सङ्गीता पाण्डे २००८ जुलाई ६ आइतबार अपराहृन ३ बजे मार्टिन चौतारी, थापाथलीको हलमा ईश्वरको अदालतमा आउटसाइडरको बयान पुस्तकमाथि छलफल भइरहँदाको एक दृश्य।
मार्टिन चौतारीको यसपालीको साहित्यिक छलफल श्रृङ्खलामा मोमिलाद्वारा लिखित निबन्धसङ्ग्रह 'ईश्वरको अदालतमा आउटसाइडरको बयान' पुस्तकमाथि छलफल भयो । (मार्टिन चौतारीमा अंग्रजी महिनाको प्रत्येक पहिलो आइतबार दिउँसो ३ बजे साहित्यिक कृतिमाथि छलफल हुन्छ ।) उक्त कार्यक्रमका पण्डित (मार्टिन चौतारीमा वक्तालाई पण्डित भनिन्छ ।) धर्मेन्द्र नेम्वाङ्ग र डा. ज्ञानु पाण्डेले पुस्तकको समीक्षा गर्ने जिम्मा पाएका थिए ।
कार्यक्रममा सहभागी भएका युवा जमातलाई सोध्दा मैले समग्रमा यस्तो जवाफ पाएँ- "यो किताब पढ्दा जति बुझ्न गाह्रो छ त्यस्तै धर्मेन्द्र नेम्वाङ्गको प्रस्तुति(समीक्षा) बुझ्न गाह्रो भयो । अनि प्रस्तुति अलि लामो भयो ।" डा. ज्ञानु पाण्डेले बोलेपछि, उनको छोटो र मीठो प्रस्तुति सबैले मनपराएको जस्तो अनुभव गरेँ । यो पुस्तकमा भूमिका लेख्ने दुर्गा भण्डारी र मन्तव्य लेख्ने डा. वानीरा गिरीले त "यो पुस्तक यही हो" भनेर कुनै किटान गर्नसक्नु भएको छैन, वा गर्न रुचाउनुभएन भने उक्त छलफलमा उपस्थित साहित्यकार र साहित्यमा सामान्य रूची राख्ने अरूलाई यस पुस्तक माथि खुल्दुली लाग्नु स्वभाविकै थियो । कार्यक्रम सुरू हुनुभन्दा केही अघि नै मैले मेरा एक साथीलाई सोधेँ- "किताब कस्तो लाग्यो त ?" । उनले जवाफ दिए- "हिँड्दैछ पाइला मेट्दैछ ।" अर्थात उनको भनाइको अर्थ हो पढुन्जेल पुस्तकको भाषाशैलीले तान्छ तर शीर्षक अनुसार के भन्न खोजिएको हो ? पटक्कै बुझिँदैन । एउटै कुरा दोहोर्याई, तेहेर्याई आएको छ र जुन पढे पनि कुरा एउटै र शीर्षकमात्र फरक लाग्छ । डा. ज्ञानु पाण्डेले मोमिलालाई बुझ्नेले यो किताब बुझ्छन्, मोमिला आफैँले भोगेका कुराहरू छन् भन्नु भयो । त्यसो हो भने के यो पुस्तक लेखिकाको आत्मवृत्तान्त हो त ? आत्मवृत्तान्त, आत्मलाप भन्न पनि मिल्दैन किनभने हरेक घटना क्रमबद्धरूपमा परिस्कृत भएकै छैनन् र अर्र्का कुरा लेखिकाले यस पुस्तकमा प्रस्तुत गरेको आफ्नो मनतव्यमा यो मेरो आफ्नै भोगाई हो भनेर भनेकी पनि छैनन् । त्यसपछि पाण्डे पछि पालो आयो निबन्धकार मोमिलाको, उनले पनि "भोगेकै कुरा लेखेकी हुँ मैले" भनिन् । हुन त स्रष्टाले भोगेकै कुराहरूकै आधारमा केही कुरा लेख्ने हो ।
जो कोही मान्छेहरूमा दुई आत्मा हुन्छ, भनिन्छ । अर्थात् मस्तिष्क र मन त्यस्तै मोमिलाका दुई आत्माबीचको सङ्घर्ष र संवाद यस पुस्तकमा पाइन्छ । विभिन्न शीर्षकहरूलाई हटाएर पढ्दा पनि फरक नपर्ने उनको यो कृति उनको जीवनदर्शन हो । उनको यो दर्शनमा कामुको प्रभाव प्रसस्तै देखिन्छ । दर्शनमा जटिल कुरालाई सरल ढङ्गबाट बुझाउन खोजिन्छ तर यहाँ त अलि जटिल रूपमै प्रस्तुत गरेर, समय, अतित, जीवन मृत्यु, अनुभूति, संवेग, ईश्वर, प्रेम, पीडाहरूलाई पोख्दै, पहिचान गर्दै, सङ्घर्ष गर्दै, विद्रोह गर्दै अघि बढ्दै गएको भान हुन्छ । तर के मोमिलाले सही पहिचानमा यस कृतिमा आफूलाई उभ्याउन सकिन् त ? उनी आफैँ रुमलिएकी छिन्, आफ्नो अस्तित्वको खोजीमा आफैँ कता-कता हराएकी छिन् ।
पढ्दै जाँदा यस्तो लाग्छ कुनै प्रेमिकाले आफ्नो प्रमीसँग बिछोड हुँदाको चोटमा उसैलार्इ लेखेका प्रेममत्रहरू हुन्, जहाँ उ प्रतिका विद्रोही आवाजहरू निस्केका छन् । यस पुस्तकमा उनी खाली वहकिएकी मात्र छिन् । अर्थात् यस पुस्तकमा उनी flow, flow मात्र भएकी छिन्, जहाँ बग्दै बग्दै एउटा विन्दु, एउटा गन्तव्यमा वा मानौँ समुन्द्रमा मिसिनु पर्थ्यो । के उनी त्यहाँसम्म पुगिन ? आज स्वयम् यस पुस्तकले उनलाई नै प्रति प्रश्न गरे जस्तो लाग्छ ।
म त यस पुस्तकको प्रत्येक शीर्षक अनुसार लेखिकाले के भन्न खोजेको हो भनेर गहिरिएर पढ्दै थिएँ । प्रकृति र कलाको रोमान्टिक मूर्छनामा अतितजस्तो सुकै कष्टकर भएपनि बडो आदरका साथ, आत्मसाथ गरेर Bye भन्दै एक-एक पाइलामा कर्मको फूल फुलाउँदै हिँड्ने अठोट गरेको, त्यस्तै जीवनमा भोग्नुपरेका दु:ख स्वीकार गर्दै, जतिसुकै कुरा होस् त्यसभन्दा पनि उच्च मान्छेको आफ्नै जीवन हो, त्यसमा पनि वर्तमान जीवन मात्र मान्छेको आफ्नो हो, भन्ने कुरा प्रष्ट्याउन चाहेको जस्तो लाग्यो । लेखिका यहाँ आशावादी देखिन्छिन् र आशावादी हुनु पर्ने नै सन्देश दिएको जस्तो लाग्यो । त्यस्तै "पुरातात्विक सहरमा एक आउटसाइडर कृतिमा धर्म र संस्कृतिको नाममा आ-आफूलाई ठूलो ठान्नेप्रति व्यङ्ग्य गरिएको छ । र धार्मिक सहिष्णुताको कुरालाई औँल्याएको देखिन्छ । 'इतिहासको संस्करणमा' एउटै समयमा विभिन्न घटनाहरू भइरहेछन् भन्दै नेपालमा भएको कालरात्रीको प्रेमहत्या सम्बन्धी घटना पनि पाठकलाई संस्मरण गराएकी छिन् । यसरी सरसरती हेर्दा शीर्षक अनुसार केही न केही कुरा नौलो ढङ्गले प्रस्तुत भएको देखिन्छ ।
यो पुस्तक वास्तवमा नौलो प्रस्तुति बोकेर आएको छ । यस पुस्तकले समस्त पाठक वर्गलाई एउटा बेग्लै स्वाद दिएको छ । अन्तयमा भन्दा यो एउटा नौलो ढङ्गबाट प्रस्तुत गरिएको निबन्ध सङ्ग्रह हो जसमा उनले आफ्नो जीवनदर्शनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेकी छिन् ।
गीतको कथा- 'म मरेको पल...' (वीरेन्द्र राई)
2 months ago
0 :: प्रतिक्रिया:
Post a Comment