Commentators' Lots of them, Claiming!

Rajju Dangol
Srijana College of Fine Arts, Kathmandu


He says do not think, she says get active
They say they feel They say they understand...
Commenting always claiming forever!
They think they evaluate, finally they conclude
Strong they are, but I hurl flaw... they state
Do this, try that! They assist, they sympathize

I throw smile at them and "yes" to what they say
They criticize, they decide! Each day every way
They love me when I'm around
And thinks I'm limited when got out of their mound
I throw smile again and agree positively

They think they evaluate, finally they conclude
Commenting always claiming forever!

अनुसन्धान किन नगर्ने ?

भास्कर गौतम

करिब २१ वर्षको उमेरमा पहिलो पल्ट मैले 'अनुसन्धान' प्राज्ञिक कामको आधारभूत कर्म रहेछ भनी बुझ्ने अवसर पाएको हुँ । योभन्दा पहिले प्राज्ञिक क्षेत्रमा गरिने शोध मेरो लागि एउटा काल्पनिक भ्रम थियो । मेरो काल्पनिकीमा अनुसन्धान एउटा जासुसी (डिटेक्टिभ) कार्यको रुपमा थियो । तथ्य खोज्ने, विश्लेषण गर्ने र कुनै निष्कर्षमा पुग्ने । यसले कसरी ज्ञान उत्पादनलाई सघाउँछ मैले बुझेको थिइन ।
अनुसन्धानमा लाग्दै गएको केही वर्षपछि मात्र अध्येता हुनुको बहुआयामिक अर्थ मैले बुझ्न थालेको हुँ । तथापि ममा अन्तर्निहित लेख्नेपढ्‍ने कर्मले यस पेशाको आकर्षणलाई व्यापक बनाउँदै लान सघाएको हो । साथै कुरा खोतल्ने रुचीसँगै मेरो अन्तरमा कतै 'त्रिmटिकल नागरिक' बन्ने ठूलो अभिलाषा थियो । विभिन्न पुस्तक पढ्‍दै र काम गर्दै जाँदा मैले बेलैमा ठम्याएँ, अन्य विधाभन्दा व्यवस्थित रुपमा समाज बुझ्ने र समाजिक कुरीतिमाथि तीक्ष्ण दृष्टिकोण निर्माण गर्ने गहकिलो आधार सामजविज्ञानले नै दिन्छ । व्यवहारिक रुपमा यो सबै कुरा निकै छिटो आत्मसात गर्न मलाई निर्वाध रुपमा मार्टिन चौतारीमा उपलब्ध काम गर्ने वातावरण र त्यहाँ हुने चौतर्फी गतिविधिले प्रदान गरेकोमा कुनै शंका छैन । यही कारण पनि प्रारम्भिक वर्षहरुमा मार्टिन चौतारी मेरो लागि नयाँ कुराहरु सिक्ने उत्कृष्ट विद्यालय सावित भएको थियो ।
नेपालमा अनुसन्धानलाई उच्च तहको प्राज्ञिक, मूलत: अङ्‍ग्रेजीमा पहुँच हुनेले मात्र गर्नसक्ने विशिष्ट पेसाको रुपमा स्थापित गर्न खोजिएको छ । मलाई लाग्छ यो सत्यको एउटा झिनो पाटो हो । प्रत्येक मानिसको नैसर्गिक स्वाभावमा शोध गर्ने ठूलो हिस्सा अन्तर्निहित हुन्छ । त्यसैले शोधकार्य प्राकृतिक मानवीय स्वाभाव हो । यसलाई थोरैले मात्र व्यवस्थित ज्ञान उत्पादन गर्ने कर्ममा होम्छन् । धेरैले विभिन्न किसिमबाट यसको आंशिक र खण्डित प्रयोग गर्छन् । अझ नेपाली समाजमा शिक्षाको जग र अभ्यास निकै फितलो भएको कारण प्राज्ञिक र अर्ध-प्राज्ञिक क्षेत्रमा अनुसन्धानले नयाँ विचार निर्माणको आधार भएको थोरै मात्र उदाहरण छ । यसैको फाइदा उठाएर केही सीमित पढेलेखेकाहरु अनुसन्धानलाई निकै विशिष्ट र शुद्ध प्राज्ञिक पेसाको रुपमा स्थापित गर्न प्रयासरत् देखिन्छन्। तथापि अनुसन्धान त्यति साँघुरो दायार भएको क्षेत्र होइन ।
उदाहरणको लागि, कुनै युवा-समूहले एक कप चिया खाएर यसो गफसफ गर्नको लागि अधिकांश अवस्थामा टोलको वा सहरको गल्लीगल्ली चहार्छन् र सुरक्षित एवं स्वादिलो चिया पिउने निश्चित ठाउँ पहिल्याउँछन् । अथवा अधिकांश युवा आफ्नो प्रेमीसँग भेट्‍नु पर्‍यो भने सहरका धेरै स्थान चाहारेपछि मात्र सुरक्षित र उपयुक्त केही स्थान फेला पार्छन् । वा भनौ एउटा टि सर्ट या पेन्ट किन्नु पूर्व काठमाडौंमा भएजति पसल अधिकांश युवाले भ्याइसकेका हुन्छन् । यसरी मिहिनेत गरेर ठम्याएको चिया पसल, प्रियलाई भेट्‍ने ठाउँ वा कुनै सामानको खरिद पूर्वको शोधखोज गर्ने स्वभाविक कार्य नै अनुसन्धान गर्ने प्रारम्भिक र प्राकृतिक स्वभाव हो । यही कार्य लेखपढको संसारमा आइपुग्दा ज्ञानको व्यवस्थित बुझाइ हुनजान्छ । ज्ञानलाई व्यवस्थित रुपमा बुझ्ने यस्तो चरणसँगै स्वभाविक रुपमा ज्ञानको तर्किक प्रस्तुति वा उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्मी लाग्छन् ।
यसैले ग्राहकले मनपरेको टि सर्ट खोजे जस्तै अनुसन्धानले धेरै शोधको माग गर्छ, धेरै पसलहरु जस्तै धेरै किसिमको पुस्तकालय माग गर्छ, विभिन्न बजार वा गल्लीहरु चाहारेर समयको लगानी गरे जस्तै विविध विषयलाई गहिरिएर बुझ्ने धैर्यता र सिपको माग गर्छ, तथा बजार र त्यहाँको भौतिक पूर्वाधार जस्तै 'फिल्ड' र ज्ञानको भौतिक पूर्वाधार माग गर्छ । अर्थात् तथ्यको संकलन, अध्ययन र विश्लेषणात्मक प्रस्तुति नै अनुसन्धान हो । वा भनौं बुझ्ने प्रकृयासँग गाँसिएको तथ्यगत आधार, विश्लेषणको लागि आवश्यक कल्पनाशीलता एवं व्यापक अध्ययन, र बुझाउनको लागि चाहिने लेख्ने सिप अनुसन्धानका अभिन्न हिस्सा हुन् ।
यद्यपि कमजोर शैक्षिक अवस्था र पूर्वाधारको कारण नेपालमा अनुसन्धानको संस्कार उति बलियो छैन । त्यसैले अनुसन्धानको क्षेत्रमा लागेका युवासँग नयाँनयाँ अवसर मात्र होइन, चुनौतीहरु पनि धेरै छन् । सामाजविज्ञानको आधार बलियो नभएकै कारण अहिले पनि धेरै विषयमा कसैले विचारै नपुर्‍याएको अवस्था छ नेपालमा । यही कारण कुनै विषयमा आफू पहिलो अनुसन्धाता हुने सम्भावना जति छ उति नै चुनौती त्यो विषयलाई नेपाली सन्दर्भमा व्यवस्थित रुपमा बुझ्ने पनि छ । त्यसैले चुनौतीमा रमाउने युवाको लागि यो निकै आकर्षणको क्षेत्र हो, जहाँ अवसरै अवसर छ, सम्भावना नै सम्भावना छ ।
समाजमा विद्यमान यो अवसरलाई युवाले नसमात्नु भनेको नेपाली समाज बुझ्ने सौभाग्य गुमाउनु मात्र होइन, एउटा क्रिटिकल नागरिक बन्ने मौका समेत गुमाउनु हो । त्यस्तो क्रिटिकल नागरिक जसको संख्या न्यून हुनु भनेको नै लोकतान्त्रिक समाज निर्माणको सम्भावनालाई टाढा धकेल्नु हो । यही कारण लोकतान्त्रिक समाज र सार्वभौम राष्ट्र निर्माणको आकांक्षा राख्ने युवाले अनुसन्धाता हुने मौकालाई चुक्न दिँदैनन् ।
साभारः Y!magazine जुन २००७ अंक ९

गजल

रुपक वनबासी

प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनैबेला
दिँदै कतिलाई हात हातमा हिँडियो कुनैबेला

उमेरै यस्तो भन्नुपर्छ रहरै त्यस्तो भन्नुपर्छ
रोदी बस्ने भन्दै रात रातमा हिँडियो कुनैबेला

बाँसुरीमा कृष्णजीजस्तै गाँजाभाँङ्‍मा शिवजीजस्तै
लटि्‍ठदै कसैका बातबातमा हिँडियो कुनैबेला

सम्झिदा'नि त्यसैत्यसै आनन्दको आभाष हुन्छ
लर्के जवानीको मातमातमा हिँडियो कुनैबेला

तनहुँ ।

पुस्तक समीक्षा

स्मृतिमा अल्झिएका दिनहरु
प्रभाकर गौतम


पुस्तकः कहाँ गए ती दिनहरु (संस्मरण/निबन्ध)
संस्करण २०६३, प्रकाशक- रत्न पुस्तक भण्डार, पृष्ठ- २४+१००



'कहाँ गए ती दिनहरु' अम्बर गुरुङद्वारा चार दशकभन्दा लामो अवधिमा रचिएका प्रकाशित रचनाहरुको सङ्‍कलित कृति हो । यसमा संस्मरणात्मक, आत्मपरक र विषयपरक गरी जम्मा २६ वटा रचनाहरु परेका छन् । यसबाहेक शङ्‍कर लामिछाने र अगमसिंह गिरीले अम्बर गुरुङका बारेमा लेखेका दुईवटा लेखहरुलाई पनि एतिहासिक दस्तावेजका रुपमा भूमिकामा राखिएको छ । विभिन्न कालखण्डमा समकालीन साहित्य, बागीना, मधुपर्क, रुपरेखा, गोरखापत्र, कान्तिपुरलगायतका पत्रपत्रिकामा प्रकाशित यस पुस्तकमा रहेका रचनाहरुको सङ्‍कलन र सम्पादन युवा पत्रकार देवेन्द्र भट्टराईले गरेका छन् ।

स्वर, शब्द र सङ्‍गीत तीनै विधामा समानरुपमा सक्रिय गुरुङ नेपाली साङ्‍गीतिक क्षेत्रमा पूर्वीय र पाश्चात्य दुवै शैलीमा गहिरो ज्ञान राख्ने सङ्‍गीतज्ञका रुपमा परिचित छन् । जन्मथलो दार्जिलिङदेखि कर्मथलो काठमाडौँसम्मको आफ्नो लामो साङ्‍गीतिक यात्राका क्रममा उनले प्रवासी नेपालीको पीडादेखि नेपाली कान्छा-कान्छीको प्रेम प्रसङ्‍गलाई आफ्ना सिर्जनामा समेट्‍न भ्याएका छन् । उनी नेपाली साङ्‍गीतिक फाँटमा स्वर्णकालीन युग भनेर चिनिने कालखण्डका प्रतिभावान् श्रष्टा हुन् । भूपी शेरचन, शङ्‍कर लामिछाने, अगमसिंह गिरी, ईश्वरबल्लभ, वैरागी काइँला, हरिभक्त कटुवाल, नारायणगोपाल, अरुणा लामा आदिसँग साङ्‍गीतिक सहयात्रा गर्ने सुअवसर पाएका गुरुङमा उनका समकालीन कलाप्रेमी मित्रहरुको स्पष्ट प्रभाव भेटिन्छ । यो पुस्तकलाई अगमसिंह गिरी, शङ्‍कर लामिछाने र इन्द्रबहादुर राईका नाममा समर्पित गर्नाले पनि उनको साहित्यिक व्यक्तित्वहरुसँग स्थापित गहिरो सम्बन्धको महत्व खुल्छ । अगमसिंह, शङ्‍कर र भूपी त उनको सिर्जनात्मक क्षमतालाई उर्जा दिने मात्र नभई दुईचार घुट्‍को मारी दु:ख-सुख साट्‍ने अन्तरङ्‍ग मित्र नै थिए ।
मनभित्रका भावना र जीवनका अनुभूतिहरुलाई कहिले लहर त कहिले तरङ्‍मा ढाली सिर्जनात्मक आकार दिने क्रममा गुरुङले जन्मेहुर्केको ठाँउ मात्र होइन, आफूभित्रको कलाकारिता जोगाउन बेग्लै अस्तित्व खोजिरहेको सङ्‍घर्षरत परिवेश पनि त्याग्नु पर्‍यो । जुन एउटा कलाकारभित्रको संवेदनालाई कहिले उर्जा दिने त कहिले पीडा दिने कारण बन्न पुग्यो । यो कृति पनि त्यही उर्जा र पीडारुपी संवेदनाको उपज हो । यसमा सङ्‍कलित रचनाहरुमा 'बन्दै रह्‍यो बाल्कोनी', 'एउटा तुच्छ सम्झना', 'गीत सुनाउनै सकिनँ' क्रमश: शङ्‍कर, अगमसिंह र उत्तम कुँवरको मृत्युपश्चात् उनीहरुको स्मृतिमा रचिएका संस्मरणात्मक लेख हुन् । त्यस्तै 'कहाँ गए ती दिनहरु' शीर्षकको लेखमा चाहिँ लेखकले भूपी, शङ्‍कर र अगमसिंहका प्रसङ्‍गहरुलाई विषय बनाएका छन् । यो लेख जीवित छँदै कलाकार वा स्रष्टाहरुको महत्व नबुझ्ने र सही मूल्याङ्‍कन नहुने तर मृत्युपछि उनीहरुलाई महान् घोषित गरिने परिपाटीमाथिको व्यङ्‍ग्यसमेत हो । 'फज्लु भैया' र 'हिरो र आश्वासन' पनि व्यक्तिलाई केन्द्रबिन्दु बनाई रचिएका लेखहरु हुन् । यी यस्ता साधारण पात्रहरु हुन् जसले उनको मनमा मात्र नभई सिर्जनामासमेत गहिरो प्रभाव पारेका छन् ।

मानव-हृदयभित्रका स्वच्छ भावना र मानवीय संवेदनालाई सङ्‍गीत वा सिर्जनाको प्रमुख स्रोत मान्ने गुरुङका लागि गीतसङ्‍गीत गाएर छोडिदिने विषय मात्र होइन भन्ने कुरालाई 'सङ्‍गीत र उत्तरदायित्व', 'हारमोनियम: प्रसिद्ध अभागी बाजा', 'अन्तर्वार्ता अनुभव' 'जीवनजत्तिकै नजिक !' 'सङ्‍गीतमा प्रविधीकरण', 'इच्छुकलाई शुभेच्छुकको पत्र', 'शास्त्रीय गायन', 'किन म सङ्‍गीत गर्छु ?' जस्ता लेखमा व्यक्त गम्भीर विचारहरुले पुष्टिसमेत गरेका छन् । विश्वसङ्‍गीतका हस्तीहरुको सङ्‍घर्ष र सफलता-असफलताका दृष्टान्तहरु बुनेर नेपाली परिप्रेक्ष्यमा रचिएको 'सङ्‍गीत र उत्तरदायित्व' शीर्षकको लेखमा नेपालमा विदेशी स्रष्टाका सिर्जना तथा रचनाहरु पढ्‍ने पर्याप्त अवसर र वातावरण नहुनु पनि नेपाली सङ्‍गीतको विकास वा विस्तार नहुनुको एउटा प्रमुख कारण मान्दै उनी भन्छन्, 'यहाँनेर यो कस्तो विडम्बना भने उनीहरु पहिला रिकर्ड अथवा प्रदर्शनी क्रिया सुन्छन् र त्यसबारे रिभ्यू आदि लेख्छन् र हामीहरु ती बासी रिभ्यूहरु पढ्‍छौँ, मात्र पढ्‍छौँ, सुन्न पाउँदैनौँ ।' त्यस्तै 'सङ्‍गीतमा प्रविधीकरण' शीर्षकको लेखमा उनले केवल लोकसङ्‍गीतलाई विशुद्ध नेपाली सङ्‍गीत मानेर नेपाली सङ्‍गीत क्षेत्रको विकास नहुने तर्क अघि सार्दै भनेका छन्, 'लोकसङ्‍गीत पूर्णरुपेण सङ्‍गीत व्याकरणकै हिसाबले पनि सानो छ, कारण यसको परिवेश जुनसुकै हिसाबले पनि सानो छ । सानो र सरल हुनु नै वास्तवमा लोकसङ्‍गीतको मौलिकता तथा सौन्दर्य पनि हो तथापि लोकसङ्‍गीतले मात्र साङ्‍गीतिक सभ्यता तथा संस्कृतिलाई समृद्धशाली पार्न सक्दैन ।'
यसबाहेक 'अन्तर्वार्ता र अनुभव' र 'सुनको तारा खसाउने गीत' शीर्षकका लेखहरुमा गुरुङले सर्जक भएका कारणले मात्र भोग्नु परेका तिक्तताहरु ओकलेका छन् जुन निकै मार्मिक लाग्छन् । अन्तर्वार्ताकारका सूत्रात्मक प्रश्नहरुदेखि आजित गुरुङ अन्तर्वार्ता दिँदा भनेको कुरा र प्रकाशित भएपछिका कुराहरुमा हुने हेरफेरले कलाकारहरु 'बलिको बोको' हुनुपरेको गुनासो पोख्दै भन्छन्, 'अन्तर्वार्ता नदिउँ त आफू अहङ्‍कारी, असामाजिक र असहयोगी ठहरिने ! दिउँ भने आफ्नो बँचेखुँचेको छवि नै चौपट हुने !'
स्रष्टालाई आफ्नो सिर्जनाप्रति नराम्रो हुँदाहुँदै त मोह हुन्छ भने झन् सबैले रुचाएको आफ्नो सिर्जनालाई अरु कसैको नाममा सुन्नु/पढ्‍नुपर्दाको दु:खद अनुभूति कस्तो हुन्छ होला ? गुरुङको 'सुनको तारा खसाउने गीत' शीर्षकको लेख पढ्‍दा प्रष्ट हुन्छ । सन् १९६८ तिर गुरुङको शब्द/सङ्‍गीतमा नारायणगोपाल र अरुणा लामाले गाएको 'ए कान्छा मलाई नको तारा खसाइ देउ न...' बोलको गीतलाई पासाङ वाग्बलको शब्द भनी 'सङ्‍गीत माधुरी सम्झाउनी' नामक स्मारिकामा पढेपछि उनले यस गीतको प्रसङ्‍ग कोट्‍याउन बाध्य भएको उल्लेख गरेका छन् । अझ तीसको दशकमा रेडियो नेपालमा रेकर्ड भएको नारायणगोपालको स्वर र गुरुङकै शब्द/सङ्‍गीत रहेको 'मेरो आँखामा राख्ने फूलबारी छैन...' बोलको गीतसमेत कवि एवं गीतकार हरिभक्त कटुवालको नाममा बज्ने गरेकोले पनि उनलाई लेख लेख्न बाध्य बनाएको भन्छन् उनी ।
वास्तवमा यो लेख उनको पीडा मात्र नभई नेपाली सङ्‍गीत क्षेत्रमा विद्यमान प्रतिलिपि अधिकारको अवस्था र यसप्रति स्वयं स्रष्टाहरुको निरीहता एवं निष्क्रियता झल्काउने रचना पनि हो । नेपाली साङ्‍गीतिक फाँटमा योग्य व्यक्तिहरुको कमी नभए पनि यस क्षेत्रमा भएका समस्या र सम्भावनाहरुबारे गम्भीर रुपमा कलम चलाउने व्यक्तिहरुको खाँचो रहेको अवस्थामा यो पुस्तक सहायक हुने आशा गर्न सकिन्छ । तर सम्पादित कृति भएर पनि शुद्धाशुद्धीमा पर्याप्त ध्यान दिइएको देखिँदैन । पुस्तकमा ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रको विकास र विस्तारले साङ्‍गीतिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको छैन । जुन पुस्तकको कमजोर पक्ष हो । तथापि, पुस्तक सुगम सङ्‍गीतका नयाँ-पुराना पुस्ताका लागि उपयोगी छ नै, साहित्यिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
काठमाडौँ
pravs.gm@gmail.com

गजल

जनक पौड्‍याल

आँधीबीच एक्लो हुँदा नाउ जिन्दगीको
नदुखेको कसको छ र घाउ जिन्दगीको

समयले देखाउँछ हिँड्‍नुपर्ने बाटो
नियतिले चाली दिन्छ पाउ जिन्दगीको

सपनाको आड लिई अघि बढ्‍छ मान्छे
विपनामा शून्य हुन्छ भाउ जिन्दगीको

कस्तो जीवन बाँचेका छौँ अहिलेसम्म हामी
फर्किएर हिसाब गरौँ आउ जिन्दगीको

लीला


तीर्थ विष्ट

आठ बजिसक्यो उ ओछ्‍यानमै छ । निन्द्राले छोडे पनि अल्छीले छोडेको छैन । हप्तामा एकदिन त आराम गर्नै पर्‍यो नि ! आरामै नगरी-नगरी पैसा केको लागि कमाउनु ! उ अलिअलि कमाउँछ र चाहिएको खर्च गर्छ । थोरै कमाउ, थोरै खर्च गर भन्ने जमाना गयो, र धेरै कमाउ, धेरै खर्च गरको जमाना आयो । तर उ समयसँग हिँड्‍न सकेको छैन, चाहेर पनि । कमाएको सबै खर्च पनि गर्दैन । बैकमा राख्छ, घरमा खर्च पठाउँछ । उसलाई अहिले चाहिएको पनि यत्ति नै हो । त्यसैले उ सन्तुष्ट छ । उ बस्ने घर अर्कैको हो, कोठा चाहिँ उसको । त्यही पनि एक महिनाको लागि मात्र । भोलि घरपतिले कोठा खाली गर भन्ने आदेश दिनसक्छ । फेरि अर्कै घरको कोठालार्इ उसले आफ्नो बनाउनु पर्छ । यसरी उसले यो आठ-दस वर्षको काठमाडौं बसाइमा धेरै अरुका घरका कोठालाई आफ्नो बनाउँदै छोड्‍दै गरिसकेको छ । ती कोठाहरूमा उसले आफूलाई मनपर्ने तरिकाले डेकोरेसन गरेको छ । भाडा तिरेर आफ्नो बनाएको कोठामा निदाएर आफैँले बनाएको घरमा सुतेको सपना पनि देखेको छ उसले ।

उ विद्यार्थी हो । उ सँग क्याम्पसको परिचयपत्र पनि छ । बस चढ्‍दा त्यसको सदुपयोग गर्छ । आफ्नो परिचय दिँदा 'म फलानो, फलानो क्याम्पसमा फलानो लेबलमा पढ्‍ने विद्यार्थी' भनेर दिन्छ । उ विद्यार्थी हो भन्नेमा खलाँसीले कहिल्यै शंका गरेको छैन । शङ्‍का गरिहाले पनि उm सँग सक्कली कार्ड छ- क्याम्पसको छाप र क्याम्पस चिफको सही भएको ।

शनिबार आठ बजे बिहानै हो उसको लागि । तर अरुहरु बाहिर जम्मा भएर हल्ला गर्दै थिए । यो हल्लामा उ सुतिरहन सकेन र बाहिर आयो । घरपतिको घर बनाउने कामदार, ठेकेदार र घरपति दम्पति थिए हल्ला गर्नेहरू ।

श्रीमती घरपति एउटा फुच्चे कामदारको कुरा गर्दै थिइन् । फुच्चे लजाईरहेको थियो । अरु हाँसिरहेका थिए, काम पनि गरिरहेका थिए । फुच्चेले अलि ठूलो डोकोमा निम्ठो माटो बोकेर बाहिर फाल्न लग्यो, फालेर आयो । अरु कुरा गर्दै थिए, हाँस्दै थिए । उ कसैलाई नहेरी काम गरिरह्‍यो । हाँस्ने मध्येको एक जनाले भन्यो- 'मान्छेमात्र फुच्चे, काम त लाठेले जस्तै गर्छ ।' श्रीमान् घरपतिले हाँसो थप्न भने- 'बलवान्'ले बलवान् बनाएको होला नि !' फेरि सबैजना हाँसे । अनि श्रीमती घरपतिले उसलाई सोधिन् 'यति सानो मान्छे भएर खैनी किन खाएको ?' उसले पुलुक्क हेर्यो, हाँसेरै उत्तर दिन सकेन । उसको हाँसो ओठसम्म पनि आएन । सानो स्वरमा उत्तर दियो-'टेन्सन हराउँछ ।' 'यति सानो मान्छेलाई पनि टेन्सन हुन्छ ? न विवाह भएको छ, न बच्चा छन्, न बच्चालाई पढाउनु छ, एक्लो ज्यानलाई केको टेन्सन ? हामीलाई पो टेन्सन छ । बच्चा ठूलो भयो, के गरी पढाउनु, बढाउनु भन्ने टेन्सन । त्यही पनि हामी खैनी खाँदैनौं । खैनी खाँदैमा टेन्सन हराउने भए म पनि खान्थेँ । खैनी खाँदैमा टेन्सन हराउँछ कहीँ ?' श्रीमती घरपतिले पटट्‍ट एकैछिनमा बोलेर सकिन् । फुच्चेको डोको भरियो अनि पहिलेजस्तै डोको उठाएर हिँड्‍यो ।

डेरावाल विद्यार्थी श्रोता र दर्शक मात्र बन्यो, केही बोलेन । छोरो घरपति बास्केटबल भुईमा उफार्दै बाहिर निस्कियो । उसले छोरो घरपतिको अनुहारमा टेन्सन देखेन । उसलाई लाग्यो- छोरो घरपति र फुच्चे कामदार दौतरी हुनुपर्ने । अनि मनमनै भन्यो 'हो त नि यी फुच्चेहरूलाई केको टेन्सन !'

- हजारबिघा, सर्लाही ।

कविता


म कहाँ छु ?
-बि जे बान्तावा राई

आजकाल बिबेकहिन भएका छन
मेरा दिमागहरु बर्तमान परिपेक्ष्यझैं
म आत्मबन्दी भएको छु,
कर्फ्यु लागेको त्रशित दिन जस्तै
म जहाँ जहाँ नजर लाउँछु
मरुभुमी मात्र नजर आउँछ,
हाम्फाल्दै र दौंडिदै अग्ला अग्ला
पहराहरु छिचोल्न खोज्छु
घामका चहकिला रोशनी
मेरै थाप्लामा बजIरिन्छन
शायद शरिरको रगतनै जमियो होला के रे
काकाकुलझैं तिर्खाको महसुस् गर्छु
प्यासले रेटिन थाल्छन मेरा गलाहरु
म थच्च त्यहीं बस्छु
पानीहाल्न बिर्सेको गमालIको फूलझैं
ओइली सकेको पाउँछु
घामका तेजमय किरणहरु पस्चिमी
आकाशमा आश्रम लिंदा
कता कता आकाशमा कालो
बादलको धब्बाहरु आई
सुर्यको रोशनी छेक्छन
म मा केही राहत मिल्छ
अनि म हिंड्नखोज्छु
मेरा पाईलाहरु लर्बरिन्छन
म लर्खरिदै र घिस्रिदै पानीको
खोजिमा मेरा लुला पाईलाहरु
चाल्न खोज्छु
कही कतै पराबर्तित किरणहरु
मेरा आँखालाई ईशारा दिन्छन
म दोधारमा पर्छु तर यो अबश्य
कुनै पानीको छालमा सुर्यको
किरण नै सम्झिन्छु
म लम्किन्छु मेरा लुलिएका पाईलालाई
निरन्तरता दिदैं
त्यो पराबर्तित किरणको सहारा लिन्छु
म त्यो पोखरिमा पुग्छु,
मेरा मन अचानक आत्तीनछन
पानीको रंगनै बद्लिएछ
पानीको रंगनै रातो भएछ
म लाग्छ खुनै बगिरहेको
म आँफैलाई शंका गर्छु
म पनि तिनै खुनिहरुमा
एक त परिन!
म पनि त्यहीं धर्ती माताको
छाती चिर्ने बम बनाउने त परिन
बिज्ञानको बेइज्जत गर्ने
म त्यही बैज्ञानीक त परिन!
अहँ म त्यो कदापी हैन
म त्यो गर्न सक्दिन
म त्यो रोग देखि डराउँछु
र म त्यस्तो हृस्त पुषट छैन
यदि मेरा पनि मेरा शरिर त्यस्तै
अभय र अजङ्गको भैदिएको भए
म पनि त्यही भित्र पर्थेहोला
तर म होइन त्यो हैन
म पाईला सार्छु
जती पाईला सार्छु हड्डिका चट्टान
मासुका अग्ला पहाड भेट्छु
म बेहोसिमा त छैन
कतै म सपना मा त छैन ?
आफ्नै गालामा चड्कन हान्छु
तर नमज्जाले दुख्छ
अब म कहाँ छु!
जहाँ हिंडछु रगत का खोला,
मासुका पहाड,
अनि हड्डिका चट्टान किन पाउछु
म कहाँ छु ?

- भोजपुर
हालः साउदी अरब

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes