सम्बोधन र संस्कार

 ॥ प्रभाकर गौतम 

हाम्रो संवादमा सम्बोधन अनिवार्य छ । 'तँ', 'तिमी', 'तपाईं' 'हजुर' हाम्रा सम्बोधनका तहहरु । सामान्यतः सानो बालकले यदि कसैलाई 'तँ' भन्यो भने उसलाई 'तपाईं' वा 'हजुर' भन्न सिकाइन्छ । त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो । हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमी भन्ने चलन समेत पाइन्छ । खासगरी काठमाडौँमा एउटा समूह / वर्गमा भने 'हजूर' नै भन्नुपर्ने, र पुछारमा 'स्योस्' जोड्ने चलन छ । मेरो बुझाइमा यस्तो भाषाको प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा आफ्नै रहरले बोल्नेहरु । यस्तो चलन भएकाहरुमध्ये एउटा ठूलै समूहले 'तपाईं' भन्नुलाई त्यति सभ्य मान्दैन । 

म सानो छँदा विराटनगर आएकी काठमाडौँवासी मेरी दिदीले भनेको अझै सम्झन्छु "मलाई त तपाईं भनेको सुन्दा कस्तो असजिलो लाग्छ ।" सायद मेरी दिदी राजधानीको हजूर भन्ने संस्कारबाट प्रभावित थिइन् । काठमाडौँ बस्दै आएका मेरा धेरैजसो आफन्तहरु हजुर भन्न रुचाउँछन् । कोही यहीँको रैथानेसरह भएकाले त कोही काठमाडौँको अभिजात्य संस्कारको रुचि र प्रभावका कारण । त्यसैले काठमाडौँ प्रवेश गरेका शुरुका दिनमा मलाई हजूरवालाहरुसँग वार्तालाप गर्दा आफ्नो भाषा 'ठाडो' हो कि भन्ने सन्देह भइरहृयो । तर अपवाद बाहेक मैले हजूर भन्दा तपार्इं भन्न नै रुचाएँ । म यसमै अभ्यस्त थिएँ । संकोच र असहजताका बाबजुद काठमाडौँको भाषा वा शैलीप्रति आकर्षित भइनँ ।

कुनै परिवारभित्रको एउटा सदस्यले सानैदेखि तँ, तिमी, तपाईं वा हजूर भन्नु अस्वाभाविक हैन । आफूले हजूर तथा स्योस् नजोडे पनि यसरी बोल्ने व्यक्ति हाम्रो वरिपरि जहीँतहीँ छन् । अझ मेरै आफन्तहरु कहिलेदेखि 'तपाईं'बाट 'हजूर' 'स्योस्'वाला कित्तामा प्रवेश गरे, मलाई राम्रो हेक्का छ । तथापि, काठमाडौँ छिरिसकेपछि तपाईं भन्नेहरुले एकाएक 'हजुर' तथा 'स्योस्' भनेको सुन्दा ताजुब लाग्छ । यस्तो आकर्षण सायद समाजशास्त्रीय वा मनोवैज्ञानिक अध्ययन अनुसन्धानकै विषय होला । तर यहाँ त्यसबारे चर्चा गर्न लागिएको हैन । सम्बोधनसम्बन्धी मेरा केही जिज्ञासाहरुको उत्तर खोज्ने जमर्को स्वरुप यस विषयमा प्रवेश मात्र गरेको हुँ । यहाँ मेरो अनुभवका आधारमा केही कुरा साटेको मात्र हुँ ।

म बस्ने घरमा ६ जना सदस्यको एउटा परिवार छ । त्यसमध्ये दुई जना पात्रको चर्चा यहाँ सान्दर्भिक छ । करिब पन्ध्र वर्षको एउटा किशोर भाइ र त्यस घरको 'काम गर्ने केटी' को भूमिकामा रहेकी बढीमा अठार वर्षी बहिनी । त्यो भाइ होस् वा ती बहिनी, ती दुबैले म लगायत अरु जोसुकैसँग बोल्दा पनि हजूर भनेर सम्बोधन गर्छन् । यसमा अस्वाभाविक कुरा केही छैन । तर त्यही भाइले उमेरले आफू भन्दा ठूली हुँदाहुँदै पनि ती बहिनीलाई चाहिँ तँ भन्छ जसले मलाई घरीघरी आश्चर्यमा पार्छ । 'काम गर्ने केटी' भएकै नाताले आदरार्थी शब्द प्रयोग नगर्दा पनि हुन्छ भन्ने कुरा त्यो भाइले कहाँबाट सिक्यो होला ? अभिभावकबाट सिक्यो कि आफैं ? पक्कै पनि अभिभावकले तँ भन् भनेर सिकाएनन् होला तर स्पष्ट छ तपाईं वा हजूर भन्न पनि सिकाएनछन् । ती बहिनी तिनै हुन्, जसले त्यो भाइलाई हुर्काउन लामै समय र श्रम खर्च गरेकी थिइन् । शक्तिशाली व्यक्तिले कमजोर व्यक्तिलाई हेपेर तँ भने जस्तै त्यो भाइले पनि ती बहिनीलाई हेपेरै त्यसो भनेको प्रष्ट छ । त्यो भाइले उनलाई तँ भन्दा घरका अन्य सदस्यले तपाईं भन्नुपर्छ भनेर सिकाएको कहिले सुनेको छुइनँ । हाल ती बहिनी त्यही घरको अर्को सानो सदस्यलाई हुकाउँदै छिन् । अहिले दिदी भनेपनि सजिलै अड्कल काट्न सकिन्छ कि त्यो हुर्किनेवाला बच्चाले पनि उनलाई तँ र घरका अन्य सबैलाई हजूर भन्ने छिन् ।

मेरो नजरमा यो सम्बोधनमा सीमित विषय मात्र होइन । काम गर्न बसेको मान्छेलाई अनादरार्थी सम्बोधन गर्ने छुट सम्भवतः वर्गीय कारणले नै प्राप्त भएको हो । एकातिर सबैलाई अनिवार्य रुपमा हजूर भन्न लगाइन्छ अनि अर्कोतर्फ काम गर्ने भएको नाताले आफूभन्दा ठूलालाई तँ भन्दा पनि रोकिँदैन । यो कस्तो चलन ? यसबाट घरको सानो सदस्यबाट समेत आदर नपाएकी ती बहिनीलाई अन्य सदस्यले कस्तो हैसियतमा राखेका होलान् सहजै अनुमान लगाउन सकिन्छ । वर्गीय विभेदको यो अभ्यास सम्भवतः त्यो भाइमात्र हैन दिनरात कामको चटारोमा हुने ती बहिनीलाई पनि थाहा नहुन सक्छ । थाहा छैन, घरका अन्य सदस्यहरु यसबारे कति जानकार छन् ।

एउटा अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला । तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो । यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय पनि हो । यो प्रसंग एउटा उदाहरण मात्र हो । यससँग मेल खाने अन्य थुप्रै दृष्टान्तहरु हामी जताततै देख्न सक्छौँ । ग्रामीणबाट शहरीया जीवनशैलीतर्फको आकर्षणले एउटा ठूलो समूहले 'हजूर' तथा 'स्योस्' प्रयोग गर्ने भएका छन् । यो शब्दप्रतिको आकर्षण मात्र नभई वर्ग परिवर्तनको चाहना पनि हो । यस्ता अभ्यास र यसप्रतिको आकर्षणले वर्गीय स्वार्थको पक्षपोषण समेत गरिरहेको छ ।

1 :: प्रतिक्रिया:

tour in nepal said...

jasto siko testai hunchha

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes