आदिम सन्दर्भ


प्रिय संवेदन !

'जीवन' नामको घटनामा आज मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु-

एकादेशमा तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग-अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम स्वप्नहरू थिए र आदिम आँसुहरू थिए । शिरीषका प्रेमिल फूलझैँ निलाम्मे प्रीत फुलेजस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । शुभ सन्देशजस्ता पाहुनाहरू सकुशल आउने-जाने गर्थे । साप्ताहिक हाटबजारमा प्रेम, सद्‍भाव र समर्पणका कवितावाचन गरिन्थे । धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कुटनीति, संविधान, कानुन सारा केवल महत्त्वाकाङ्क्षी बादशाहका दुःस्वप्नझैँ बडो हास्यास्पद लाग्थे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेलीझैँ गन्धर्वहरू मस्त पौडिन्थे । गुफा र ओढारहरूमा आँखाभरि जूनतारा भित्रयाएर प्रकृति र पुरुष सम्भोग गर्थे, सङ्गीतबद्ध हुन्थे र जन्माउँथे अहङ्कारहीन भविष्य !

त्यस देशमा रुसोले गाई चराएका प्रमाणहरू थिए हामीसित । कृष्णले बजाएको बाँसुरीको धुन त्यहाँका पहाड, चरा, पुतली, झरना र नदीहरूलाई कण्ठस्थ थियो । कहिलेकाहीँ बाटो भुलेरै पनि कोलम्बसको आत्माले प्रवेश गरेको तथ्यसमेत हामीसित थियो । फ्रायड मनोविश्‍लेषण गर्नुभन्दा आत्मविश्‍लेषण गर्दै आमा, दिदी, बहिनी र पत्‍नीलाई समेत ससम्मान प्रेम गर्थे र बाबु, दाजु, भाइ सारालाई आलिङ्गन गर्थे । कार्ल माक्स कहिले बारीमा डल्ला फोरिरहेका हुन्थे त कहिले मजदुरको थोत्रो झोला बोकेर जङ्गलतिर पस्थे र झोलाभरिभरि जङ्गली फल र फूलहरू बोकी गोधूलि साँझमा घर फर्कन्थे ।

त्यस देशमा नित्से ईश्‍वरमृत्युको दुखद् समाचार लिएर आउँदैनथे, बरु उनी साहिँलीलाई 'प्रेम गर्छ'को सुखद् समाचार भन्न चौतारीमा पर्खी बस्थे । बुद्ध दङ्गदास भएर काखमा आफ्नो ईश्‍वरजस्ता अबोध नानी खेलाइरहेका हुन्थे । क्राइस्ट, बुद्ध, कृष्ण र मोहम्मदहरू बाइबल, त्रिपिटक, गीता, कुरान एकै ठाउँ राखेर शुभकामना आदान-प्रदान गरिरहेका हुन्थे । आतङ्कवादीहरू बमबारुद नभएर फूल लिई हिँड्थे र प्रिय र प्रियाहरूको निजी स्वप्नमा कोमल आतङ्क फैलाउँथे । सुकरात बाख्रा चराएर फर्कन्थे र साँझपख छिमेकीहरूसित अँगेनाको वरिपरि बसेर तारादेवी, नारायणगोपाल, अरुण र अरूणाहरू मोजार्टले सङ्गीत भरेको लोकगीत सुनाउँथे । बाङ्देलहरू आफ्नै भित्ता र आँगनहरूमा इन्द्रेणीरङ्ग भर्थे । वेदना र आँसुहरू क्षितिज पर-पर घुम्न जान्थे र सपनाहरू बोकी आउँथे । सार्त्र र सिमोन छुट्टी मनाउन कहिलेकाहीँ त्यहाँ झुल्किन्थे । निर्मल वर्मा, अमृता प्रीतम आ-आफ्नो एकान्त झ्यालमा बसेर सधैँ-सधैँ सूर्योदय र सुन्दर सुर्यास्त हेर्थे । हामीसित उपलक्ष्यहीन उत्सवहरू थिए । देश ऐश्‍वर्यशाली थियो र हाम्रो हृदयमा प्रीतिकर ईश्‍वरको जन्मजात ठेगाना थियो । सभ्यता हाम्रै आदिवासी मनजस्तो जीवन्त थियो । पारिजात, देवकोटा र शङ्करहरू हामीलाई यही कथा भनिरहेका हुन्थे ।
***

यतिखेर भर्खर हामी स्वप्नसिँढीबाट धरातलमा ओर्लेका छौँ । हाम्रो आदिवासी मन, प्यास, सम्बन्ध, आँसु र स्वयम् सुखद् स्वप्नहरू शिरीषको फूल बारुदले भुइँभरि असरल्ल झरेझैँ काँचका टुक्रासरी अराजक छरिएका छन् । यात्रा रगताम्य छ ।

प्रिय संवेदन ! यतिखेर घाइते म निकै थाकेको छु । अब सम्हाल्ने जिम्मा तिमीलाई नै लगाएर तिमीबाट सुमधुर बिदा चाहन्छु र प्रकृतिको उही आदिम देशतिर फर्कन चाहन्छु !
***********************************************************************

2 :: प्रतिक्रिया:

Basanta Gautam said...

भावुक निबन्ध छ।

निबन्ध छोटो भएकोले धेरै प्रतीक र बिम्बहरु जबर्जस्ती खाँदिएजस्तो पनि लाग्छ।

Anonymous said...

मोमिला जी को शाहित्यिक सञ्जाल छ रे यदि खै मैले कति खोज्ने प्रयास गरे तर सकिन, किनकि उहाँको सम्पुर्ण लेखहरु, रचनाहरु त्यहि सञ्जालमा हेर्न सकिन्छ रे यदि तपाईहरु कसैलाई थाहा भए यहि ब्लगमा पोस्ट गरिदिनुहुन आग्रह गर्दछु, धन्यबाद।
-बि जे बान्तवा राई

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes