गणतन्त्र जनताको जीत बरिलै

सफल घिमिरे


गर्विलो अक्षरले यो शिर्षक लेखिसकेपछि म घोषणा हुनै लागेको गणतान्त्रिक नेपालको राजधानीमा रहेको संविधानसभा हल नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर झरेँ । भीड प्रति क्षण चाक्लिँदै अनि समान गतिले बाक्लिँदै पनि थियो । यसै क्रममा समानान्तर रुपले मेरो मनमा उहिलेदेखि नै जमेर बसेको संगीत श्रोताले लेखेका गजलको शेर गुञ्जिरहेको थियो ।

आफ्नालागि आफै बाँच्ने रीत बरिलै
गणतन्त्र जिन्दगीको गीत बरिलै

बखान गर्न सुहाउने शब्द कहाँ छ
कति प्यारो जनताको जीत बरिलै

अघि बढ्‍दै जाँदा जति जति म संविधानसभा हलसँग नजिकिँदै जान्थेँ, उति उति हर्षले उज्यालिएका मनहरु देख्थेँ । तिनीहरुलाई देख्दा यस्तो लाग्थ्यो कि यि त्यस्ता जनता हुन् जो भर्खरैमात्र आजीवन कारावासबाट उन्मुक्ति पाएर आफ्नो विजयको हर्ष श्वाश लिइरहेका छन् । तिनको सामाजिक जीवनमा लागेको शक्ति सन्तुलनको माखेसाङ्गलो तोडिएको छ । अनि परिवर्तनका उच्च स्वरहरु लिएर तिनीहरु यो खाल्डो शहर चर्काइरहेका छन् । निश्चय नै, म आफू पनि तिनीहरु भन्दा कम्ती अर्थको नागरिक थिईनँ । हुन त म यो देशको विधिवत् नागरिक भएको चार वर्ष पनि भएको छैन तर मलाई त्यो दिन आफू नेपाली भएकोमा एउटा छुट्टै स्वतन्त्रताको भावले घनिभूत पारेको थियो । मैले धेरै नेपालीहरु देखेँ । साँचो अर्थमा तिनीहरु नेपाल आमाका सचेत सपूतहरु थिए । तिनको कुनै वर्ग थिएन । तिनको कुनै जात थिएन । न तिनीहरु लिङ्गीय रुपले फरक थिए न क्षेत्रीय रुपले पृथक् । ति मात्र नेपाली थिए । नेपाली मात्र ।

कन्चटको माथिल्लो कुनाबाट पसिनाले मूल फुटाईसक्दा पनि तिनले धोद्रो सुकाएर गणतन्त्रको स्तुतिगान गाईरहेका थिए । त्यो राष्ट्रिय गर्वको सुन्दरताले बिल गेट्‍सको माइक्रोसफ्टरुपी सम्पत्तिलाई केही होइन भन्ने पारेको थियो । टोयोटाका नानोटेक्नोलोजीहरुका अगाडि पनि हामी नै सुक्ष्म चेतना हौँ भन्ने लागेको थियो । इन्टरनेटले बनाएको 'ग्लोबल भिलेज' भन्दा हाम्रो राजनीतिक सामिप्यताले बनाएको 'नेसनल भिलेज' नै ठूलो रहेछ भन्ने पारेको थियो । किनकि हामी नेपाली प्रविधि भन्दा पनि परिस्थितिले नै यो पालि नजिकिएका थियौँ । देशी विदेशी सबैजना उत्सवमा मस्त थिए । सायद तिनले हामीलाई देखेर "म नेपाली हुन पाएको भए..." भनेर इर्ष्या गरिरहेथे । लाग्थ्यो, सम्मेलन केन्द्र अगाडिको त्यो विशाल जनसागर एउटै मालामा उनिएका सयौँ थुँगा फूलहरुको समूह हो । कतै राई, किराँतहरुको साँस्कृतिक नृत्य, कतै नेवारहरुको रमझम, यतातिर मगरहरुको आफ्नै संस्कृति, उतातिर गुरुङहरुको परम्परागत नाच । ओहो ! साँच्चै दशवटा संस्कूति देख्नको निम्ति दश गाउँ डुल्नु पर्थेन । मलाई त्यो दिन आफू यो संसारकै सबैभन्दा धनी नागरिक हुँ जस्तो लाग्यो । त्यसैले होला हाम्रा संस्कृतिहरुलाई बिछट्टै ध्यान दिएर नियालिरहेका विदेशी पत्रकारहरुका अगाडि म शीर ठाडो पारेर बोलिरहेको थिएँ "दिस इज ह्वाट वी आ(र)" (हामी के हौँ भन्ने यही हो ।)

त्यहाँ किराँतिहरुमात्रै किराँति नाच नाचिरहेका थिएनन् अरु जाति पनि थिए । गुरुङको संस्कृतिमा रम्ने गुरुङमात्रै थिएनन्, थुप्रै अरु पनि थिए । यिनै रमभmमहरुबाट हार्दिकताको एउटा नयाँ सुवास आइरहेको थियो । हाम्रो नेपाल अखण्ड भएर यसैगरि बाँचिरहोस् । जानि नजानी खुट्टा चलाएर राई नाच नाच्न लाग्दा भाग्यवश मार्टिन चौतारीकी दिदी कैलाश राईले देख्नुभएछ । अनि हामीलाई त्यो गीतमा खुट्टा मिलाउन सिकाउनु भयो । हामीले धेरै नाचहरु नाच्यौँ । धेरैथरि जातजातिहरुसँग मिलेर ।

कपाल फुलेर उमेरले भृकुटीको खुम्च्याई भरिदिएकादेखि लिएर गणतन्त्रको प्रथम उच्चारण गर्न सिक्दै गरेका लालाबालाहरु पनि बडो उमंगले यही एउटा दिनको प्रतिक्षा गरिरहेका थिए । लाग्थ्यो, तिनलाई यत्ति एउटा दिनको साक्षि बन्न यस धर्तीमा पठाईएको हो । नेपाली पाखाहरुमा यसपालि गुराँसको मौसम सकिर्इसक्न लाग्दा पनि राजधानीमा यो क्षण राताम्य थियो, झण्डाहरुले, विजयगानहरुले, उत्सवहरुले, अनि बिर्सिनसक्नु सहिदहरुका उत्सर्गहरुले । नेपाल राज्यको यो महत्वपूर्ण इतिहासको गर्विलो दिनको साक्षि बन्न पाएकोमा मेरो मन अत्यन्तै विजयले रंगीन भएको थियो । त्यसैले हामी नाच्यौँ, हामीले नचायौँ पनि....कालो सडकमा उज्यालोका गीतहरु गाउँदै "यो जीत कसको ? युवाको, युवा कसको ? जनताको"

यतिका वर्षहरुसम्म छाएको पत्रिकाका मृत खबरहरु, रगतले लत्पतिएका समाचारहरु अनि १९ दिने आन्दोलनको त्यो पिडादायी स्मृति साथै थिए । ति सबैलाई मस्तिष्कको एउटा कुनामा कैद गर्दै यही दिनको नारायणहिटीलाई नजरावलोकन गर्न भनी हामी फेरि दरबारमार्गतफ लाग्ने तरखर गर्‍यौँ । गर्वले शीर ठाडो पार्दै नारायणहिटीतर्फ बढिरहँदा हामीलाई युवामय साथ दिने धेरै भइसकेका थिए । तर हामी स्वतन्त्र थियौँ । न कुनै सिद्धान्त, न कुनै पार्टि, मात्रै जनताको पक्षपाति । हामी सबै स्वत:स्फूर्त थियौँ । मन भित्रभित्रै दरबारभित्रको सीमाभूमिमा गर्वले पाइला टेक्ने रहर थियो । तर उमेरले चन्द्रागिरी काटेका नेताहरुले समयमै सबै काम फत्ते गर्न सकेनन् । तैपनि हामी बढिरह्यौँ- नारायणहिटीतिरै । विविध नाराहरु सहित हाम्रा साथी युवाहरु अगाडि लम्किरहँदा खुलामञ्च नजिकै विष्फोटको आवाज आयो । छेवैको बारभित्र रहेका सैनिकहरु सुतेर पोजिसन लिन थाले । अनि सबै मानिस केही छिनलाई तितरवितर भए । वातावरण केही छिनको लागि सन्त्रस्त थियो । मैले देखिरहेको थिएँ, त्यहाँ एउटा निलो सानो माइक्रोको छेउबाट सेतो धुँवाको मुस्लो उडिरहेको थियो । पछि थाहा भयो, त्यो घटनामा दुईजना घाइते भएछन् ।

चाहे सिएनएन होस् वा एएफपी, या बिबिसी होस् वा वासिङटन पोष्ट, त्यो दिन सबै सञ्चार माध्यमका अनलाईन संस्करणहरुले नेपालको गणतन्त्र सम्बन्धी खबरलाई प्रमुखता दिएर अगाडि ल्याएका थिए । एक्काईसौँ शताब्दीले पिछडिएको वर्गमा राखेको एउटा मुलुकका जनताहरु कतिसम्म स्वतन्त्रताको प्रेमी र न्यायका हिमायति भएका छन् भन्ने थाहा पाएर विश्वका धेरै शक्तिशाली राष्ट्रहरु पनि अचम्मले जिब्रो टोकेको दिन थियो त्यो । विश्व पत्रकारिताको लेन्स र कलम नेपालतफ सोझिईरहँदा नेपालीहरु यो पवित्र भूमिमा आफ्नो स्वतन्त्रताको परिचय दिइरहेका थिए । नेतृत्वलाई त्यो बेलामा व्यापक दबाब दिँदै बालुवाटार, नारायणहिटी र सम्मेलन केन्द्र वरपर थुप्रै जनताहरु नाराबाजी, रमझम र जुलुस गर्दै थिए । जनताको सर्वोच्चता झुक्ने कुरै थिएन । आखिर आयो पनि त्यो रात । दलहरु राष्ट्रपतीय प्रणालीको खाकामा अन्तत: मीलनबिन्दुमा पुगेर बालुवाटारबाट बाहिर आए । अनि जनताको आदेशलाई शिरोधार्य गर्दै एकहूल सभासद्‍हरु लम्किए सभाहलतिर ।

ढिलै भएपनि मध्यरातको साइतमा देशले नयाँ बिहानीको शंखघोष गर्‍यो । रेडियो-रेडियो अनि टेलिभिजन-टेलिभिजनमा गणतान्त्रिक गड्‍गडाहट सुनियो । निकै लामो समयसम्म । अनि फेरि उत्रिए जनता उही कालो सडकमाथि । यतिबेला तिनीहरुले टेकेको कालो सडक सडक मात्रै थिएन । यो ति काला दिनहरु थिए जसले अहिलेसम्मको राज्यसत्तामा खुशीको अनुपस्थिति गराएको थियो । जसले आजसम्मका क्षणहरुमा समृद्धिलाई अंगार बनाइदिएको थियो । त्यही कालोपनलाई कुल्चँदै फेरि एकपटक मध्यरातमा नारायणहिटि थर्काउने गरि गगनभेदी आवाजहरु गुञ्जायमान भए । चर्का परिवर्तनकारी नाराहरु लगाइए । अनि जनताले आफ्नोलागि आफै लेखेका राष्ट्रिय गान सडकमा गुञ्जन हुँदै गर्दा सरकारी आदेशमा राति नै राजदरबारको शाहीझण्डा झिकियो । जनताको पसिनाको मूल्यमा बनाइएको दरबार बल्ल जनदरबार हुन पुग्यो । त्यतिबेला झुप्रा-झुप्राहरुमा नयाँ ज्योति जाज्वल्यमान भएको थियो । मध्यरातमा मेरो मनले कल्पिँदै थियो, अबको केही छिनपछि एउटा बिहानी उदाउँदैछ, लालिगुराँसमा परेका शीतहरु टल्किने गरेर ।
safal.ghimire@gmail.com

'समयको रङ' भित्रको विविध रङ

रमेश सफर निरौला
त्रिवि, किर्तिपुर


पुस्तकः समयको रङ (Colour of Epoch)
प्रकाशित मितिः २०६४
लेखक/गीतकारः टीका चाम्लिङ

साहित्य जुनसुकै विधाको भएपनि यो पाठकको भित्री हृदय आह्लादित गर्ने किसिमको हुनुपर्छ । लेखन र प्रयोगका नाममा बेतुक शब्दहरू थुपारेर काव्यलाई क्लिष्ट बनाउनु र पाठकलाई भ्रममा पार्दै आफू अव्बल हुन खोज्नु मूर्खता हो । कुनै पनि कृतिमा विविध पाटाको खोजी गर्ने क्रम नेपाली साहित्यको समालोचना विधामा शुरू भैसकेको छ । एक पठनमा वा लेखनमा एक तरिकाले मात्र कृतिलाई हेर्ने आग्रह चक्रव्यूह सञ्चेतनाको छ ।

हाम्रो जस्तो गाउँले भरिएको देशमा गाउँले र स्थानीय विम्वको प्रयोगले रचनालाई मिठासपूर्ण बनाइदिन्छ । तर पाठकले खोजेजस्ता रचना गर्ने रचनाकार औलामा गन्न सकिन्छ । यस्ता रचनाकारहरू मध्ये गीतकार टीका चाम्लिङ समयको रङ नामक गीतिसङ्‍ग्रह माफत गाउँले र जातीय विम्वहरू (Racial images) प्रयोग गर्न तल्लीन छन् । खोटाङको किराँत संस्कृति र चाडपर्वमा चलेका मौलिक शव्दहरू गीतको मिटरमा नार्न सिपालु चाम्लिङ एक सफल गीतकार भएको कुरा त २०६१ सालमा रेडियो नेपालको उत्कृष्ट गीतकार पुरस्कार जित्नुले नै प्रमाणित गरिसकेको छ । उत्कृष्ट शव्द चयन र तिनको गीतिलयमा सफलतापूर्वक प्रयोग गर्ने उनको शैलीको एक उदाहरण-

यसपालीको साकेलामा खुसेलाई डाक्छु
नजानेको एउटा शिली उसैलाई माग्छु ।

साँस्कृतिक चेतनाले भरिपूर्ण किराँती समाजमा प्रचलित साकेला, उधौली, उभौली मात्र हैन मुर्चुङ्‍गा, बिनायो जस्ता नेपाली लोकबाजाको प्रयोग अत्यन्त मीठो शैलीमा गरेका छन् ठाउँठाउँमा । एउटा छोरो परदेशिदा आमाको पीर कस्तो हुन्छ र उनको दिनचर्या कसरी व्यतित हुन्छ भन्ने कुराको स्पष्ट चित्र एउटै गीत मेरी आमा ले देखाउँछ । शान्ति भए खुसी हुने नेपाली जातिलाई सुनभन्दा नुन नै प्यारो लाग्ने भनाइ छ उनको गीतमा । इन्द्रेणीको रङ मनपराउने गीतकार इन्द्रेणीको गाउँतिरै फर्कन चाहन्छन् जुन चाहना उनको मात्र नभई आम आन्तरिक र बाह्य आप्रवासी (Diaspora)को समेत हो ।

जनयुद्धकालदेखि शान्ति स्थापना भइसक्दा सम्मका ४४ गीत समेटिएको समयको रङ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छ । यो कृति बिभिन्न समयको नेपाली समाजको रङ पनि हो । ऋतु परिवर्तनसँगै कर्‍याङकुरुङ फर्कनु, आरू फुल्नुले परिवर्तनको आह्वान गर्छ भने आपसी वैमनस्यता त्यागेर एकै मालामा उनिन प्रेरणा प्रदान गर्छ । मान्छेको जिन्दगी भन्नु नै दु:खको सागर हो र सागरसँगै बग्ने हामी पानी हौ, जो जन्मस्थानको पीडाले कर्मस्थानमा दुखेर नियतिको पछि दौडिरहन्छ भन्ने दृष्टिकोण गीतकारको रहेको पाइन्छ । मान्छेको जीवनका विविध पाटा हुन्छन् र तिनको आ-आफ्नो रूप र रङ हुन्छ । यिनै फरक फरक रङको समग्रता (Totality) नै जीवन हो जुन समग्रतामा हेर्न नसकिने हुन्छ । समयको रङमा रङ्गीन गीतकार आफू जस्तै आफ्ना श्रृजना पनि रङ्गीन संसारका रङगविहीन अनुहारको श्रृंगारमा खर्चन चाहन्छन् । यस्तै समर्पण र त्यागले मात्रै नेपाली साहित्य बिनिर्माणवाद (Deconstruction)को बाटोतिर लाग्न सक्छ । बिनिर्माणवाद नेपाली साहित्यको लागि अत्यावश्यक छ ।

चञ्चल मन

नेत्र आचार्य
त्यस दिन तीन दिनको ज्वरोले थलिएर भर्खरै तङ्‍ग्रिए जस्ता देखिने दाढीवाल तपसीले विपश्यनाको प्रवचन दिए । "मन निश्चल र शरीर गतिशील हुँदा मानिस शारीरिक र मानसिक रूपले स्वस्थ हुन्छ" भन्दै ती शान्त पुरुषले प्रवचन टुङ्‍ग्याए । हल बाहिर मज्जाले पानी परिरहेको थियो । साथमा छाता हुनेहरू पछाडि फर्कंदै नफर्की हिँडिहाले । हामी भने त्यहीँ ओतमा बसिरहेका थियौँ । कुनै कामले बाहिर निस्कनुपर्दा प्रवचनमा उपस्थित हुन नभ्याएका एक जना साथीलाई मैले ती सज्जनको प्रवचनको सारसंक्षेप सुनाउँदै गर्दा मित्रले फ्‍याट्ट भने, "आफ्‍नो त मन चञ्चल, शरीर अचल भएर पो खत्तम भा'को रैछ ।" कुरैकुरामा हामीले तिनै साधुसँग एकाध महिना योग सिक्ने निधो गर्‍यौँ । पाँच/छ जना साथी तम्तयार भए । विचरा विमललाई भने समस्या पर्‍यो । उनी योग सिक्न हुरुक्क थिए । तर हरेक बिहान पाँच बजे नै उनी डान्स सिक्दारहेछन् । समय जुध्यो, अब योग सिक्नु कि डान्स !

छेउमा हात बाँधेर उभिएका नितेशले विमललाई डान्स सिक्न जोस्याउँदै भने, "साथी, रहर हुँदै तिमीले डान्स सिकिहाल । पछि जवानी ढल्कँदै जाँदा रहर मुर्झाउँछन् । कति साथीहरू यौवनमै सबै कुराप्रति अनासक्त भएर अफिस र घरबीचको एकनासे जिन्दगीमा आफूलाई सीमित पार्न थालेका भेटिन्छन् । न नयाँ कुरा सिक्ने रहर, न नयाँ पुस्तक पढ्‍ने चाख । दुनियादेखि, हुँदाहुँदा जिन्दगीदेखि नै एलर्जी । न खसमसँग प्रेम न दोस्रो घरजम गर्न रुचि । भएन बर्बाद !"

नितेशको कुराले एकै छिन हाँसोको लहर उर्लियो । त्यतिञ्जेल पानी थामिइसकेको थियो । सबै बाटो लागे । नितेश र म पनि गुँडतिर हिँड्‍यौँ । नितेशलाई यतिखेरको युवा पुस्ता देखेर किन त्यस्तो विघ्न कन्सिरी तातेको होला मैले ठम्याउन सकिरहेको थिइनँ । आलोचना गर्दा मात्रै मान्छेको छैटौँ इन्द्रिय खुल्ने गरेको देखेर म मनमनै चकित हुन्छु । कस्तो स्वाद आउँदो हो मान्छेलाई आलोचना गर्दा ? यस्तरी आलोचनाको अचानोमा पर्नुभन्दा अनकन्टार जङ्‍गलमा खुँखार डाँकुको चुप्पी सहनु सहज हुँदो हो सायद । विपश्यनाको अभ्यासले मानिसमा मैत्रीभाव, प्रज्ञाजस्ता गुण विकसित हुन्छन् । आफू र अर्कोबीच अभिन्नता महसुस हुन्छ, अर्काको खुशीमा आफ्‍नो खुशी देख्ने भावना पैदा हुन्छ । तर अरूलाई भित्तामै पुग्ने गरी आलोचना गरेर स्वाद लिनेहरूलाई विपश्यना कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो मात्र हुँदो हो ।

मेरो मनको कुरा बुझेँजस्तै गरी नितेशले त्यति नै खेर आफ्‍नो भनाइको स्पष्टीकरण दिन थाले, 'हेर्नुस‍ न, युवा पुस्तामा कनिकुथी कलेजको पढाइ सक्ने र एउटा जागिर पाएपछि हाइसुख्ख भएर बस्ने प्रवृत्ति देखिन थालेको छ । म त दङदास छु, कसरी यस्तो भइरहेको छ ? सायद यो हाम्रो अति अवैज्ञानिक शिक्षा प्रणालीको दोष हो । स्कुल र कलेजमा पाठ्‍यक्रमका पुस्तक हूबहू घोकिदिए फस्र्ट डिभिजन आउँछ । पुराना ब्याचका नोट वा गेस पेपर पढेर परीक्षा दिए पनि मजाले पास भइन्छ । दुन्निया रेफरेन्स पुस्तक पढेर टाउको दुखाउन किन पर्‍यो । पढ्‍ने बानी नभएपछि जीवनमा महत्वाकाङ्‍क्षा कहाँबाट आउनु, जीवनप्रति संवेदना, प्रेम कहाँबाट जाग्नु । टिन एजर हुँदा पुस्तक किन्न भनेर प्यारेन्ट्‍ससँग मागेको पैसा उडाउने उपाय कति छन्‍ कति । फिल्म हेर्न गए भइगो, कन्सर्ट, स्पोर्ट्‍स, स्वीमिङ, चुरुट, ड्रग्स... एण्ड सो अन ।'

उनका तर्कना सुन्दै गर्दा एक मन त मलाई लाग्यो, who are we to comment their life style? यो तिनीहरूको जिन्दगी, तिनीहरूले आफ्‍नै पाराले बिताउँन् ! हामीलाई के ? यतिञ्जेल हामी गुमनामनगर आइपुगेका थियौँ । यहाँको दरबारको पूर्वी गेटनेर एभरेष्ट होटल छ, हामीले प्राय: खाना खाने ठाउँ । होटेलमा पस्नै लागेको बेला झलक्क मलाई विपश्यनाका साधुले 'नो होटेल, नो हस्पिटल' भनेको याद आयो । होटेलमा खाना खान पस्नेहरूको मुख हस्पिटलतिर फर्किएको हुन्छ रे ! होटेलको चिल्लो र अत्यधिक मसलायुक्त खाना खानाले एसिडिटी बढेको पनि मलाई थाहा छ । यद्यपि कोठामा पुगेर आफैँ खाना पकाएर खाँदा त रातको दश बज्छ होला भनेर तर्कना गर्दै हामी होटलमा छिर्‍यौँ । हाम्रो जोरदार तर्क थियो, 'साधुसन्तले भनेका सबै वचन शिरोपर गर्दै जाने हो भने दुर्इ पाइला हिँड्‍न र दुई छाक खान पनि अनुमति पाइन्न यार !

'राति सुत्ने बेलामा विपश्यनामा बसेँ । आठ-दश मिनेट विपश्यना गर्छु भनेर बसेको, समय बितेको पत्तै भएनछ । ध्यान गहिरिँदै जाँदा म नितेशको विगततिर एकोहोरिएछु । नितेशलाई सानैदेखि चिन्ने हुँदा उसको बाल्यकालको पृष्ठभूमि र सम्पूर्ण विगत मैले एक पटक मस्तिष्कको चित्रपटमा फुकाएर हेरेँ :

'समाज हामीले चाहेको ट्रयाकमा हिँड्‍दैन । नित्सेले भनेकै छन्, व्यक्तिको पागलपन अस्वाभाविक हो तर समाजको, देशको पागलपन नियम नै हो । यहाँ जसको बाहुल्य छ उही हावी हुन्छ । गाउँमै गोर्की, चेखब, लेर्मेन्तोभ, तोल्सतोयका किताब पढेर दङदास हुन्थ्यो । उसलाई सानैदेखि पुस्तक पढ्‍ने बानी बस्यो । पुस्तकहरूले नै उसलाई गाउँबाहिरको विशाल संसारसँग परिचित गराए । पढ्‍ने बानी झन‍ तेज भयो । हिन्दी, संस्कृत र अङ्‍ग्रेजी साहित्यको सङ्‍गतले उ बहकिँदै गयो । यो बानीले उसको महत्वाकाङ्‍क्षा निकै बढाएको छ । उसलाई गाउँमा छटपटी भयो, पोखरा आयो, त्यहाँ पनि टिक्न सकेन, काठमाण्डू खाल्डोमा छिर्‍यो । अब यहाँ पनि उ बेचैन हुँदै गएको छ । सायद छिटै यहाँबाट पनि कुलेलम हुनेहोला । लौ, सबै यस्तै कहीँ अड्‍न नसक्ने हुनुपर्छ भन्ने के छ हँ ।'

नितेशले मेरो मनको यो अन्तर्सम्वाद सुनेको भए के भन्थ्यो होला । सायद यसरी जवाफ फर्काउँथ्यो होला : 'हेर, आजै विपश्यनामा ती साधुले मन निश्चल भएको जाती भनेर सम्झाएका छन् । तिमीलाई के थाहा, मानिसका सम्भावनाहरू कति छन् भनेर । हामी मानव जातिले आजसम्म हाम्रो मस्तिष्कको ५ प्रतिशत मात्रै उपयोग गरेका छौँ । मस्तिष्कको शतप्रतिशत उपयोग गर्न हामीले अरू केही गर्नुपर्दैन, सिस्टमेटिक अध्ययन, चिन्तन, मनन र सृजनात्मक क्रियाकलापद्वारा मस्तिष्कको पर्याप्त Exercise गरे पुग्छ । त्यो संसारको कल्पना गर त, जहाँ मानिसले आफ्‍नो मस्तिष्क र भावनाको सम्पूर्ण उपयोग गरेको हुन्छ । हामी जहाँ पनि पुग्न सक्नेछौँ । हामीले चाहेको जे पनि गर्न सक्नेछौँ । सबै कुरा हासिल गर्न सक्नेछौँ । यस्तो सम्भावना आँखा अगाडि देख्दादेख्दै युवा पुस्ता सुस्केरा हालेर अथवा लामो हाई तानेर बस्न सुहाउँछ ?'

मेरो मनमा यस्तो तर्कना कतिञ्जेल चल्ने थियो, बाहिर पानी पर्न थालेछ, झ्‍यालबाट आएको बाछिटाले मलाई होशमा ल्याइदियो । म ब्ल्याङ्‍केट तानेर सुतेँ । राति निद्रामा भने सधैँजस्तो त्यो ठूला ठूला आँखा हुने ठिटीसँग भेट भयो । त्यो चुलबुले ठिटीलाई देख्ता मलाई झलक्क मेरो फेभराइट राइटर नित्सेकै याद आउँछ । हुन त नित्सेले निस्सार संसारप्रति ठाउँठाउँमा कटाक्ष गरेका छन् । एक ठाउँमा उनले केसम्म भनेका छन् भने, 'यो दुनिया विष्टा हो, हाम्रा प्रयत्नहरूको उचित पुरस्कार पाइएला भनेर सोच्नु व्यर्थ छ ।' तर उनलाई सङ्‍गीत कस्तो मन पर्ने भने, 'म चाहन्छु सङ्‍गीत त्यस्तो होस् मानौँ यो अक्टुबरको घमाइलो मध्यान्ह हो, एकदम उल्लासपूर्ण र व्यापक । मानौँ यो अरूभन्दा एकदम अलग, चञ्चले, कोमल र मायालु ठिटी हो जसमा अनौठो एकोहोरोपना र आकर्षण छ ।'

छरितो चालडाल भएकी त्यो ठिटीसँग म एकाध पटकबाहेक बोलेको छैन । तर उसको सम्झना आउँदा मन गुनगुनाउन थालिहाल्छ : ...निगाहेँ राह तकती है । त्यो ठिटीलाई गाउँमा लगेर घाँस कटाउने कत्रो रहर मलाई ! उसले निधारमा टल्केका पसीना पुस्दै नपुछी मतिर हेरेको हेर्ने कस्तो हुटहुटी मलाई ! त्यो ठिटी मेरो जीवनमा सायद कहिल्यै आउँदिन । मैले उसलाई पछ्‍याउने चेष्टा पनि कहिल्यै गर्ने छैन । मलाई विपश्यनाकै पछि लाग्नु छ । यति हुँदाहुँदै पनि जब-जब उ याद आउँछे, म विपश्यनाद्वारा मनलाई नियन्त्रण गर्दिन, उसैलाई याद गरिरहन चाहन्छु ...

गीत

सङ्गीता पाण्डे

तिम्रो आँखा किन-किन हेरुँ- हेरुँ लाग्छ
प्रश्न गर्छु उत्तर छैन दिल बहकिँदै जान्छ

चन्द्रमा झैँ आकाशमा मुस्कुराउँछौ तिमी
बादलमुनि लुक्दै मलाई जिस्काउँछौ तिमी
कहिलेकाहीँ यस्तो लाग्छ मेरो कल्पनामा
तिमी बाहेक कोही छैन मेरो जिन्दगीमा

ल्याउनेछु नवप्रभात तिमीले साथ दिए
बस्नेछ अमर माया तिमीले प्रीत दिए
आँखाबाट आँसु झर्छ तिमी छुटि दिँदा
माया मैले लाएको हुँ तिमीसँगै सदा

Essay

Rakhi Sawant’s interview and our embarrassment
- Abhinaya Thapa

My friend was startled by the attitude and ‘indecent’ courage of Indian model and actress Rakhi Sawant in her interview at one commercial channel. According to him, her blatant answers and plastic gestures was what amazed him. I was quite surprised by his reaction, because he grew watching sleazy- greasy Hollywood gossips and even used to narrate it in amiable way. He added that Sawant appeared in the T.V while being with his parents and due to understandability of the Hindi language the embarrassment was unbearable.
I also watched that interview and surprisingly our reactions were quite similar. How it could be when even explicit and blatant acts of western figures never produced such awe and discomfiture in us. But a little provocation from neighbor’s daughter rattled us. There could be numerous of reasons and answers; our masculinity consciousness, our patriarchic, feudal upbringing and even Sawant's insidious acts for attraction.
But before any recourse to any subjectivity, the nature of the matter has to be looked quite carefully. The interview in T.V is in form of reality or virtual reality, the thing exists almost as your existence in front of you. So, it forces reaction through senses after being affected. Due to this, the power of conscience (knowledge) is almost mediatory. If the matter was in form of words, then the reader has to study word first and relate it with other things and words for meaning and comprehension. Therefore in the course of the reading, the consciousness has constant need of person’s ‘knowledge’. It affects in the outcome of one’s reaction, as the senses is in authority of intelligence, which in many cases first takes decision in order to react and express.
In interview form Rakhi Sawant was a ‘live being’ and she expressed and reacted against her questions and questioner. The 30 minutes of time of interview is a part of her life or ‘segment of living’ and it stands similar to common sense of culture’s, ‘way of living’. It was trouble with her culture. It confronted and disgusted us, as her ‘culture’ was part of the bigger one (sub- continental) under which our own exists. We both have to recourse to the ‘bigger one’ for our values and meanings, thus there’s mutual sharing and recognition between us. So, Sawant is one of ‘us’, not like the ‘others’. Due to it there’s a feeling of something similar to familial sentiments, where the ‘recognition’ notion confirms the some rights over the recognized. If it was the case of man, then there could have been the feeling of brotherhood or the immense hatred as against traitor. But, the matter was of ‘She’, an inferior in our ‘social knowledge’ in relation to us. The only immanent sentiments could be same as those towards our ideal ‘sisters, mothers and daughters’. One can argue the case of Miss Sawant was different. But the same distortion and transgression of cultural meanings and values while remaining within as its part was carried out by Taslima Nasreen too. The extreme reactions it followed show that Sawant personality was negligible importance.

कविता


( वि.सं. १९७४ सालमा प्रकाशित सूक्तिसिन्धु कविता संग्रह छाडा साहित्यको बात लागेर प्रतिबन्धमा परेको थियो । वि.सं. २०२४ सालमा जगदम्बा प्रकाशनले यसलाई पुन: प्रकाशन गर्‍यो । त्यसपछि पाठ्‍य सामग्री पसल, काठमाडौँले २०५५ र २०६२ सालमा क्रमश: तेस्रो र चौथो संस्करण प्रकाशन गरेको छ । उसबेला नेपाली कविता साहित्यमा श्रृङ्गारिक भावका कविता लेख्ने प्रसिद्ध प्राय: सबै कविहरूको कविता यसमा समेटिएको छ । नेपाली कवितामा श्रृङ्गारिक भाव धाराको ऐतिहासिक महत्व राख्ने यो सङ्‍ग्रहको एउटा कविता साभार गरेका छौँ । कलेज कलम समूह)


प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ।

-पण्डित कृष्णप्रसाद रेग्मी

प्रतर्‌ भयेछ कि सखी ! चिडिया कराये
श्रीसूर्यले अरुणकान्ति पनी फिँजाये ।
ताराहरू गगन मण्डलमा हराये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।

ढोका खुले घरघरै घरघर् गराये
बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
प्यारी ! उठौं कि अबता कुखुरा कराये ! ।।२।।

निन्द्रा सखी गयिछ भागि बिदा नमागी
प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अञ्जना पनि हिंडीछ सबै हराये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।३।।

सिन्दूर लत्पत छ कज्‍जल पूछ प्यारी,
अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी बिलाये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।४।।

जागा भयेर गर बन्दन इष्टलाई ।
छुट्टीन कष्ट छ अति छन ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।५।।

होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
आँटी मसक्‍क उठ सुस्त उघार ढोका
बेर् भो छिमेकिहरूले पनि चाल पाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।६।।

भोली पनी दिन बितीकन रात पर्ला
आजै अतीव नगरौँ अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।७।।

प्रीतीविना रहनु केहि हुँदैन राम्रो
प्रीति परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभाये
प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ! ।।८।।

देखिन्न शुक्र पनि अस्त भईसकेछ
तिर्‌मिर‌् हटीकन प्रकाश भइसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।९।।

गर्छन् वरीपरि पनि सब हल्लिखल्ली
कल्ली लगाउ झटपट्‍ खिच बाहु-बल्ली ।
देउ बिदा अब प्रिये ! सब साथि आये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१०।।

(साभार: सूक्तिसिन्धु, चौथो संस्करण २०६२)

कविता

मसान राज्य
सुरेश हाचेकाली


राष्ट्रिय 'हेयरलुम' जस्तो मानेर
यो सृजनशील अधिराज्यमा
हामीले शताब्दीयौंसम्म
रक्तपिपासु, स्वेदपिपासु
बीरमसानको खलनायकत्व
शिरोपर गरेर मौन हिडिआएछौं ।

यी समसामयिक मान्छेहरूसँग
आधुनिक स्पन्दन
र आदिम धुकधुकी
दुवै छ

तर पनि
एक्काइसौं शताव्दीको छकालमा
यी जीवन्त मान्छेहरूमाथि
किन शासन गर्छन्
यी 'डेट एक्स्पायर्ड' मसानहरू ?
बिना टाउकोका मसानहरूले
हाम्रा दर्जनौ पुस्ताहरू फटाइदिए
नाङ्गै, भोकै र रोगी भएर
हामी युरो-अमेरिकी उत्तरआधुनिकता घोकिरहेछौं ।
यो आकुलव्याकुल
काकाकुल कर्मभूमिमा
मुरीमुरी रगतपसिना पोखिएको छ
यहाँ,
मान्छेका शरीरबाट पोखिएको
रातो रगतका भूमिगत तलाउहरू छन्
यहाँ,
मान्छेका जीवन्त निधारबाट पोखिएको
नीलो पसिनाका गहिरा पोखरीहरू छन्
यी पोखरी र तलाउहरूमा
मसानको बडेमान जनसंख्या
ग्रीष्मकालीन जलबिहार गर्दछ ।


२९ चैत्र, २०६२

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes