गजल

शून्य प्रकाश

छाडेर गईस् भन्दै गाउँ रुन्छ सपनीमा
मलाई जन्मा-हुर्काको ठाउँ रुन्छ सपनीमा

कसरी सक्छु म सुत्न विकास सुते झैँ मस्त
सधैँ-सधैँ जस्को बुढो बाउ रुन्छ सपनीमा

हुर्किएछ चरी अब छाडेर जो गयो गुँड
भनेर बिलौना गर्दै माउ रुन्छ सपनीमा

नदुखे झैँ चस्स-चस्स सधैँ चस्कन्छ यो छाती
भुल्नै नमिल्ने एउटा घाउ रुन्छ सपनीमा

तँलाई पारी तारेको मैले हो नबिर्सी भन्दै
माझी रुन्छ सपनीमा, नाउ रुन्छ सपनीमा

हजारबिघा, सर्लाही।

बाल उमंग







तस्बीरः रश्मि शीला, कलेजकलम।

मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे

म मनबाट चलेको छु

मस्तिष्कबाट चलेको छैन

त्यसैले मलाई म मन पर्दैन

पहिला पहिला मेरा मनहरु

नसा नसाबाट बग्दै

मस्तिष्कमा पुगेर छानीने गर्थे

शुद्ध हुन्थे मनहरु अनि

म त्यसलाई व्यवहारमा उतार्थे

तर आज मनहरु

मस्तिष्कमा पुग्न नपाउँदै

व्यवहारबाट पोखिने गर्छन्

म सँधै मनको कुरा मान्छु

मस्तिष्क सदा लाचार भै रहन्छ

धिक्कारी रहन्छु म अनि मनहरुलाई

किनकी मेरा मनहरु

मलाई स्वयं दमन गर्दैछन्

लज्जास्पद बनाइरहेका छन्

तरपनि म प्रतिकार गर्न सक्दिन

मनहरुलाई

म हार्दोयुद्ध लडिरहेको छु

त्यसैले मलाई म मन पर्दैन !


(२०६१-०१-३१, पोखरा)


जीवन

एकल यात्री

रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो

कालो रात हैन, उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन, उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन, निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन, पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन, सफा मन चाहन्छु म
पराजित मृत्यु हैन, संघर्षशील जीवन चाहन्छु म

किनकी,
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो, पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन ।

'दीपावली' र 'न्ह्यूँ दँ'का केही झलक

तिहारको व्यापार न्ह्यू दँको टिसर्टसँगै आकाशमा उडाइएको बेलुन


न्ह्यू दँको सांस्कृतिक प्रदर्शनीमा किशोरीहरु




उपत्यकामा बत्तीको झिलीमिली

तिहारमा लक्ष्मीमातालाई रिझाउँदै


तस्बीरः चिरन मानन्धर, कलेज कलम।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes