बेढङ्गको सहर

दृश्य १. एकजना सभासद दिनभरि उद्‌घाटन कार्यक्रममा व्यस्त रहन्छ र वेलुका संविधान निर्माणमा भइरहेको ढिलाइका बारे आयोजित कार्यशाला गोष्ठीको समापन रात्रिभोजमा ह्विस्की डकारेर समावेशी संविधानबारे टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको देखिन्छ।
जनकराज सापकोटा

दृश्य २. दिनभरिको बेफुर्सदीबाट ग्रस्त एकथान युवक साझँपख फुटपाथमा उभिएर दिउँसो मोबाइलमा डाउनलोड गरेको ब्लु फिल्म हेर्छ र आफ्‍नी प्रेमिकालाई ती दृश्यहरु देखाएर उत्तेजित तुल्याउन खोज्छ।

दृश्य ३. एकजना प्राध्यापक जो कक्षामा पढिरहेकी उमेर छिप्पिएकी केटीलाई नाङ्गो आँखाले हेर्दै फ्रायडको मनोविज्ञान र मार्क्सको अर्थशास्त्र मिसाएर यौन मनोविज्ञान पढाउँछ । बेलुकी घर पुगेर श्रीमतीलाई हप्काउँछ, "उमेर नै नपुगी कति चाढै चिसिएकी"।

दृश्य ४. एउटा बेरोजगार केटो दिनभरि रोजगारीको खोजमा चारैतिर चहार्छ र साँझ एक पिन्ट रगत बेचेर सहरको सोमरस-गल्लीमा हराउँछ ।

दृश्य ५. एउटा भलादमी रातभर रक्सी धोकेर एकाबिहानै पुजा गर्ने निहुँमा मन्दिरमा पुग्छ र लाइन लागेका भक्तिनीहरुसँग स्पर्श-सम्भोग गर्ने प्रयत्‍न गर्छ ।

यो सिङ्गो सहर बेढङ्गका दृश्यहरूको एउटा साझा सङ्ग्रहालय बनेको छ । यसको अर्काइभमा म्याड हाउस उपन्यासका पात्रहरु थन्किएका छन् । अखबारमा लेखिएभन्दा फरक र गफगाफमा सुनिएभन्दा पृथक् दृश्यहरुले सहरमा अड्‍डा जमाएको छ । सिङ्गो समाज र व्यवस्थालाई आधुनिक बनाउने ठेक्का पाएका व्यक्तिहरु सबैभन्दा बढी बेढङ्गे र कुरुप देखा पर्दछन् । यस्तो लाग्छ रुपान्तरणका नाममा उनीहरू सिङ्गो सहरलाई एउटा नौटंकीमा परिणत गर्ने प्रयासमा लागेका छन् । मानिसहरू थाहै नपाई अथवा थाह पाएर गाईजात्राका लागि भदौ पर्खन्छन् ।

बिहान घरबाट निस्किँदा हरेक मानिसले पहिलो हुने आकाङ्क्षा राखेका हुन्छन् । बेलुका फर्कदा उनीहरु हारिसकेका हुन्छन् । तर सहरको विशेषता नै भनौं अहिलेसम्म कसैले पनि आफू हारेको कुरा स्वीकार गरेका छैनन् र यो शहर देखेर वाक्क भएका पनि छैनन् । उनीहरु हरेक दिन सहरबाट भाग्छन् र फेरी शहरमा नै पुग्छन् । सहरसँग कटुताको सम्बन्ध राख्छन् र सहरमा नै बाँच्छन् । सहरमा सबै कुरा सुन्न र हेर्न स्वतन्त्र छन् मानिसहरू । बोल्न मात्र प्रतिबन्ध लागेको छ । सबै कुरा थाहा पाउनु सबैभन्दा ठूलो अपराध बन्दछ यो सहरमा ।

बिहानले जन्म लिन नपाउँदै घर घरमा अखबारहरू पुगिसक्छन् र मानिसको सिङ्गो दिनलाई अमिलो बनाइदिन्छन् । दृश्यहरुको भीडले किचिन थाल्छ सिंगो शहर। समाचार लेख्नु, समाचार बन्नु र समाचार पोको पार्नु शहरमा हुर्कीन थालेको नयाँ सभ्यता हो । एक हूल बौद्धिक जमात खाद्यान्न सङ्कटको विषयमा कुनै तारे होटलमा वहस गरिरहेको भेटिन्छन् । एक हूल छापे सभासदहरु सङ्घीयताको विषयमा गणित गर्दैछन् । ज्वाइँजस्तै चिटिक्क परेका एक हुल मानीसहरु राष्ट्रका नाममा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछन् । केही रुपियाँको लोभमा ठमेलको कुनै गल्लीमा एउटा कुनै केटो आफूलाई टुरिष्टको अगाडि अङ्ग्रेजी भाषामा आत्मसर्मपण गर्दैछ । यो सहरको जीवन हो । यसलाई सहरमा हुने यावत् असङ्गतिहरुसँग जोडन पनि सकिन्छ र प्रयोगका रुपमा हेर्न पनि सकिन्छ ।

घाम थानकोटमाथिको चन्द्रागिरि शिखरबाट ओरालो लागेपछि सहर कचौरामा परिणत हुन्छ । कायाकल्प सहर मनोरञ्जनका लागि हाजिर हुन आइपुग्छ । घामलाई राम्रोसँग थाह छ शहरमा स्वतन्त्रताका हिमायतीहरु बस्छन् । जो अर्काको स्वतन्त्रता खोस्ने दाउमा घोरिइरहेका भेटिन्छन् । घामलाई थाहा छ यो शहरमा इतिहासका अभियन्ताहरु बस्छन् । हूलका हूल दुशासनहरू द्रौपदीको सारी तान्न हतारिइरहेका हुन्छन् । एक हुल कुमारहरु सुमेरु पर्वतको यात्रामा निस्कन्छन् । एक हुल गणेशहरू मुसामाथि चढेर एउटा बाजी जितेका शङ्खघोष गर्छन् । सहरको एउटा कुनामा विचरा गायकहरु गीतको नाममा चिच्याइरहेका भेटिन्छन्। व्यस्त दिनमा, बेपरवाह, बेमतलब, शहीद गेटमाथि चढेर राष्ट्रको खलासी हुँ भन्ने एकजना पात्र सालिकहरूलाई रङ्ग्याउँछ, माल्यार्पण गर्छ र राष्ट्रिय झण्डा फहराउँछ । सायद यो भन्दा विद्रुप दृश्य अरु केही हुन सक्ला ? विचरा सहीदहरु, जसको सालीकमाथीको लेउ पखाल्न राज्यले कुनै खलासीको भर पर्नुपर्छ । सायद गरिबीको यो भन्दा अन्तिम पराकाष्टा केही हुनसक्ला ? के राज्यलाई थाहा छ त्यो खलासीको ड्राइभर को हो?

एउटा जनताको प्रतिनिधि, एउटा प्राध्यापक र एउटा विद्यार्थी एक-एक दिन गरेर अखबारमा समाचार बनेर छापिन्छन् । ठमेलमा अङ्ग्रेजीमा आत्मसर्मपण गर्ने केटो पशुपतीको मन्दिरअगाडि बसेर चुरोट तान्छ र शिवजीलाई चुनौती दिन्छ । एकजना लेखक आफूइतरका सबैलाई सिस्नोपानी लगाउन खोज्छ । एकजना नेता विहानको पुजा पाठ सकेर सांस्कृतिक रुपान्तरणको विषयमा अखबारमा लेख छपाउँछ । एकजना व्यापारी आफ्‍नो कुलतमा लागेर मरेको छोराको आत्माको चिरशान्तीको कामना गर्दै अखबारमा ठूलो आकारको विज्ञापन छपाउँछ ।

ट्राफिक चोकको प्रहरी सडक छेउको साइनबोर्डमा महिनाभरिको दुर्घटनाका तथ्याङ्कहरू लेखिरहेको हुन्छ। जम्मा दुर्घटना संख्या- २७०, घाइते संख्या- १९७, मृत्यु संख्या- १९ ।

2 :: प्रतिक्रिया:

एकल यात्री said...

Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR

prabhakar said...

hi janak,
ramro cha. good job yaar.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes