अध्ययन प्रेमीका लागि मार्टिन चौतारी पुस्तकालय



                                                                                                                 –कलेज कलम समूह

पुस्तकालय स्वतन्त्र रूपमा अध्ययन गर्न चाहने धेरैको प्रिय थलो हो । तपाईं अध्ययनशील हुनुहुन्छ भने पक्कै पुस्तकालयको खोजीमा हुनुहुन्छ होला । अझ विद्यार्थी, पत्रकार वा अनुसन्धाता हुनुहुन्छ भने त पक्कै स्रोत सामग्रीहरूको खाँचो हुने नै भयो ।  काठमाडौँमा केही संख्यामा सार्वजनिक तथा निजी पुस्तकालयहरू छन्, जहाँ गएर सूचना तथा ज्ञानको संसारमा लीन हुन सकिन्छ । त्रिवि केन्द्रीय पुस्तकालय (किर्तीपुर), राष्ट्रिय पुस्तकालय (हरिहर भवन), काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (प्रदर्शनी मार्ग), डिल्लीरमण रेग्मी पुस्तकालय (लाजिम्पाट), सोसल साइन्स बहाः (बत्तीसपुतली), एवन पुस्तकालय (कुपण्डोल), केशर पुस्तकालय (ठमेल), मदन पुरस्कार पुस्तकालय (पाटनढोका), मार्टिन चौतारी पुस्तकालय (थापाथली) आदि केही काठमाडौका संकलन र प्रयोगका लागि राम्रा पुस्तकालय मानिन्छन् । तपाईं मिडियासम्बन्धी सामग्रीहरूको खोजीमा हुनुहुन्छ भने त मार्टिन चौतारी सम्भाव्य उपयुक्त थलो हुन सक्छ ।
वि.सं २०६३ साउन देखि सबैका लागि अध्ययनको सुबिधा दिदै आएको चौतारी पुस्तकालयमा करिब २०,००० को संख्यामा पाठ्य सामग्री संकलित छन् । यी सामग्रीहरू बिषेशतः अध्येताहरूका लागि संकलन गरिएका हुन् । पुस्तकबाहेक जर्नल, पत्रपत्रिका तथा लेखहरूको पनि राम्रै संकलन छ यहाँ । मिडियासम्बन्धी लामो समयदेखि गहन अनुसन्धान गरी पुस्तक तथा जर्नल समेत प्रकाशन गर्ने मार्टिन चौतारीले मिडियाको व्यापकतालाई समेट्ने गरी सामग्री संकलन गरेको छ । मिडिया डकुमेन्टसन सेन्टर नाम दिइएको चौतारीको संकलनमा मिडिया सामग्री प्रमुख चासोको क्षेत्र हो । मार्टिन चौतारीले प्रकाशन गरेका ६८ मध्ये ३४ मिडिया विषयका पुस्तकहरू छन् । मिडियाका व्यापक आयामहरूलाई समेट्ने गरी पत्रपत्रिका, जर्नल, प्रतिवेनदन, कार्यपत्र, थेसिस तथा फुटकर लेखहरूको गतिलो संग्रह छ यहाँ । नेपाली प्राज्ञिक जर्नलका करिब २०० शिर्षकको उपलब्धता यहाँको गर्व गर्न लायक संकलन हो । नेपाली मिडियासँग सम्बन्धित सकेसम्म सबै सामग्री खोजी–खोजी संकलन गर्ने नीति नै बनाइएकोले मिडियाका विद्यार्थी मात्र नभइ व्यावसायिक पत्रकार र शिक्षकसमेतका लागि  मिडियासम्बन्धी अध्ययन, अध्यापन वा व्यावसायिक पत्रकारहरूका लागि त यो पुस्तकालय आइपुग्नै पर्ने थलो हो । त्यस्तै विदेशी मिडियाका सैद्धान्तिक तथा व्यावहारिक पाटो बुझाउने थुप्रै पुस्तकहरू, जुन अन्य पुस्तकालयमा भेटिन गाह्रो छ, भएकाले विद्यावारिधि गर्ने वा स्वतन्त्र तर गहन अध्ययन गर्नेका लागि पनि यहाँ थुप्रै सामग्रीहरू छन् । मुख्यतः मिडियासम्बन्धी सामग्रीमा जोड दिइए पनि मिडिया इतरका अध्ययन सामग्रीको पनि यहाँ कमी छैन । दर्शन, राजनीति, इतिहास, शिक्षा, वातावरण, स्वास्थ्य, जेन्डर लगायत समाज विज्ञानका विविध सामग्री यहाँ पाइन्छ । यद्यपि साहित्यका सीमित सामग्री मात्र उपलब्ध हुने यो पुस्तकालयमा म्यानेजमेन्ट, बिज्ञान तथा नेचुरल साइन्स पढनेहरूका लागि भने ठोस सामग्री भेटिन्न ।

मुख्यतः समाज विज्ञानका हरेक विद्यार्थीका लागि यो पुस्तकालय उपयोगी हुन सक्छ । पुस्तकालय राम्रो हुन राम्रा पुस्तकहरू भएर मात्रै पुग्दैन अध्ययन गर्ने राम्रो वातावरण र खोजेको सामग्री तुरुन्त प्राप्त गर्ने संयन्त्र पनि चाहिन्छ । त्यस्तै, राम्रो पुस्तकालयको लागि भएका सामग्रीको उचित व्यवस्थापन र संरक्षण अर्को शर्त हो । यसले इन्टरनेटमा अध्ययन गर्न चाहनेका लागि आफ्नो अध्ययनकक्षमार्फत निःशुल्क सेवा प्रदान गरिरहेको छ । यस केन्द्रमा Project Muse र JSTOR    मार्फत विभिन्न बिषयका हजारौँ अन्तराष्ट्रिय जर्नलहरूको अध्ययन निःशुल्क उपलब्ध छ ।

यो पुस्तकालय केही मौलिक बिशेषताहरूका कारण पनि उपत्यकाका अन्य पुस्तकालयको दाँजोमा फरक छ । पत्रकारिताको बिशेष संकलनमात्र होइन चौतारी पुस्तकालयमा उपलब्ध सामग्री खोज्ने बित्तिकै प्राप्त गर्न सक्नु यसको सशक्त पाटो हो । घरमा इन्टरनेट सेवा छ भने, यो पुस्तकालयमा भएका सामग्रीहरुबारे online catalogue  मार्फत सजिलै जानकारी प्राप्त गर्न सकिन्छ । २०४७ साल पछि प्रकाशित थुप्रै प्रमुख पत्रपत्रिका तथा म्यागाजिनहरू यहाँ उपलब्ध छन् । मार्टिन चौतारी मुख्यतः ज्ञान संकलन, व्यस्थापन र प्रवद्र्धनका लागि कार्यरत संस्था भएकोले पुस्तकालयको प्रयोगका अलावा यसका अन्य गतिविधिहरू पनि कम रोचक छैनन् । नियमित खुला छलफल तथा फिल्म प्रदर्शन जस्ता गतिविधिका कारण यहाँ आउनेहरूका लागि यो संस्था नै एउटा खुला पुस्तकालय हो भन्दा फरक नपर्ला !

पुस्तकालयसम्बन्धी थप जानकारीका लागि क्लिक गर्नुहोस्
www.martinchautari.org.np

नवीन शैलीका कथाहरु


प्रभाकर गौतम

सुबिन भट्टराईको पहिलो कृति ‘कथाकी पात्र’ मा शैली र प्रस्तुतिमा नयाँपन पाइन्छ । यस सङ्ग्रहमा जम्मा तेह्र ओटा कथाहरु संकलित छन् । अधिकांश कथाहरु महिला–पुरुषबीचको सम्बन्ध, मित्रता, माया–प्रेम आदिको सेरोफेरोमा बुनिएका छन् । यी सम्बन्धहरुले उब्जाउने आकर्षण, रोमाञ्च, घृणा, द्वेष र अन्योलमय स्थितिको चित्रणमै धेरै कथाहरु केन्द्रित छन् । कथाहरु पढ्दा, संस्मरणात्मक निबन्ध पढिरहेको भान हुन्छ । यसले उपन्यासको स्वादसमेत दिन्छ । सबै कथाहरु ‘म’ पात्रले बोलेको छ । यस्तो लाग्छ, ‘म’ पात्र लेखक स्वयं हो । कथाकारले आभार व्यक्त गर्ने क्रममो कथाका वास्तविक पात्रलाई धन्यवाद भनेर उल्लेख गर्नुले पनि कथाहरु लेखकको जीवनसँग नजिक छ कि भन्ने सङ्केत गर्छ । 

कथाकारले केही कथाहरुमा राम्रै प्रयोग गरेका छन् । औडाहा र औडाहा–२ शीर्षकका कथाहरुमा एउटै कथालाई फरक फरक दुई भिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । यी कथाहरु शीर्षकका हिसाबले फरक–फरक छन् तर विषयवस्तुका आधारमा एउटै छन् । कथालाई पुरुष र महिला पात्रको भिन्न–भिन्न दृष्टिकोणबाट रचिएकोले प्रस्तुति राम्रो छ । विषयवस्तु र फरक शैलीका कारण यी दुई कथा पढ्दा बेग्लै मजा आउँछ । लगभग यस्तै शैलीमा थप दुई कथाहरु पनि लेखिएका छन्, ‘मलाई मन परेको साथी’ र '‘मलाई मन नपरेको साथी’ । यी दुई कथाहरु पनि विषयवस्तुका हिसाबले तुलनायोग्य छन् । तर पनि अर्कोको तुलनामा 'मलाई मन परेको साथी’ नै राम्रो छ । प्रस्तुतिको सशक्तताका हिसाबले 'अर्काकी स्वास्नी’ पुस्तककै उत्कृष्ट कथा हो । शुरुदेखि अन्तसम्म पाठक हृदयमा कौतूहल जगाउन यो कथा सफल छ । प्रेम र सम्बन्धको सेरेफेरोमा रचिएका धेरै कथाहरुले आधुनिक युवा मनोविज्ञान उद्घाटन गर्न सघाएको छ । पुस्तकको शीर्षक चयन गरिएको कथा सामान्यतया अन्य कथाभन्दा उत्कृष्ट होला वा त्यो कथा विशेष होला भन्ने अपेक्षा पाठकमा हुन्छ । तर यहाँ ‘कथाकी पात्र’ शीर्षकको कथा औसत खालको छ । ‘अन्तराल’, कथा अनावश्यक लम्बाइएको छ । 

थुपै्र सबल पक्षका बाबजुद पुस्तकमा धेरै कमजोरीहरु पाइन्छ । भाषा र शैली राम्रो हुँदा हुँदै पनि एउटै ढर्रामा सबैजसो कथाहरु लेखिएकोले कतिपय ठाउँमा पुनरावृत्तिको समस्या टड्कारो बनेको छ । अन्तर्वस्तुमा विविधता हुँदा हुँदै पनि भाषाशैली र प्रस्तुतिमा विविधताको खाँचो देखिन्छ । हुनसक्छ, नयाँ प्रयोगका लागि लेखकले जानीजानी यस्तो गरेका पनि हुन् । केही वाक्यांश वा थेगो कथाकारलाई यति प्रिय छ कि धेरै पकट दोहोरिनाले पाठकलाई भने अप्रिय लाग्छ, जस्तै, ‘हुँदो हो’ । मानौँ, लेखक यो थेगोको प्रयोग बिना कुनै कथा लेख्नै सक्दैनन् । पुस्तकमा सबैभन्दा ठूलो समस्या वाच्य÷काल चयनमा देखिन्छ । धेरै वाक्यहरुमा ‘..एको’ आउँछ । यो समस्या सबैजसो कथालाई पूर्ण भूतकालमा लेखेर उत्पन्न भएको हो । जबकी कथाहरु सामान्य भूतकालमा लेख्नु राम्रो मानिन्छ । सम्पादनको अभाव सबै कथामा खड्किन्छ । यी तमाम कमजोरीहरु नभएको भए पाठकलाई कति जाति हुँदो हो लेखककै शैलीमा ।

तथापि, पहिलो कृतिबाटै कथाकार भट्टराईले कथा–आख्यान लेखनमा राम्रो सम्भावना देखाएका छन् । पुस्तक पठनीय छ । यो कथा सङग्रहको तेस्रो संस्करण चाँडै बजारमा आउँदैछ ।

लेखकः सुबिन भट्टराई
प्रकाशकः पाँचपोखरी बुक स्टोर
मूल्यः रु १००
पृष्ठः ११४

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes