स्मृति

॥ प्रभाकर गौतम ॥
जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना ।

पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं ।

उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्‍नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर प्रथम वर्षमा । म पनि सोही कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । उनी सायद भारतकै कुनै ठूलो सहरमा पढ्ने योजनामा थिइन् तर खै के मिलेन र काठमाडौं आइन् । नेपाली सरकारी कलेजको गञ्जागोल वातावरणमा उनलाई रस नलागेको उनको अभिब्यक्तिबाट म सहजै अनुमान लगाउन सक्थेँ । बेला-बेला ठट्यौली गर्दै उनी टिप्पणी गरिरहन्थिन् । तर फरासिलो स्वभावका कारणले उनले म भन्दा धेरै साथीभाइ बनाइसकेकी थिइन् ।

एउटै कलेजमा भएकाले हामी सधैंजसो भेट्थ्यौं । तर फरक-फरक तहमा भएकाले हाम्रो भेट छोटो हुन्थ्यो । एक-अर्काप्रति आदर र माया भए पनि हामीले सँगसँगै धेरै समय बिताउने अवसर पाएनौं । यस्तो मौका नै मिलेन । त्यसैले मैले उनलाई बाहिरबाट मात्रै चिनेको थिएँ । उनलाई जति पटक भेटेँ, सधैं 'मस्ती’ मा हुन्थिन् । उनलाई कहिल्यै गम्भीर वा दुःखी मुडमा देखिनँ । दिदीबाट पनि उनका बारेमा रमाइला प्रसङ्गहरू मात्र सुनेको थिएँ । त्यसैले उनीसँगको भेट रमाइलो लाग्थ्यो । मेरा नजिकका साथीहरू पनि उनलाई चिन्न थालिसकेका थिएँ, मेरै दिदीको रुपमा । उनी आफू पढ्ने कलेजमै भर्ना भएकोले मलाई कलेजको वातावरण पहिलेको भन्दा रमाइलो लाग्न थालेको थियो । उत्साह बढेको थियो ।

तर मेरो उत्साह लामो समयसम्म टिक्न पाएन । तीजको बेला थियो । म कलेज गएको थिइनँ । अचानक कलेजबाटै एउटा साथीको फोन आयो । उसको आवाज मलिन थियो । उसले एउटा ब्याड न्यूज छ भन्दै अप्रत्यासित रूपमा भन्यो "कलेजमा बिनी दिदीले सुसाइड गरेको हल्ला छ, तिमीलाई जानकारी दिन फोन गरेको ।" उसको कुराले म निस्तब्ध भएँ । प्रत्युत्तरमा मैले भनेँ "होइन होला ।" तर उसले "मलाई पनि विश्वास लागेको छैन तर..." भन्यो ।

कलेज पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाटाभरि मनमा एउटै प्रश्न आइरहृयो, त्यस्तो "बिन्दास" मान्छेले आत्महत्या ? कलेज पुगेपछि उनका साथीहरूलाई भेटेपछि उनको आत्महत्याको घटना अविश्वसनीय भए पनि पत्याउन बाध्य भएँ । त्यो दिन दिदी पनि कलेज गएकी थिइनन् । दिदीलाई फोन गरेर सुनाएँ, उनी फोनमै रुन थालिन् । रसिलो आँखा लिएर दिदी आइन् र म उनीसँगै पाटन अस्पताल पुगेँ । हामी दुवैले शवगृहमा लाश हेरेपछि आँसु थाम्न सकेनौं । दिदीले समेत अनुमान गर्न सकिनन् उनको आत्महत्याको कारण । मलाई त झन् थाहा हुने कुरै भएन, उनीसँग परिचय भएको करिब ६ महिना जति भएको थियो होला । उनको घरका सदस्यहरूले पनि आत्महत्याको  कुनै कारण फेला पार्न सकेका थिएनन् ।

यो घटना पूर्व मलाई आत्महत्या गर्ने सबै मानिस निराशावादी हुन्छन् भन्ने लागेको थियो । तर बिनी दिदीको आत्महत्यापछि मेरो धारणा परिवर्तन भएको छ । सधैं हाँसीखुसी देखिने मानिस पनि यस्तो दुर्घटनाको सिकार हुँदोरहेछ । सायद यस्ता मान्छेले अरुलाई आफ्नो दुःख बाँड्न अझ गाह्रो हुने भएर हो कि ?

सहर गन्थन

॥ जनकराज सापकोटा ॥
पढ्नकै लागि भनेर सहर छिर्दा हरेकका अनुहारमा सपनाका पत्रैपत्र मात्रै खात लागेका हुँदैनन् ।  आफूले हिँड्ने बाटो जस्तो भए पनि, गल्ली जतिसुकै अँध्यारा भए पनि तिनीहरुको मनमा 'सहर न हो' भनेर कुद्‌ने अदम्य आँट हुन्छ । तर सबैभन्दा बेसी सहर छिर्ने ती मानिसको मनको एउटा कुनामा पर्याप्त बहाना हुन्छन् । जसले तिनीहरुलाई सहरमा मस्ती गर्न छुट दिएको हुन्छ । राजनीतिका भाषामा भन्दा यो एउटा अजबको कार्ड हो, जसले सहर छिर्नेहरुलाई घरको गनगन बेवास्ता गर्ने 'लाइसेन्स' मिलेको हुन्छ ।

जति दौडे पनि नसकिने जिन्दगीको दौड, जति सम्झे पनि नसकिने बालवयको याद । यस्तै यस्तै तर्कनाहरुले समयको दौडमा असफलताको भारी बोकिइसकेको हुँदोरहेछ, मान्छेले थाहै नपाई । केटाकेटी नै छु भनेर देखाउनका लागि, समय अझै परिपक्व भइसकेको छैन है भनेर बुझाउन पढाइ एउटा अजबको काइदा रहेछ । पढेर ज्ञान लिने भनेको त त्यस्तै हो अक्सरका लागि । त्यही अक्सरभित्रको एउटा पात्र आफू पनि भइँदोरहेछ थाहै नपाई । 

पढाइ सिद्धिएपछि के-के न गरूँला भन्ने अनेक योजना बनाइन्छ । जुन कुराले आफूलाई भन्दा बढी घरका सदस्यहरूलाई आशावादी बनाइराखेको हुँदो रहेछ । पढाइ सिद्धिएपछि ज्ञान नाढे पनि जिम्मेवारी त बढिहाल्दो रहेछ । छोरा भए पनि, छोरी भए पनि । अझै छोरा हुँदा झनै बेसी । भलै सहरमा नि:शुल्क जीवनका अनेक आयाम देख्‍न पाइएको छ । त्यो पनि एलसिडी टिभी हेरेजस्तो, प्रस्ट र जीवन्त । 

गाउँ फर्किन पनि नसकिने, सहर जित्‍न पनि नसकिने । बडो अनौठो र विचित्रको हुँदो रहेछ पढाइ सकिएपछिको समयको झोलुंगो । सहर गाली गरेरै प्रिय लाग्ने ! गाउँ माया गरेरै पनि विरानो लाग्ने । सहरका गल्लीहरूमा थुक्नुको मज्जा, अग्ला घरहरुको पछिल्तिर अलिकति लाज माने झैं र अलिकति गर्व गरे झैं गरेर पिसाब फेर्नुको पनि अनौठो सन्तुष्टि हुँदो रहेछ । भलै, त्यस्ता सन्तुष्टि क्षणिक किन नहुन् !

हरेक महिना घरबेटीको गनगन पनि कालान्तरमा जिन्दगीको लय लाग्ने । हरेक दिन बढ्दो तरकारीको मूल्य पनि समयक्रममा सहरको उपहार लाग्ने । यस्तै-यस्तै तिलस्मी तथ्यहरुले सहरप्रतिको आकर्षण झनै बढाउँदो रहेछ । नछिरेका चिया पसल र रेष्टुराहरू कति होलान्, नछिचोलेका गल्लीहरू कति होलान, सिनेमा नहेरेका हलहरू कुन-कुन होलान् अनि नचहारेका सपिङ मलहरू कुन-कुन होलान् ? यस्तै-यस्तै तर्कनाले सहर सधैं नौलो लाग्ने, सधैं अनौठो लाग्ने र सधैं प्रिय लाग्ने । प्यान्डोराको बाकस जस्तो लाग्ने कहिलेकाहीँ त ! 

आफैले हेर्दा हेर्दै धनी भएका भएका साथीहरूको कुरा कति गर्नु ? आफैंले हेर्दा हेर्दै खेप्नै नसक्ने सास्तीबाट भाग्न पटक-पटक विष खाएर पनि मर्न नसकेको साथीको कुरा कति गर्नु ? गोजीमा सुकोदाम नभएका बेला पनि प्रेमको तथाकथित गीत गाएर धुन भर्ने चिनेजानेका साथीहरूको कुरा कति गर्नु ? दिगमिग लाग्ने यस्ता तर्कनाहरूबाट ज्यान जाला छुटकारा पाइँदैन सहरमा । सहरको यो विशेषता नै हो अथवा मानिसहरु नै यसका निम्ति सहरभन्दा बढी जिम्मेवार छन् । 

सहरमा हिम्मत गर्नेहरू पनि धेरै छन् । तर अक्सर यस्ता हिम्मतहरू महिनादिन नहुँदै घोर निराशामा बदलिएका छन् । जस्तै हेरौं न, के के न बहादुरी गरे झैं प्रेम सार्थक तुल्याएको धमास दिंदै बिहे गर्ने केटाहरू ! जो महिनादिनपछि नै घरभाडा तिर्न नसकेर अथवा प्रेमिकाका रहरहरू पूरा गर्न नसकेर सपनाहरू पनि गतिलो देख्‍ने मौका पाउँदैनन् । भलै केही हप्तासम्म यौनको मीठो स्वाद चाख्लान् ! तर दिनभर गनगन गर्ने प्रेमिकासँग बिताएको रात कति रङ्गीन होला ? सम्झेर पनि झर्को लाग्छ । अझै कति त बहादुरीको पराकाष्ठा देखाउन बिहे गरेकै वर्ष नपुग्दै सन्तान जन्माउँछन् । पुरुषत्वको धमास दिन्छन् र केही महिना नपुग्दै आफ्नो सन्तानलाई कुपोषणको सिकार बनाउँछन् अथवा कसैले लगेर पालिदिए पनि हुन्थ्यो भन्ने चाहना पाल्छन् । 

जमाना प्रविधिको छ, टाढाटाढैबाट बातचित र चिनजान । तर सबै मान्छे फेसबुकको भित्तामा  देखिएजस्ता सुन्दर हुँदैनन् । सबै मान्छे फेसबुकको भित्तामा पोस्ट गरेका दर्शन जस्ता दार्शनिक पनि हुँदैनन् । भ्रम छर्ने पर्याप्त तरिका सहरमा हुर्किएका छन् । तिनै भ्रमहरूको खेती मैले पनि मेरा अभिभावकलाई गरिरहेको छु । यद्यपि सहर मेरो गाली सुनेर पनि मलाई टेक्ने ठाउँ दिइरहेको छ ।  

पाउलोको 'अलेफ'

"सपना चाहान्छौ भने तिमीले ब्युँझिन जरूरी छ",
सपना, आशा र प्रेरणाको गीत गाउने सुप्रसिद्ध लेखक पाउलो कोएलोको भनाइ ।

विश्वका सर्वाधिक रुचाइएका लेखकहरूमध्येमा पर्ने पाउलो कोएलोको नयाँ पुस्तक बजारमा आएको खबरले गर्मागर्मी छाएको छ । खासगरी पाउलोका अल्केमिस्ट, एलेभेन मिनट्स, जाहिर, ब्रिदा लगायतका कृतिहरूको स्वादबाट उनको पारखी बनिसकेको पाठक जमात नयाँ किताब कहिले हात पर्ला भन्ने छटपटीमा छ । 

ब्राजिल र टर्कीमा गत वर्ष २०१० मै प्रकाशित 'अलेफ' हालै अङ्ग्रेजी संस्करणमा आएको हो । नेपालका पुस्तक पसलमा पनि यो उपन्यास उपलब्ध हुन थालिसकेको छ । 

पाउलोको यो नयाँ पुस्तकको विश्वव्यापी सार्वजनिकीकरण भने सेप्टेम्बर २७ तारिखमा हुँदैछ । अमेरिका र क्यानाडामा आगामी साता पुस्तक पुग्ने पाउलोले आफ्नो ब्लगमा जनाएका छन् । 

सन् १९८२ मा पाउलोको पहिलो पहिलो कृति Hell Archives प्रकाशन भएको थियो । तर त्यसले खासै प्रभाव देखाउन सकेन । १९८८ मा The Alchemist लेखेपछि भने लेखकको रूपमा उनको भाग्य नै खुल्यो । यो किताब ब्राजिलको सानो प्रकाशन गृहले छापेको थियो, पहिलो संस्करण नौ सय प्रति निकालेको प्रकाशन संस्थाले त्यसको पुन:मुद्रण नगर्ने निर्णय गरेको थियो । त्यही कृति आखिरमा बेस्ट सेलर बन्यो । ७० भन्दा बढी भाषामा अनुवाद भइसकेको The Alchemist को साढे ६ करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ । अर्को कृति Brida को लागि भने पाउलोले अलि प्रतिष्ठित प्रकाशन गृह भेटे । बढ्दै गएको ख्याति र लोकप्रियताले पछि बाटो सम्मिँदै गयो ।

सही रूपमा बाँच्न प्रेरित गर्ने पाउलोले सपना देख्‍न सिकाउँछन् । स्वाभाविकै हो, उनका पुस्तकहरूमा पनि तिनै सपना, जीवन र मानवीय संवेदनाको सुन्दर फ्युजन हुन्छ । 

पाठकहरूमा पाउलोको नयाँ उपन्यासको स्वाद अझ गाढा बनोस् ।

प्रत्युत्तर

॥ सानु घिमिरे ॥
मजेत्रोमा बाँधेर तिम्रो सम्मान 
बडो सानसँग हिंडेकी थिएँ,
तिम्रो उपहार, धारे हातको रिबन
हेर त कति सुहाएन मेरो शिरमा ।
आक्रोश, दुर्वचन र आरोपहरुमा
कस्तरी जिल्लिएको हाम्रो दौंतरी ?

चौबन्दीमा अड्किन खोजिरह्यौ
मुटुभन्दा पर तिम्रो स्थान,
कति खसखसाउने तिम्रो घाँटी
कति चुकचुकाउने तिम्रो जिब्रो 
पटुकीभरि छन् सम्झनाका मकैहरू
गोठालो जाँदा फक्याउने गर्छु ।

प्रत्युत्तर फेरि पनि त्यही हो,
तिमी चम्काइराख निष्ठुरताको पाइन
म सम्झिउँला त्यो हार्दिकताको मूल्य ।
डढेलो लागेको वनमा एक दिन
तिमीले खोज्नु स्नेहको ऐंसेलु,
बुटामुनिबाट कतै पलाउनेछ अर्को मुना ।

- सुनसरी, हाल: सिड्नी, अस्ट्रेलिया ।

मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।।
दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् ।

बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै दिसा-पिसाब गर्न त त्यत्ति गाह्रो लाग्दैन तर त्यही शौचालय जस्तै भान्छामा पकाएका खाना निल्न भने साह्रै मुश्किल पर्छ । त्यही पनि बेस्वादका बासी तर महँगा । यसपाली टेलिभिजनमा देखिएका खान नहुने कुराको मिसावट र फोहोरको दृश्य मैले बिस्रन सकेको छैन । सायद यसपाली म बाटोमा पाकेका खाना खान सक्दिनँ होला । सोच्दैछु - के व्यवस्था गर्ने भनेर । दशैं छेका सुरु भएको बजार अनुगमन लामा दूरीका यात्रुलाई खाना खुवाउने होटलसम्म पनि पुगे तुलनात्मक रुपमा हामीले स्वच्छ खाना पाउने थियौं कि ?

२०६३ को दशैंमा घर जानुभन्दा केही अघिसम्म म काठमाडौंका सडकपेटीमा व्यावसाय गर्नेहरुसँग अन्तरवार्ता लिँदै थिएँ । मार्टिन चौतारीले प्रकाशन गर्न लागेको सहरीकरणः जीविकाको विविध आयामका लागि जगन्नाथ दाइले लेख्ने अनौपचारिक क्षेत्रसम्बन्धी लेखका लागि । मैले विभिन्न ठाउँमा गएर विभिन्न व्यवसाय गर्ने विभिन्न उमेर समूह र लिङ्गको व्यक्तिहरुसँग कुरा गर्नुपर्ने थियो । त्यसै सिलसिलामा सुन्धारामा ठेलामा मःमः बेच्ने महिलासँग कुरा गर्न मन लाग्यो । भोक लागिरहेको थियो पहिले मःमः खाएरै सम्बन्ध र संवाद अघि बढाऊँ भन्ने विचारले मःमः खान तयार भएँ । पहिलो गाँसको स्वाद मीठो लागेन तर हतार-हतार निलेँ । मलाई घिन लाग्न थालिसकेको थियो । दोस्रो गाँस मुखमा हालेपछि ह्वास्स गनायो । मःमःको दुनो भुइँमा फालेर मैले त्यहीँ बान्ता गरेँ । त्यसको पैसा साहुनीले माग्ने आँट गरिनन् बरु भनिन् - "यस्तै त हुन्छ नि मःमः ! खाने बानी छैन जस्तो छ ।"
मलाई खान पनि आउँछ र मीठो मःमः बनाउन पनि आउँछ भन्ने उनलाई के थाहा
 ?

"खाएर हेर्नुस् न मःमः गनाएको छ", मैले त्यत्ति मात्र भनेँ । 

पछि वसन्तपुरमा ठेलामै मःमः बेच्नेसँग कुरा गरेँ । तर उनले एउटा-दुइटा मात्रै भए पनि चाख्नुस् न भनेर गरेको आग्रह भने स्विकार्न सकिनँ । म साकाहारी भइसकेको थिएँ । त्यसको पाँच वर्षसम्म मैले मासु नै खाइनँ । त्यही अन्तरवार्ताकै क्रममा लाजिम्पाटमा मोतिहारी भारत घर भएका पानीपुरीवालाको पानीपुरीले त मलाई पखालै चलायो । त्यस बेलादेखि हत्तपत्त म सडक खाना खाने आँटै गर्दिनँ ।


अफिसमा खाजा पाक्ने व्यवस्था नहुँदा हामी केही साथी नर्भिक हस्पिटल छेउको लुम्बिनी भोजनालयमा तन्दुरी रोटी खान जान्थ्यौं । एकदिन खाँदाखाँदै साकाहारी तरकारीमा पाकेको साङ्लो भेटियो । त्यसबारे साहुजीलाई गुनासो सुनायौं । उनले "कहिलेकाहीँ साङ्ला त परिहाल्छ नि" भन्ने उत्तर सहज रुपमा दिए । साहुजीले पनि यस्तो भन्न मिल्छ र भनेर हामीले उनलाई जिम्मेवार हुन भन्यौं । तर उनले "के गर्न सक्छौ गर, तिमीहरु जस्ता ग्राहक त यहाँ कति आउँछन् कति" भने । त्यसपछि पनि साथीहरु त्यहाँ जान छाडेनन् । म भने झन्डै एक वर्ष जस्तो त्यहाँ गइनँ । एक वर्षपछि त ती साहुजीले पनि बिर्सिए होलान् । म पनि बिर्सिन बाध्य भएँ । किनभने त्यो पसल वरिपरि त्यत्तिको सफा पसलको विकल्प मसँग थिएन ।

न्यूरोडका गुँदपाक पसलेले त व्यापार होइन अपराधै गरेका हुन् । खोज्दै जाने हो भने त्यस्ता अरु व्यापारका नाममा भइरहेका अपराध खुल्दै जालान् । तर सामान्य होटलमा अपराध गर्ने मानसिकताभन्दा अरु कुरा नै बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छ । थोरै पैसा दिएर उमेर नपुगेका बालबालिकालाई काम गर्न राख्ने चलनले पनि त्यस्तो भएको हो । उनीहरु बिहान पाँच बजेदेखि राति अबेरसम्म काम गर्न बाध्य छन् । शौचालयदेखि भान्छासम्म उनीहरुले नै सफा गर्नुपर्ने हुन्छ । कामदारहरूलाई कामको बोझ धेरै भएकॊ अवस्थामा होटलका साहुजीले चाहेर पनि सफासुग्घर गराउन सक्दैनन् । काम गर्ने मान्छेलाई खुसी नबनाई राम्रोसँग काम गराउन सकिँदैन । साहुजीले अनावश्यक किचकिच गर्दै दबाब दिए ग्राहकले खानेभन्दा पनि फोहोर खाना 
उनीहरु साहुजीलाई नै खुवाउन बेर लगाउँदैनन् । त्यसैगरी उनीहरु त्यस व्यवसायसम्बन्धी तालिम वा औपचारिक शिक्षा लिएर पनि आएका हुँदैनन् । उनीहरु औपचारिक अध्ययनका लागि स्कुल-कलेज जाँदै नगएका पनि हुन्छन् पढेकाहरु पनि बीचैमा छाड्ने नै धेरै हुन्छन् । त्यसैले सफाइ सम्बन्धी उनीहरुको धारणा र हामीले गर्ने अपेक्षा नमिल्न सक्छ । होटल-रेस्टुरेन्टका भान्छा प्रायः नदेखिने ठाउँमा हुन्छ । नाम चलेका होटेल तथा रेष्टुरेन्टहरुमा पनि सफासुग्घरको नाममा डाइनिङ हललाई मात्र ध्यान दिने प्रवृत्ति हुन्छ । भान्छा सफा राख्ने पकाउने-बनाउने कुरामा ध्यान दिने भन्दा पनि प्लेटमा खाना सजाउन नै बढी सिकाउने चलन छ ।

अहिले भइरहेको बजार अनुगमनलाई निरन्तरता दिने हो भने पनि धेरै क्षेत्रमा सुधार हुन सक्छ । अनुगमनकर्ताहरुले हामीलाई थाहै नभएको कुरा बाहिर ल्याएका होइनन् । बजारमा भइरहेको लुट र अपराधको जानकारी सम्बन्धित पक्ष र उपभोक्ता सबैलाई थाहा थियो । बाध्यताले गर्दा नै हामी उपभोक्ताले तिनको सेवा लिने गर्थ्यौं । हाम्रो विकल्प नहुनु उनीहरुको फाइदाको कुरा !

स्वप्निल, बाडुली र सुदूर सम्झना

Swapnil Book

पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने  आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् ।  सामूहिकताको यो सम्बोधन सहज पनि बनेको छ । टपरी भन्ने भाँडोलाई बुझाउन गोलो घेरामा शब्द छर्ने हिसाबमा रङ्गवादी कविले ‘उपद्रो’ मच्चाउनु उनीहरूको निजत्त्व र प्रयोग रहँदै आएको थियो । तर त्यो टपरी पछिल्लो कृतिमा आउँदा सग्लै रूपमा सरल शब्दका सिन्काले बुनिएका छन् । सरलताको यो 'अवतार’ पनि कविको आफ्नै पूर्वशैलीदेखि अर्को प्रयोग बनेको छ । यसको फाइदा : प्रयोगको नाममा शब्दको उबडखाबड र फन्के रोटी हुने लहरलाई कविको सनकको संज्ञा दिँदै कवितादेखि नै विकर्षित हुने पाठकलाई पनि न्याय गरेको देखिन्छ । कविता भनेको ‘यातना-गृह’ होइन भनेर अब तिनले स्वप्निलको नयाँ कृतिको दैलो उघार्न सक्छन् ।

फुटकर रचनामार्फत पनि कवि-लेखकले पाठकसँग संवाद त गरिरहन्छ । तर संवाददेखि अलिक अगाडि बढेर Swapnilपुस्तकाकार कृतिले पाठकहरूको लागि ‘सभा’को काम गर्छ । यसैले ढिलै गरेर पनि स्वप्निलले नयाँ कृतिको जोहो गरे । एउटा अंगको जाँचबाट रोगको निदान असम्भव भए जस्तै पाठकहरूले सङ्ग्रहबाटै लेखकको शल्यक्रिया गर्छन् । कृतिभित्रका कविताहरू कलाका हिसाबले सुन्दर र वैचारिक तहमा सबल छन् । रङ्गवादी विचारले जताततै रङ्गैरङ्गको भीर अथवा भीरैभीरको रङ्ग देखे झैं यस कृतिलाई इन्द्रेणी सङ्ग्रह मान्दा हुन्छ । राज्यबाट अवसरको रेशमा पछि छुटाइएका वर्गको साझा भारी गरिबी होस् कि, सालिकमा सीमित भएको सहिदको प्रसङ्ग होस्, सरकारको अविरल नग्नताले लाजमर्दो भएर हिक्का छाडेको आम जनता होस् कि  दासता खेप्दै-बोक्दै निरीह पिठिउँले त्यो बोझ उलार पार्दै विद्रोहको हुङ्कार गरेको परिवर्तित आवेग होस्, सबै कथा अँटाएको छ कृतिमा ।

परिवर्तनको उद्‌घोष भए पनि परिवर्तनको अगुवाई गर्नेहरूको पुरानै चालामा थकथकी मान्छन् कवि । भोकाहरूलाई रोटी लिन कुदेको ‘स्वघोषित क्रान्तिकारी’ आखिरमा आफैं भोकाएर एउटा चमेना गृहमा मक्खिँदै हराएको जनपक्षीय आकलन उनका कविताले व्यङ्ग्यात्मक पुटसहित गरेका छन् । परिवर्तनअघिको जोश र आशा तथा परिवर्तनपछिको स्वप्नभंगको सराबरी तुलो हुन् स्वप्निलका कविताहरू ।

३१ थान कवितामध्ये कतिपय यस्ता छन्, देशदेखि परदेशसम्मको बेलिविस्तारका क्रममा विश्वव्यापी अवस्थामा पनि छेड हानेका छन् कविले । आतंकवादको विरोधी स्वर झिक्दाझिक्दै आफैं आतंकवादको स्वरूप लिएको महाशक्ति राष्ट्रको दादागिरीमाथि शब्दको गुलेली आच्छु-आच्छु पार्ने खालका छन् ।

व्यक्तिको अस्तित्त्व खोजको व्याकुलता पनि कविताहरूमा विभिन्न रूपमा चटपटाएको छ । साहित्य भनेको बौद्धिकताको सघन दीपसँगै संवेदनशीलताको तरङ्ग पनि हो । यस हिसाबमा स्वप्निलको कवि व्यक्तित्त्वले मिथक मोह पालेर पुराना विम्बहरूलाई कवितामा खेलाए जस्तै पूर्वजप्रतिको श्रद्धा पनि पोखेको छ । ‘बुबा’, ‘कथा- घुमाउने चौतारीमा काभ्राको …’, ‘पश्चिम क्षितिजबाट…’, यस्तै मन छुने कविता हुन् । दुर्गम भेगको विडम्बनाको झलक उतार्दै सहरबाट गाउँलाई सम्झेर लेखिएको मार्मिक कविताले हुरुक्क पार्ने तागत राख्छ ।

अर्कै देशबाट...टाढाबाट...
एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर म...
मेरी आमासँग नभेटेको कति भो ?
कसरी यो देश यति सुदूर भो ?
कि यो देशबाट मेरो देश पुग्न
यो दुई दिनको जिन्दगीमा
दुई दिन दुई रात लगाउँछ रात्रिबसले,
त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा पर मेरो जाने ठाउँ छैन ।

- (पश्चिम क्षितिजबाट …)

युवा पुस्ता पछिल्लो समयमा अग्रज पुस्ताका लागि प्रिय र इर्ष्याको पात्र बनेका छन् । अहिलेको युवा पुस्ताको कविता यात्रामा ओथारो बसिनसकेको पोहोरा कुखुरा हुन् स्वप्निल । अण्डा पारेर वा ओथारोबाट निस्किने कुखुराको कटकट्याँसभन्दा यिनको स्वर कम धारिलो छैन । आगामी दिनमा यस्तै कटकट्याँस कायम राखे नेपाली कविताको बिहानी यिनै चुच्चाले ल्याउनेछन्, यही आशा गरौं ।

कृति : बाडुली र सुदूर सम्झना
कृतिकार : स्व. स्वप्निल स्मृति
प्रकाशक : रत्‍न पुस्तक भण्डार
मूल्य : १५० रुपैयाँ

पढ्नु : प्रेम

॥ जोतारे धाइबा ॥
प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?
 
धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।

कति-कति प्रेमहरू...।

आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पंक्तिहरू :
- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम ।                                        - रोजमोन्ड गेरार्ड । 
- म प्रेममा धेरैपल्ट परेँ । र सधैं तिमीसँग ।                - एडगर एलेन पो ।
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो ।         - इभा गाबर ।
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।                 - थोरो ।
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौं - लिन्डा बेरी ।
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ ।                 - जोन किट्स ।
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन ।         - स्यामुयल लभर ।

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपास झैं अझ कोमल र प्रेमिल हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने !

यी अनगिन्ती 'हुनुपर्ने' हरूलाई हामी मानौं देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौं । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि ! खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दैछु । जहाँ प्रत्येक श्वाससँगै चेतनाको सिर्सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसँगै प्रत्येक प्रश्वाससँगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफैंलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रुपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै, झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम : कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दैछु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दैछु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काए झैं हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ?नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष रिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडा झैं साँगुरिन्छ र क्षितिज झैं फैलिन्छ, नौनी झैं गल्छ र इस्पात झैं गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्वासनली झैं एकदम खाली-खाली । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई निद्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्नु... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबै-सबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो मिल्ने हो या उँचो चापको चिसो । बस्, प्रेम भए पुग्यो ।

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाई छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मिर्गौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था (त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्वासप्रवाहमा चिप्लिरहनु...। 

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दैछु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतले नरम जिभ्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमार्‍यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही त हो प्रेम !

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes