संगीता पाण्डे
हुन त अतीतलाई संगाल्नु फाईदाजनक देखिँदैन यद्यपी मेरो अतीतले मेरो साथ छाड्दैन । मेरो मनोदशा नै यसले गर्दा अत्यन्त असन्तुलित, क्षुब्ध अवस्थामा रहन्छ । कहिलेकाहीं म त्यसबाट पन्छिने भरमग्दुर चेष्टा गर्दछु तर अचानक आँखाको अगाडि ती दृश्यहरु सजीव भई फनफनी रिङ्न थाल्छन्, अकथनीय व्यथाले मुटुलाई निमोठ्न सुरु गर्दछ, यसैमा नै मेरो जीवनको कथा लुकेको छ । कसैलाई यस विषयमा वताएर मनको वोझ हटाउने व्यग्रताले मलाई लखेटीरहन्छ ।
लामो समयदेखि यात्राको आकांक्षाले छट्पटाई रहेको यो मनलाई शान्ति दिन कार्यालय कै एउटा सानो मिनीबस लिई देल्ली, हैदराबाद हुँदै आग्रासम्म पुग्ने योजना वनाएका थियौं । नेपालगञ्ज (हाम्रो घर) बाट प्रस्थान गर्दा दिउँसोको एघार बजिसकेको थियो । जम्मा तेह्रजना हामी हर्ष र उल्लासको लहरमा मनोभावनाहरुलाई सम्हाल्न मुस्किल परिरहेको अनुभव गर्दै थियौं । उनले मलाई वारम्वार भन्ने गर्थिन् "संदेश मलाई ताजमहल हेर्ने ठूलो इच्छा छ ।" नेपालगञ्जको गर्मीमाथि पौषको जाडोले पूर्णरुपले विजय प्राप्त गरिसकेको थिएन तापनि वातावरण उल्लासमय थियो । गाडीको गति कहिले तीब्र हुन्थ्यो कहिले मन्द... ड्राइभरले दिएको ब्रेकले मोटर भित्र भुईँचालो उठ्थ्यो, हामी एकअर्का सित ठोक्किन पुग्थ्यौं अनि पेट मिची मिची हाँस्थ्यौं । मानिसको जीवन पनि यस्तै न हो- मार्गका वाधारुपी काँडाले जीवनको गतिशीलतामा आँच ल्याउँछ अनि परिस्थिति र बिवशताको ब्रेकले त्यसलाई सदाको निम्ति टुङ्ग्याईदिन्छ ।
मौनतालाई छिचोल्दै संगीत गुञ्जन थाल्छ । सुदेशले टाउको झुकाएर मजासँग गितार वजाउँदै थियो । उसको संगीतमा एउटा गजबको मस्ति थियो, भावनाले पूर्ण एउटा लठ्याउने नशा ! उसको स्वरमा स्वर मिलाउँदै हामीले गाउन थाल्यौं- जीवन हाम्रो सङ्लो पानी हो...... सलल राजै खोला झैँ बगौं सलल......म छिनछिनमा प्रतीक्षातिर दृष्टि लगाउँथे । उनको चिउँडोको माझमा खोपिएको कालो कोठी आज मलाई औधी राम्रो लाग्यो । कोटी गफ चुट्ने प्रवीन शायरी भन्थ्यो भने रमेश चुटि्कला सुनाउँदै खुब हसाउँथ्यो । गाडी रोकेर सबैजना चियापसल भित्र पसे, म शीतल हावा खाँदै केही पर मात्र के पुगेको थिएँ मेरो आँखा शिकारीको गोली लागेर मृत्युसंग संघर्ष गरिरहेको परेवी माथि पर्यो । उसको मृत्युको प्रत्युत्तरमा अलाप विलाप गरिरहेको परेवाको दु:ख, पीडा र वेदनामा सान्त्वना स्वरुप मेरो दुई थोपा आँसु भुँइमा खसे । हर्नको आवाजले म झस्कें, दौडदै मोटर भित्र पसें- सबै बसिसकेका रहेछन् । ब्यङ्ग्य गर्दै विजयले भन्यो- "अरे यार ! बडो भावुक बन्छस् तँ... समय पायो कि प्रकृतिलाई अंकमाल गर्न पुग्छस्, कसरी भाउज्यू (प्रतीक्षा) लाई छाडेर जान सकेको ए...। सबै हाँसे म हाँसिन। पाँच वर्षकै उमेरमा टुहुरो भएको मेरो वालहृदयमा त्यही समय देखि नै भावुकता, एकान्त र चिन्ताको छाप परिसकेको थियो......त्यसलाई कसले बुझ्न सक्थ्यो र ?
पलैंया आइपुग्दा रातपरिसकेको थियो । गौरीफान्टाको १५ कि.मी.बाटोलाई पारगरिसकेपछि मात्र बस्ती आउँथ्यो । 'गौरीफान्टा' डाकुहरु लाग्ने सुप्रसिद्ध ठाउँ त्यसमाथि अघिको कारुणिक दृश्यले मेरो मन एक तमासको भैरहेको थियो । रमेशलाई मैले घरिघरि भन्थें- "हामी पलैंया मै बसौं; रातको वेला...यस्तो डरलाग्दो..." नकारात्मक उत्तर दिंदै उसले भन्थ्यो "क्या नामर्द छस् भाई, जीवनमा कसरी संघर्ष गर्छस्? डाँकु लाग्न सक्दैन... जब तक मे जिन्दा हुँ यु अल डोन्ट ह्याभ टु वरी" अन्धकारको साम्राज्य, घनाजंगल... जंगली जनावर कराएको आवाज... यी सबैलाई छिचोल्दै हाम्रो गाडी गुड्दै थियो । एक्कासी गाडी रोकियो । अगाडि देख्यौं- सडकको बीचमा रुखको मुढा तेर्साएर राखिएको ।
हृदयको गति बढ्दा बढ्दै हामी ६, ७ जना बाहिर निस्केर त्यसलाई पन्छाउन मात्र के लागेका थियौं आगोको राँको हातमा लिएर एउटा हेर्दैमा राक्षस जस्तो देखिने मान्छे आगाडि बढ्दै आयो- शायद उ डाँकुको सरदार थियो । उसको पछाडि एक डफ्फा डाँकुहरु हा....हा....गर्दै आउँदै थिए । मोटर भित्र कोही कराउन थाले, कोही चिच्याउन..... तर त्यो चिच्याहट सुन्ने त्यहाँ को थियो र ? मेरो शरीर रन्किएको थियो, चिट्-चिट् पसिना काड्दै हामी ५, ७ जना धैर्यसाथ उभिई रहेका थियौं..... किंकर्तव्यविमुढ जस्तो भएर । मेरो मस्तिष्कले काम गर्न छोडिसकेको थियो । सरदारले पहाडै थर्काउने गरी करायो- "अन्दर जा कर लुटो, सब निकालो । कुछ नाछोड्ना हाँ ।" आगोको राँकोको उज्यालोमा उसको लाल लाल नेत्र क्रोध ईर्ष्या र लोभले दन्किरहेका थिए, उच्च नाकले अभिमान प्रकट गर्थ्यो भने किच्रिक्क परेको ललाटबाट उदारतालाई तिलाञ्जली दिईसकेको कुरा प्रष्ट हुन्थ्यो । उसको हुकुम बमोजिम ५ जनाले भाला जस्तो हतियार लिई गाडि घेरे र अरुले सामान निकाल्न शुरु गरे.... गितार, क्यामेरा, सुट्केश, ब्यागेज आदि कीमती मालहरुको चाङ लाग्यो । हामीले घडि, ज्याकेट, कोट सवै फुकाल्यौं । अब म सित एउटै चिज मात्र बाँकी थियो औँठी... उनले र मैले साटेको... हाम्रो प्रेमको प्रतीक.... त्यस बहुमूल्य वस्तुलाई मैले ज्यानको खातिर पनि दिन तयार थिइन, मुखभित्र हाली जिब्रो मुनि लुकाएँ ।
त्यतिकैमा मेरो आँखा एउटा डाँकुमाथि पर्यो... भरखर मात्र यौवनको खुडि्कलोमा पाईला टेकेको त्यस युवक (डाँकु) को आँखामा पाप भएको जस्तो लाग्दैनथ्यो । उ त केवल वाध्यतावश आफ्नो सरदारको आज्ञा पालन गरिरहेको थियो । मैले उसलाई चिने... उसको आँखालाई चिने... उ नेपाली थियो । गाडीभित्र लत्ताकपडा लिन डाँकाहरुमै गुत्यम् गुत्था तलिरहेको थियो । त्यही मौकाको फाइदा लिने हेतुले रमेश सासैसासमा बोल्यो- हरि अप, आई थिङ्क द पुलिस स्टेशन इज नियर बाइ... ह्वाट डु यु थिङ्क? "मौनम् सम्मती लक्षणम्" भने झैँ मलाई उसले तान्यो र हामी कुद्यौं... त्यो जंगलै जंगल... ज्यानको माया मारेर । हस्याङ फस्याङ गर्दै पुलिस स्टेशन पुगी तुरुन्त एक डप्फा पुलिस सहित त्यही बाटो भएर फर्क्यौ । फर्कँदा बाटोमा मैले सोचे- मानिस डाँकु किन बन्छ ? उसलाई डाँकु बनाउने यही आर्थिक असमानताले व्याप्त समाज हो... र दोषी हामी हौं । जिमिन्दार र तल्सीङ्गको कुचक्री जाँतोमा पिंधिएर अझ त्यसमाथि समाजका सुधारक भनाउँदा मानवरुपी दानवहरुको चुसाई, कुटाई र लुटाइले पिल्सिएर गाँस र वासको समस्या समाधान गर्नका लागि..... यहाँ कति मानिस बाह्रै घण्टा पसिना चुहाएर पनि एक छाक खान पाउँदैनन् । उनीहरुको लुगा बाह्र ठाउँमा टालेको हुन्छ... परिश्रमको फल उनीहरुलाई गोली र कोर्रा मिल्छ ।
अनि अर्को तिर यस्ता मानिस पनि हुन्छन् जो सधैं जहाजमा सफर गरिरहेका हुन्छन्, सुगन्धीत मखमलको पोशाकमा चौरासी व्यञ्जनको स्वादमा । जबसम्म समाजबाट यो असमानता हट्दैन तवसम्म डाँकु र चोरका संख्या पनि घट्दैनन् । नत्र भने एक पछि अर्को गर्दै हाम्रो देशका उज्ज्वल नक्षत्रहरु, भविष्यका कर्णधारहरु देश छाडि यही पेशा अपनाउने छन् यसमा विकल्प छैन । मान्छे बाँच्छ आफ्नो लागि... धरतीका सम्पूर्ण कुराहरु विकृत गराएर उपयोग गर्नाका लागि... वास्तबमा उ त बाँच्नु पर्दछ समाजका लागि... यहाँका जालि फटाहा र शोषकहरुको अन्त्यगरी आदर्श समाजको सिर्जना गर्नका लागि । म यस्तै तर्क वितर्क गर्दै थिएँ, हामी हाम्रो गाडी निरै आईपुग्यौं । त्यहाँ कोलाहल हुँदैन न त्यहाँ डाँकुहरु हुन्छन् न त कुनै समाज नै हुन्छ । त्यहाँ त हुन्छ पाँच जनाको लाश जसको ठीक बीचमा उनी पनि हुन्छिन् । हो यत्ती हो, मेरो जीवनको कथा लुकेको सजीव घट्नाको वृतान्त यत्ति हो ।