'लेखक होइन, परीक्षार्थी हुँ' - 'सेतो धरती'का लेखकसँग गफगाफ

ख्यान सिर्जनामा रमाइरहेका अमर न्यौपाने युवा पुस्ताका इर्ष्यालाग्दा लेखक हुन् । 'सेतो धरती' उपन्यासका लागि २०६८ सालको मदन पुरस्कार पाएपछि त झन् उनी साहित्यिक वृत्तमा हटकेक नै भएका छन् । दुई वर्षअघि नेपालगञ्जको स्थलगत अध्ययनमा आधारित 'पानीको घाम' आख्यानकृति ल्याएपछि निकै प्रशंसित भएका उनले सोही कृतिमा पद्मश्री साहित्य सम्मान पाएका थिए । यसैगरी न्यौपानेले 'कलिलो मन' बालकथा संग्रहका लागि २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समेत थापेका थिए । स्थलगत अध्ययनमा गएर कलम चलाउने सर्जक दरिएका उनले 'सेतो धरती' लेख्‍न चितवनको देवघाट एक महिना बसेर बालविधवा आमाहरुको कथाव्यथा खोतलेका थिए भने बहुपतिप्रथाका विषय रहेको आगामी उपन्यासको लागि उनी तीन महिना हुम्ला बसेर फर्किएका छन् । अमरसँग उनको साहित्यिक यात्रा, पुरस्कृत कृति र नेपाली साहित्यको पछिल्लो रुप-रेखाबारे केन्द्रित रहेर गरिएको गफगाफको अंश :

पुरस्कार जितेपछि सर्जकहरुले नयाँ चुनौती महसुस भइरहेको छ भनेर सामान्यतया साझा खालको जवाफ दिन्छन्, तपाईंसँग चाहिं के जवाफ छ ?
युवा पुस्ता पुरस्कृत भएको महसुस भएको छ । जिम्मेवारीबोध पनि भएको छ । मेरो प्रतिस्पर्धा अब मैंसँग हो । 'पानीको घाम'  'सेतो धरती' भन्दा तल खस्किनु हुँदैन भन्ने लागिरहेको छ । तिनै कृतिको हाराहारी र अझ त्यसभन्दा पनि राम्रा कृति लेखेर नेपाली साहित्यलाई धनी बनाउनुपर्छ भन्ने लागेको छ ।

कृति नै पिच्छे पुरस्कार पाइरहनुभएको छ नि !
कृति पढेर पाठकले दिने प्रतिक्रिया नै संसारको सबभन्दा ठूलो पुरस्कार हो । पाठकको मनको अदालतले गर्ने निर्णयलाई महान् मान्छु म । तर त्यसका साथै संस्थागत रुपमा पनि पुरस्कृत हुँदा अर्को खुड्किलो पार गरिँदो रै'छ । त्यसले कुनै पनि सर्जक पाठकमाझ पुरस्कृत भएको कुरालाई औपचारिकता दिन्छ । मिडियामार्फत सबैसामु सार्वजनिकीकरण गरेर सेलिब्रिटी पनि बनाउँदो रै'छ । मलाई चाहिं अब के-कसरी लेखूँ भन्ने व्याकुलता बढाएको छ ।

युवा पुस्ता पुरस्कृत भएकोमा यसपटक धेरैले निकै सराहना गरेका छन् । तर लेख्दै गरेको मान्छेले ठूलो पुरस्कार पाएपछि अब केका लागि लेख्नुपर्‍यो भन्ने मनस्थितिको विकास भएर त्यो र्सजक नै सिद्धिन सक्छ भन्छन् । त्यो मान्यतालाई चिर्न सक्ने अवस्था छ ?
मैले ठूलो मान्ने पनि पाठकको मनको अदालतले गर्ने निर्णय नै  हो । त्यो निर्णय कहिले पनि तल पर्दैन । यस कारण यो मेरो अन्त्य होइन सुरुवात हो जस्तो लाग्छ । किनभने भर्खरै मेरो दोस्रो कृति प्रकाशन भएको छ । एउटा फिल्ममा अभिनयका लागि हिरोइन बन्न १६-१७ वर्षको उमेर भए पुग्छ, तर लेखक २५-३० वर्ष नकाटी उसमा अध्ययन, अनुभव र अभ्यासका हिसाबले परिपक्वता आउन सक्दैन । मेरो कृति नेपाली साहित्यको बजारमा प्रतिस्पर्धामा गएर पुरस्कृत भयो । पुरस्कार छिटो वा ढिलो दिइयो भन्ने कुराको पनि अर्थ छैन ।

'सेतो धरती'मा त्यस्तो के छ, जसले यसलाई सबैको रुचिकर र मदन पुरस्कारको हकदार बनायो ?
पुरस्कृत गर्ने मदन पुरस्कार गुठीलाई यो प्रश्न सोध्ने हो भने न्याय हुन्छ जस्तो लाग्छ । पुस्तकबारे लेखकको हैसियतबाट भन्नुपर्दा फलको स्वाद चाखेपछि मात्रै थाहा हुन्छ । पाठकहरुले पनि यो उपन्यास पढेर स्वाद आफैं थाहा पाउनुस् ।

तपाईं त लेख्नकै लागि सबै व्यस्तता र अल्झाइबाट छुट्टी लिएर पूर्णकालिक लेखक बन्नुभएको छ, कस्तो छ लेखनकर्म ?
त्यसरी सबै हाँगाबिँगाबाट मुक्त हुनु पर्दो रै'छ । खाने बाटोको लागि स्कुल र कलेजमा पढाउने गर्थें । तर लेख्नका लागि बेलाबेला स्थलगत भ्रमणमा निस्कँदा कति बिदा लिइराख्नु भनेर गत वर्ष नै काम छाडें । फेरि केही समयपछि पढाउनुपर्ला । यदि लेखेर नै खान पुग्ने स्थिति आयो भने लेख्नु जस्तो सुन्दर कुरा के हुन्छ र !

नेपालमा लेखेरै जीविका चलाउन सकिने अवस्था देखिन्छ त ?
- लेखेरै गुजारा गर्ने केही अपवाद मात्रै होलान् । नेपाली भाषा-साहित्यको बजार सानो छ । वितरण प्रणाली त्यति धेरै उत्साहजनक छैन । पढ्न चाहनेको हातमा पुस्तक पुर्‍याउन नसकिरहेको अवस्था छ । नेपाली साहित्य स्तरीय अनुवाद भएर विश्वसाहित्यको प्रतिस्पर्धामा जानुपर्छ । केही पुस्तकहरु प्रतिस्पर्धा गर्न लायक पनि छन् । तर त्यसरी प्रतिस्पर्धाको मौकै नपाई गतिला पुस्तकले पनि यहीँ खुम्चिएर बस्नुपरेको छ । भाषाको सीमा तोडिएर विश्वमा गयो भने नेपाली साहित्यको भविष्य उज्यालो छ ।

स्थलगत रुपमा कुनै ठाउँमा गएर लेख्ने शैली अपनाउनुभएको छ, तर हामीकहाँ धेरैजसो लेखक कोठामा बसेर कल्पना र अड्कलबाजीमै संसारको कुरा हाँक्छन् भन्ने आरोप लाग्ने गरेको छ । स्थलगत लेखनमा के फरक हुने रहेछ ?
कोठामा बसेर लेख्नेले पनि जीवन भोगेर आएको हुनाले उसबाट समाज र मान्छेको यथार्थ कुरा आउन सक्दैन भन्ने होइन । प्रत्यक्ष रुपमा कतै पुगेर लेख्नु र नपुगी लेख्नुमा अन्तर मात्रै हो । लेख्नकै लागि भनेर कतै पुग्दा अलि सचेत र एकचित्त भइँदा लेख्न प्रेरित गर्छ । 'पानीको घामलेख्नलाई नेपालगन्जमा बस्दा मैले गरिब र दीनदुःखीकै कथा लेखें । धनी, ठूलाबडा र महलमा बस्ने मान्छेको आवरण हुने भएकाले तिनको कथा लेख्न सकिँदैन । मानहानि होला कि भन्ने डरले तिनलाई सोध्न र कोट्याउन पनि गाह्रो । शक्ति, सत्ता, सम्पत्ति र सभ्यता भएका मान्छेसँग निकै डराएर कुरा गर्नुपर्छ । स्थलगत रुपमा गएर लेख्दा कति आनन्द हुन्छ भने, पुस्तक पढ्नुभन्दा त जीवन पढ्नु कता हो कता आनन्द ! यस क्रममा मैले विश्वको महान् कृति पढ्नुभन्दा एउटा निम्न वर्गको सामान्य पात्रको जीवन पढ्नु निकै सुन्दर कुरा हो भन्ने सिकें ।

त्यो सुन्दर र मार्मिक कुरालाई त्यत्तिकै प्रभावशाली रुपमा शब्दमा उतार्नु कत्तिको गाह्रो हुन्छ ?
-  मुख्य समस्या नै त्यही हो । लेख्ने भए त्यही भोग्ने मान्छेले नै आफ्नो भोगाइबारे लेख्थ्यो होला । तर गाह्रो काम भएकाले ऊ र त्यस वरिपरिका धेरै मान्छेले लेख्दैनन् । लेख्दा एउटा शैली र अनुहार दिनुपर्‍यो । भएका कुरालाई त्यस्तै असरदार गरी लेख्नुपर्ने समस्या जब समाधान गरिन्छ, तब लेखक भइन्छ । लेखक हुन लेखाइमा आफ्नोपन चाहिन्छ । प्रेम, मृत्यु र सर्वहाराको विषयमा सबैले लेखे पनि लेखकलाई बनाउने शैलीले हो । आफ्नोपन नदेखिँदा लेख्न सुरु गरेको १० वर्ष बितिसक्दा पनि मैले २०६५ सालसम्म कृति निकाल्ने आँटै गरिनँ । पछि बल्ल ६६ सालमा 'पानीको घाम' निकालें । मैले त परीक्षा दिएको हुँ, पाठकहरुले पास गराइदिए । 'सेतो धरती'को दोस्रो परीक्षामा पनि पास भएँ । म लेखकभन्दा पनि परीक्षार्थी हुँ, परीक्षा दिइरहन्छु ।

लेख्नका लागि स्थलगत अध्ययनमा जाँदा चुनौती र अप्ठेरो कत्तिको हुन्छ ?
एकदमै अप्ठेरो हुन्छ । चित्रकलाको 'प्रोसेस अफ प्रडक्ट' जस्तो हो लेखन पनि । प्रोसेस पनि कला हो भन्छन् पेन्टिङमा । त्यसैअनुसार पात्रको छेउ पर्दादेखि नै लेखनको प्रक्रिया सुरु हुन्छ । पात्र बोल्न मान्दैन, फकाउनुपर्‍यो । घुलमिल हुन गाह्रो पर्छ, मनाउनुपर्‍यो । एउटा साथीसँग कुरा खोल्न त गाह्रो हुन्छ, अपरिचित लेखकसँग कसरी खुलून् ! देवघाट गएर विधवा आमाहरुसँग कुरा गर्दा उहाँहरुले 'बाबू, बिर्सेका र खाटा बसिसकेको घाउ किन कोट्याउनुहुन्छ' भनेर प्रश्न गर्दा भक्कानो छुट्यो । त्यस्तो बेला के भन्ने, के गर्ने ? मैले पुस्तक लेखेर उहाँहरुले केही पाउने पनि होइन । मेरा पात्रहरुमध्ये अधिकांश त निरक्षर छन्, आफैंबारे लेखेको पुस्तक पनि पढ्न सक्दैनन् । दुःख लाग्छ ।

नेपाली साहित्यका पाठक निकै सचेत हुँदै गएका छन्, लेखकको हैसियतमा के लाग्छ ?
- आजका पाठकदेखि निकै डर लाग्छ । डराई डराई पुस्तक निकालेको हुँ । धेरै अध्ययनशील छन् उनीहरु । साथीहरु बस्दा अनेक विदेशी पुस्तक पढेको बताउँछन्, आफू चाहिं कुनामा चुपो लागेर बस्नुपर्छ । आज पाठकका साथै प्रकाशक पनि अगाडि छन्, लेखक भने पछाडि छुटेका छन् । गहकिलो कृति दिन ऊ जिम्मेवार भएर अग्रसर बन्नुपर्छ । नयाँ प्रकाशन संस्थाहरु आएका छन् । विदेशमा झैं आकर्षक ढाँचा र साजसज्जामा पुस्तक निस्कन थालेका छन्, तर विषय र शैलीमा नयाँपन दिन नसके ती पुस्तकहरु झिल्के कपडाका बेहुली मात्र हुन्छन् ।

अरुहरुको पढ्दा पछिल्लो समयमा मन परेका कृति कुन-कुन हुन् ?
नेपालीमा एकदम मनछुने पुस्तक पढ्नै पाएको छुइनँ, जुन कृति र रचना पढ्दा यो त मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने लागोस् । सबै सामान्य नै लागेका छन् । यसो भनेर हाम्रो साहित्य र साहित्यिकलाई कम आँकेको होइन । यो मेरो पाठकीय टिप्पणी हो । बरु अहिलेका युवा पुस्ताका कविता निकै मन पर्छ । पढेर दंग पर्छु । कविता निकै शक्तिशाली विधा हो  मेरो आख्यानमा पनि कविताको गन्ध आउँछ रे  मलाई कतिपय साथीहरुले सबै कविता आख्यानमा मिसाइस् पनि भन्छन् ।

अबको साहित्यिक योजना के छन् ?
पुस्तक बुन्ने क्रममै गत वर्ष तीन महिना हुम्ला बसें । अहिले मेरो शैली स्थलगत लेखनको बनेको छ । आफूले खोजेको सेटिङमा गएर पात्र खोजेर त्यसमा आफूले चाहेका केही पात्रसँगै आफूलाई मिसाएर लेख्ने यो शैली विदेशतिर नयाँ नभए पनि हाम्रो देशमा नयाँ हो । 'पानीको घाम'देखि त्यही शैलीअनुसार लेख्दै छु । हुम्ला पुगेर ल्याएका सबै सामग्री तयार छन्, अब त्यसलाई सँगालेर लेख्ने काम बाँकी छ । त्यो कृति लेखियो भने मेरो जीवनकै महत्वपूर्ण हुनेछ । केही समयपछि सुरु गर्नेछु ।

3 :: प्रतिक्रिया:

Anonymous said...

Nice Interview. Loved the honesty of the Amar. Congratulation and wish all the best for his future endeavors :)

Keep it up :)

Deepesh Khatri said...

Nice article
visit
How to make money at home
to learn and earn more money.

Adams Kevin said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes