विश्‍लेषणमा विशिष्‍ट शैली


।। जोतारे धाइबा ।।

कविता, गीत जस्ता लघु आयामका विधामा कलम चलाउने स्रष्टा गीता त्रिपाठीले पछिल्लो समयमा आफूलाई द्रष्टा परिवेशमा फैलाएकी छन् । समालोचनाको बृहत् आयाममा फैलिने क्रममा उनको दोस्रो समालोचना संग्रह कृति विश्लेषण : प्रायोगिक आयाम आएको छ । कृति तथा रचनालाई समग्रतामा सर्सर्ति केलाउने परम्परा विपरीत यस संग्रहका समालोचनामा छुट्टै शैली अपनाइएको छ । विधागत रूपमा एउटा निश्‍चित ढाँचाभित्र कृतिको चर्चा गर्ने परिपाटीसामु फरक-फरक कोणबाट कृतिलाई केलाउने समालोचकीय शैली नवीन लाग्छ, जुन यो कृतिको वैशिष्ट्य नै हो । आफू प्राध्यापन क्षेत्रमा रहे पनि त्रिपाठीले संग्रहमा प्राध्यापकीय समालोचनाको भद्दा छिटा पर्न दिएकी छैनन् । जडसूत्रवादी नभई अनुसन्धानमूलक र फरक कोणयुक्त दृष्टिबाट कृति हेरिएकोले तिनमा अलग सोचको द्वार खुलेको पाइन्छ ।

काव्य, कथा, निबन्ध, समालोचना र उपन्यास विधामा केन्द्रित १२ वटा समालोचना छन् संग्रहमा । कृति र विषयको चयन हेर्दा पनि समालोचकले नयाँ सोच प्रस्तुत गर्ने चुनौती आत्मसात् गरेको देखिन्छ । समालोचना आलेखमा पूर्वीय र पाश्चात्य दुवै समालोचना पद्धति अपनाइएको छ ।

आयामको हिसाबले संग्रहभित्रकै सबैभन्दा लामो समालोचना समकालीन नेपाली नारीकथामा वैचारिकता रहेको छ । समकालीन शब्दको परिभाषासहित वैचारिकताका अनेक हाँगाबारे चर्चा गरिएको आलेख निकै जानकारीमूलक छ । पारिजातलाई नेपाली नारीकथामा वैचारिकताको उठान गर्ने श्रेय दिइए पनि उनको कथाका सन्दर्भबारे भने आलेख मौन छ । समकालीन सन्दर्भको नारी कथाकारिताको बयानमै विस्तारित आलेखमा व्यक्ति, समाज, राष्ट्रिय राजनीति, परिवर्तन, सशस्त्र द्वन्द्वसँग जोडिएको चेतनादेखि नारी समलिंगीय चेतना सम्मको आधुनिक आयामको चर्चा छ । उत्तरआधुनिक चेतनाअन्तर्गत महानगरीय सभ्यता र रुग्ण मानवीय संवेदना र डायस्पोराको आकार लिँदो अन्तर्देशीय समाजको अस्तित्त्वलाई पनि मान्यता दिइएको छ । कथाहरूबारे उदाहरणसहितको विश्‍लेषणले आलेखलाई थप जीवन्त र प्रभावकारी बनाएको छ । सारमा वैचारिकताको परिभाषा राजनीतिक चेतना मात्रै नभई जीवन-जगत्‌बारेको चिन्तनका तहमा अन्तर्वस्तु बनेर विचार रहने भनेर समग्र विचारपुञ्जलाई बुझाइनु पनि चित्तबुझ्दो लाग्छ । कथा चर्चामा पनि त्यही अन्तर्वस्तुलाई नै मियो बनाइएको छ । यसबाट जतिसुकै शीर्षक-उपशीर्षकमा नेपाली नारीकथाको वैचारिक पाटोलाई केलाइए पनि तिनमा परम्परागत ढाँचाअनुसारकै नारी-पुरुष सम्बन्ध, पारिवारिक-सामाजिक टकराव र लैंगिक समस्याको वृत्तदेखि बाहिरको बहुआयामिक पक्ष आउन सकेका छैनन् भन्नेमा समालोचकको समेत स्वीकारोक्ति देखिन्छ ।

निबन्धकार शंकर लामिछानेका निबन्ध रचनाबारे दुई थान समालोचना छन् । सूत्रात्मक लेखन, चेतनप्रवाह पद्धति अपनाउने लामिछानेको निबन्धसंग्रह एब्सट्र्याक्ट चिन्तन प्याजबारे समालोचक त्रिपाठीको विश्लेषण सार्थक छ । एकथरी पाठकको लागि 'खै, बुझिँदैन' को लेवलमा अलग्गै बसेका लामिछानेको मदन पुरस्कार विजेता कृतिभित्रका निबन्धहरूबारे एक-एक गरेर संक्षिप्त वर्णन गरिएको छ । त्यति आंशिक चर्चाले पनि त्यस्ता पाठकको लागि दुरुहताको ग्यास च्याम्बरभित्र आँखीझ्यालको काम गर्न सक्छ । लामिछानेकै अर्को निबन्धकृति गोधूलि संसारको निबन्ध जीवनः एक प्राध्यापकमा ध्वनिविधानको पाटो पनि समेटिएको छ संग्रहमा । त्यसमा ध्वनि सिद्धान्तको सरल परिचयका साथै शब्द, वाक्यांश र वाक्यको वाच्यार्थ र व्यङ्यार्थबीचको भेदको चर्चा जानकारीमूलक रहेको छ ।

इन्द्रबहादुर राईको समालोचना र कथाको फरक-फरक समालोचनामा त्रिपाठीले मिहिनेत गरेकी छन् । गहन अध्ययनविना यति गहिराइको हेराइ सम्भव हुन्न पनि । विजय मल्लको उपन्यास अनुराधाबारे राईको समालोचनाबारे त्रिपाठीको आकलन र चित्रण कता-कता सर्सति मात्र बन्न पुगेको भने देखिन्छ । धारिलो विश्‍लेषणबाट नयाँ कोण दिनुपर्नेमा सम्बन्धित रचना तथा पाठको कथानककै सिलसिला र अवस्था झल्काउनमा उनी अल्झिएकी पनि छन् । यसैगरी केही समालोचना आलेखमा उनले शास्त्रीय समालोचनाको रेखी कोर्ने बानी छुटाउन सकेकी छैनन् । तिनमा जीवनीपरक समालोचनाको छाया देखिन्छ । राजेन्द्र भण्डारी, मनु मञ्जिल, सुधा त्रिपाठी, पद्मावती सिंहका सिर्जना-कृतिको समालोचनामा पस्ने क्रममा पाठकलाई झर्को लाग्न सक्छ । नसमेट्दा तथा जोड नदिंदा पनि हुने कुरालाई प्राथमिकता दिँदा समालोचनाको सुरुवाती हरफ जानकारीका स्रोत होइनन्, अल्झाउने छेस्काछेस्की बन्ने खतरा देखिन्छ । सुधा त्रिपाठीको निबन्धको संरचनागत स्वरूप केलाउँदा सुधाको न्वारानको नामदेखि लेखनारम्भ, पहिलो प्रकाशित रचना, पारिवारिक जरासम्मका जोखाना हेर्नुको महत्ता के रहन्छ ?

समग्रमा, समालोचनामा अलग रूपमा निश्चित एउटा कोण खिचेर कृतिलाई हेर्ने र पाठकले पनि विशिष्टीकृत ढाँचाबाट कृति बुझ्ने हिसाबमा गीताको यो पुस्तक उपयोगी छ । शास्त्रीय तथा प्राध्यापकीय समालोचना निरुत्साहित गर्न प्राध्यापन पेशामै रहेर पनि नयाँ गोरेटो विकास गरिरहेका गीताहरूको प्रयास स्वागतयोग्य छ ।

------------------------------------------
कृति  कृति विश्‍लेषणमा प्रायोगिक आयाम
कृतिकार : गीता त्रिपाठी
संस्करण : पहिलो, २०६७
प्रकाशक : रत्‍न पुस्तक भण्डार
पृष्ठ : १६७
मूल्य : १५०

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes