जन्मोत्सव नमनाउँदा

* अंकलाल चलाउने *
बिहानको एघार बजेर पाँच मिनेटको समय । टुइँट् टुइँट् 'फोन-सन्देश'को घन्टी बज्यो । मोबाइलमा सन्देश पढेँ -
प्यारो साथी, शुभ जन्मदिन !

आश्चर्यमा परेर सोचेँ । ए आज त असार १९ गते । हो त रै'छ मेरो जन्मदिन । यो धर्तीमा पहिलो पाइला टेकेको दिन । हरेक वर्ष एकचोटि पर्ने दिन । हरेक नयाँ वसन्तको सुरूवात हुने पहिलो दिन मेरा लागि । साथीको सन्देशलाई परवाह नगरी हतारहतार काममा व्यस्त रहेकी आमालाई घरमा फोन गरेँ । सोधेँ, आमा म कहिले जन्मिएको थिएँ ? एकछिन अगमकिएर आमाले भन्नुभयो असारको १९ गते । महिना र गतेको लगत याद भए पनि आमालाई त्यो दिन आजै हो भन्नेमा वास्ता भएको रहेनछ । होस् पनि कसरी, छोराले कहिले जन्मदिन मनाउने भए पो ! मैले भनेँ, आमा आज असार १९, म जन्मेको दिन । 

आमासामु मेरो जिज्ञासा बढ्दै थियो - आजको दिन म कुन बेला जन्मेको थिएँ ? आमाले सविस्तार भन्नुभयो  - "घाम अस्ताइसकेको थियो, काममा गएका मान्छे घरतिर फर्कने बेला भएको थियो अनि चरनमा लगिएका गाईबाख्रा गोठालाहरु भित्र्याउँदै थिए ।" आमाले यति भनेपछि मैले ठम्याएँ, म बेलुकीपख अथवा समय किटेर भन्दा पाँच बजेतिर जन्मेको रहेछु । किनकि, म अलि ठूलो भएपछि गोठालो गरेको थिएँ ।  गाईबाख्रा गोठमा भित्र्याउँदा पाँच बजेको वरिपरि हुन्थ्यो । 

लगत्तै आमाले मेरो कुरो छोडेर भाइको जन्मको तिथिमिति बताउन थाल्नभयो । भाइ असोजको महिना दशैँको बेला अष्ठमीको दिन जन्मिएको  हो । ऊ दशैँमा जन्मेको हुनाले हरेक दशैँको अष्ठमी तिथिमा उसको जन्मदिन मनाउनु पर्ने कुरा पनि भन्नुभयो । मलाई अचम्म लाग्यो । किन भाइको जन्मदिन मनाउने, मेरो नमनाउने ? आमाले  ऊ दशैँको तिथिभित्र जन्मिएकोले मनाउनुपर्ने बताउनुभयो । आमाको रायअनुसार अरुबेला जन्मने त कति आए गए, सबैको मनाउन कहाँ साध्य हुन्छ र ? मैले मेरो जन्मदिन मनाउन नपाए पनि भाइको जन्मदिन मनाउने प्रक्रिया जान्न भने चुकिन । आमाले अझै बेलिविस्तार लगाउनुभयो - कुखुराको भाले काटेर रगतको टीका लगाइन्छ अनि टीका लगाउने बेलामा आशीर्वाद दिइन्छ :

 हुँदो खाँदो हुनु 
 जिउँदो जाग्दो हुनु !

खाना खाने बेला फुमे लगाइन्छ । माथिको आशीर्वाद दोहोर्‍याइन्छ । आमाले त्यसो भन्दा मैले काठमाडौंमा साथीहरूको जन्मोत्सवमा देखेको, साथीले केक काटेको र उसलाई सबैले  भाका मिलाएर 'ह्याप्पी बर्थ डे टु यू' भनी शुभकामना दिएको  सम्झेँ । जन्मोत्सव मनाउने आ-आफ्नै तरिका ।

तर काठमाडौंमा मनाउन थालिएको जन्मोत्सवको विधि विधानलाई पश्चिमा शैलीको सिकोको संज्ञा दिइन्छ । र हो पनि त्यही नै । शुभकामनामा  अंग्रेजी शब्दको प्रयोग नगरिए उत्सव जस्तै मानिदैन - हृयाप्पी वर्थ डे टु यु ! अझ अग्रजहरूबाट सुनेको, पहिले बत्ती बालेर मनाइने चलन, अहिले बलेको बत्ती नै निभाएर कर्मकाण्ड सुरू हुन्छ । ठीक विपरीत भएको छ सिकोको परिणाम । अध्याँरोबाट उल्यालोतिर पो राम्रो, उज्यालोबाट आध्याँरोतिर के राम्रो । यस्ता कुराको निरन्तरतामा लाग्ने हाम्रो परिचय कहाँ ? राम्रोलाई लात हानेर नराम्रोलाई काँधमा हाल्ने हाम्रो प्रवृत्ति आफूमा भएको महानतालाई नचिन्ने विशेषताबाहेक के हुन सक्छ ?

जे होस्, आशीर्वाद जति दशैंमा जन्मेको भाइले मात्र पाउने भए पनि म चाहिं  हुँदो खाँदो, जिउँदो जाग्दो नै भइराखूँ । फोन-सन्देश पठाउने साथी कवितालाई वर्णन गरेर नसकिने खुसीको धन्यवाद लेखेर पठाएँ । कुनै तामझामविना पनि दिन उल्लासमय रहृयो । २३ औँ वसन्तमा उक्लिंदा पहिलो पटक नै मैले शुभ जन्मदिनको  कामना पाएको थिएँ । २२ औँ वसन्त पार गरिसक्दासम्म मैले एकदिन पनि आज मेरो जन्मदिन हो भनेर सम्झेको थिइन । साँच्ची, कति नेपालीले आफ्नो जन्मदिन आएको र गएको थाहा पाउँदा हुन् ?
डोल्पा, हाल :  काठमाडौं
बी. ए. दोस्रो वर्ष, सीजेएमसी

* फुमे लगाउनु भनेको खानाको भाँडोमा कुखुराको टाउको, एकतिरको भागको कुमे (पखेटा) र सपेटा राखिएको हुन्छ, साथमा बत्ती बालिएको हुन्छ ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes