मार्टिन चौतारीमा अङ्ग्रेजी महिनाको हरेक पहिलो आइतबार साहित्यिक कृतिमाथि छलफल हुन्छ । यो महिनाको आइतबार कथाकार अमोद भट्टराईका दुई वटा कथासङ्ग्रह मसित पनि दुख्ने घाउ छ र छातीमा टाप राखेर छलफलका लागि छानिएका थिए । ४३ वर्षीय कथाकार भट्टराईका तीन वटा कथासङ्ग्रहहरू प्रकाशित छन् । उनको हस्ताक्षर नामक कथासंग्रह करिब २० वर्ष पहिले प्रकाशित भएको थियो । दोस्रो कथासङ्ग्रह मसित पनि दुख्ने घाउ छ २०५२ सालमा प्रकाशित भएको हो । साझा प्रकाशनले २०६४ सालमा यसको दोस्रो संस्करण निकालेको छ । अर्को सङ्ग्रह छातीमा टाप राखेर वाणी प्रकाशन, विराटनगरले २०६२ सालमा प्रकाशन गरेको हो । यसरी हेर्दा उनको एक दशकमा एउटा सङ्ग्रह प्रकाशित भएको देखिन्छ । मार्टिन चौतारीको यही कार्यक्रमले नै मलाई धेरै पहिले प्रकाशित यी कथाहरू पढ्ने वातावरण बनायो ।
"प्रस्तुत सङ्ग्रहका सम्पूर्ण कथाहरू विदेशको भ्रमण अनुभवमा आधारित भएकाले ती कथाहरूमा कथाकारको अर्न्तअनुभूति, संवेग तथा निश्चित दृष्टिकोणका साथै राष्ट्रिय भावना पनि व्यक्ति भएको छ ।" यो उद्धरण 'मसित पनि दुख्ने घाउ छ' मा साझा प्रकाशनको प्रकाशकीयको हो । तर कथाकार भट्टराईले भने- "मैले कुनै पनि देशको भ्रमण नगरी यी सबै कथाहरू लेखेको हुँ ।" साझा प्रकाशनले १२ वर्षपछि दोस्रो संस्करण निकाल्न लाग्दा आफूले त्यसबारे जानकारी गराउँदा पनि गल्ती नसच्याएको उनले बताए । पुस्तकभित्र कुनै परिवर्तन नगरी निकाल्दा पनि त्यसलाई पुनर्मुद्रण नभनेर दोस्रो संस्करण, तेस्रो संस्करण आदि लेख्ने चलन छ । यो त पाठकलाई भ्रममा पार्ने ठूलै गल्ती हो साझा प्रकाशनको, तर किन थाहा पाएर पनि सच्याउन आवश्यक ठानेन ? मैले पनि आफूलाई यही भ्रममा राखेर कथा पढेको थिएँ । हुन पनि विदेशी परिवेशको चित्रण हल्का रूपमा गरिए पनि कथामा आएका पात्रको नाम, सामाजिक व्यवहार र संस्कृति तथा कथाको विषयवस्तुले गर्दा कथामा काल्पनिकताको कमी र वास्तविकताको चित्रण भएको जस्तो लाग्छ र यसले गर्दा कथा केही हदसस्म विश्वासिला पनि लाग्छन् । यात्रा साहित्य वा संस्मरणात्मक निबन्ध नाम दिइएका केही नेपाली साहित्य पढ्दा यात्राका नालीबेली हुन्थे, सम्झनाका थुप्रै कथा, व्यथा र रमाइला क्षणहरूको लामो वर्णन हुन्थ्यो । तर भट्टराईका कथाहरूमा धेरै कुराको बयान छैन । शैली संस्मरणात्मक भएर पनि घटना र पात्रहरू सीमित छन् । कथाहरू केन्द्रित भएका छन्, एउटै कुरामा, एउटै विषय र उद्देश्यमा । मैले शङ्कर लामिछाने, अभि सुवेदी, खगेन्द्र संग्रौला जस्ता साहित्यकारहरूका कतिपय निबन्ध र लेखमा समेत भट्टराईका कथामा जति पात्र तथा आख्यानात्मकता पाएको छु । निबन्ध र कथालाई कुन आधारमा छुट्याउने, विषय, आख्यान, भाषाशैली, परिवेश वा साहित्यकारले आफ्नो रचनालाई जे नाम दिन चाहन्छन् त्यही भन्ने ? अथवा यो उत्तरआधुनिक जमानाका उत्तरआधुनिक साहित्यलाई पुरानो ढकतराजु प्रयोग गरेर नाप तौल गुर्नुहुन्न ? अवश्य पनि कानुन र संविधानमा जस्तो साहित्यमा सीमा तोकिनु हुन्न । प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार जस्तो कथाकारको व्यवस्था साहित्यमा हुनुहुँदैन । तर हामीले सम्पूर्ण साहित्यलाई एउटै नाम दिन सक्दैनौँ । मार्टिन चौतारिको उक्त कार्यक्रमका दुई समीक्षकमध्येका एक गोविन्दराज भट्टराईले भने- "यो समस्या अहिले मात्र आएको होइन ।" बालकृष्ण समको 'बर्दहामा सिकार' लाई कसैले निबन्ध र कसैले कथा मान्ने गरेको कुरा उनले सम्झाए ।
मसित पनि दुख्ने घाउ छ भित्र समेटिएका सबै (नौ वटा) कथाहरू विदेशी परिवेशमा लेखिएका छन् (ती कथामा नेपाली परिवेश पनि आएका छन्) । ती सबै कथामा एउटा प्रमुख पात्र नेपाली छ । यसमा भारतको परिवेशमा दुई र जापान, चीन, अमेरिका, सुडान, जर्मनी, रुस र बेलायती परिवेशमा एक-एक वटा कथाहरू छन् । त्यसरी अर्को सङ्ग्रह छातीमा टाप राखेर मा समेटिएका नौ वटा कथाहरू मध्ये पाँच वटामा विदेशी परिवेश तथा पात्रहरू आएका छन् । यी दुई सङ्ग्रहका १८ वटा कथाहरू मध्ये १४ वटा कथाहरू विदेश र विदेशीहरूसँग सम्बन्धित छन् । सीमित नेपाली पात्रहरू ती कथासँग जोडिएका छन् । धेरै कथाहरू प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएका छन् । संस्मरणात्मक शैली हावी भएका यी कथाहरूका घटना तथा पात्रहरू विश्वासिला बनाउन खोजिएको छ । 'औलाको आँखा' र 'साङ्ग्रिलाको खोजी' र 'पूर्णमाया हराई' शीर्षकका दुई वटा कथाहरूमात्र स्वैरकाल्पनिक छन् । तर ती कथाहरूमा पनि वास्तविकतालाई उजागर गर्न त्यस्तो शैली प्रयोग गरिएको देखिन्छ । केही कथाहरूमा काल्पनिकता र नाटकीयता पनि पाईन्छ तर त्यस्ता कथा थोरै छन् । विदेशी परिवेश र पात्रहरू भएका सबै कथामा नेपाली पात्रलाई विदेशमा पढ्न गएको विद्यार्थी, आईएनजीओको कार्यकर्ता, अन्तराष्ट्रिय कार्यशाला, गोष्ठी आदिमा कार्यपत्र प्रस्तुतकर्ता वा अनुसन्धाताको रूपमा प्रस्तुत गरिएको छ । त्यस समयमा नेपालीहरू ती देशहरूमा त्यस्तै काम गर्न जाने भएकोले पनि ती पात्रहरू जीवन्त लाग्छन् । ती कथाका नेपाली पात्रको जस्तै केही कामको अनुभव कथाकारको आफ्नै भएको र धेरै कथाका त्यस्ता पात्रहरूसँग लेखकको सङ्गतको प्रभाव भएको उनले कुराकानीमा बताए । अझ कुनै कुनै कथामा त नाम मात्र फेरिएको एउटै पात्र झैँ लाग्छ ।
छातीमा टाप राखेरले मलाई रेडियोमा धेरै पल्ट सुनेको 'मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ ...' गीत सम्झायो । अर्को सङ्ग्रहको नाम नै मसित पनि दुख्ने घाउ छ छ । सङ्ग्रहको शीर्षकको कुनै कथा सङ्ग्रहभित्र छैन । सङ्ग्रहको शीर्षकले सबै कथालाई प्रतिनिधित्व गर्न खोजेको छ । प्राय: सबै कथाहरूमा नेपाललगायत विभिन्न देशका मान्छेको घाउ देखाइएको छ । भोक, रोग, गरिबी र द्वन्द्व नै कथाका प्रमुख विषय हुन् । कथाकारले ती देशको भ्रमणै नगरी त्यहाँको कथा कसरी लेखे त ? धेरै पाठकमा यस्तो जिज्ञासा आउन सक्छ । कार्यक्रममा सहभागी हुनेले पहिलो प्रश्न नै यही गरे । कथाकारले त्यस देश, ठाउँ र विषयको अध्ययन र जानकारहरूसँग कुराकानी (अन्तरवार्ता) गरेको बताए । त्यसपछि केही सहभागीले अध्ययन र कल्पनाको आधारमामात्र लेखिएको भए यी कथाहरू झन राम्रा छन् भने । दुई वटा सङ्ग्रहमा चारवटा कथाहरू मात्र पूर्णरूपमा नेपाली परिवेश र पात्रहरूमा आएका छन् । तर पनि उक्त कार्यक्रमका सहभागीले ती कथाका बारेमा जिज्ञासा, प्रश्न र असहमति जनाए । कर्णाली क्षेत्रको भोकमरीको विषयमा लेखिएको 'भोक' कथामा सहभागीहरू तथा समीक्षक श्रीधर गौतमले त्यहाँ भोकमरी भए पनि घटना त्यस्तरी हुँदैन भनेर असहमति जनाउँदा कथाकारले त्यो कथा कान्तिपुर दैनिकमा छापिएको समाचारमा आधारित सत्य घटना हो भने । त्यसपछि अर्को एक सहभागीले नेपाली साहित्यकारहरूको एउटा समाचारको भरमा कथा लेख्ने र समाचार पढेकै आधारमा उपन्यास लेख्ने प्रवृत्तिको आलोचना गरे । सायद विदेशी परिवेशमा कथा लेख्दा अध्ययन गरे जति उनले नेपाली परिवेशमा कथा लेख्दा गरेको भए यसरी आलोचना गर्ने ठाउँ कम हुने थियो होला । समीक्षक गौतमले 'नयाँ कथा अन्तिम कथा' को शीर्षकमा असहमति जनाए । उनले यस्तो कथा के गरी नयाँ र अन्तिम हुनसक्छ भन्ने प्रश्न गरेका थिए । यो कथा डान्स रेस्टुरेन्टमा काम गर्ने वेटरको विषयमा छ । विदेशी परिवेश र कथामा उठाइएका विषयमा सहभागीहरू कम जानकार भएर नै नेपाली परिवेशका कथामा मात्र बढी टिप्पणी भएको हुनसक्छ । नेपाली परिवेशमा लेखिएका कथा म जस्तो पाठकलार्इ खल्लो लागे झैँ विदेशी पाठकलाई उनीहरूको कथा त्यस्तै लाग्ला कि ?
'स्वयंसेवक' शीर्षकको कथा सुडानको भोकमरीको बारेमा छ । बजारमा सुनका गहनाहरू बाहिर पट्टी नै झुन्ड्याएर बेच्न राखेको देखेर 'म' पात्रले त्यस्तो गर्दा डर हुँदैन भनेर सोध्छ । उत्तरमा पसले भन्छ- "महासय हामी खानाबिना नै मरेकालाई यी गहनामा किन लोभ हुन्थ्यो र !" त्यसैगरी अफ्रिकी देश जस्तै चीनको एक ठाउँमा खाद्यान्न अभावले कुपोषित, हातगोडा सुकेका भुँडी पुट्ट उठेका, मानवाकृति बिगि्रएका केटाकेटीको बयान म पात्रले गर्दा मैले कर्णाली प्रदेशका सरदर आयु ४०-४२ मात्र भएका नेपालीहरूको कथा पनि यसमा होला भन्दै पढ्न थालेँ । अर्को सङ्ग्रहमा कर्णालीको भोकको बारेमा लेखिएको कथा त आयो तर एउटा समाचारलाई आधार बनाएर लेखिएको अलि बढी नाटकीय र काल्पनिक लाग्ने । नेपाली सामाजिक अवस्थाको विभिन्न पक्षलाई विषय बनाएर लेखिएका कथा पढ्ने रहर भने मेटिएन, ...।