कविता

उत्खनन
श्रवण मुकारूङ

कसले पत्ता लगायो अमेरिका
- कोलम्बसले ?
कसले मुक्त गरायो भारत
- गान्धीले ?
अथवा-
कसले रच्यो महान् चीन
- कन्फ्युसियसले ?
-माओत्सेतुङले ?

अहँ ! कदापि मान्दिनँ म ।

कसले उभ्यायो धरहरा ?
कसले बनायो घण्टाघर र रानीपोखरी ?
कसले लड्‍यो नालापानी ?
अथवा-
कसले आर्ज्यो यो मुलुक ?

यो माटोभित्र उम्लिरहेको रगतको आवेग
-कसको हो ?
यो महलको चोटा-चोटाबाट आइरहेको पसिनाको गन्ध
- कसको हो ?
यी दरबारका भव्य झ्याल-ढोकाहरूमा
-कसकसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
-कसकसका औँठाका शङ्‍ख-चक्रहरू छन् ?
एक-एक खुट्‍याउनु छ -इतिहासको खुनी अनुहार
चिन्नु छ, -
को हो असली निर्माता ?
को हो असली शहीद ?
को हो असली नेता ?
को हो असली कवि ?
कुन हो असली गीत ?
साभारः जीवनको लय

1 :: प्रतिक्रिया:

साहित्यसंगम said...

धेरै राम्रो कबिता, श्रवण जी शायद यो दुनियाँमा मेहनति सोझा र इमान्दार गरीब नभए कसैले पनि दुनियाँ बनाउनै सक्दैन, तपाईको कबिताले सही मार्ग दिनेछ। आगमी दिनहरुमा पनि यस्तै कबिताहरु दिनुहोला धन्यबाद।

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes