खेद
रश्मि शीला
रश्मि शीला
बाहिरबाट 'आईया' भन्ने ठूलो स्वर सुनेपछि, मेरो त सातो नै उड्यो । स्वर रश्मिको जस्तै थियो... 'कसैले हान्यो कि, गाडिले पो ठक्कर दियो कि, लडिन कि, माथिबाट केहि खसेर लाग्यो कि' यस्तै यस्तै कुराहरु सोचर म दौडेँर बाहिर । रश्मि भुईमा थचक्कै बसेकी थिईन् । उनको वरिपरि मान्छेहरु 'के भो, के भो ?' भनेर कराउदै उभिएका थिए । उनको नजिक हुरीं झै गरी पुगेँ म । हातमा गाढा पाँच प्वाल थिए र रगतको भेल बग्दै थियो ।'
ओई रश्मि ! के भो ?
कुकुरले टोक्यो ।
कुन कुकुर ? कस्को कुकुर ?
त्यही तलको देवी दिदीको पसल छेउको भुस्याहा कुकुर छ नि ...।
उनले यति के भनेकी थिईन मेरो त पारो चढ्यो बा पनि पछि पछि आउदै हुनुहुन्थ्यो, उहाँ पनि जङ्गिनु भो र मलाई माथिबाट लट्ठी ल्याउन भन्नु भो । माथिबाट मैले पनि यति मोटो लठ्ठी र फलामको रड निकालेर लगेँ ।
'आज त त्यसलाई छोड्दै छोड्ने छैन,'
तल पुग्दा बा त परै कुकुर खोज्दै हुनुहुँदो रहेछ, लट्ठी बालाई दिएर नजिक बसेका र ढुङ्गे धारामा पानी भर्न आएकाहरूलाई सोध्न थाले, 'खोई, त्यो कुकुर कता गयो ? कहाँ भाग्यो ?' 'उ त्यो घरमा पसेको छ ...' त्यहीँ नजिकै उभिएको एक फुच्चेले बोले । बा र म घरभित्रै छिर्यौँ, छिँडीमा मज्जाले सुतेको रहेछ । बाले ड्याम्म ! पारेर कुकुरको ढाडमा बजार्नुभयो । कुई..., कुई..., कुई... गर्दै कुकुर जुरुक्क उठ्यो । त्यसपछि त के थियो र ! मैले रडले र बाले लठ्ठीले ड्याम ड्याम जता पर्यो त्यतै हान्न थाल्यौँ । मैले त के हाने र, बाले हानेको पो... यति जोडले हान्दै हुनुहुन्थ्यो कि के भन्ने । एकै क्षणको चुटाईपछि त्यो कुकुर खुट्टा लङगड्याउँदै र खोच्याउँदै छेउको कोठाभित्र छिर्यो । कुकुरको कुई...., कुई ....आवाजले ती मान्छेहरु पहिले नै डराएर बसेका थिए, अनि झन् हामीले त्यसलाई रगताम्य हुनेगरी पिटेको देखेर उनीहरु पनि 'आ !' 'आम्मै !' 'अबुई !' भनेर चिच्याउन थालेका थिए । कुकुर चल्नै नसक्ने गरी लडेपछि हामीले त्यसलाई बाहिर घिसारेर ल्यायौँ । त्यति बेला बल्ल मैले थाहा पाएँ कि राहुल पनि हामीसँगै लट्ठीले हान्दै रहेछन् । कुकुर छट्पटाउँदै थियो । नछट्पटाई मरोस् भनेर त्यसलाई मैले टाउकोमै चार-पाँच जोड लगाएँ । एकै छिनको छटपटाहटपछि त्यसको शरीर शान्त भो र हामी घर फर्कनतिर लाग्यौँ ।
त्यस रात खाना खान मन लागेन । सिधै आफ्नो कोठामा छिरेँ, रश्मिको हातको घाउ र हामीले त्यसपछि गरेको काम झलझल हुँदैथ्यो । आवेशमा जे गरेँ राम्रो गरिन भन्ने त्यो भावनाले भतभति छाती पोल्दै थियो । म कुकुर भनेपछि हुरुक्कै हुने मान्छे । कसैले कुकुरलाई ढुङ्गा मात्र हान्दा पनि गाली गर्ने म नै हुन्थेँ । भुस्याहा कुकुरलाई पाउरोटी, बिस्कुट किनेर खानदिने, उनीहरूसँग जिस्कन, चल्न पाउँदा संसारै भुल्ने पनि म नै थिएँ । आज त्यही माया गर्ने हातबाट, बोल्न पनि नसक्ने एक असहाय भुस्याहा कुकुरको हत्या भो । जब म त्यस कुकुरलाई मारेर घर फर्कंदै थिएँ, मेरा दुबै हातमा रगत लागेको थियो । कति आत्मग्लानी भएको छ... दुखी छु कि मबाट यस्तो काम भो तर अब के... !
3 :: प्रतिक्रिया:
katha matra haina malai ta photo pani ajjabko lagyo
malai pani po photo chahi jhakkas lagyo ta hao. aaaaaaa ani ni katha pani 6a kiya jhakas.
didi, keep it up!
i still expect lot from you. you have more to do!
i'm sure your creation will always be loved and appreciated.
Post a Comment