भास्कर गौतम
करिब २१ वर्षको उमेरमा पहिलो पल्ट मैले 'अनुसन्धान' प्राज्ञिक कामको आधारभूत कर्म रहेछ भनी बुझ्ने अवसर पाएको हुँ । योभन्दा पहिले प्राज्ञिक क्षेत्रमा गरिने शोध मेरो लागि एउटा काल्पनिक भ्रम थियो । मेरो काल्पनिकीमा अनुसन्धान एउटा जासुसी (डिटेक्टिभ) कार्यको रुपमा थियो । तथ्य खोज्ने, विश्लेषण गर्ने र कुनै निष्कर्षमा पुग्ने । यसले कसरी ज्ञान उत्पादनलाई सघाउँछ मैले बुझेको थिइन ।
अनुसन्धानमा लाग्दै गएको केही वर्षपछि मात्र अध्येता हुनुको बहुआयामिक अर्थ मैले बुझ्न थालेको हुँ । तथापि ममा अन्तर्निहित लेख्नेपढ्ने कर्मले यस पेशाको आकर्षणलाई व्यापक बनाउँदै लान सघाएको हो । साथै कुरा खोतल्ने रुचीसँगै मेरो अन्तरमा कतै 'त्रिmटिकल नागरिक' बन्ने ठूलो अभिलाषा थियो । विभिन्न पुस्तक पढ्दै र काम गर्दै जाँदा मैले बेलैमा ठम्याएँ, अन्य विधाभन्दा व्यवस्थित रुपमा समाज बुझ्ने र समाजिक कुरीतिमाथि तीक्ष्ण दृष्टिकोण निर्माण गर्ने गहकिलो आधार सामजविज्ञानले नै दिन्छ । व्यवहारिक रुपमा यो सबै कुरा निकै छिटो आत्मसात गर्न मलाई निर्वाध रुपमा मार्टिन चौतारीमा उपलब्ध काम गर्ने वातावरण र त्यहाँ हुने चौतर्फी गतिविधिले प्रदान गरेकोमा कुनै शंका छैन । यही कारण पनि प्रारम्भिक वर्षहरुमा मार्टिन चौतारी मेरो लागि नयाँ कुराहरु सिक्ने उत्कृष्ट विद्यालय सावित भएको थियो ।
नेपालमा अनुसन्धानलाई उच्च तहको प्राज्ञिक, मूलत: अङ्ग्रेजीमा पहुँच हुनेले मात्र गर्नसक्ने विशिष्ट पेसाको रुपमा स्थापित गर्न खोजिएको छ । मलाई लाग्छ यो सत्यको एउटा झिनो पाटो हो । प्रत्येक मानिसको नैसर्गिक स्वाभावमा शोध गर्ने ठूलो हिस्सा अन्तर्निहित हुन्छ । त्यसैले शोधकार्य प्राकृतिक मानवीय स्वाभाव हो । यसलाई थोरैले मात्र व्यवस्थित ज्ञान उत्पादन गर्ने कर्ममा होम्छन् । धेरैले विभिन्न किसिमबाट यसको आंशिक र खण्डित प्रयोग गर्छन् । अझ नेपाली समाजमा शिक्षाको जग र अभ्यास निकै फितलो भएको कारण प्राज्ञिक र अर्ध-प्राज्ञिक क्षेत्रमा अनुसन्धानले नयाँ विचार निर्माणको आधार भएको थोरै मात्र उदाहरण छ । यसैको फाइदा उठाएर केही सीमित पढेलेखेकाहरु अनुसन्धानलाई निकै विशिष्ट र शुद्ध प्राज्ञिक पेसाको रुपमा स्थापित गर्न प्रयासरत् देखिन्छन्। तथापि अनुसन्धान त्यति साँघुरो दायार भएको क्षेत्र होइन ।
