मेरी आमाको जुनी

सङ्‍गीतस्रोता

तिमी सामू भर्खरै आईपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दु:खको कुवामा डुबेका अनिंदा आँखा
बारम्बार अँधेरी गौंडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।

तिमीसामू भर्खरै आइपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्‍गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरि त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।

मेरी आमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरु तास फिटिरहेका थिए
वल्लोपट्टी पल्लोपट्टी भलाद्‍मीहरु जूँगामा ताउ लगाईरहेका थिए
धर्मशालामा हेर्‍यो-
त्यहाँ लुटेराहरुको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरु झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरी साँझमा धनाढ्‍यहरु कम्मर भाँचिरहेका थिए
मेरी आमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पंक्तिहरुमा भगवान‌‍का भजनहरु बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरु टाँस्सिएका थिए
र सङग्रहालयका प्रत्येक कोठामा पनि
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।

कतैतिर पनि
बस्न, सास फेर्न र सुस्ताउन नपाएपछि
मेरी आमाको जुनी
घृणा, उपेक्षा र तिरस्कारका आक्रमणहरु खप्दै
भौंतारिंदै-भौंतारिंदै
तीव्र गतिमा चलेका एक-एक थान मुटु र फोक्सो बोकेर
तिमीसामू भर्खरै आइपुगेको छ
प्रिय कलाकार !
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

बाजुङ, पर्वत

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes