबल छन् । रङ्गवादी विचारले जताततै रङ्गैरङ्गको भीर अथवा भीरैभीरको रङ्ग देखे झैं यस कृतिलाई इन्द्रेणी सङ्ग्रह मान्दा हुन्छ । राज्यबाट अवसरको रेशमा पछि छुटाइएका वर्गको साझा भारी गरिबी होस् कि, सालिकमा सीमित भएको सहिदको प्रसङ्ग होस्, सरकारको अविरल नग्नताले लाजमर्दो भएर हिक्का छाडेको आम जनता होस् कि दासता खेप्दै-बोक्दै निरीह पिठिउँले त्यो बोझ उलार पार्दै विद्रोहको हुङ्कार गरेको परिवर्तित आवेग होस्, सबै कथा अँटाएको छ कृतिमा ।
परिवर्तनको उद्घोष भए पनि परिवर्तनको अगुवाई गर्नेहरूको पुरानै चालामा थकथकी मान्छन् कवि । भोकाहरूलाई रोटी लिन कुदेको ‘स्वघोषित क्रान्तिकारी’ आखिरमा आफैं भोकाएर एउटा चमेना गृहमा मक्खिँदै हराएको जनपक्षीय आकलन उनका कविताले व्यङ्ग्यात्मक पुटसहित गरेका छन् । परिवर्तनअघिको जोश र आशा तथा परिवर्तनपछिको स्वप्नभंगको सराबरी तुलो हुन् स्वप्निलका कविताहरू ।
३१ थान कवितामध्ये कतिपय यस्ता छन्, देशदेखि परदेशसम्मको बेलिविस्तारका क्रममा विश्वव्यापी अवस्थामा पनि छेड हानेका छन् कविले । आतंकवादको विरोधी स्वर झिक्दाझिक्दै आफैं आतंकवादको स्वरूप लिएको महाशक्ति राष्ट्रको दादागिरीमाथि शब्दको गुलेली आच्छु-आच्छु पार्ने खालका छन् ।
व्यक्तिको अस्तित्त्व खोजको व्याकुलता पनि कविताहरूमा विभिन्न रूपमा चटपटाएको छ । साहित्य भनेको बौद्धिकताको सघन दीपसँगै संवेदनशीलताको तरङ्ग पनि हो । यस हिसाबमा स्वप्निलको कवि व्यक्तित्त्वले मिथक मोह पालेर पुराना विम्बहरूलाई कवितामा खेलाए जस्तै पूर्वजप्रतिको श्रद्धा पनि पोखेको छ । ‘बुबा’, ‘कथा- घुमाउने चौतारीमा काभ्राको …’, ‘पश्चिम क्षितिजबाट…’, यस्तै मन छुने कविता हुन् । दुर्गम भेगको विडम्बनाको झलक उतार्दै सहरबाट गाउँलाई सम्झेर लेखिएको मार्मिक कविताले हुरुक्क पार्ने तागत राख्छ ।
अर्कै देशबाट...टाढाबाट...
एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर म...
मेरी आमासँग नभेटेको कति भो ?
कसरी यो देश यति सुदूर भो ?
कि यो देशबाट मेरो देश पुग्न
यो दुई दिनको जिन्दगीमा
दुई दिन दुई रात लगाउँछ रात्रिबसले,
त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा पर मेरो जाने ठाउँ छैन ।
- (पश्चिम क्षितिजबाट …)
युवा पुस्ता पछिल्लो समयमा अग्रज पुस्ताका लागि प्रिय र इर्ष्याको पात्र बनेका छन् । अहिलेको युवा पुस्ताको कविता यात्रामा ओथारो बसिनसकेको पोहोरा कुखुरा हुन् स्वप्निल । अण्डा पारेर वा ओथारोबाट निस्किने कुखुराको कटकट्याँसभन्दा यिनको स्वर कम धारिलो छैन । आगामी दिनमा यस्तै कटकट्याँस कायम राखे नेपाली कविताको बिहानी यिनै चुच्चाले ल्याउनेछन्, यही आशा गरौं ।
कृति : बाडुली र सुदूर सम्झना
कृतिकार : स्व. स्वप्निल स्मृति
प्रकाशक : रत्न पुस्तक भण्डार
मूल्य : १५० रुपैयाँ
2 :: प्रतिक्रिया:
ramro lagyo reveiw!!!
Jasto Swapnilko Kabita Ustai Samik6a Pani. Sarai Man Paryo.
Post a Comment