उदाहरणको लागि, कुनै युवा-समूहले एक कप चिया खाएर यसो गफसफ गर्नको लागि अधिकांश अवस्थामा टोलको वा सहरको गल्लीगल्ली चहार्छन् र सुरक्षित एवं स्वादिलो चिया पिउने निश्चित ठाउँ पहिल्याउँछन् । अथवा अधिकांश युवा आफ्नो प्रेमीसँग भेट्नु पर्यो भने सहरका धेरै स्थान चाहारेपछि मात्र सुरक्षित र उपयुक्त केही स्थान फेला पार्छन् । वा भनौ एउटा टि सर्ट या पेन्ट किन्नु पूर्व काठमाडौंमा भएजति पसल अधिकांश युवाले भ्याइसकेका हुन्छन् । यसरी मिहिनेत गरेर ठम्याएको चिया पसल, प्रियलाई भेट्ने ठाउँ वा कुनै सामानको खरिद पूर्वको शोधखोज गर्ने स्वभाविक कार्य नै अनुसन्धान गर्ने प्रारम्भिक र प्राकृतिक स्वभाव हो । यही कार्य लेखपढको संसारमा आइपुग्दा ज्ञानको व्यवस्थित बुझाइ हुनजान्छ । ज्ञानलाई व्यवस्थित रुपमा बुझ्ने यस्तो चरणसँगै स्वभाविक रुपमा ज्ञानको तर्किक प्रस्तुति वा उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्मी लाग्छन् ।
यसैले ग्राहकले मनपरेको टि सर्ट खोजे जस्तै अनुसन्धानले धेरै शोधको माग गर्छ, धेरै पसलहरु जस्तै धेरै किसिमको पुस्तकालय माग गर्छ, विभिन्न बजार वा गल्लीहरु चाहारेर समयको लगानी गरे जस्तै विविध विषयलाई गहिरिएर बुझ्ने धैर्यता र सिपको माग गर्छ, तथा बजार र त्यहाँको भौतिक पूर्वाधार जस्तै 'फिल्ड' र ज्ञानको भौतिक पूर्वाधार माग गर्छ । अर्थात् तथ्यको संकलन, अध्ययन र विश्लेषणात्मक प्रस्तुति नै अनुसन्धान हो । वा भनौं बुझ्ने प्रकृयासँग गाँसिएको तथ्यगत आधार, विश्लेषणको लागि आवश्यक कल्पनाशीलता एवं व्यापक अध्ययन, र बुझाउनको लागि चाहिने लेख्ने सिप अनुसन्धानका अभिन्न हिस्सा हुन् ।
यद्यपि कमजोर शैक्षिक अवस्था र पूर्वाधारको कारण नेपालमा अनुसन्धानको संस्कार उति बलियो छैन । त्यसैले अनुसन्धानको क्षेत्रमा लागेका युवासँग नयाँनयाँ अवसर मात्र होइन, चुनौतीहरु पनि धेरै छन् । सामाजविज्ञानको आधार बलियो नभएकै कारण अहिले पनि धेरै विषयमा कसैले विचारै नपुर्याएको अवस्था छ नेपालमा । यही कारण कुनै विषयमा आफू पहिलो अनुसन्धाता हुने सम्भावना जति छ उति नै चुनौती त्यो विषयलाई नेपाली सन्दर्भमा व्यवस्थित रुपमा बुझ्ने पनि छ । त्यसैले चुनौतीमा रमाउने युवाको लागि यो निकै आकर्षणको क्षेत्र हो, जहाँ अवसरै अवसर छ, सम्भावना नै सम्भावना छ ।
समाजमा विद्यमान यो अवसरलाई युवाले नसमात्नु भनेको नेपाली समाज बुझ्ने सौभाग्य गुमाउनु मात्र होइन, एउटा क्रिटिकल नागरिक बन्ने मौका समेत गुमाउनु हो । त्यस्तो क्रिटिकल नागरिक जसको संख्या न्यून हुनु भनेको नै लोकतान्त्रिक समाज निर्माणको सम्भावनालाई टाढा धकेल्नु हो । यही कारण लोकतान्त्रिक समाज र सार्वभौम राष्ट्र निर्माणको आकांक्षा राख्ने युवाले अनुसन्धाता हुने मौकालाई चुक्न दिँदैनन् ।
साभारः Y!magazine जुन २००७ अंक ९
0 :: प्रतिक्रिया:
Post a Comment