सहर गन्थन

॥ जनकराज सापकोटा ॥
पढ्नकै लागि भनेर सहर छिर्दा हरेकका अनुहारमा सपनाका पत्रैपत्र मात्रै खात लागेका हुँदैनन् ।  आफूले हिँड्ने बाटो जस्तो भए पनि, गल्ली जतिसुकै अँध्यारा भए पनि तिनीहरुको मनमा 'सहर न हो' भनेर कुद्‌ने अदम्य आँट हुन्छ । तर सबैभन्दा बेसी सहर छिर्ने ती मानिसको मनको एउटा कुनामा पर्याप्त बहाना हुन्छन् । जसले तिनीहरुलाई सहरमा मस्ती गर्न छुट दिएको हुन्छ । राजनीतिका भाषामा भन्दा यो एउटा अजबको कार्ड हो, जसले सहर छिर्नेहरुलाई घरको गनगन बेवास्ता गर्ने 'लाइसेन्स' मिलेको हुन्छ ।

जति दौडे पनि नसकिने जिन्दगीको दौड, जति सम्झे पनि नसकिने बालवयको याद । यस्तै यस्तै तर्कनाहरुले समयको दौडमा असफलताको भारी बोकिइसकेको हुँदोरहेछ, मान्छेले थाहै नपाई । केटाकेटी नै छु भनेर देखाउनका लागि, समय अझै परिपक्व भइसकेको छैन है भनेर बुझाउन पढाइ एउटा अजबको काइदा रहेछ । पढेर ज्ञान लिने भनेको त त्यस्तै हो अक्सरका लागि । त्यही अक्सरभित्रको एउटा पात्र आफू पनि भइँदोरहेछ थाहै नपाई । 

पढाइ सिद्धिएपछि के-के न गरूँला भन्ने अनेक योजना बनाइन्छ । जुन कुराले आफूलाई भन्दा बढी घरका सदस्यहरूलाई आशावादी बनाइराखेको हुँदो रहेछ । पढाइ सिद्धिएपछि ज्ञान नाढे पनि जिम्मेवारी त बढिहाल्दो रहेछ । छोरा भए पनि, छोरी भए पनि । अझै छोरा हुँदा झनै बेसी । भलै सहरमा नि:शुल्क जीवनका अनेक आयाम देख्‍न पाइएको छ । त्यो पनि एलसिडी टिभी हेरेजस्तो, प्रस्ट र जीवन्त । 

गाउँ फर्किन पनि नसकिने, सहर जित्‍न पनि नसकिने । बडो अनौठो र विचित्रको हुँदो रहेछ पढाइ सकिएपछिको समयको झोलुंगो । सहर गाली गरेरै प्रिय लाग्ने ! गाउँ माया गरेरै पनि विरानो लाग्ने । सहरका गल्लीहरूमा थुक्नुको मज्जा, अग्ला घरहरुको पछिल्तिर अलिकति लाज माने झैं र अलिकति गर्व गरे झैं गरेर पिसाब फेर्नुको पनि अनौठो सन्तुष्टि हुँदो रहेछ । भलै, त्यस्ता सन्तुष्टि क्षणिक किन नहुन् !

हरेक महिना घरबेटीको गनगन पनि कालान्तरमा जिन्दगीको लय लाग्ने । हरेक दिन बढ्दो तरकारीको मूल्य पनि समयक्रममा सहरको उपहार लाग्ने । यस्तै-यस्तै तिलस्मी तथ्यहरुले सहरप्रतिको आकर्षण झनै बढाउँदो रहेछ । नछिरेका चिया पसल र रेष्टुराहरू कति होलान्, नछिचोलेका गल्लीहरू कति होलान, सिनेमा नहेरेका हलहरू कुन-कुन होलान् अनि नचहारेका सपिङ मलहरू कुन-कुन होलान् ? यस्तै-यस्तै तर्कनाले सहर सधैं नौलो लाग्ने, सधैं अनौठो लाग्ने र सधैं प्रिय लाग्ने । प्यान्डोराको बाकस जस्तो लाग्ने कहिलेकाहीँ त ! 

आफैले हेर्दा हेर्दै धनी भएका भएका साथीहरूको कुरा कति गर्नु ? आफैंले हेर्दा हेर्दै खेप्नै नसक्ने सास्तीबाट भाग्न पटक-पटक विष खाएर पनि मर्न नसकेको साथीको कुरा कति गर्नु ? गोजीमा सुकोदाम नभएका बेला पनि प्रेमको तथाकथित गीत गाएर धुन भर्ने चिनेजानेका साथीहरूको कुरा कति गर्नु ? दिगमिग लाग्ने यस्ता तर्कनाहरूबाट ज्यान जाला छुटकारा पाइँदैन सहरमा । सहरको यो विशेषता नै हो अथवा मानिसहरु नै यसका निम्ति सहरभन्दा बढी जिम्मेवार छन् । 

सहरमा हिम्मत गर्नेहरू पनि धेरै छन् । तर अक्सर यस्ता हिम्मतहरू महिनादिन नहुँदै घोर निराशामा बदलिएका छन् । जस्तै हेरौं न, के के न बहादुरी गरे झैं प्रेम सार्थक तुल्याएको धमास दिंदै बिहे गर्ने केटाहरू ! जो महिनादिनपछि नै घरभाडा तिर्न नसकेर अथवा प्रेमिकाका रहरहरू पूरा गर्न नसकेर सपनाहरू पनि गतिलो देख्‍ने मौका पाउँदैनन् । भलै केही हप्तासम्म यौनको मीठो स्वाद चाख्लान् ! तर दिनभर गनगन गर्ने प्रेमिकासँग बिताएको रात कति रङ्गीन होला ? सम्झेर पनि झर्को लाग्छ । अझै कति त बहादुरीको पराकाष्ठा देखाउन बिहे गरेकै वर्ष नपुग्दै सन्तान जन्माउँछन् । पुरुषत्वको धमास दिन्छन् र केही महिना नपुग्दै आफ्नो सन्तानलाई कुपोषणको सिकार बनाउँछन् अथवा कसैले लगेर पालिदिए पनि हुन्थ्यो भन्ने चाहना पाल्छन् । 

जमाना प्रविधिको छ, टाढाटाढैबाट बातचित र चिनजान । तर सबै मान्छे फेसबुकको भित्तामा  देखिएजस्ता सुन्दर हुँदैनन् । सबै मान्छे फेसबुकको भित्तामा पोस्ट गरेका दर्शन जस्ता दार्शनिक पनि हुँदैनन् । भ्रम छर्ने पर्याप्त तरिका सहरमा हुर्किएका छन् । तिनै भ्रमहरूको खेती मैले पनि मेरा अभिभावकलाई गरिरहेको छु । यद्यपि सहर मेरो गाली सुनेर पनि मलाई टेक्ने ठाउँ दिइरहेको छ ।  

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes