रगतको रङ


॥ केशवराज सिलवाल ॥

कसले भन्छ 
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन 
फरक-फरक हुन्छ रगतको रङ 

मानिसअनुसार लाग्छ फरक-फरक घाम
फरक-फरक हुन्छ आकाशको रङ
फरक हुन्छ हावाको सिरेटो
त्यसरी नै 
फरक-फरक हुन्छ रगतको रङ 

देख्‍नलाई एउटै देखिए पनि 
फरक हुन्छ
प्रसव पीडामा बगेको कुनै आलो सुत्केरीको रगतको रङ
र उकालो चढ्दा  लडेपछि बगेको रगतको रङ 
फरक हुन्छ
जहाँतहीँ मुख बाएर बसेका जुकाले टोकेपछि बगेको रगतको रङ

फरक हुन्छ
शान्तिपूर्ण आन्दोलनमा बगेको रगतको रङ
फरक हुन्छ निर्दोषको घाँटी रेटिएपछि 
सिर्का हानेको रगतको रङ
फरक-फरक हुन्छ
न्यायप्रेमी र अन्यायीको रगतको रङ 
हो, फरक हुन्छ
धनी मानिसको रगतको रङ
जसमा पाइन्छ धेरै मात्रा विदेशी रक्सीको
र फरक हुन्छ भोका मजदुर 
गरिबहरूको रगतको रङ
जसमा रगतभन्दा भोकको अंश बढी हुन्छ
फरक हुन्छ
सत्ताधारी, राजा, महाराजा र तानाशाहको रगतको रङ

कसले भन्छ
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन
कसरी एउटै हुन्छ रगतको रङ ?

1 :: प्रतिक्रिया:

Chandra Gurung said...

I love Keshavraj's poems. He is a strong poet.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes