अध्ययन प्रेमीका लागि मार्टिन चौतारी पुस्तकालय



                                                                                                                 –कलेज कलम समूह

पुस्तकालय स्वतन्त्र रूपमा अध्ययन गर्न चाहने धेरैको प्रिय थलो हो । तपाईं अध्ययनशील हुनुहुन्छ भने पक्कै पुस्तकालयको खोजीमा हुनुहुन्छ होला । अझ विद्यार्थी, पत्रकार वा अनुसन्धाता हुनुहुन्छ भने त पक्कै स्रोत सामग्रीहरूको खाँचो हुने नै भयो ।  काठमाडौँमा केही संख्यामा सार्वजनिक तथा निजी पुस्तकालयहरू छन्, जहाँ गएर सूचना तथा ज्ञानको संसारमा लीन हुन सकिन्छ । त्रिवि केन्द्रीय पुस्तकालय (किर्तीपुर), राष्ट्रिय पुस्तकालय (हरिहर भवन), काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (प्रदर्शनी मार्ग), डिल्लीरमण रेग्मी पुस्तकालय (लाजिम्पाट), सोसल साइन्स बहाः (बत्तीसपुतली), एवन पुस्तकालय (कुपण्डोल), केशर पुस्तकालय (ठमेल), मदन पुरस्कार पुस्तकालय (पाटनढोका), मार्टिन चौतारी पुस्तकालय (थापाथली) आदि केही काठमाडौका संकलन र प्रयोगका लागि राम्रा पुस्तकालय मानिन्छन् । तपाईं मिडियासम्बन्धी सामग्रीहरूको खोजीमा हुनुहुन्छ भने त मार्टिन चौतारी सम्भाव्य उपयुक्त थलो हुन सक्छ ।
वि.सं २०६३ साउन देखि सबैका लागि अध्ययनको सुबिधा दिदै आएको चौतारी पुस्तकालयमा करिब २०,००० को संख्यामा पाठ्य सामग्री संकलित छन् । यी सामग्रीहरू बिषेशतः अध्येताहरूका लागि संकलन गरिएका हुन् । पुस्तकबाहेक जर्नल, पत्रपत्रिका तथा लेखहरूको पनि राम्रै संकलन छ यहाँ । मिडियासम्बन्धी लामो समयदेखि गहन अनुसन्धान गरी पुस्तक तथा जर्नल समेत प्रकाशन गर्ने मार्टिन चौतारीले मिडियाको व्यापकतालाई समेट्ने गरी सामग्री संकलन गरेको छ । मिडिया डकुमेन्टसन सेन्टर नाम दिइएको चौतारीको संकलनमा मिडिया सामग्री प्रमुख चासोको क्षेत्र हो । मार्टिन चौतारीले प्रकाशन गरेका ६८ मध्ये ३४ मिडिया विषयका पुस्तकहरू छन् । मिडियाका व्यापक आयामहरूलाई समेट्ने गरी पत्रपत्रिका, जर्नल, प्रतिवेनदन, कार्यपत्र, थेसिस तथा फुटकर लेखहरूको गतिलो संग्रह छ यहाँ । नेपाली प्राज्ञिक जर्नलका करिब २०० शिर्षकको उपलब्धता यहाँको गर्व गर्न लायक संकलन हो । नेपाली मिडियासँग सम्बन्धित सकेसम्म सबै सामग्री खोजी–खोजी संकलन गर्ने नीति नै बनाइएकोले मिडियाका विद्यार्थी मात्र नभइ व्यावसायिक पत्रकार र शिक्षकसमेतका लागि  मिडियासम्बन्धी अध्ययन, अध्यापन वा व्यावसायिक पत्रकारहरूका लागि त यो पुस्तकालय आइपुग्नै पर्ने थलो हो । त्यस्तै विदेशी मिडियाका सैद्धान्तिक तथा व्यावहारिक पाटो बुझाउने थुप्रै पुस्तकहरू, जुन अन्य पुस्तकालयमा भेटिन गाह्रो छ, भएकाले विद्यावारिधि गर्ने वा स्वतन्त्र तर गहन अध्ययन गर्नेका लागि पनि यहाँ थुप्रै सामग्रीहरू छन् । मुख्यतः मिडियासम्बन्धी सामग्रीमा जोड दिइए पनि मिडिया इतरका अध्ययन सामग्रीको पनि यहाँ कमी छैन । दर्शन, राजनीति, इतिहास, शिक्षा, वातावरण, स्वास्थ्य, जेन्डर लगायत समाज विज्ञानका विविध सामग्री यहाँ पाइन्छ । यद्यपि साहित्यका सीमित सामग्री मात्र उपलब्ध हुने यो पुस्तकालयमा म्यानेजमेन्ट, बिज्ञान तथा नेचुरल साइन्स पढनेहरूका लागि भने ठोस सामग्री भेटिन्न ।

मुख्यतः समाज विज्ञानका हरेक विद्यार्थीका लागि यो पुस्तकालय उपयोगी हुन सक्छ । पुस्तकालय राम्रो हुन राम्रा पुस्तकहरू भएर मात्रै पुग्दैन अध्ययन गर्ने राम्रो वातावरण र खोजेको सामग्री तुरुन्त प्राप्त गर्ने संयन्त्र पनि चाहिन्छ । त्यस्तै, राम्रो पुस्तकालयको लागि भएका सामग्रीको उचित व्यवस्थापन र संरक्षण अर्को शर्त हो । यसले इन्टरनेटमा अध्ययन गर्न चाहनेका लागि आफ्नो अध्ययनकक्षमार्फत निःशुल्क सेवा प्रदान गरिरहेको छ । यस केन्द्रमा Project Muse र JSTOR    मार्फत विभिन्न बिषयका हजारौँ अन्तराष्ट्रिय जर्नलहरूको अध्ययन निःशुल्क उपलब्ध छ ।

यो पुस्तकालय केही मौलिक बिशेषताहरूका कारण पनि उपत्यकाका अन्य पुस्तकालयको दाँजोमा फरक छ । पत्रकारिताको बिशेष संकलनमात्र होइन चौतारी पुस्तकालयमा उपलब्ध सामग्री खोज्ने बित्तिकै प्राप्त गर्न सक्नु यसको सशक्त पाटो हो । घरमा इन्टरनेट सेवा छ भने, यो पुस्तकालयमा भएका सामग्रीहरुबारे online catalogue  मार्फत सजिलै जानकारी प्राप्त गर्न सकिन्छ । २०४७ साल पछि प्रकाशित थुप्रै प्रमुख पत्रपत्रिका तथा म्यागाजिनहरू यहाँ उपलब्ध छन् । मार्टिन चौतारी मुख्यतः ज्ञान संकलन, व्यस्थापन र प्रवद्र्धनका लागि कार्यरत संस्था भएकोले पुस्तकालयको प्रयोगका अलावा यसका अन्य गतिविधिहरू पनि कम रोचक छैनन् । नियमित खुला छलफल तथा फिल्म प्रदर्शन जस्ता गतिविधिका कारण यहाँ आउनेहरूका लागि यो संस्था नै एउटा खुला पुस्तकालय हो भन्दा फरक नपर्ला !

पुस्तकालयसम्बन्धी थप जानकारीका लागि क्लिक गर्नुहोस्
www.martinchautari.org.np

नवीन शैलीका कथाहरु


प्रभाकर गौतम

सुबिन भट्टराईको पहिलो कृति ‘कथाकी पात्र’ मा शैली र प्रस्तुतिमा नयाँपन पाइन्छ । यस सङ्ग्रहमा जम्मा तेह्र ओटा कथाहरु संकलित छन् । अधिकांश कथाहरु महिला–पुरुषबीचको सम्बन्ध, मित्रता, माया–प्रेम आदिको सेरोफेरोमा बुनिएका छन् । यी सम्बन्धहरुले उब्जाउने आकर्षण, रोमाञ्च, घृणा, द्वेष र अन्योलमय स्थितिको चित्रणमै धेरै कथाहरु केन्द्रित छन् । कथाहरु पढ्दा, संस्मरणात्मक निबन्ध पढिरहेको भान हुन्छ । यसले उपन्यासको स्वादसमेत दिन्छ । सबै कथाहरु ‘म’ पात्रले बोलेको छ । यस्तो लाग्छ, ‘म’ पात्र लेखक स्वयं हो । कथाकारले आभार व्यक्त गर्ने क्रममो कथाका वास्तविक पात्रलाई धन्यवाद भनेर उल्लेख गर्नुले पनि कथाहरु लेखकको जीवनसँग नजिक छ कि भन्ने सङ्केत गर्छ । 

कथाकारले केही कथाहरुमा राम्रै प्रयोग गरेका छन् । औडाहा र औडाहा–२ शीर्षकका कथाहरुमा एउटै कथालाई फरक फरक दुई भिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । यी कथाहरु शीर्षकका हिसाबले फरक–फरक छन् तर विषयवस्तुका आधारमा एउटै छन् । कथालाई पुरुष र महिला पात्रको भिन्न–भिन्न दृष्टिकोणबाट रचिएकोले प्रस्तुति राम्रो छ । विषयवस्तु र फरक शैलीका कारण यी दुई कथा पढ्दा बेग्लै मजा आउँछ । लगभग यस्तै शैलीमा थप दुई कथाहरु पनि लेखिएका छन्, ‘मलाई मन परेको साथी’ र '‘मलाई मन नपरेको साथी’ । यी दुई कथाहरु पनि विषयवस्तुका हिसाबले तुलनायोग्य छन् । तर पनि अर्कोको तुलनामा 'मलाई मन परेको साथी’ नै राम्रो छ । प्रस्तुतिको सशक्तताका हिसाबले 'अर्काकी स्वास्नी’ पुस्तककै उत्कृष्ट कथा हो । शुरुदेखि अन्तसम्म पाठक हृदयमा कौतूहल जगाउन यो कथा सफल छ । प्रेम र सम्बन्धको सेरेफेरोमा रचिएका धेरै कथाहरुले आधुनिक युवा मनोविज्ञान उद्घाटन गर्न सघाएको छ । पुस्तकको शीर्षक चयन गरिएको कथा सामान्यतया अन्य कथाभन्दा उत्कृष्ट होला वा त्यो कथा विशेष होला भन्ने अपेक्षा पाठकमा हुन्छ । तर यहाँ ‘कथाकी पात्र’ शीर्षकको कथा औसत खालको छ । ‘अन्तराल’, कथा अनावश्यक लम्बाइएको छ । 

थुपै्र सबल पक्षका बाबजुद पुस्तकमा धेरै कमजोरीहरु पाइन्छ । भाषा र शैली राम्रो हुँदा हुँदै पनि एउटै ढर्रामा सबैजसो कथाहरु लेखिएकोले कतिपय ठाउँमा पुनरावृत्तिको समस्या टड्कारो बनेको छ । अन्तर्वस्तुमा विविधता हुँदा हुँदै पनि भाषाशैली र प्रस्तुतिमा विविधताको खाँचो देखिन्छ । हुनसक्छ, नयाँ प्रयोगका लागि लेखकले जानीजानी यस्तो गरेका पनि हुन् । केही वाक्यांश वा थेगो कथाकारलाई यति प्रिय छ कि धेरै पकट दोहोरिनाले पाठकलाई भने अप्रिय लाग्छ, जस्तै, ‘हुँदो हो’ । मानौँ, लेखक यो थेगोको प्रयोग बिना कुनै कथा लेख्नै सक्दैनन् । पुस्तकमा सबैभन्दा ठूलो समस्या वाच्य÷काल चयनमा देखिन्छ । धेरै वाक्यहरुमा ‘..एको’ आउँछ । यो समस्या सबैजसो कथालाई पूर्ण भूतकालमा लेखेर उत्पन्न भएको हो । जबकी कथाहरु सामान्य भूतकालमा लेख्नु राम्रो मानिन्छ । सम्पादनको अभाव सबै कथामा खड्किन्छ । यी तमाम कमजोरीहरु नभएको भए पाठकलाई कति जाति हुँदो हो लेखककै शैलीमा ।

तथापि, पहिलो कृतिबाटै कथाकार भट्टराईले कथा–आख्यान लेखनमा राम्रो सम्भावना देखाएका छन् । पुस्तक पठनीय छ । यो कथा सङग्रहको तेस्रो संस्करण चाँडै बजारमा आउँदैछ ।

लेखकः सुबिन भट्टराई
प्रकाशकः पाँचपोखरी बुक स्टोर
मूल्यः रु १००
पृष्ठः ११४

Village View

विभिन्न ठाउँ पुग्दा थरीथरीका दृश्यले मनै लोभ्याउँछन् । तर जतिसुकै सभ्यताको चुचुरोमा पुगे पनि प्रकृतिको काख ओछ्याएर बस्ने गाउँ-घरले जस्तो अरु कुनै पनि कुराले मोहनी लगाउँदैनन् । त्यसमा पनि आफ्नो गाउँको मोह नै अलग हुन्छ । गोरखा जिल्लाको मेरो गाउँ तान्द्राङमा खिचेका केही तस्वीरहरु त्यही गाउँले मोहनीको झल्को दिन यहाँ राख्‍न चाहेँ ।

















All Photos © Prabin Banjara 

विश्‍लेषणमा विशिष्‍ट शैली


।। जोतारे धाइबा ।।

कविता, गीत जस्ता लघु आयामका विधामा कलम चलाउने स्रष्टा गीता त्रिपाठीले पछिल्लो समयमा आफूलाई द्रष्टा परिवेशमा फैलाएकी छन् । समालोचनाको बृहत् आयाममा फैलिने क्रममा उनको दोस्रो समालोचना संग्रह कृति विश्लेषण : प्रायोगिक आयाम आएको छ । कृति तथा रचनालाई समग्रतामा सर्सर्ति केलाउने परम्परा विपरीत यस संग्रहका समालोचनामा छुट्टै शैली अपनाइएको छ । विधागत रूपमा एउटा निश्‍चित ढाँचाभित्र कृतिको चर्चा गर्ने परिपाटीसामु फरक-फरक कोणबाट कृतिलाई केलाउने समालोचकीय शैली नवीन लाग्छ, जुन यो कृतिको वैशिष्ट्य नै हो । आफू प्राध्यापन क्षेत्रमा रहे पनि त्रिपाठीले संग्रहमा प्राध्यापकीय समालोचनाको भद्दा छिटा पर्न दिएकी छैनन् । जडसूत्रवादी नभई अनुसन्धानमूलक र फरक कोणयुक्त दृष्टिबाट कृति हेरिएकोले तिनमा अलग सोचको द्वार खुलेको पाइन्छ ।

काव्य, कथा, निबन्ध, समालोचना र उपन्यास विधामा केन्द्रित १२ वटा समालोचना छन् संग्रहमा । कृति र विषयको चयन हेर्दा पनि समालोचकले नयाँ सोच प्रस्तुत गर्ने चुनौती आत्मसात् गरेको देखिन्छ । समालोचना आलेखमा पूर्वीय र पाश्चात्य दुवै समालोचना पद्धति अपनाइएको छ ।

आयामको हिसाबले संग्रहभित्रकै सबैभन्दा लामो समालोचना समकालीन नेपाली नारीकथामा वैचारिकता रहेको छ । समकालीन शब्दको परिभाषासहित वैचारिकताका अनेक हाँगाबारे चर्चा गरिएको आलेख निकै जानकारीमूलक छ । पारिजातलाई नेपाली नारीकथामा वैचारिकताको उठान गर्ने श्रेय दिइए पनि उनको कथाका सन्दर्भबारे भने आलेख मौन छ । समकालीन सन्दर्भको नारी कथाकारिताको बयानमै विस्तारित आलेखमा व्यक्ति, समाज, राष्ट्रिय राजनीति, परिवर्तन, सशस्त्र द्वन्द्वसँग जोडिएको चेतनादेखि नारी समलिंगीय चेतना सम्मको आधुनिक आयामको चर्चा छ । उत्तरआधुनिक चेतनाअन्तर्गत महानगरीय सभ्यता र रुग्ण मानवीय संवेदना र डायस्पोराको आकार लिँदो अन्तर्देशीय समाजको अस्तित्त्वलाई पनि मान्यता दिइएको छ । कथाहरूबारे उदाहरणसहितको विश्‍लेषणले आलेखलाई थप जीवन्त र प्रभावकारी बनाएको छ । सारमा वैचारिकताको परिभाषा राजनीतिक चेतना मात्रै नभई जीवन-जगत्‌बारेको चिन्तनका तहमा अन्तर्वस्तु बनेर विचार रहने भनेर समग्र विचारपुञ्जलाई बुझाइनु पनि चित्तबुझ्दो लाग्छ । कथा चर्चामा पनि त्यही अन्तर्वस्तुलाई नै मियो बनाइएको छ । यसबाट जतिसुकै शीर्षक-उपशीर्षकमा नेपाली नारीकथाको वैचारिक पाटोलाई केलाइए पनि तिनमा परम्परागत ढाँचाअनुसारकै नारी-पुरुष सम्बन्ध, पारिवारिक-सामाजिक टकराव र लैंगिक समस्याको वृत्तदेखि बाहिरको बहुआयामिक पक्ष आउन सकेका छैनन् भन्नेमा समालोचकको समेत स्वीकारोक्ति देखिन्छ ।

निबन्धकार शंकर लामिछानेका निबन्ध रचनाबारे दुई थान समालोचना छन् । सूत्रात्मक लेखन, चेतनप्रवाह पद्धति अपनाउने लामिछानेको निबन्धसंग्रह एब्सट्र्याक्ट चिन्तन प्याजबारे समालोचक त्रिपाठीको विश्लेषण सार्थक छ । एकथरी पाठकको लागि 'खै, बुझिँदैन' को लेवलमा अलग्गै बसेका लामिछानेको मदन पुरस्कार विजेता कृतिभित्रका निबन्धहरूबारे एक-एक गरेर संक्षिप्त वर्णन गरिएको छ । त्यति आंशिक चर्चाले पनि त्यस्ता पाठकको लागि दुरुहताको ग्यास च्याम्बरभित्र आँखीझ्यालको काम गर्न सक्छ । लामिछानेकै अर्को निबन्धकृति गोधूलि संसारको निबन्ध जीवनः एक प्राध्यापकमा ध्वनिविधानको पाटो पनि समेटिएको छ संग्रहमा । त्यसमा ध्वनि सिद्धान्तको सरल परिचयका साथै शब्द, वाक्यांश र वाक्यको वाच्यार्थ र व्यङ्यार्थबीचको भेदको चर्चा जानकारीमूलक रहेको छ ।

इन्द्रबहादुर राईको समालोचना र कथाको फरक-फरक समालोचनामा त्रिपाठीले मिहिनेत गरेकी छन् । गहन अध्ययनविना यति गहिराइको हेराइ सम्भव हुन्न पनि । विजय मल्लको उपन्यास अनुराधाबारे राईको समालोचनाबारे त्रिपाठीको आकलन र चित्रण कता-कता सर्सति मात्र बन्न पुगेको भने देखिन्छ । धारिलो विश्‍लेषणबाट नयाँ कोण दिनुपर्नेमा सम्बन्धित रचना तथा पाठको कथानककै सिलसिला र अवस्था झल्काउनमा उनी अल्झिएकी पनि छन् । यसैगरी केही समालोचना आलेखमा उनले शास्त्रीय समालोचनाको रेखी कोर्ने बानी छुटाउन सकेकी छैनन् । तिनमा जीवनीपरक समालोचनाको छाया देखिन्छ । राजेन्द्र भण्डारी, मनु मञ्जिल, सुधा त्रिपाठी, पद्मावती सिंहका सिर्जना-कृतिको समालोचनामा पस्ने क्रममा पाठकलाई झर्को लाग्न सक्छ । नसमेट्दा तथा जोड नदिंदा पनि हुने कुरालाई प्राथमिकता दिँदा समालोचनाको सुरुवाती हरफ जानकारीका स्रोत होइनन्, अल्झाउने छेस्काछेस्की बन्ने खतरा देखिन्छ । सुधा त्रिपाठीको निबन्धको संरचनागत स्वरूप केलाउँदा सुधाको न्वारानको नामदेखि लेखनारम्भ, पहिलो प्रकाशित रचना, पारिवारिक जरासम्मका जोखाना हेर्नुको महत्ता के रहन्छ ?

समग्रमा, समालोचनामा अलग रूपमा निश्चित एउटा कोण खिचेर कृतिलाई हेर्ने र पाठकले पनि विशिष्टीकृत ढाँचाबाट कृति बुझ्ने हिसाबमा गीताको यो पुस्तक उपयोगी छ । शास्त्रीय तथा प्राध्यापकीय समालोचना निरुत्साहित गर्न प्राध्यापन पेशामै रहेर पनि नयाँ गोरेटो विकास गरिरहेका गीताहरूको प्रयास स्वागतयोग्य छ ।

------------------------------------------
कृति  कृति विश्‍लेषणमा प्रायोगिक आयाम
कृतिकार : गीता त्रिपाठी
संस्करण : पहिलो, २०६७
प्रकाशक : रत्‍न पुस्तक भण्डार
पृष्ठ : १६७
मूल्य : १५०

समय र नीलो प्रेम



।। शिव ज्ञवाली ।।

भर्खरै फेसबुकको स्टाटसमा एउटा म्यासेज अपलोड गरेँ ।

मुड त्यति फ्रेस छैन । गर्मीले शरीर लस्त छ । झ्यालबाट सुटुक्क छिरेको चिसो हावाको स्पर्शले ओइलाएको जाँगर फक्रिन्छ । यो समय म प्रायः च्याटिङ र फेसबुकमा बिताउँछु ।

एउटा मासिक पत्रिकको कनीकुथी सम्पादक । पलङमुनि गोल्डस्टारका तीन जोर नयाँ, पुराना जुत्ता । गाउँबाट आमाले पठाइदिएको गुन्द्रक र मस्यौराका पोकाहरू । टेवलमा ल्यापटप छ, विदेशी मित्रले उपहार दिएको । सडकमा कुकुरहरूलाई कार्तिक लाएको छ । पर....मोटरको आवाज केही मन्द हुँदै जाँदैछ ।

रातको साढे एघार बजिसकेको छ । सिरानीमा मोबाइल लडिरहेछ । म यो कोठामा विगतका केही वर्ष अघिदेखि एक्लै छु । कहिलेकाँही पाहुना पनि थपिन्छन् । यो समयसँग मेरा धेरै सुरुवातहरू जोडिएका छन् । सायद मैले पहिलो पटक एक पफ गाँजा तानेको समय, यस्तै लेख्नै नपर्ने अरू पनि । केही अनौठो, केही नयाँपन र गर्वको अनुभूति संगालेको त्यो क्षण । केही घुर्मैलो सम्झनामा आइरहन्छ ।

ààà

बाहुन गाउँमा रातिको राम हेर्न जानलाई अनुमति थिएन । त्यो रात मगर गाउँको साँल्दाइको कड्कुरोमा बितेको थियो । उद्देश्य गाउनुभन्दा बढी तरुनी जिस्काउनुमा थियो । तरुनीहरूको भीडमा पछ्यौरा ओढेर बसिदिन्थे । उमेरले भर्खर सोह्र काट्दै गर्दाको रुमानी मौसम । बतासले पात हल्लाउँदा पनि त हाँसो उठ्छ ?
ओए बाउन ! टिमी आम्छौ ?’

स्कुलबाट फर्कदैं गर्दा बाटोमा झुपीले सोधी ।

रातामाटे माल्दाइकी छोरी, उमेरले दमाली नै हो । बाटोमै घर छ । ऊ स्कुल जान्थिन । उचाइ पनि लगभग मेरो चिउँडोसम्म आउँथी । राताराता गाला र पोटिलो शरीर । नेप्टो नाक, वक्षस्थलले चुन्नी अलिक माथि उठ्न थालेको, वसन्तको पहाड जस्तै । म सम्झिन्छु उसलाई । हिजोजस्तै लाग्छ तर पाँच दशक नाघिसकेछ ।

कहाँ आउने भनेको ?’

साँल्दाइकोमा झाम्रे छ, ठापा छैनौ ?’

के खान हो भन्चु ?’

एक थोक देम्ला नि !

पक्कै दिन्छेउ ?’

सुपाले टाँस्नी नदेत । उसले चुनौती दिँदै भनी, ‘देन सक्ने कि खान सक्ने ?’

अहिले नै देउ नत ।मैले पनि निर्धक्कसँग मागें किनकि घरमा ऊ एक्लै थिई ।

अहिले जो खरोभभा बेनको जाँड घलामेर खाउ केरे ।उसले मैले सोचेभन्दा फरक प्रस्ताव गरी । उसको नजिकै गएर हात समाएँ ।

म त आउँदिन ।मैले भाउ खोजें ।

केलाई नआम्न परो ? साँझ देम्ला के एक थोक ।उसले लुकाएर राखेको एक थोक साँझदिने बाचा गरी ।
सुटुक्क घरभित्र छिरेर एक मग सुइक्याएँ । कसैले थाहा पाउँदैनन् भन्ने पक्का थियो । उसले पनि अलिकति खाई, मलाई पनि खुवाइदिई । निकै राम्री थि मोरी । हाँस्दा गालामा डिम्पल स्पस्ट देखिन्थ्यो ।
म जान्छु अबमैले भने ।

साँझ आउहै बाउन’, उसले भनी । हिड्ने बेला गम्लङ्ग अङगालोमा बेरेर चुप्प म्वाइ खान पनि भ्याई । म पनि के कम उसलाई साथ दिएँ । र, झाम्रेको प्रस्ताब स्वीकारी दिएँ । बाटोमा राम्रोसित जाउहै, फेरि मन्टेउला, ‘केही तल पुग्दासम्म उसले सम्झाउँदै थिई । यता मलाई भने घरबाट कसरी निस्कने भन्ने समस्या थियोे । थाहा पाए फलानो फलानिसित सल्किएछ । पँधेरालाई मसला हुने ।

घरका सबै सुतिसकें । बार्दलीबाट मलखातोमा फालहालेर पुगें झाम्रेमा । साँल्दाइको आँगनमा झाम्रे, दोहोरी र चुड्काको मारामार थियो । दोहोरीमा युवायुवतीहरू छेंड हान्दै थिए । पर सुन्तलाको रुखको छाँयामा म र उजेली र झुपी थियौं । छि काठाको नाख कत्रो वाई ।मेरो नाकलाई लक्षित गर्दै झुपीले भनी । तर, परिवेश नाकसँग मिल्ने थिएन । गाउँमा छँदा यस्ता झाम्रेहरू धेरै बिते गाउनुभन्दा अरूमा नै ।

चिसोले निकै हान्न थालेपछि गाँजाले सालको सुल्फामा बेरिएर हामीलाई तताएको थियो । उजेली पनि सँगै थिई, फर्कायौं । स्वस्थानीमा महादेव र पार्वती झैं झुपीको पोल्टामा त्यो रात कटाइदिएँ । त्यो साढे एघार ........हातको चिमचिमे घडिमा बजिरहेको थियो । दिनभरिको मेलापातले थकित उसको शरीर, काखीबाट पसिनाको अमिलो गन्घ । मिड्डीको फेरमा म निदाएँ । अलिकति रिसाएकी थिई अर्कोदिन । दुःखको कुरा त्यो दिनदेखि आजसम्म भेट भएको छैन उनीहरूसँग ।

त्यसो त प्रेम गर्ने चलन गाउँमा परिवर्तन आएको छ । हामी वन पाखामा, रोपाइँ र पानी पँधेरोमा प्रेम साट्थ्यौं । तर मोटर र मोवाइलले धेरैको सम्बन्ध जुराइदिएको छ । एउटा जोक्स सम्झिन्छु, ‘सुहागरातको । गाउँमै बाख्रा चराउँदा गरेका कामहरू ।

ààà
पाँच दशक पछिको भिन्नताले तिरमिराउँछन् आँखा । जीवनशैलीमा परिवर्तन आएको छ । प्रविधिको प्रयोगले यान्त्रिक बन्दैछ मानिस । म सम्झिर्दै छु आफ्नै परिवर्तित परिवेश । एस.एल.सी पछिको मेरो सहर बसाइँ । त्यसो त एक दशक विदेशमा विताइएछ । र, कम्प्यूटर इन्जिनियरको मेरो पेसा आफै पनि यन्त्रिक भइसकेको अनुभव गर्छु ।

धेरै समयपछि फेसबुकमा झुपीको सम्झनामा केही शब्द चढाएँ झुपि र झाम्रे। ऊ हेर्छे हेर्दिन थाहा छैन । सायद सुदूर गाउँमा त्यो पहुँच छैन । हेर्न पाएको भए साढे एघार.....ऊ फेरी सम्झिन्थी होली, मैलेजस्तै घरीघरी । एउटा मीठो पहिलो अनुभव बिर्सिन चाहेर पनि त कोही सक्दैन ।

केही झकाएका छन् आँखाहरू । पानीको सटेज छ कोक पिइदिन्छु । यो सहरिया जीवनको बाध्यता । मोबाइल बज्छ । समय बिताउने अजीव साधन, बोर लायो कि थिचिदियो । ठिटीहरूको प¥यो भने घण्टौं गफिन्छ ।
शलिनामेरी पार्टटाइम गर्ल फ्रेण्ड, यसरी नै भेटेको थिएँ । उनीसँगका क्षणहरू सम्झिन चाहन्न किनकि हामी एक महिनामा नै डिभोर्स गरिदियौं । बालै भएन ! आउने जाने त क्रम चलिरहन्छ । उनीबाट जन्मेको छोरा अहिले दोस्रो बाउसँग रम्दै छ । हप्ताअघि पार्टीमा भेट भएको । बियरको चुस्कीसँगै पूर्व छोरासँग निकै रमाइलो भएथ्यो । म यी सब बिर्सन चाहन्छु ।

तपाइँ को बोल्नु भो’, मेरो प्रश्न खस्न नपाउँदै उल्टै म त्यो नारी स्वरको जवाफ दिनु पर्ने फसादमा परें । म अलमलिएँ । अलमलिनु भो हैन ?’ नारी स्वरले सोध्यो । म केही बोल्न सकिन । रातिराति केटीहरूलाई फोन गर्न लाज लाग्दैन ?’ मलाई भाउन्ना छुट्यो । उनको अन्तिम प्रहार, ‘तपाइँलाई रातिमा यसरी केटीहरूसँग फोन गर्न मजा आउँछ होइन ?’ म नाजवाफ भएँ । हातबाट मोबाइल सेट खस्ला जस्तो भयो र शरीरमा चिटचिट पसिना आयो ।

करिब पन्ध्र मिनेटपछि त्यहीँ नम्बरबाट म्यासेज आयो तपाइँलाई गुड नाइट नभनी म कसरी सुत्न सक्छु र ?’ मैले तत्कालै डायल गरें । उनी प्रमिला थिइन् । प्रमोदकी पे्रमिका । मेरो कलेजकी छात्रा । भर्खर लेभल सकेर आएकी थिई ।

प्रमोद मेरो कलेजको धुरन्धर पढन्दास । उमेरले मभन्दा निकै कान्छो थियो । मध्यपश्चिमको होनाहार ठिटो, बाकपटुक । ठिटीहरू लठ्ठै हुन्थे उसको बोलिमा । यो जोडीसँग कहिले रङ्गमञ्च त कहिले रङ्गशालामा भेट हुन्थ्यो । कुराकानीकै शिलशिलामा भेटको प्रस्ताव त उनैले राखिन् । मलाई केही सहज भयो । म उनलाई मन पराउँथे । रत्नपार्क छेउको चिया पसलमा एक दिन उनलाई भेटें । त्यो दिन उनीसँग वन साइडेड लवको बारेमा कुरा गरें । उसले पूरै इन्कारेकी थिई ।
आज रातको फोनले मलाई तनाब दियो । बिगत दुई वर्षदेखि ऊ कसैलाई पे्रम गर्छे । घोरिएर सोँचें । उसका पनि त रहर र इच्छाहरू पानीका फोका झैं उठ्दै र फुट्दै गर्छन् होला । सायद ऊ प्रमोदसँग सन्तुष्ट छैन, एउटा जवान केटी । प्रमोद भद्रमान्छे हो । उसको एउटै कमजोरी छ । कसैसँग जीवनसाथीको रूपमा प्रेम गर्छ भने बिहे अगाडि उसलाई पुजिरहन्छ । वास्तवमै आदर्श प्रेमी । पहिलो दिन फोनमै एउटा टुटेफुटे कविता सुनाइदिएँ । त्यसपछिका दिनहरू फोनमै घण्टौं बितिदिन्थे । रातका फोनका बातले मेरो एक्लोपन केही सुन्दर बनाइदिन्थ्यो । खुलेर यौनका कुरा हुन्थे । म तपाइँलाई सोधुँ ? तपाइँ खुलेर नेपालीमा आफ्ना अङ्गका नाम भन्न सक्नुहुन्छ ? फोनले यसलाई सहज बनाइदियो म सोधिदिन्थे ।
तिमीले कहिल्यै अनुभव गरेकी छौं ?’

छि ! कस्तो लाज नभाको ।

मन लाग्दैन ?’

लागेर के गर्नु ....केटाहरूलाईजस्तो सजिलो छर ?’

तिमी कसैलाई प्रेम गर्छेउ ?’

तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।

उसको स्वरमा कताकता आँसु भिजेको पाउँछु । विगतका केही घटनाले ऊ प्रमोदसँग प्रेम गर्थीर्, मेरो विश्वास दरियो । उनीहरू सँगै रात बिताउँथे । मेरीस्टोप सेन्टरमा उनीहरूले एवर्सन गरेका थिए, मेरै साथीको क्लिनिकमा । म केही सोच्न सक्दिन । प्रमोद आखिर त्यस्तो थिएन  । उसले प्रमिलालाई प्रेम गथ्र्यो त्यसैले सहयोग मात्र गरेको हुनसक्छ । तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।प्रमिलाको अन्तिम वाक्यले रत्नपार्कमा रातको समयमा भेटीएकी एक ठिटीले भनेको आई.एम भर्जिन ब्रो सम्झाइदिन्छ ।

ààà

समय बितेको पनि पत्तै नहुने । आज म र प्रमिलासँगै बस्न थालेको एक दशक पुगिसकेछ । यो समयमा हामीबाट एउटी छोरी जन्मिएकी छ । छोरी आजभोलि होस्टेलमै छे । उसको उच्च शिक्षासम्मको डोनेसन भरिसकेका छौं । सायदै अब ऊ फर्किन्छ । आजको रात म धेरै व्यस्त छु । कारण भोलि नै प्रमिला र मेरो डिभोर्स पार्टी छ । उनी भोलि नै अर्कैसँग विवाह बन्धनमा बाँधिदै छिन् । मैले पनि वृद्धा आश्रमको लागि अग्रीम बुकिङ फर्म बुझाउँदै छु । बाँकी जीवन अबको केही दशक म रोबोर्टमेरी नयाँ यान्त्रिक जीवन सङ्गिनीसँग बिताउँदै छु । भोलि नै हाम्रो इन्गेजमेन्ट हुँदैछ । रातको ठीक साढे एघार बजे ।

 gyawali.shi@gmail.com

सम्बोधन र संस्कार

 ॥ प्रभाकर गौतम 

हाम्रो संवादमा सम्बोधन अनिवार्य छ । 'तँ', 'तिमी', 'तपाईं' 'हजुर' हाम्रा सम्बोधनका तहहरु । सामान्यतः सानो बालकले यदि कसैलाई 'तँ' भन्यो भने उसलाई 'तपाईं' वा 'हजुर' भन्न सिकाइन्छ । त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो । हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमी भन्ने चलन समेत पाइन्छ । खासगरी काठमाडौँमा एउटा समूह / वर्गमा भने 'हजूर' नै भन्नुपर्ने, र पुछारमा 'स्योस्' जोड्ने चलन छ । मेरो बुझाइमा यस्तो भाषाको प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा आफ्नै रहरले बोल्नेहरु । यस्तो चलन भएकाहरुमध्ये एउटा ठूलै समूहले 'तपाईं' भन्नुलाई त्यति सभ्य मान्दैन । 

जन्मोत्सव नमनाउँदा

* अंकलाल चलाउने *
बिहानको एघार बजेर पाँच मिनेटको समय । टुइँट् टुइँट् 'फोन-सन्देश'को घन्टी बज्यो । मोबाइलमा सन्देश पढेँ -
प्यारो साथी, शुभ जन्मदिन !

आश्चर्यमा परेर सोचेँ । ए आज त असार १९ गते । हो त रै'छ मेरो जन्मदिन । यो धर्तीमा पहिलो पाइला टेकेको दिन । हरेक वर्ष एकचोटि पर्ने दिन । हरेक नयाँ वसन्तको सुरूवात हुने पहिलो दिन मेरा लागि । साथीको सन्देशलाई परवाह नगरी हतारहतार काममा व्यस्त रहेकी आमालाई घरमा फोन गरेँ । सोधेँ, आमा म कहिले जन्मिएको थिएँ ? एकछिन अगमकिएर आमाले भन्नुभयो असारको १९ गते । महिना र गतेको लगत याद भए पनि आमालाई त्यो दिन आजै हो भन्नेमा वास्ता भएको रहेनछ । होस् पनि कसरी, छोराले कहिले जन्मदिन मनाउने भए पो ! मैले भनेँ, आमा आज असार १९, म जन्मेको दिन । 

आमासामु मेरो जिज्ञासा बढ्दै थियो - आजको दिन म कुन बेला जन्मेको थिएँ ? आमाले सविस्तार भन्नुभयो  - "घाम अस्ताइसकेको थियो, काममा गएका मान्छे घरतिर फर्कने बेला भएको थियो अनि चरनमा लगिएका गाईबाख्रा गोठालाहरु भित्र्याउँदै थिए ।" आमाले यति भनेपछि मैले ठम्याएँ, म बेलुकीपख अथवा समय किटेर भन्दा पाँच बजेतिर जन्मेको रहेछु । किनकि, म अलि ठूलो भएपछि गोठालो गरेको थिएँ ।  गाईबाख्रा गोठमा भित्र्याउँदा पाँच बजेको वरिपरि हुन्थ्यो । 

लगत्तै आमाले मेरो कुरो छोडेर भाइको जन्मको तिथिमिति बताउन थाल्नभयो । भाइ असोजको महिना दशैँको बेला अष्ठमीको दिन जन्मिएको  हो । ऊ दशैँमा जन्मेको हुनाले हरेक दशैँको अष्ठमी तिथिमा उसको जन्मदिन मनाउनु पर्ने कुरा पनि भन्नुभयो । मलाई अचम्म लाग्यो । किन भाइको जन्मदिन मनाउने, मेरो नमनाउने ? आमाले  ऊ दशैँको तिथिभित्र जन्मिएकोले मनाउनुपर्ने बताउनुभयो । आमाको रायअनुसार अरुबेला जन्मने त कति आए गए, सबैको मनाउन कहाँ साध्य हुन्छ र ? मैले मेरो जन्मदिन मनाउन नपाए पनि भाइको जन्मदिन मनाउने प्रक्रिया जान्न भने चुकिन । आमाले अझै बेलिविस्तार लगाउनुभयो - कुखुराको भाले काटेर रगतको टीका लगाइन्छ अनि टीका लगाउने बेलामा आशीर्वाद दिइन्छ :

 हुँदो खाँदो हुनु 
 जिउँदो जाग्दो हुनु !

खाना खाने बेला फुमे लगाइन्छ । माथिको आशीर्वाद दोहोर्‍याइन्छ । आमाले त्यसो भन्दा मैले काठमाडौंमा साथीहरूको जन्मोत्सवमा देखेको, साथीले केक काटेको र उसलाई सबैले  भाका मिलाएर 'ह्याप्पी बर्थ डे टु यू' भनी शुभकामना दिएको  सम्झेँ । जन्मोत्सव मनाउने आ-आफ्नै तरिका ।

तर काठमाडौंमा मनाउन थालिएको जन्मोत्सवको विधि विधानलाई पश्चिमा शैलीको सिकोको संज्ञा दिइन्छ । र हो पनि त्यही नै । शुभकामनामा  अंग्रेजी शब्दको प्रयोग नगरिए उत्सव जस्तै मानिदैन - हृयाप्पी वर्थ डे टु यु ! अझ अग्रजहरूबाट सुनेको, पहिले बत्ती बालेर मनाइने चलन, अहिले बलेको बत्ती नै निभाएर कर्मकाण्ड सुरू हुन्छ । ठीक विपरीत भएको छ सिकोको परिणाम । अध्याँरोबाट उल्यालोतिर पो राम्रो, उज्यालोबाट आध्याँरोतिर के राम्रो । यस्ता कुराको निरन्तरतामा लाग्ने हाम्रो परिचय कहाँ ? राम्रोलाई लात हानेर नराम्रोलाई काँधमा हाल्ने हाम्रो प्रवृत्ति आफूमा भएको महानतालाई नचिन्ने विशेषताबाहेक के हुन सक्छ ?

जे होस्, आशीर्वाद जति दशैंमा जन्मेको भाइले मात्र पाउने भए पनि म चाहिं  हुँदो खाँदो, जिउँदो जाग्दो नै भइराखूँ । फोन-सन्देश पठाउने साथी कवितालाई वर्णन गरेर नसकिने खुसीको धन्यवाद लेखेर पठाएँ । कुनै तामझामविना पनि दिन उल्लासमय रहृयो । २३ औँ वसन्तमा उक्लिंदा पहिलो पटक नै मैले शुभ जन्मदिनको  कामना पाएको थिएँ । २२ औँ वसन्त पार गरिसक्दासम्म मैले एकदिन पनि आज मेरो जन्मदिन हो भनेर सम्झेको थिइन । साँच्ची, कति नेपालीले आफ्नो जन्मदिन आएको र गएको थाहा पाउँदा हुन् ?
डोल्पा, हाल :  काठमाडौं
बी. ए. दोस्रो वर्ष, सीजेएमसी

* फुमे लगाउनु भनेको खानाको भाँडोमा कुखुराको टाउको, एकतिरको भागको कुमे (पखेटा) र सपेटा राखिएको हुन्छ, साथमा बत्ती बालिएको हुन्छ ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes